६ वैशाख २०८१ बिहीबार
कला

दाँतको देश

लघुकथा

    १) सिकारू साहित्यकार 

 

 ऊ त आफूलाई निपुर्ण साहित्यिक हस्ती मान्दथ्यो । फाट्टफुट्ट उसका रचनाहरू राष्ट्रिय स्तरका पत्रिकाहरूमा छापिन्थे पनि । तैपनि सङ्ग्रह भने निकालेको थिएन । अझै निख्खरता आओस्, अनि निकालौला भनेर थाँती राखेको थियो ।

 ऊसँग केही सिकारू साहित्यकारहरू सिकी माग्दथे । ऊ पनि फूर्ती लाएर सिकाइदिन्थ्यो । महिला मित्रमा चाहिँ विशेष रुचि राख्थ्यो । यस्तैमा एक दिन उसकै चेलीले सुटुक्क किताब छपाई । उसले, ‘हतारो किन गरेको’ भनेर हपारयो । आफ्नो उदाहरण दिँदै ‘माझिएपछि मात्रै निकाल्नुपर्ने’ भनेर भन्यो । चेली मुखले चुप लागे पनि मनले भनिराखेकी थिई — सरले सिकाइदिएको रचनाहरू पनि कम्तीका हुन्छन् र ? सरलाई आफूमा विश्वास नभए पनि मलाई चाहिँ तपाईँप्रति पूर्ण विश्वास भएर नै यो किताब निकालेको हुँ ।

 जाने बेलामा “समीक्षा लेखिदिनु सर” भनेर एउटा पुस्तक दिई । उसले समीक्षामा उत्कृष्ट छ भनेर लेखिदियो । 

केही समयपछि देशमा प्राज्ञको जरुरत परयो । उसकी चेली चल्तापूर्जा थिई । त्यसैको नाम सिफारिस भयो । त्यो देखेर ऊ खुशी हैन, खिन्न भएर भन्यो — ओहो, आफैले सिकाएर साहित्यकार बनाइदिएको मान्छे प्राज्ञ भई । जे जस्तो भए पनि बेलैमा मैले पनि सङ्ग्रह निकालेको भए अहिले मेरी चेली मभन्दा ठूलो ठाउँमा त पुग्ने थिइनँ ।    

 

       २) दाँतको देश  

   मुखभित्र दाँतको देश थियो । बत्तीस संख्या भएको देश सुन्दर, शान्त र विशाल मानिन्थ्यो । एकदिन दक्षिणतिरबाट उत्तरतिर बहेको तीव्र आँधी हुरीले त्यो देशमा क्रान्ति ल्यायो । क्रान्तिले लोकतन्त्र ल्यायो । लोकतन्त्रले अधिकार प्राप्तिका लागि हानथाप निम्त्यायो । देशको सत्तामा बङ्गारो मात्रै हालीमुहाली गरी बसेको थियो । सत्तामा बस्दाबस्दा एकदुईवटा बङ्गारो कीराले नखाएको पनि होइन । यही कीराले खाएको बङ्गारोको विरोध गर्दागर्दै अरू दाँतहरूले यस्तो भन्न थाले —

  ‘‘बङ्गारोले जस्तो हामी पनि चपाउन सक्छौँ नि, हामीचाहिँ केमा कम छाँै र ? कीरा लागेको बङ्गारो चाँइदैन – चाँइदैन !’’ यसलाई कुकुर बङ्गारोले अझ थपेर भन्यो —

  ‘‘मेरो त नामै कुकुर बङ्गारो । अरू बङ्गारोभन्दा केही कुरामा कम छैन भनेर नामैले जनाउँछ । तैपनि मलाई होच्याएर नामाकरण गरेको प्रति मेरो आपत्ती छ ।’’ उसको कुरालाई अरू दाँतले समर्थन जनाउँदै भने —

 ‘‘सबैले चपाउने काम नै गर्ने हो । आजकाल मान्छे सचेत छन् । नरम–नरम खानेकुरा चपाउँछन् । चाम्रो मासु नै चपाए पनि हड्डी त कसले चपाउँछ र ? त्यसैले हामीले पनि सद्दे बङ्गाराको जस्तै अधिकार पाउनुपर्छ, कीरा लागेको बङ्गारो निकाल्नुपर्छ ।’’ 

 यस विरोध कार्यको नेतृत्व कुकुर बङ्गारोले गरयो । विरोधकर्ताहरूलाई मुख बाहिर र भित्रका केही तत्वहरूले समर्थन जनाएर उचालेका थिए । रातदिन बन्द, हडताल हुन थालेपछि, हार खाएर बङ्गाराहरूले उनीहरूको मागको सम्बोधन गरे । समानुपातिक रूपमा आरक्षणको व्यवस्था गरी तिनीहरूलाई अधिकार दिए। 

साना दाँतहरूले बङ्गाराको अधिकार पाएकोमा खुसी मनाए । बङ्गारोको जस्तै चपाउँदै पनि गइरहे । बजारमा ढुङ्गा नमिसिएको दाल चामल पाउन गाह्रो थियो । एकदिन मान्छेले भातको गाँस हाल्दा अनजानवश दाँतको आकारको ढुङ्गा पनि चपायो । ढुङ्गाको भार कुकुर बङ्गारोलाई मात्रै पर्न गएछ । विचरा ! त्यो भार सहन नसकेर फेरि कहिल्यै नजोडिने गरी तीन टुक्रा भई भाँचियो ।

        ३) धर्म परिवर्तन 

 ऊ गरीब थिई । खानलाउन धौधौ थियो । पतिको मृत्यु भएकाले छोराछोरीलाई बाबुको समेत माया दिएर हुर्काउन गारो परेको थियो । आफूमाथि दैवले अन्याय गरेको ठहर गर्दै बेलाबेलामा ढुङ्गाको मूर्तिलाई सराप्थी । यो चाल पाएर अर्को धर्मको प्रवर्तकले धर्म परिवर्तन गर्न हौसायो । धर्म परिवर्तन गरेमा भूत, पे्रत, पिचास, आदिले दुःख नदिने र धनसम्पत्ति पनि मनग्गे कमाइने आशा दिलायो । उसले अन्कनाउँदै मानी । आखिर त्यता नलाग भनेर भनिदिने उसलाई कोही पनि त थिएन । उसले धर्म परिवर्तन गरी । दुईचार महिना त त्यो धर्मको प्रवर्तकले सकेकम्म सहयोग ग¥यो । उसले सोची —    “धर्म बदलेर राम्रो काम गरेँ । बच्चाहरूलाई खान लाउन र पढाउन सजिलो भइरहेछ ।”  

बिस्तारै–बिस्तारै अर्को दुईचार महिनापछि, महिनैपिच्छे उसले पनि लेबी बुझाउनुपर्ने भयो । अझ फेरि अर्को केही महिनापछि लेबीको अतिरिक्त, आफ्नो कमाइको केही भाग ईश्वरलाई पनि छुट्याउनुपर्ने भयो । अर्काको घरमा जुठो भाँडा माझेर कमाएको पैसामा पनि निश्चित प्रतिशत छुट्याउनु परेपछि उसलाई चित्त बुझेन । 

उसले त्यो धर्मको परित्याग गरेर अर्को धर्म अँगाली । सुख, शान्ति, वैभव त्यस मूर्ति पूजा गर्ने धर्ममा पनि पाइन । सुखको खोजीमा ऊ फेरि अर्को धर्मको पछि लागी । त्यसमा पनि सोचेजस्तो पाइन । यसरी धर्म बदलेर हिँड्दाहिँड्दा उसको खुट्टा थाकिसक्यो तर पनि उसको मन थाकेन । आफ्नो मनोकाङ्क्षा पूरा गर्न भौतारिरही । धेरै पत्थरका मूर्तिहरू छानीछानी हिँडिरही।

उसको यस्तो आनीबानी नियालिरहेको एउटा भिक्षुक थियो । त्यो भिक्षुक महिनाको एकपटक गाउँमा भिक्षा लिन जाँदा उसको घरमा पनि जान्थ्यो । उसले ती महिलाको चाला देखेर भन्यो — ‘‘ ईश्वर प्राणीको मनभित्र हुन्छ । आफैँ भित्र हुन्छ परमात्मा । आफैँ भित्रको ईश्वरलाई पूजा गरी कर्म नगरेर, यो आइमाई कत्ति धर्म परिवर्तन गरेर हिँड्छे ! ढुङ्गाको मूर्ति परिवर्तन गर्छे तर मन परिवर्तन गर्दिन । भन्यो भने मान्दिन, आफैँले जान्दिन ।’’  

 

      ४) यस्तो पनि धर्मात्मा  

ढुङ्गे धाराबाट खसेको पानीले भुइँको ढुङ्गालाई प्वाल बनाएको थियो । धारोको पानी त्यही प्वालबाट छिरी भित्रभित्रै एक बित्ता परबाट बाहिर निस्कन्थ्यो । ढुङ्गाको वरिपरि भने ओभानो थियो। 

एकपल्ट त्यही प्वालभन्दा एक बित्तामाथि एउटा कालो कमिला हिँड्दै थियो । एक त सुक्खा मौसम, त्यसमाथि पानीको छिटाले समेत नछोएकाले त्यसले आफ्नो ज्यानको खतरा देखेको थिएन । तसर्थ ढुङ्गाको वरिपरि चक्कर लाउँदै थियो।

एकछिनपछि एकजना कहलिएको धार्मिक गुरु आयो । उसको आँखा त्यस कमिलामाथि परयो तर उसलाई केही खास लागेन । उसले अनेक देवीदेवताको नाम उच्चारण गरेर अँजुलीभरि पानी लिँदै अनुहार धुन थाल्यो । उसको अँजुलीबाट खसेको पानीको छिटाले एकदुई पटक कमिलालाई लाग्थ्यो । कमिला सन्तुलन गुमाएर प्वालभित्र बग्न खोजे पनि सम्हालिएर हिँड्थ्यो । अनुहार पखालेपछि धर्मात्माले आँखा चिम्लिएर नानाथरीका देवीदेवताहरूका नाम लिँदै अँजुलीभरिको पानी तर्पण दियो । यो कार्यपछि आँखा खोल्यो ।

   देख्यो; उसले चढाएको पानीले कमिलालाई बगाउँदै रहेछ । यस दृश्यले पनि उसलाई छोएन र भन्यो –यो कमिला भाग्यमानी रहेछ । मजस्तो धर्मात्माले देवतालाई चढाएको जलले मरेर स्वर्ग जान लाग्यो । हरे राम... राम... राम... राम... हरे... हरे !        

 

      ५) फेसबुक भित्ता  

  “फेसबुक भित्तामा साह्रै राम्रो स्ट्याटस आ’को छ रे । यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे । त्यसलाई ‘लाइक’ गर्नेहरू लाख नाघिसके रे । प्रतिक्रिया लेख्नेचाहिँ आधा लाख जति  पुगे रे । हजुरले चाहिँ ‘लाइक’ गर्नु भो’ त्यसलाई ?” फतरफतर गर्दै मलाई श्रीमतीले सोधी । यस्तै प्रश्न अरू साथीहरूले फोन गरेर सोधे । अनि इष्टमित्रहरुले पनि सोधे । मैले सबैलाई एउटै जवाफ दिएँ —भ्याएकै छैन । म छिट्टै हेरेर ‘लाइक’ हानी दिउँला।

कसरी भ्याउनु ? समय भएको बेला बत्ती नहुने, बत्ती भएको बेलामा इन्टरनेट नहुने, इन्टरनेट भएको बेलामा केही न केही काम आइलाग्ने । बल्लबल्ल सबै थोक मिलेको बेलामा फेसबुक खोलेँ । खोल्नासाथ ठूला व्यक्तिको स्ट्याटस आइहाल्यो । तीनको स्ट्याटस पढेँ — “साथी हो, मलाई रुघा लाग्यो । हाच्छ्यु !”  

म  अलमल परेँ । यस्तो स्ट्याटस पनि कसरी हिट भा’को ? अनि बिरामी भएको कुरालाई कसरी मन पराऊँ ? उपचारको विधि लेखेर प्रतिक्रिया दिऊँ भने, रुघाको औषधि नजान्ने कोचाहिँ होला र ? त्यसमाथि पनि त्यहाँ पचासौ हजारले त केही न केही लेखेकै थिए । स्वास्थ्य लाभको कामनासहित डाक्टरैजस्तो भएर औषधिको सल्लाह धेरैले दिएकै थिए । त्यसैले मैले प्रतिक्रिया पनि जनाइनँ । अनि त्यहीँ एकजना पुरुषले असाध्यै राम्रो सल्लाह दिएका थिए । त्यसलाई मन पराउने मेरै लाइक पहिलो भयो । मैले उनको नाममा क्लिक गरेँ । उनको पाना खुल्यो । आफ्नो भित्तामा उनले तीन दिन अघिदेखि सुन्दर कविता लेखेर राखेका रहेछन् ।

आश्चर्य, त्यहाँ उनीबाहेक अरू एक जनाले पनि मन पराएको र प्रतिक्रिया दिएको पाइनँ ।   

प्रकाशित: १० फाल्गुन २०७७ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App