२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पिता गुरुकुलकी शिष्या पुत्री

उद्दालकका पुत्र श्वेतकेतुले न्यग्रोध रूखको फलभित्रको बीउ त देखे, तर बीउभित्रको सूक्ष्म सार देखेनन् रे। उद्दालकले पुत्र श्वेतकेतुले देख्न नसकेको बीउ भित्रको त्यो सूक्ष्म सार, जुन सारबाट त्यो महान् न्यग्रोध रूख अस्तित्वमा आएथ्यो, त्यही सारलाई जसरी देखाइदिएथे, त्यसैगरी मेरा पिताले मेरो अन्तरदृष्टि जागृत गराई मैले देख्न नसकेको मभित्रको ब्रह्मा, जुन सबै अस्तित्वलाई अन्तर्निहित गर्ने सर्वोच्च आध्यात्मिक वास्तविकता हो, तिनै ब्रह्मा देखाइदिएथे।

यो डाँडाको त्यो मुण्डा घर, पश्चिम परिसरका अग्ला–अग्ला धूपीका रूख, पतझडमा पनि हरियो, आफ्नो परिवर्तनशील सृष्टिको यो अपवादले सृष्टिकर्ता आफैँ पराजित। उत्तर परिसरका विभिन्न फलफूलका रूख, आफ्नो सृष्टिको चमत्कारले सृष्टिकर्ता आफैँ चकित। दक्षिण परिसरको पारिजातको रूख, आफ्नो उपहारको सुगन्धले इन्द्र आफैँ मोहित। करिब ५५ वर्षअघि बनेको त्यो घरको समृद्घि आजसम्म जस्ताको त्यस्तै छ, प्रश्न यो होइन। महाभूकम्पमा समेत डगेन त्यो घर, प्रश्न यो पनि होइन। जब म बुझ्ने भएँ, करिब ७ या ८ वर्षकी हुँदी हुँ, एक प्रकारको लगाव छ त्यो घरप्रति मेरो। मेरो हृदयमा बसेको त्यो घर, मेरो शक्ति, मेरो कमजोरी पनि। पिताको अठोटको कंक्रिट र माताको ममताको सिमेन्टलाई परिवारको पसिनाले मुछेर खडा गरेको त्यो घर, मेरा लागि मात्र एक घर नभई एक पवित्र आश्रम हो। त्यो घरमा कति इँटा छन् म यकिन भन्न सक्दिनँ तर, म सजिलै भन्न सक्छु कुन–कुन इँटामा प्रेम, प्रशन्नता, प्रकाश, आनन्द, आत्मा, आत्मविश्वास, आत्मसम्मान, शान्ति, सत्य, समृद्धि, खुसी, कृतज्ञता कहाँ–कहाँ कुदिएका छन्। यिनै शब्दको अक्षर सिक्दै मेरो बाल्यावस्था बित्यो। यिनै शब्दको अर्थ सिक्दै किशोरावस्था बित्यो। शब्दको अर्थ निर्देशित जीवन चलिराछ।

रघुवंश, कुरुवंश, यदुवंश, सूर्यवंश, चाहे जुनसुकै वंशमा जन्म होस्– बालक जन्मजात अबोध, निर्मल, पवित्र, चञ्चल र स्वतन्त्र हुन्छ। तत्पश्चात् बालकको चरित्र निर्माण, माताको लालनपालन, पिताको संस्कार र गुरुको दीक्षाले निर्धारण गर्छ। पिता चाहन्छन् सन्तान आफ्नो कुलको नाम उँचो गरोस्। गुरु चाहन्छन् शिष्य गुरुकुलको नाम उँचो गरोस्। धृतराष्ट्र र द्रोणाचार्य बीचको सन्तुलन मिलाउने जिम्मा पिताको। मातापिता बालकको प्रथम गुरु। उनकै पाठ्यक्रम बालकको प्रथम पाठ्यक्रम। हाम्रा पिताका पाठ्यक्रमा बिहान ७ बजे उठ्ने, राति ९ बजे सुत्ने, स्कुलबाट फर्किएपछि दुई घन्टा खेल्नैपर्ने जस्ता बाल स्वतन्त्रता हुन्थे। साथै स्कुलबाट सीधै घर फर्कनुपर्ने, घरको काममा आमालाई सघाउनुपर्ने, आमाले जे दिन्छिन्, झगडा नगरी त्यही खानुपर्ने, रेडियो सुन्न नपाइने, सिनेमा हेर्न नपाइने, चलेको फेसन अनुकूलका पहिरन गर्न नपाइने, जस्ता नियन्त्रण पनि हुन्थे। जेहोस्, एउटा बालक मस्त सुत्न र निर्विघ्न खेल्न पाए अरू के चाहन्छ र ? उसले खाइदिने र लगाइदिने त मातापिताका लागि न हो !  

पिताको बुझाइमा तामसी खाना सामन्ती विचाराधारको सूत्रधार हुनाले, हामी प्रायः सात्विक खाना खाएर हुर्कियौँ। हाम्रो घरमा मौसमी फलका डोकोका डोको भित्रिन्थ्यो। सहरी झन्झटका बीच पनि गाई गोठमा कहिले पुतली त कहिले खैरी गाई हुन्थिन्। यस्तै भड्किलो पहिरनले मति भ्रष्ट पार्ने पिताको बुझाइले हाम्रा लागि गर्मीमा एकै थानको नीलो फूलबुट्टे टेरिकटनको घाँधर र जाडोमा कालो फलालिनको भोटो सुरुवाल हुन्थ्यो। यही पोसाकमा बेलुका खेल्न जाँदा साथीहरू कहिले नील गाईको लस्कर त कहिले भालुको बथान आयो भन्दै लखेट्थे। जनावर बनाइएकामा दुःखी हुनुको केही अर्थ रहन्थ्यो। यो यस्तै चल्यो। माताले हामीलाई सम्झाए अनुसार, पिताका यस्ता व्यवस्था थोरै हामीमाथि नियन्त्रण कायम र धेरै हामीबीच समानता स्थापनाका लागि थिए।

पिताका समानताका सिद्धान्त पोसाकमा मात्र सीमित रहेन, स्कुलको नतिजामा प्रथम वा उत्तीर्ण जेसुकै नतिजा ल्याउने सन्तानलाई उत्तिकै उत्साह साथ अँगालो हाल्थे। स्कुलको नतिजामा आफ्ना सन्तानको मूल्यांकन कहिल्यै गरेनन्। बरु आफ्ना सन्तानका विशिष्ट व्यक्तिगत गुण पहिल्याई उनीहरूका व्यक्तित्व परिभाषित हुने भविष्यको बाटो देखाइदिन्थे। पिताले हामीलाई डाक्टर, इन्जिनियर, मास्टर जे रुचि लाग्छ, त्यतै लाग्ने बाटो खुला गरिदिए। पिताकै साहित्य क्षेत्रमा लाग्न बाध्य बनाएनन्। तर, हामी सबैमा साहित्यप्रति प्रेम भने जगाइदिए। पिताकोे मान्यता थियो, एउटा बालकलाई सही गलतको निर्णय उसैमा छाड्नुपर्छ। बालक जब स्वयं सत्यको सामना गर्छ, ऊ कहिल्यै सत्यबाट टाढा भाग्दैन। कथं कदाचित भागे पनि केही समयमै फर्कन्छ। करकापमा स्विकार्न लगाइएको सत्यबाट बालक कहिल्यै नफर्कने गरी भाग्छ। उनी बालकलाई खेलखेलमैै जीवनको सत्य देखाइदिन्थे।  

पिठ्यँु चढ्दै, उफ्रँदै अनि काँधबाट फाल हाल्दै पितालाई घोडा बनाउने खेल लामो समय खेलिएछ। धेरैपछि एक दिन अति भएछ, दिक्दारीमा पिताले म माथिकी दिदी र मलाई पालैपालो दुई खुट्टा समाएर उँधो मुन्टो फनन्न घुमाइदिए। त्यति बेला मेरो सामुन्ने घुमेको पृथ्वी अझै घुम्याघुम्यै छ। बल्ल थाहा भो, पृथ्वी स्थिर होइन, घुम्दो पो रहेछ। सूर्योदयपछि सूर्यास्त हुनैपर्ने बाध्यता यही रहेछ। जन्मपछि मरण निश्चितताको रहस्य पनि यही रहेछ। जीवन सरल रेखाजस्तो अन्त्यहीन यात्रा नभई आदि अन्त्य निश्चितताको गोलाकार यात्रा रहेछ। जुन दिन यो कुरो बुझेँ, त्यसै दिन आफूले बालुवाको तह मिलाउँदा मिलाउँदै सुन्दर घर बन्दाको हर्षको हाँसो र केहीबेरमैे हावाको झोँकामा त्यही घर ढल्दाको विस्मातको आँसु सम्झी मीठो हाँसो हाँसेँ।  

पिता जीवन जिउने ज्ञान बाँड्दैनथे, जीवन जिउने कला सिकाउँथे, आफैँ कलाकार बनी। सूर्यको प्रत्येक किरणलाई प्रातः नयाँ अवसर देखाइदिएकामा अन्तर्आत्मादेखि आभार प्रकट गर्दै उनकोे दिन आरम्भ हुन्थ्यो। मैले न ध्यान गरेकी छु, न ध्यानकोे खास अध्ययन नै। पिता ध्यान गर्थे भन्ने कुरो बाल्यावस्थामा आमाबाट सुनेथेँ। मैले बुझेको ध्यान मुद्रा हिमालय पर्वतको काखमा आँखा चिम्ली एक आसन बस्ने महादेवको तस्बिर थियो। पितालाई त्यस्तो मुद्रामा कहिल्यै देखिनँ, माताले झूट बोल्नुपर्ने कारण पनि देखिनँ। म सात वर्षकी हुँदाको मेरो यो दुविधा हट्न करिब एक दशक लाग्यो। ध्यान गर्ने होइन, ध्यान हुने रहेछ। पिताको प्रातः सूर्य दर्शन नै ध्यानको आरम्भ रहेछ। आफ्नो मन भित्र छिरी, आफैँले आफ्नो मनको दिव्य ज्योति जलाई, आफैँलाई खोज्ने विधि ध्यान रहेछ। आफूलाई पाउनु र जान्नु नै ध्यानको अन्तिम उपलब्धि, जागरण रहेछ। जागरण नै जीवनको सर्वोच्चताको क्षण रहेछ। चाँदीजस्तै चम्किलो सेतो हिउँ नै हिमालयको सुन्दरताको रहस्य रहेछ। पिताको बगैँचामा फक्रिएको गुलाबको प्रत्येक पत्रमा अड्किएको सुगन्ध नै गुलाबको सुन्दरता रहेछ। सुन्दरता नै प्रकृतिको चैतन्य रहेछ। चैतन्य नै प्रकृतिको सर्वोच्चता रहेछ। प्रकृतिको यही सर्वोच्चता आफ्नो काव्यमा ढालेर पिताले गरेको सिर्जना नै नेपाली साहित्यको सर्वोच्चता रहेछ। किशोरावस्थाको अन्तिम पढाइ हुँदै गर्दा बल्ल यो कुरा बुझँे जस्तो, बुझ्नै बाँकीजस्तो पनि।

बुझाइको अन्त्य छैन। जति बुझ्यो, त्यति बुझ्न बाँकी। जति बुझ्न बाँकी, त्यति बुझ्न मन लाग्ने। जति बुझ्न मन लाग्ने, त्यति बुझ्न कठिन। पिताको आँगनमा नित्य सबेरै डुल्ने एक जोडी ढुकुरलाई निहाल्ने पिताका ती एक जोडी आँखामा प्रेम वा करुणा के थिए बुझ्नै कठिन। एक रसको यकिन गर्दानगर्दै अर्को रसको झल्को आइदिने। त्यो जोडी ढुकुर अहिले पनि पिताको आँगनमा त्यस्तै देख्छु। तर, ती एक जोडी प्यारा आँखा अब कहिल्यै देखिने छैनन्।

सम्झना ताजै छ। पिताका बिहानका नित्य कर्म बगैँचाको घुमाई, केहीबेरको शवासनपछि चिसो पानीको स्नान गरी अन्त्य हुन्थ्यो। पिता वर्षका सबै महिना चिसै पानीको स्नान गर्थे। प्रकृतिको स्वाभाविक रूप स्विकारेर प्रकृतिप्रति प्रेम र आदर प्रकट गर्थे। प्रकृतिलाई नखलबलाउन पिता आफ्नो साहित्य माध्यम सबैलाई आह्वान गरिरहन्थे। स्नानपछि शास्त्रीय संगीतको धुनमा काव्य रचनामा डुब्थे। काव्यको छन्द संगीतको सुरतालमा ननाचेसम्म छाड्दै छाड्दैनथे, चाहे जतिसुकै समय किन लागोस्, चाहे थोरै रचना नै प्रकाशनमा किन नआवोस्। यो मेरा पिता गुरुले सिकाएका पूर्णता प्राप्तिको पाठ थियो।  

बाल्यावस्थादेखि किशोरावस्थाको अन्तिम पढाइसम्म म बिहान–बेलुकी पिता गुरुको पाठ पढी, दिउँसो गुरुका पाठ पढ्न पाठशालाका जान्थे। दुई गुरुको दिक्षाको अन्तर मेरा लागि यति मात्र थिए, पिता गुरु जे सिकाउँथे, त्यो मेरो हृदयमा बस्थ्यो। पाठशालाका गुरु जे सिकाउँथे, त्यो मेरो दिमागमा बस्थ्यो। दिनभरि म पाठशालामा हुन्थे, पिता प्रज्ञा प्रतिष्ठान जान्थे। प्रज्ञा प्रतिष्ठानमा पिता के कसो गर्थे, जान्न पाइनँ। बेलुका म घर फर्किंदा पितालाई आफ्नो शयन कक्षसँग जोडिएको सिसै सिसाको कोठामा सूर्यास्तको प्रतीक्षामा पाउँथे। सूर्यास्तको केही अगाडि बकुल्लाको बथान आफ्नो बासस्थान फर्किंदै गरेको बडो प्रफुल्ल भई हेरिरहन्थेँ। बकुल्ला शान्ति, आशीर्वाद र शुभकामनाका प्रतीक हुन भन्ने सुनेथेँ। के प्रत्येक साँझ पिता आफ्ना लागि शान्ति, आशीर्वाद र शुभकामना प्राप्तिको प्रतीक्षारत हुन्थे ? वा, बकुल्लाका बथानमा उनले देखेका स्वतन्त्रता, स्वायत्तता र आत्मनिर्देशनको विम्ब, काव्यमा उतारी काव्य जीवन्त बनाउने अभ्यासमा हुन्थे, वा अरू केही, त्यो उनै जानून्। बकुल्लाका बथान बासस्थानमा पुग्दानपुग्दै सूर्यास्त हुनै लाग्थ्यो। त्यति बेलाको त्यो पश्चिम क्षितिजको सुनौलो आभालाई कृतज्ञता साथ बिदा गर्दै नयाँ बिहानीको आगमनको निश्चिततामा पिताको त्यो दिन पूरा हुन्थ्यो। सायद यही नै ध्यानको अन्तिम पढाइ, जीवन भरिर्पूणताको पढाइ।  

यस्तै पुस्तकै पुस्तकले भरिपूर्ण छ, पिताको शयन कक्षको दक्षिण भित्तामा टाँसिएको आलमिराको दराज। म बालक हुँदा या किशोरी नै हुँदा पनि त्यो आलमिरा त्यस्तै थियो, वा थिएन सम्झना भएन। तर, अहिले लाग्छ पिताको शयन कक्षकोे त्यो दराज यस्तै थियो र सदा रहन्छ पनि। पंक्तिबद्घ सजिएका स्वामी अरबिन्द, विवेकानन्द, रामकृष्ण परम्हंस, गुरुदेव रविन्द्रनाथ टैगारका जीवनी, वेद, उपनिषद, रामायण, महाभारत, गीता पिताको जीवनभरिको आर्जन, हाम्रा लागि जर्गेना भएका खजाना हुन्। यही खजाना उपभोग गरी आफ्नो आन्तरिक जीवन परिपूर्ण, व्यापक, सार्वभौमिक बनाई ब्रह्माण्डसँग सम्बन्ध स्थापित गर्ने बाटो पिताले देखाइदिएका छन्।  

आफू भित्र छिरी आफ्नो विशिष्टता आफैँ पहिल्याई, प्रकृतिको तत्सम्बन्धी विशिष्टतासँग तालमेल मिलाई जसरी पिताले प्रकृतिको सौन्दर्यलाई आफ्नो काव्यमा ढाली काव्यको गरिमा बढाएथे त्यसरी नै, प्रकृतिको उपचारात्मक गुण आफ्नो उपचार विधिमा ढाली विज्ञानका उपलब्धिसँगै निम्तिएका उपचारका कडापनको न्यूनीकरण गर्ने कला मैले उनैबाट सिके। एक चिकित्सका लागि यो सिकाइ त्यति सजिलो भने थिएन। उद्दालकका पुत्र श्वेतकेतुले न्यग्रोध रूखको फलभित्रको बीउ त देखे, तर बीउभित्रको सूक्ष्म सार देखेनन् रे। उद्दालकले पुत्र श्वेतकेतुले देख्न नसकेको बीउ भित्रको त्यो सूक्ष्म सार, जुन सारबाट त्यो महान् न्यग्रोध रूख अस्तित्वमा आएथ्यो, त्यही सारलाई जसरी देखाइदिएथे, त्यसैगरी मेरा पिताले मेरो अन्तरदृष्टि जागृत गराई मैले देख्न नसकेको मभित्रको ब्रह्मा, जुन सबै अस्तित्वलाई अन्तर्निहित गर्ने सर्वोच्च आध्यात्मिक वास्तविकता हो, तिनै ब्रह्मा देखाइदिएथे। तिनै मभित्रको ब्रह्मा देख्नु नै मेरो पिता गुरुकुल बसाइको सर्वोच्च सिकाइ हो।

प्रकाशित: ११ पुस २०७७ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App