६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

अल्छी बकुल्ला

लघुकथा

सत्या अधिकारी

 

 

एक हुल बकुल्ला  आहाराको खोजीमा भौतारिँदै थिए । अचानक उनीहरूले एउटा तलाउ देखे ।  त्यहाँ धेरै माछाहरू देखेर  एउटा बकुल्लाले भन्यो – हेर त साथीहरू, कत्ति धेरै माछा ।  अब हामीलाई धेरै दिनसम्म बसेरै खान पुग्ने भयो ।

यो कुरामा सबैले सही थापे । तर,  एउटा पाको उमेरको एउटा बकुल्लालाई   चित्त बुझेन र भन्यो – हेर साथी हो ,  हामी भनेको उड्ने पन्छी हौं । यसरी एकै ठाउँमा बसेर एउटै आहारा खानु राम्रो हुँदैन  ।  बरु अर्को ठाउँ पनि खोजौँ। उडीउडी ठाउँ  फेरिफेरि खानुको मज्जा हुन्छ नि ।

अरूले उसको कुरा मानेनन् । ऊ एक्लै त्यहाँबाट उडेर गयो।

समय बित्तै गयो । एकजना व्यापारीले त्यो तलाउ माछा पाल्न भनेर किने । तलाउ वरिपरिका सबै आफ्ना माछा खाने बकुल्ला मार्न सिकारी पठाए।

धेरै बकुल्ला एकै चिहान भए । तर,  एउटा बकुल्ला जीवन मरणको अन्तिम सास फेर्दै थियो । त्यही बेला उसको उही पुरानो साथी उसलाई भेट्न आयो। जो वर्षौं पहिला उनीहरूसँग कुरा नमिलेर उडेर गएको थियो। अवस्थाप्रति दुखी हुँदै उसले  सोध्यो –  तिमीले यो के हाल बनाएको ?  खै अरू साथीहरू कता गए ?

चिन्तित मुद्रामा उसले व्यापारीको सबै कुरा बेलिबिस्तार लगायो र पश्चातापको स्वरमा भन्यो – तिम्रो कुरा मानेर  तिमीसँगै गएको भए हाम्रो यो  हालत हुने थिएन ।

छक्क परेर उसले सोध्यो – अनि तिमीहरू त उड्न सक्थ्यौ नि ?  ज्यान बचाउन  किन उडेनौ ?

घाइते बकुल्लाले भन्यो – हामीलाई बसीबसी तलाउको माछा खाने बानी परिसकेको थियो । आफूहरू उड्न सक्छौं भन्ने कुरा नै हामीले भुलिसकेका थियौँ । 

प्रकाशित: ९ पुस २०७७ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App