बिहान एकाएक छाती गरुंगो भो । म रोएको रहेँछु । आँसु बर्बरी खसेको रहेछ एकातर्फ । ताप्केमा चिया भकभकी उम्लिएर पोखिएछ।
छोरो एकोहोरो मैँतर्फ हेरिरहेको । केही बोल्दैन थ्यो । त्यता पनि ध्यान रहेनछ । सम्झना पनि नि कति पुरानो हो छोरा । मैले खै कति बेला बोलेँछु।
भन्दै रहेँछु – आमाले कुटी, बाबाले कुटी ,कान्छी कलैमा , फेरि पनि कुटी भने जान्छु लेलैमा
रेलैमा।
छोरो छेवैमा आयो र भन्यो – के भन्नुभएको ममी ?
– के भनेँ र मैले बाबु !
उस्ले यही दोहोर्यायो । आमाले कुटी ।
म हाँसेँ । छोराको अनुहार उज्यालो भो। मैले भने – यो गीत हो । मैले मेरो बुवालाई सुनाउने गरेको हो । बुझ्यौ ?
मैले आफ्नो बाल्यकाल सम्झाउँदै भनेँ – म एकदमै बदमास थिएँ । कहिले के कहिले के चलाएर काम बिगार्थेँ रे । दिक्क लाउँथेँ आमालाई। त्यसै निहुँमा कहिलेकाहीँ आमाले अलि सारो गरी बोलेर ‘बदमास केटी’ भन्नुहुन्थ्यो । मलाई यतिमै काम पुग्थ्यो।
म रोएरै बसिरहन्थेँ । जबसम्म बुवा आउनु हुन्न थ्यो र मलाई फुल्याउनु हुन्न थ्यो ।
सम्झिन्छु – बुवाले आफ्नो माथिल्लो जेबीमा चकलेट राख्नुभएको हुन्थ्यो । त्यो देखाएर यो सबै नानीको हो भनेपछि मुठीभरि चकलेट लिएर आमानिर जान्थेँ । आमाले फकाएर खाना खुवाउनुहुन्यो र आँसु पुछिदिनुहुन्थ्यो ।
मेरो आँसु सबै सुकेको हुन्थ्यो।
सम्झिदैछु । बुबाको त्यो ममता प्यार आमाको माया।
अहिले अवस्था ठिक्क उल्टो भयो , हेर न सानु । बुवाआमा बुढाबुढी हुनुभो । बच्चाजस्तै पो हुनुभएछ । बाटो हेरी बस्नुहुन्छ अरे । कहिले त आँसु झार्नुहुन्छ अरे। म के लिएर जाऊँ, कुन गीत सुनाऊँ र फुल्याऊँ बाबु ।
मेरो कुरा सुनेर छोराले भन्यो –हजुरले गाउने गीत नै सनाउनु न ममी मलाई त मन पर्यो । चकलेट लिएर जानु ।
प्रकाशित: १५ फाल्गुन २०७७ ०६:१८ शनिबार





