एउटा गाउँमा फुकाना चौधरी नाम गरेको केटी थिई । उनी गाउँकै स्कुलमा ६ कक्षामा पढ्थिन् । उनी कथाहरू, कविताहरू पढ्न, सुन्न एकदम रुचाउँथिन् । विशेष गरेर बालसाहित्यहरू किनेर ल्याउँथिन् र अध्ययन गर्थिन् । कहिलेकाहीँ उनी बालकथा, कविता लेखेर पत्रिकामा पनि छपाउँथिन् । पत्रिकामा उनले पठाएकै रचनाहरू प्रकाशित हुन्थ्यो । आफ्नो रचना र नाम पत्रिकामा छापिएको देख्दा उनी एकदम खुशी हुन्थिन् । फुकुनाले आफ्नो नाम रचना पत्रिकामा छापिएको कुरा सुनाइन् । मलाई त यो देखेर उत्साह बढेर आयो आमा । अरू पनि लेखूँ–लेखूँ भएर आयो।
आमाले पनि छोरीको कुरा सुन्थिन् र खुशी हुन्थिन्–ल नानी धेरै लेख्ने गर । तिमीलाई अरू किताबहरू पनि किनिदिन्छु है ।
फुकुनाले किताब किन्ने कुरा गर्दा उनका आमाबाबुले कहिल्यै नाइँ भन्नुभएन । फुकुना स्कूलमा गएर गुरुहरूलाई आफ्ना लेखरचना छापिएका पत्रिका देखाउँथिन् । गुरुहरूले फुकुनाले साहित्यमा अघि बढेको देख्दा दङ्ग पर्नुहुन्थ्यो । गुरुले कक्षामा सबै विद्यार्थीहरूलाई बोलाएर पत्रिका देखाएर भन्नुहुन्थ्यो – हेर नानीबाबु हा, फुकुनाले लेखेको कथा, कविता पत्रिकामा धेरै पटक छापिइसकेको छ । यिनलाई आफ्नो तर्फबाट म उपहार दिन्छु । अब तिमीहरू पनि यस्तै रचनाहरू लेखेर पत्रिकामा छाप्यौ भने म फुकुनालाई जस्तै उपहार दिन्छु, बुझ्यौं ।
गुरुले फुकुनाबारे भन्नुभएका कुरा सबै विद्यार्थीहरूले ध्यान दिएर सुनिरहेका थिए । एउटा–दुइटा गर्दै फुकुनाको पुस्तक निकाल्ने रचना तयार भयो । छोरीको पढाइलेखाइको लगाव देखेर उनका आमाबाबु खुसी हुनुहुन्थ्यो । आमाबाबुले पुस्तक प्रकाशन गरिदिनुभयो । स्कूलको कक्षाको पढाइमा पनि सबै विषयमा राम्रो थियो । बिस्तारैबिस्तारै उनीद्वारा लेखिएका पुस्तकहरू धेरै निस्किन लाग्यो । देशको विभिन्न संघसंस्थाबाट फुकुनाले थुप्रै बालप्रतिभा पुरस्कारहरू प्राप्त गरिन् ।
एकदिन फुकुनाको घरमै आएर पत्रकारले अन्तर्वार्ता लिए– तिमीलाई बालसाहित्य लेख्ने प्रेरणा कसले दियो, भन त?
फुकुनाले भनिन्–मेरो बुवासँग बाहिर बजार गएको बेलामा बालकथा, कविताका पुस्तकहरू किनेर ल्याउँथे र पढ्थें । मलाई कविता पढ्न एकदम मन लाग्छ । त्यसपछि अलिअलि गरेर लेख्ने अभ्यास गर्दै गएँ । मलाई स्कूलमा बुवाले खाजा खान दिएको पैसा जम्मा गरेर राख्थे । त्यही पैसाले किताब किन्थें ।
–टिभी हेर्छौ कि हेर्दैनौं ?
–कहिलेकहिले मात्र टिभी हेर्छु ।
–कस्तो कार्यक्रम हेर्छौ ?
फुकुनाले भनिन्– मलाई सबै कार्यक्रमहरू हेर्न मन लाग्दैन । कहिलेकाहीँ बालबालिकाका लागि ज्ञानवर्द्धक कार्यक्रमचाहिँ हेर्छु । धेरै कुरा सिक्न पाइन्छ । तर, धेरै टिभी हेर्दिन । आफ्नो स्कूलको गृहकार्य सिध्याएर फुर्सदको बेलामा धेरैजसो बालपुस्तकहरू पढ्छ ।
–तिमीजस्तै अरू साथीहरूलाई के भन्न चाहन्छौं ।
–मजस्तै साथीहरूलाई के भन्न चाहन्छु भने हामी पढ्ने विद्यार्थीहरूले धेरै टिभी, ल्यापटप, मोबाइल तथा आइप्याड हेर्नु हुँदैन । बरु पुस्तक अध्ययन गर्ने बानी बसाल्नुपर्छ । बजारमा धेरै थरीका बालपुस्तकहरू किन्न पाइन्छ। त्यसबाट धेरै रमाइला कुराहरू जानिन्छ।
– सानी भईकन फुकुनाको विचार कस्तो राम्रो बुझ्यौं ।
प्रकाशित: १० फाल्गुन २०७७ ०८:२० सोमबार