२३ फाल्गुन २०७७ आइतबार
कला

आरोप

लघुकथा

श्रीमानको छटपटी  नियालिरहेकी  शोभाले सान्त्वना  दिदै भनिन् – रातको १ बज्न लागिसक्यो। हजुर निदाउनु भा छैन। यसरी चिन्ता गरेर पनि हुन्छ कहीँ! 

शोभाको कुरा सुनेर उनको श्रीमानले भने– नाशै भो,  त्यत्रो दूध दिने भैंसी मर्यो। अब कसरी तिर्ला बैकको ऋण ! चिन्ता लागिरहेछ शोभा ।

– देवर बाबुको आँखाबाट आँसु  खस्दा साह्रै पीडा भयो हजुर मलाई पनि। शोभाले भनिन्।

हिजो देउरानी बहिनीलाई सान्त्वना  दिऊँ भनेर गाको थिएँ।  भैंसी मर्नुमा कारण मै भएजस्तो पो व्यवहार  गरिन्। नजिकै बसेकी कान्छी काकीले  यसो भनेपछि म छक्क परे।

–  शत्रु लाग्यो। भैंसी मारिदिए। रिस गर्ने आफ्नै रहेछन्।

– यस्तो अपराध त आफू मार्ने शत्रुलाई पनि कसैले नगरोस्। हामी त एउटै भातभान्साका। यस्तो अपराध सोच्न पनि सक्दैनौं । शोभाले मनको पीडा पोखिन श्रीमानसँग।

– न्याय मरेको छैन। नखा’को विष लाग्दैन। लामो श्वास फेरेर शोभाको श्रीमानले भने।

घटना घटेको रात बुढाबुढीले दुखेसो पोख्दै रात कटाए।

घटना घटेको दोस्रो दिन,

चिया पसल, मेलापात  जताततै भैंसी मरेको खबर फैलियो। भैंसी मर्नुमा सबैको आआफ्नो अड्कलबाजी थियो। विषयुक्त घाँस खाएर भैंसी मरेको हुनुपर्छ पशु विशेषज्ञको भनाइ  थियो।

बेलुकाको खाना खाँदा शोभाको जेठा छोराले भन्यो–  पारि गाउँमा त  दाजुभाउजूले विष खुवाएर भैंसी मारिदिए रे भन्ने  हल्ला छ रे । मेरो साथीले सोध्दै थियो।

शोभाको परिवार ठुलो तनावमा पर्यो। एकातिर आरोप अर्कातिर भाइको नोक्सान।

घटना घटेको तेस्रो दिन,

– मौसम धुम्म थियो। मैले आलुमा  कीटनाशक विषादी हालेको  थिएँ। त्यति नै बेला  तिम्री छोरीले त्यहीँ खेतको घाँस काटेर भैसीलाई हालिछिन्। त्यही घाँस खाएर भैंसी मरयो।  गाउँकी स्वयंसेविकाले भैंसी मर्नुको कारण खोलिन्  देवरदेउरानीसामु।  

– सुनिस् त भाइ, मेरा बाआमाले मारेको होइन रै छ त भैंसी। तैले हिजो मलाई भैंसी माराको छोरा भनेको होइन ।  खेल्दाखेल्दै शोभाको कान्छो छोराले  देवरको छोरातर्फ फर्केर भन्यो।

– मैले त मेरा बाआमाले भनेको सुनेर भनेको हुँ दाइ । त्यो अबोध बच्चाको स्पष्टीकरण थियो।

छोराको कुरा सुनेर लज्जाबोधले देवरदेउरानीको शिर झुकेको थियो।

प्रकाशित: १० फाल्गुन २०७७ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App