अनिता न्यौपाने
तेस्रो पटक बिग्रिएको छ गाडी, कतिखेर पुग्ने होला काठमाडौँ । मनमा अनेकौँ सोचहरू छन् । बरु प्लेनबाट जानु पाएको भए पनि हुने नि आफैँलाई प्रश्न गर्छु । उही त हो कुरा यहाँबाट एक घण्टा लगाएर एयरपोर्ट जाउ, त्यहाँ एक घण्टा बस, कहिलेकाहीँ त मौसमको कारणले ढिले भैदिन्छ प्लेन पनि । यात्रामा कहिले रोकिएको थिइन म । आज यो सुमोले सताउनु सतायो ।
पहिलो पटक भीमफेदीमा बिग्रियो ला १ अब कसरी पुग्ने समयमा भन्दाभन्दै बल्ल बन्यो र हिँडेका थियौँ । दोस्रो पटक देउराली आएपछि उही समस्या देखियो । अब सिस्नेरीको पालो । दिमागमा जति ह्याङ भरिएको छ मनमा उति नै खुसी छ । वर्षौको सपना पूरा भएको छ । सायद दिदी भएकी भए झन् धेरै खुसी हुन्थिन् किनकि यो उनको सपना थियो । दिदीको सपनालाई मैले कोसिस मात्रै गरेको थिएँ । मायाको न्यानोपनले बाँधेको मात्रै थिएँ । आमा हुन सक्दिन थिएँ तर आमा बन्ने कोसिसमा हरप्रहर लागेको थिएँ । चाहना नहुँदानहुँदै पनि एक सफल र असल मान्छे बन्न अमेरिका पठाएकी थिएँ । त्यसैको फलस्वरूप आज उसको सपनाले एउटा उडान भरेको थियो र झोलाभरि खुसी लिएर फर्कदै थिइन् छोरी ।
दस वर्षपछि छोरीको अनुहार देख्दै छु । हुन त समाजिक सञ्जालमा ऊसँग भेट नभएको हैन तर पनि उसले उसकी आमालाई गरेकी वाचा पूरा गरेर आज फर्कदैछिन् । त्यसैले म उसलाई लिन हिँडेकी छु । साँच्चै कस्ती भई होलिन् छोरी ? यदि आत्मा छ भने दिदीको आत्मालाई यो खबर सुनाउन मन छ चिच्चाईचिच्याई भन्न मन छ दिदी आज तिम्रो सपना पूरा भएको छ । छोरी आउँदै छे । सायद दिदी सुन्दै छिन् या महसुस गर्दैछिन् । त्यसैले पनि त दिदीको खूब याद आइरहेको छ आज । एउटा मन खुसी छ अर्को मनमा भक्कानो फुटेको छ । देखाऊँ कसलाई ? आफ्नो कपालमा हिँउ पर्न थालिसकेको छ । अनुहारमा चाउरिका धर्साहरूले नराम्रोसँग छोएको छ । भन्नेहरूले भन्छन् लामो समय हैन दश वर्ष तर आफूलाई यो एक दशक बिताउनु सात जुनी बिताए बराबर भएको छ । के पो भन्छन् हो मान्छे ? समयभन्दा बलबान् को रहेछ र ?
“पानी खानुहुन्छ बहिनी ! ” कुनै अपरिचित अनुहारले सोधेँ
“ नाइँ, मैले खाइसकेँ ।” मैले उनितिर फर्केर जवाफ दिएँ । उनी हस् भन्दै पानीको बोतल लिएर अगाडि बढे ।
“कतिखेर बन्छ यो गाडी ? मलाई दिक्क लागिसक्यो,” मैले झर्केर ड्राइभरलाई सोधेँ ।
ड्राइभरले मुसुक्क हाँसेर जवाफ दिए– “बनाउने मान्छे आएपछि ?”
मलाई झन् झन्नक रिस उठ्यो ।
मलाई अर्को सुमो पठाइदिनु ? मलाई एकदमै हतार छ । उसले हुन्छको नाममा टाउको हल्लायो । म गाडी बन्ने प्रतिक्षामा सुमोको छेउमै बसेँ ।
– ओई नानी कसैले मलाई बोलायो । मैले सुने मात्रै तर कोही देखिनँ । किन देखिन प्रश्न आफैँसँग गरेँ । भ्रम थियो सायद । तर हैन रहेछ कसैले मलाई नै बोलाएको थियो – यसो ढल्केर हेरेँ गाउँकी पार्वती दिदी रहिछिन् । गाडीबाट टाउको निकाल्दै मलाई बोलाइरहेकी । मलाई नै देखेर गाडी रोकेका रहेछन् । तँ कहाँ हिँडेकी ?
“काठमाडौँ ?”, मैले भने ।
“हो र, कहिले फर्कने त ?” उनले फेरि सोधिन ।
“भ्याएसम्म त आजै नत्र भोलि बिहान ।” मैले भने ।
– लौन आजै गएर आजै कस्तो काम हो तेरो ।
– थोरै काम छ दिदी सकिनेबित्तिकै फर्कने छु । म चढेको सुमो बिर्गेको छ । त्यसैले अलि ढिला हुन्छ कि भन्ने लागेको हो । नत्र त भ्याउँथेँ ।
–आइज यसैमा जाऊ म पनि काठमाडौँ नै जान लागेको ।
मैले ढुङ्गा खोज्दा देउता मिलेको महसुस गरेँ र उनीहरूसँगै जान तयार भएँ । ड्राइभरलाई आफू जान लागेको जानकारी गराएर गाडीमा चढेँ । पार्वती दिदी मक्ख परिन् म झनै मक्ख परेँ । केहीबेरको कुराकानीपछि दिदी बमिट आउने भएर निदाउने कोसिस गर्न थालिन् । भिनाजु त्यति बोल्ने मान्छे नै हैनन् । त्यसै पनि भिनाजुसँगको यो मेरो दोस्रो भेट थियो । धेरै वर्ष विदेश बसेर फर्कनुभएको थियो । पहिला गाउँघरमा भए पनि अहिले माइती नजिकै घर बनाएका थिएँ । त्यसैले उनी मेरो गाउँको दिदी थिइन् । गाडीमा म एक्लो महसुस गरिरहेँ । गाडी आफ्नै रफ्तारमा कुदिरह्यो ।
मङ्सिरको महिना जाडो निकै बढेको थियो । हरिया पातहरू भेट्न मुस्किल थियो । म आफैले आफैँलाई प्रकृतिसँग मूल्याङ्कन गरिरहेको थिएँ । यस्तै उजाड छ यो मन पनि ? किन कहिले फर्कदैन वसन्त ? किन कहिले हरियो हुँदैन यो मन ? किन रमाउन सक्दिन म ? किन कसैको मायाले पनि मलाई पूर्ण बनाउन सक्दैन ? म के खोजिरहेकी छु ?
मेरो खोजेको विषय के हो ? के थियो र के भयो जिन्दगी ? किन यस्तो भयो ? अनेकौ छन् मनमा प्रश्न तर उत्तर खाली छ । जहाँ प्रश्न हुन्छ त्यहाँ उत्तर हुन्छ भन्छन् तर मसँग प्रश्न मात्रै छ किन कतै उत्तर छैन ? आफैँले आफैँलाई हजारौँ पटक गर्ने प्रश्न हो यो ।
दिदी बित्नुभएको आज दश वर्ष भइसकेको छ । छोरी दश कक्षामा पढ्दा दिदीको मृत्युको खबर एकाबिहानै सुन्नुपरेको थियो । खूब ममताले बाँधेर राखेकी थिइन् दिदीले मलाई । इमा थियो नाम । झट्ट हेर्दा अप्सराजस्तै लाग्थ्यो । मेरो आफ्नै दिदी त हैन तर पनि मेरै आमाले जन्माएको भन्दा कम थिएनन् उनको व्यवहार ममाथि । उमेरले पनि भर्खर तीन दशक पार गरेको थियो उनको र मेरो भेट हुँदा । माइतकी एक्ली छोरी । घरकी एक्ली बुहारी । जिम्मेवारीको निकै ठूलो पहाड थियो उनको जीवनमा तर पनि स्वभावैले उनी निकै हँसिली थिइन् । जस्तै परिस्थितिमा पनि हाँस्ने । उनी हाम्रो घरमा आइन् र हाँसिन् भने टोलका मान्छे पनि के भयो भनेर हेर्न आइपुग्थेँ । सबैको प्रिय र प्यारी थिइन् । जिम्मेवारीको यति लामो खुड्किला थियो कि एउटा सकिन नपाउँदै अर्काले च्याप्थ्यो । तर पनि हरेश खान कहिले जानिनन् ।
गाडीले ब्रेक लगायो म झस्केँ ।
– के भयो भिनाजु ?
भिनाजुले टाउको मात्रै हल्लाउँदै केही हैन भन्ने संकेत दिनुभयो । मनको ढुकढुकी अलिकति बढ्यो । केही त भयो तर भिनाजुले भन्न चाहानु भएन ।
म फेरि उही यादमा हराएँ ।
दिदीलाई कहिले मिलाएर लुगा लगाउन आउँदैन थियो । बिस्तारै कुर्ता –सुरुवालबाट पाइट, टिसर्ट लगाउने बनाउन मलाई लगभग एक वर्ष लाग्यो । खाली लाज मात्रै लाग्ने, कसैको विशेष कार्यक्रममा जानु प¥यो भने रातो झिलीमिली लुगा लगाएर हिँड्थिन् ।
“दिदी, यो विशेष कार्यक्रम हो, पूजा– बिहे हैन के ।” म दिदीलाई खूब जिस्काउथेँ ।
यति भनेपछि “अ भनेको है म के भएको होला ।” भनेर बजारमै अर्को लुगा किन्थिन् अनि चेन्ज रुममा चेन्ज गरेर हिँड्थिन् ।
श्रृङ्गारमा जिरो थिइन् दिदी । उनको सिउँदोमा सिन्दूरको धर्कोचाहिँ म जहिले देख्थेँ ।
“मेरो सम्पति होे यो सिन्दूर । तिमीलाई त नलगाए पनि राम्रो देखिन्छ, किनकि तिमी बच्चा छौँ तर मलाई त लगाएन भने बूढी देखिन्छ । त्यसैले सबै परिवर्तन गरिदिए पनि यो सिन्दूरचाहिँ परिवर्तन गर दिदी नभन है नानी मलाई अहिले बूढी हुन रहर छैन ।” यसरी भन्थिन् मलाई ।
“के विधि माया गर्छिन् हो यो दिदी –भिनाजुलाई । सिन्दूर सम्पति मानेर हिँडेकी छिन् । भिनाजुको जति माया हामीले कहिले पाउने होला ? म दिदीलाई खूब जिस्काउथेँ ।
उनी मेरो अनुहारमा गहिरोसँग हेर्थिन् र हाँस्दै भन्थिन् – तिमी त मेरो बच्चा हौँ । आमाले बच्चालाई दिने माया र श्रीमान्लाई दिने माया एकै हुन्छ र ?
उनको बच्चा बन्न पाएकोमा निकै खुसी हुन्थेँ, त्यसैले पनि मलाई के मन पर्छ, के लगाउँदा राम्रो देखिन्छ, मलाई के खान मन लागेको छ त्यो सब कुराको ख्याल गर्थिन् । तलब आएको दिन मेरो भागमा केही न केही आइपुग्थ्यो । दशैँ– तिहारमा विशेष उपहार हुन्थे मेरा लागि । म मक्ख थिएँ दिदी झनै मक्ख थिइन् । मैले आमा पाएको थिएँ उनले छोरी ।
पार्वती दिदीले वाक्क गरेको आवाजले म तर्सिएँ । – के भयो दिदी ?
– बमिट भन्न नपाउँदै निद्रामा नै बमिट गरिन् ।
“भिनाजु गाडी रोक्नु, दिदीलाई एकछिन स्वच्छ हावा खान दिऊँ ।” गाडी रोकियो । दिदीले हतपत ढोका खोलिन र बेस्मरी बमिट गरिन् ।
मेरो ब्याकमा कागती थियो । दिदीलाई काटेर दिँदै भने –“दिदी कागती खानु ? यसले ठीक हुन्छ भन्छन् । खानु न ।
पावती दिदीले नमिठो अनुहार लगाएर कागती खाइन् । पानीले मुख धोएपछि । जाऊ अब पेटमा केही नभएपछि केही आउँदैन । बलियो भएको जस्तो गरी पार्वती दिदीले भन्नुभयो । तर मलाई बमिटको सेन्ट कति पनि मन पर्दैन थियो तर पनि त्यहाँ उनैको आज्ञा अनुसार हिँड्नु थियो । ढोका खोलेर सिटमा बसेँ । उनी पनि बसिन् । भिनाजुले गाडी स्टार्ट गर्नु एकछिन बसौँ न यो बमिटको सेन्ट हटोस् । यसो भन्न मन थियो तर सकिन किनकि मलाई चाँडै पुग्नु थियो ।
– पार्वती दिदी तपाईँ सुत्नु ! मैले भने ।
नानी तिमीलाई बोर भयो नि म निदाएको निदायैँ भए– दिदीले भन्नुभयो ।
“म ठीक छ, तपाईँ निदाउनु रेस्ट चाहिन्छ अहिले तपाईँलाई !”
मैले यति भनिनसक्दा दिदी पछ्यौराले मुख छोपी सक्नुभएको थियो । हामी छैमले आइपुगेका थियौँ । बाटो एकदमै नराम्रो थियो त्यसमाथि बमिटको नमिठो गन्ध नाकमा आइरहेको थियो । अझैँ लाग्थ्यो – काठमाडौँ पुग्न एकाध घन्टा । मलाई उही इमा दिदीको यादमा हराउन मन भयो ।
दिदी यात्रामा निकै खुसी हुन्थिन् तर जब घुमाउरो बाटाको कुरा आउँथ्यो उनी जानेकी नजाने दोधारमा रहन्थिन् । “दिदी हाम्रो जिन्दगी कम घुमाउरो छ र बाटोसँग डराउनु । थोरै समयमा धेरै काम गर्नुपर्छ । पाएको अवसर गुमाउनु हुन्न । त्यसैले जादिनँ– गर्दिनँ हुँदैन यो त हाम्रो स्वभावका कुरा हैनन् जानुपर्छ ।” म दिदीलाई पटकपटक भन्थे ।
यति भनिदिएपछि पहिला उनी ब्याक प्याक गर्न थाल्थिन् । स्कुलको बिदा आफ्नै थियो तर भिनाजुको अनुमतिको कुरा आउँथ्यो । हाम्रो जिद्दीको अगाडि भिनाजुको कहिले केही लागेन । मुख फुलाएर भए पनि भिनाजुले जाने अनुमति दिएपछि हामी खुसी हुन्थ्यौँ ।
बाटोभरि स्वर राम्रो आए पनि नआए नि दोहोरी गीत गाउन पाएपछि दिदी सधैँ मक्ख पर्थिन्, म गफाडीको अगाडि दिदीले बाटो काटेको कहिले पत्तो पाइनन् बमिट त कुन चराको नाम भनेर सोध्नुपथ्र्यो ।
धुलोले मुखमा हिर्कायो । मैले आफूले खोलेको झ्यालको शिशा बन्द गरेँ । झ्याल बन्द गरेपछि सिसा बन्द गरेपछि गाडी गुम्म भयो “बमिट” भन्दै पार्वती दिदीले फेरि बमिट सुरु गरिन् ।
मैले आफ्नो कान थुनेँ र रुमालले मुख छोपेँ । त्यति गर्दासम्म पार्वती दिदी फेरि निदाइसकेकी थिइन् । निदाउन मात्रै गाडी चढेको हो कि क्या हो यस्तै महसुस हुन्थ्यो मलाई तर दिदी निदाएको ठिक थियो किनकि मेरो यादहरू मेरो यात्राका प्रिय साथी बनिरहेका थिएँ ।
अफिसको काममा व्यस्त थिएँ । दिदीको फोनको घन्टी बज्यो । उठाउन भ्याइन । उठाएपछि घन्टौ कुरा हुन्छ । कसरी पो काम सक्काउनु बरु काम सकिएपछि कुरा गर्छु । म आफ्नो काममा निरन्तर लागेँ । काम सक्काएपछि आफैँले फोन डायल गरेँ ।
पहिलो घण्टीमा फोन उठेन । दोस्रो घण्टीमा पनि फोन उठेन । तेस्रो घण्टीमा पनि फोन नउठेपछि । मैले म्यासेज छोडे । त्यसको लगभग एक घण्टापछि कल आयो । मैले रिसिभ गरेँ । स्वर मलिन थियो ।
“दिदी के भयो ।” मैले भने ।
“कतै भेटुम न नानी” उनले भनिन् –
“किन दिदी के भयो र ?
“हिजोको मिटिङको कुराले तपाईँ अपसेट हो कि क्या हो ।” मैले भने । हुन पनि हिजोको कलेजको मिटिङपछि दिदी निकै अपसेट हुनुहुन्थ्यो । दिदी त्यही बेलामा मसँग कुरा गरेर आफूलाई हल्का बनाउन चाहानुहुन्थ्यो । त्यसैले त मिटिङपछि स्कुटर एक फन्को घुमाएर मेरो घरमा आउनुभएको थियो र एक सासमा आफ्ना सबै कुरा सुनाउनुभएको थियो । दिदी खूब रुनुभयो, नरुनु भन्न मसँग शब्द पनि त थिएन । सबैको आफ्ना आफ्नै समस्या हुन्छ । घरको कुरा अरूलाई सुनाएर हिँडनु पनि हुँदैन अनि अरूले त्यो कुरा थाहा पाउनु पनि त सम्भव थिएन । त्यसैले दिदीलाई घर पठाएर चूपचाप बस्नुमा हितकारी रहने देखियो । अनि दिदी तपाईँ अहिले घर जानु, पछि कुरा गरौँला भनेर घर पठाएको थिएँ ।
दिदीले आज फोन गरेपछि लाग्यो दिदी अझैँ अपसेट हुनुहुन्छ ।
मैले दिदीलाई हाँस्दै भने दिदी आउनु त यतै मेरो अफिसतिर बसेर कुरा गरौँला अनि चिया पनि खाउला तर दिदीले “हुन्न” भनिन् । म चकित परेँ ।
– हुन्छ हजुर केटा म केटी आज कतै डेटिङ जाने हैँ । तर खाजाको पैसा हजुरले तिर्नुपर्छ नि म त केटी हुँ तिर्दिन नि । मैले हाँसेर भने ।
“हस् मै तिरुला तिमी मात्रै आऊ”
अलिकति कपाल मिलाएँ । थोरै लिपिस्टिक दले र चिटिक्क परेर क्याफे पुगेँ । त्यो दिन अफिस नै बिदा लिएँ । दिदी रोएको देखेर मलाई मान्छेहरूसँग रिस नउठेको कहाँ हो र तर पनि त्यो न्याउरो अनुहार देखाउन मन भएन । मभन्दा दिदी अगाडि आइपुगिसक्नुभएको रहेछ ।
दिदी भन्दै अङ्कमाल गर ।
दिदीले आँखामा थोरै आँसु ल्याउनुभयो ।
मैले दिदीको आँसु पुछिदिँदै भने – “छ्या रोएको, यति बलियो मान्छे ! यसरी रोएको त कति सुहाउन्न पो । मेरो दिदी पो हो त मलाई हेर्नु त आज मलाई कति राम्रो देखिएको छ । हिरोइन भन्नु हिरोइन । उनी मुस्कुराउन सकिनन् ।
“वेटर दुइटा कफी क्यापिचिनो, हटविट बनाएर ।”मैले भने ।
उनले ब्याकबाट राजीनामा पत्र निकालिन् ।
“नानी म छोडिदिन्छु कलेज । मलाई गाह्रो भयो ।” उनले भनिन् । घरमा ससुरा बिरामी, आमाबाबा सबैको जिम्मेवारी बोक्दाबोक्दै म थाकिसकेको छु । आफूलाई पनि त कहिले सन्चो छैन । रातभर निदाउन पनि सक्दिनँ । के भएको हो भएको हो बुझ्नै सकेको छैन ।
म चूपचाप उनको कुरा सुनिरहेँ ।
“हावा कुरा नगर दिदी । जाबो अलिअलि भनाभन भयो भनेर नबस्ने हुन्छ र बस्नुपर्छ तपाईँले पढाउनुपर्छ । यस्तो तिल जत्रो कुरालाई पहाड बनाएर उनीहरू हिँड्छन् त हामीलाई किन टेन्सन तपाईँको जिम्मेवारी तपाईँले पूरा गर्नुभएको छ । अरूको जिम्मेवारी अरूले पूरा गर्नुपर्छ । यसमा तपाईको के दोष । ” मैले अलि चर्को स्वरमा भने र दिदीको हातबाट राजीनामा– पत्र लिएर च्यातिदिए । काम गर्ने मान्छे धेरै नहुनु केही होइन तर काम गर्ने मान्छे एकजना नहुनु धेरैलाई घाटा हुनु हो । हामी त जिन्दगीलाई बनाउन हिँडेका मान्छे खाली पिर लिने के तपाईं !
– दिदी तपाईँले आफ्नो जिम्मेवारी सही तरीकाले पूरा गर्दै हुनुहुन्छ । घरको काम घरको कुरा देखाएर आफ्नो जिन्दगीको रहरलाई मार्नु हुन्न । तपाईँको रहर के छ तपाईँलाई थाहा छ नि ?
दिदीको अनुहारमा थोरै मुस्कान देखियो । दिदी हाँसिन र हामीले हटविटवाला कफी पियौँ । अब यस्तो कुरा कहिले गर्ने हैन ! कत्रो कत्रो हिमाल चढ्ने सपना देख्ने मान्छेले सानो कुरामा चित्त दुखाउनु फिटिक्क राम्रो हैन है । कुराकानीमै कफी सकियो अनि हामी निस्क्यिौँ ।
त्यसपछि मेरो दिदीसँग लामो समय भेट भएन । दिदी स्कुल कलेज, घर परिवार आफन्त सबैको ख्याल राख्नमै व्यस्त बनिन् । मेरो पाराको त झन् कुरा नगरम । खासै कार्यक्रम पनि थिएन । त्यसैले हामीले भेट्ने मौका नै पाएनौँ । एक , एक कथाकार, एक शिक्षक, एक आमा, एक छोरी, एक बुहारी र एक नारी सम्पूर्ण रूपमा पूर्ण नारी कति भूमिका हो छोरी मान्छेको सब पूरा गर्नुपर्ने । त्यसैको दौडानमा दिदी लागिन सायद म पनि त्यसैको पछिपछि थिएँ ।
असारको अन्तिम दिन थियो । झमझम पानी परिरहेको थियो । म कुनै पुस्तकमा घोत्लिएर कफी पिउँदै थिएँ । कानमा एयरफोन कोचेर गीतमा रमाइरहेको थिएँ ।
कति कुरा नभनेर नै मीठामीठा हुन्छन्...गीतको रिङ्टोन बज्यो ।
हेरेको इमा दिदीको थियो ।
“नसक, तिमीले मलाई सम्झ्यौ दिदी” मैले नखरा पारेर बोलेँ ।
तिमीले पो मलाई बिर्सियौ त – उनले मलिन स्वरमा भनिन् ।
“के भयो दिदी सञ्चो छैन ।” मैले भने ।
“उम अस्ति बाथरुममा लडेर ज्वरो आइरहेको छ ।” उनले भनिन ।
“कति छ ज्वरो, जँचाउनुभयो त , कि सुतिरहेको ?” मैले भने ।
“अहिले ज्वरो अलि कम भएको छ सुतिरहेको छु ।” उनले भनिन् । हुन्छ दिदी म पानी रोकिएपछि आउँछु । तर त्यो दिनभर पानी कति पनि रोकिएन । झन् ठूलो ठूलो पानी परिरह्यो ।
भोलिपल्ट फोन गर्दा । उनको स्वरमा शक्ति थियो । लाग्यो अब दिदी ठीक भइन् । दिदी म पानी परेर हिजो आउन सकिन अनि काममा पनि अलि व्यस्त हुनुपर्यो अहिले आउँदिन । अबको केही दिनमा एउटा सरप्राइज लिएर आउँछु । त्यसको लागि तयार हुनु ।
“नाइँ भन्न कति पनि पाइँदैन ।”
“तिमीले भनेको कुरालाई नाइँ कहिले भनेकी छु र” दिदीले भनिन्
म फेरि मक्ख परेँ ।
फोन काटियो । एउटा राम्रो नाटक हेर्ने अफर आएको थियो । बच्चाको एक्जाम पनि सकिने बिदा पनि हुने अनि घुम्न पनि पाइने क्या मज्जा भन्दै पोखरा जाने प्लान बनाउँदै थिएँ । भोलिपल्ट दिदीलाई यो सरप्राइज सुनाउन जाने सुरुमा थिएँ तर बिहानै खबर आयो । दिदी रहिनन् । हिजोसम्म हाँसिरहेकी दिदी आज रहिनन्, केले खायो, कता गइन्, किन यस्तो भयो । किन मेरो दिदीलाई नै कुनै अलौकिक शक्तिले लिएर गयो । म स्तब्ध बने । दिदी राप्ती तटमा जलिरहिन् । म हेरिरहेँ । उनी जलिरहिन् । म हेरिरहेँ । त्यसपछि एउटा चौतारी हरायो मबाट, मायाको कमी भैरह्यो, त्यसै माया नखोजेको हैन तर माया गरिने कुरा रहेछ हृदयले उनको जस्तो माया मैले कसैमा पनि महसुस गर्नै सकिन । म एक्लो भएँ नितान्त एक्लो ।
अमिलो, पुष्टकारी लिनोस् हजुर कोही कराएको आवाजले मेरो आँखा खुले । गाडी बल्खु आइसकेको रहेछ । आँखाभरि आँसु थियो । पार्वती दिदी पनि मेरो आँखामा हेरिरहेकी थिइन् । नानी नराम्रो सपना देख्यौँ । पानी दिंदै दिदीले आँसु पुछिदिइन् । म सुँक्कसुँक्क गर्दै रोइरहेँ । घडी हेरेँ दिउँसोको दुई बजेको थियो । अबको एक घन्टामा छोरी ल्यान्ड हुँदै थिइँ । मलाई छिटो पुग्नु थियो एयरपोर्ट । पार्वती दिदी र भिनाजुलाई धन्यवाद भनेर म ट्याक्सीमा चढेँ । ट्याक्सीले रफ्तार लियो । जाम होला भन्ने ठूलो डर लागेको थियो तर भएन । बाटामा एउटा बुक्के किने । उसका लागि केही मीठो अमिलो । उसलाई डाक्टर पढाउनुमा उसको बाबा, मामाहरू र दाइहरूको ठूलो भूमिका थियो । उसको रहर पनि डाक्टर पढ्नु नै थियो त्योभन्दा ठूलो कुरा उसको आमाको सपनालाई पूरा गर्नु थियो । म सिधैँ एयरपोर्टभित्र पुगेर उसलाई वाइटिङ रुममा पर्खिरहेँ । प्लेन ठीक समयमा ल्याड भयो ।
सेतो स्कट, फूल कोट ठूलो ड्यामबुट र आँखामा चश्मा लगाएर छोरी बिस्तारै मेरो नजिक आइपुगी ।मैले उसमा दिदीको प्रतिबिम्ब देखेँ, उस्तै व्यवहार, उस्तै बानी, उस्तै हाँसो सबै कुरा दिदीको थियो मैले भन्दा अगाडि उसले मलाई देखेकी थिई । अलि अग्ली, झनै राम्री र एक जिम्मेवार डाक्टर बनेर आफ्नो देश फर्केकोमा गर्वले छाती ढक्क फुल्यो । मैले उसलाई बुक्के दिनु अगावै उसले परैबाट आन्टी भन्दै आएर गर्लम्म मलाई अंगालो हाली र आँखाबाट बर्र आँसु झारी । मैले उसलाई अझै जोरले अंगालोमा कसेँ । हामी निकैबेर रोइरह्यौँ –रोइरह्यौँ ।
प्रकाशित: ११ मंसिर २०७७ १०:२१ बिहीबार