सत्या अधिकारी
एक हुल बकुल्ला आहाराको खोजीमा भौतारिँदै थिए । अचानक उनीहरूले एउटा तलाउ देखे । त्यहाँ धेरै माछाहरू देखेर एउटा बकुल्लाले भन्यो – हेर त साथीहरू, कत्ति धेरै माछा । अब हामीलाई धेरै दिनसम्म बसेरै खान पुग्ने भयो ।
यो कुरामा सबैले सही थापे । तर, एउटा पाको उमेरको एउटा बकुल्लालाई चित्त बुझेन र भन्यो – हेर साथी हो , हामी भनेको उड्ने पन्छी हौं । यसरी एकै ठाउँमा बसेर एउटै आहारा खानु राम्रो हुँदैन । बरु अर्को ठाउँ पनि खोजौँ। उडीउडी ठाउँ फेरिफेरि खानुको मज्जा हुन्छ नि ।
अरूले उसको कुरा मानेनन् । ऊ एक्लै त्यहाँबाट उडेर गयो।
समय बित्तै गयो । एकजना व्यापारीले त्यो तलाउ माछा पाल्न भनेर किने । तलाउ वरिपरिका सबै आफ्ना माछा खाने बकुल्ला मार्न सिकारी पठाए।
धेरै बकुल्ला एकै चिहान भए । तर, एउटा बकुल्ला जीवन मरणको अन्तिम सास फेर्दै थियो । त्यही बेला उसको उही पुरानो साथी उसलाई भेट्न आयो। जो वर्षौं पहिला उनीहरूसँग कुरा नमिलेर उडेर गएको थियो। अवस्थाप्रति दुखी हुँदै उसले सोध्यो – तिमीले यो के हाल बनाएको ? खै अरू साथीहरू कता गए ?
चिन्तित मुद्रामा उसले व्यापारीको सबै कुरा बेलिबिस्तार लगायो र पश्चातापको स्वरमा भन्यो – तिम्रो कुरा मानेर तिमीसँगै गएको भए हाम्रो यो हालत हुने थिएन ।
छक्क परेर उसले सोध्यो – अनि तिमीहरू त उड्न सक्थ्यौ नि ? ज्यान बचाउन किन उडेनौ ?
घाइते बकुल्लाले भन्यो – हामीलाई बसीबसी तलाउको माछा खाने बानी परिसकेको थियो । आफूहरू उड्न सक्छौं भन्ने कुरा नै हामीले भुलिसकेका थियौँ ।
प्रकाशित: ९ पुस २०७७ ११:१५ बिहीबार





