आचार्य प्रभा
आज छोराछोरी होस्टेलबाट घर आउने दिन। आमाले दालभात, तरकारी, मासु , घिउ, दूध, दही सबै थोक तयार गरेर राखिन्। आमाको मन आफ्ना नानीबाबुले होस्टेलमा भनेजस्तो खान पाउँदैनन् भनेर हत्तपत्त साँझको खाना पकाइन् र बेचैन भएर छोराछोरीको प्रतीक्षामा बसिन्। केही समयपछि बाबाले छोराछोरी ल्याइपुरयाए।आमा खुशी हँदै ढोकामा पुगिन्। आमालाई देखेर छोरी मुसुक्क हाँस्दै कोठामा पसिन् । छोरा गाडीभित्रैबाट साथीसँगको कुराकानीमा कानमा फोन टसाउँदै कोठामा पस्यो। आमा केही क्षण निशब्द बनिन्।
केही समयसम्म पर्खिंदा पनि छोराछोरी आमा नजिक नआउँदा आमाले सोचिन् – भोकाएका होलान् । पहिला तात्तातै खाना खुवाइहाल्छु । त्यसपछि कुरा गरौंला भनेर आमा छोराछोरीलाई खाना खान बोलाउन उनीहरूकहाँ गइन् ।
–लल खाना खाइहाल पहिला। मैले तिमीहरूलाई मनपर्ने सबथोक बनाएकी छु नत्र सेलाउँछ ऐले ।
छोरीले जवाफ दिइन्– आमा पनि क्या कुरा गरिसिन्छ ! कहाँ बेलुका पनि भात खानु ! म त डाइटिङमा छु।बेलुका त हल्काफुल्का स्न्याक्स मात्र खान्छु।
अर्को कोठाबाट छोराले पनि जवाफ दियो– आमा, म त साथीसँग डिनरमा खाना खान जाने सल्लाह छ । बाहिरै जान्छु।
आमा स्तब्ध बनिन् र चुल्होमा तताइरहेको खानामा पुलुक्क हेरेर निन्याउरो मुख लाउँदै आफ्नो कोठामा पसिन्।
प्रकाशित: ४ पुस २०७७ ०६:२६ शनिबार



-600x400.jpg)

