coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेवारी संस्कृतिमा तान्त्रिक भाइटीका

आध्यात्मिक, प्राकृतिक र अलौकिक शक्तिको संयोजन गरेर लोक कल्याणका लागि नै तान्त्रिक शक्तिको प्रयोग हुँदै आइरहेको पाइन्छ । तन्त्र भन्नेबित्तिकै त्रसित हुनुपर्दैन । तन्त्रमन्त्रले कसैको बिगार गर्दैन, बरु सत् मार्गमा लाग्न प्रेरित गर्छ । सत्कर्म गरेर लोककल्याण गर्न प्रेरित गर्ने वैदिक तन्त्रमन्त्रले पनि हामीलाई यही शिक्षा दिँदै आएको छ । ‘पृथ्वी शान्ति वनस्पतय शान्ति’ भन्दै वैदिक मन्त्रोच्चारण गरी विश्व शान्ति र कल्याणको पथमा अग्रसर हाम्रो वैदिक तन्त्रमन्त्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहँदै आएको छ । त्यस्तै, नेवारी संस्कृतिमा विभिन्न चाडपर्व र जात्रा तान्त्रिक विधि–विधान अनुसार मनाइँदै आएको पाइन्छ । यसको ज्वलन्त उदाहरण विभिन्न चाडपर्व र जात्राको अवसरमा अष्टमातृका र नवदुर्गा देवीको नाच हप्तौँसम्म रात–दिन नाच्न सक्नु पनि तान्त्रिक शक्तिले गर्दा नै हो भन्न सकिन्छ ।  

तिहारको अन्तिम दिन अर्थात् पाँचौँ दिन कार्तिक शुक्ल द्वितीयामा भाइटीका गरिन्छ । नेवारी संस्कृति एवं संस्कारमा तान्त्रिक विधि–विधान भएकैले भाइटीकामा पनि तान्त्रिक विधि अपनाइन्छ । भाइटीकाका लागि सर्वप्रथम भुइँमा गोबरले लिपेर मण्डप बनाउनुपर्छ । उक्त मण्डप बनाउन पनि तान्त्रिक विधि अपनाइएको हुन्छ । महालक्ष्मीको श्रीयन्त्र भनेजस्तै वज्रयान तन्त्रविधि अनुसार विभिन्न किसिमका थाङ्का बनाउँदा पनि श्री गणेशमन्त्र, भैरवमन्त्र, कालीमन्त्र आदिको मण्डप बनाइन्छ । त्यस्तै, नेवारहरूले गर्ने भाइटीकामा अष्टदल भएको यन्त्र बनाई त्यसमा अष्टमातृकाको प्रतीक मण्डप तयार पारिन्छ । मण्डपमा आठवटा पात भएको कमलको फूल अंकित गरिएको हुन्छ । यी आठवटा पातलाई अष्टमातृका महेश्वरी, वैष्णवी, कौमारी, बाराही, इन्द्रायणी, ब्रह्मायणी, चामुण्डा र महालक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ । यो मण्डपमा पूजा गर्दा अष्टमातृकाले रक्षा गर्छिन् भन्ने जन विश्वास छ । यसरी नै भाइटीकाको मण्डपमा प्रयोग गरिने धानले गन्ध, अक्षताले रस, फूलले शब्द, जजङका (एक प्रकारको धागो)ले स्पर्श, खेलुइता (मण्डपमा भुइँमै बाल्ने लामो मोटो बत्ती)ले रूपको प्रतिनिधित्व गर्छ । सबैभन्दा पहिला ‘लः मन्दः’ भनेर पानीको मण्डपको ठूलो गोलो घेरा बनाइन्छ । त्यस घेराभित्र चामलको पिठो, पहेँलो र रातो अबिरले आठवटा कमलको पात आकारका लेखी त्यसभित्रको गोलाइमा लाबा, त्यसपछि भटमास, मासको गेडा, अक्षता र बीचको केन्द्रबिन्दुमा तेलको मण्डप भनी तेल राखिन्छ । यसरी मण्डपमा राखिने लाबालाई स्वर्गको फूल, भटमासलाई शनिश्चर, मासलाई संकटा, अक्षतालाई करुणामय र तेललाई आत्माको रूपमा लिइन्छ । यसरी बनाइएको मण्डपको शिरानीमा सर्वप्रथम गणेशको रूपमा सुकुन्दा बालेर नौ ग्रह शान्ति होस्, कुनै विघ्नबाधा नआओस् भन्ने कामना गर्दै सुकुन्दामा भएको गणेशको मूर्तिलाई पूजा गरिन्छ । कुमारका रूपमा खललाई, ब्रह्माका रूपमा कुचो भित्तामा ठड्याई, महादेवको रूपमा नाङ्लो भित्तामा अड्याई, पवित्रताका प्रतीक कलश र देवतालाई पनि मण्डप बनाएर पूजा गरिन्छ । मण्डपको शिरानमा धर्मदूत र सबैभन्दा मुनि पुछारमा कर्मदूतका लागि पनि मण्डप बनाएर पूजा गर्छन् ।  

मण्डपको केन्द्रबिन्दुमा राखिएको तेलको मन्दः नसुकेसम्म अनि दिदीले लगाई दिएको मखमली फूल नओइलाएसम्म भाइको आयु लम्बिरहोस् भन्दै दिदीले दाजुभाइलाई टीका लगाइदिँदै सुख–शान्ति, ऐश्वर्यका साथै दीर्घायुको कामना गर्छिन् । नेवारी संस्कार अनुसार, दिदीले दाजुभाइलाई सगुन दिन्छिन् । यो सगुन दिने परम्परा नेवारी संस्कृतिमा मात्रै रहँदै आएको छ । यो सगुन पनि तान्त्रिक विधि अनुसार नै दिइने हो । यो सगुनमा पञ्चतत्वको समायोजन गरिएको हुन्छ । पञ्चतत्वको समायोजन गरी दिइने सगुनमा उसिनेको अण्डा (आकाश तत्व), बारा (वायुतत्व), मासुु (पृथ्वी तत्व), माछा (जल तत्व) र रक्सी (तेज तत्व) हुन् । यस सगुनलाई पद्म पुराणमा उल्लेख गरे अनुसार, ‘मत्स्य, मांस, सुरा, लैह्य चौषय भषम हारकै’ भनिएको छ । तान्त्रिक विधिअनुसार दिइने यो सगुनलाई सर्वगुण सम्पन्न खाद्य भनिएको छ । कुनै पनि शुभकार्य गर्दा यसरी सगुन दिँदा शुभमंगल भई कुनै पनि कार्यमा सफलता मिल्छ भनिन्छ । महालक्ष्मीले पनि पञ्चमोपकारको रूपमा यही नेवारी सगुन ग्रहण गरेपछि मात्र महिषासुरको वध गरेकी हुन् भन्ने कुरा चण्डीमा उल्लेख गरिएको छ । महिषासुरले महषिमर्दिनी महालक्ष्मीलाई जथाभावी बोल्दै गर्जिरहेका बेला देवीले ‘म अहिले रक्सीको चुस्की लिँदैछु तँ जति गर्जनुपर्छ गर्जनू, मैले तेरो वध गरेपछि सबै देवता गर्जिनेछन्’ भन्नुभएको छ । यसरी यो नेवारी संस्कारको सगुनको ठूलो महत्व छ । वशिष्ठ ऋषिले पनि बाध्य भएर देवीको आराधना गर्दा यही सगुनकै प्रयोग गर्नुपरेको थियो । पञ्चामृतलाई नै पञ्चमोपकार मानी देवीलाई चढाई देवीको दर्शन पाऊँ भनी आराधना गर्दा देवी क्रोधित हुनुभयो र वशिष्ठ ऋषि श्रापित हुनुप-यो । त्यही बेलादेखि ऋषिमुनि लगायत ब्राह्मणले धार्मिक यज्ञ यज्ञादि र अन्य कर्म गर्नुअघि श्रापबाट मुक्ति पाउन क्षमा–प्रार्थना गर्दै आएका हुन् भनिन्छ ।  

परापूर्वकाल, जुनबेला देवताले मानिससँग प्रत्यक्ष कुरा गर्दथे र मानिसले पनि देवतालाई प्रत्यक्ष देख्ने अवसर पाउँथे । त्यस समयमा एउटा घरमा दिदीले भाइलाई पूजा गरी टीका लगाउँदै गरिरहँदा यमराजले भाइलाई लिन आएको देखिन् । यमराजले दिदीलाई भने, ‘टीका लगाउनुपर्दैन, म तिम्रो भाइलाई लिन आएको हुँ ।’ तब दिदीले अलिकता पनि नआत्तिईकन भनिन्, ‘हुन्छ यमराज, हजुरले मेरा भाइलाई लाने भए लैजानुस्, तर मैले भाइलाई लगाइदिएको यो मखमली फूलको माला नओइलाएसम्म र मैले भाइटीका गर्न बनाएको यो मण्डपको केन्द्रबिन्दुमा राखेको तेल नसुकेसम्म लैजान पाउनुहुन्न ।’  

यस्तो सर्त राखेपछि यमराजले पनि हुन्छ भने । यमराज आफू आफ्नै वचनमा फसेको पत्तै पाएनन् । मखमली फूलको माला ओइलाउँछ भनेर कुरेर बसे तर ओइलाउँदै आइलाएन । त्यस्तै, भुइँमा टीकाजस्तै टाँसिराखेको तेल सुक्ला भनी पर्खिरहे, सुक्दै सुकेन । यस प्रकार दिदीले आफ्नो सुझबुझ र चलाखीले गर्दा भाइ दीर्घायु बनाएकी थिइन् भनिन्छ । त्यसैले अहिलेसम्म पनि भाइटीकामा मखमली फूलको माला लगाई दिनुपर्छ भन्ने चलन चल्दै आएको हो ।  

मैतीदेवीको जात्रा
तान्त्रिक विधि अनुसार नेवारहरूले मनाउँदै आएका विभिन्न जात्रापर्व र चाडमध्ये तिहारमा महालक्ष्मीको विशेष रूपमा पूजा–आराधना र देवीको जात्रा पनि पर्छ । काग तिहारको दिन मैतीदेवीलाई गुठियारहरूले तान्त्रिक विधि अनुसार पूजा गरेर राँगोको बलि दिन्छन् । तिहारको दोस्रो दिन माली गाउँमा रहेको देव घरबाट गणेश, महालक्ष्मी र पञ्चकुमारीको खट बोकेर मैतीदेवीमा ल्याउँछन् । पञ्चकुमारी र महालक्ष्मीको मूर्ति मैतीदेवीको मन्दिरभित्र थापना गरिन्छ । अनि बेलुका गुठियारहरू मिलेर तान्त्रिक विधिपूर्वक ठूलो होम गर्छन् । तेस्रो दिन लक्ष्मी पूजाका दिन मरःजा खुवाउने भन्दै बालिकाहरूलाई मात्र देवीको प्रसाद दालभात, तरकारी र विभिन्न परिकार खुवाउने गरिन्छ । बेलुका मन्दिरमा रहेका मूर्तिलाई खटमा राखी तीनपटक मन्दिर परिक्रमा गरेर जात्रा सुरु गर्छन् । म्हःपूजाको दिन मुख्य जात्रा गरिन्छ । यो दिन देवताका खटहरूलाई मैतीदेवी, डिल्लीबजार, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल घुमाउँदै माली गाउँ फर्काउँछन् । खटहरू देवघरमै फर्काइन्छ । पाँचौँ दिन अर्थात् भाइटीकाका दिन मैतीदेवी जात्राका गुठियारहरू र देवताहरूलाई म्हपूजा गर्छन् । गुठियारहरूले भने भाइटीका छैटौँ दिन अर्थात् भाइटीकाको भोलिपल्ट गुठियारहरू मिलेर भाइटीका पनि गर्छन् । त्यसपछि देवता र खटहरूलाई धोइ–पखाली विधिपूर्वक पूजा गरी गुठी घरमा थापना गरेर जात्रा सकाउँछन् । यस प्रकार तिहारमा ६ दिनसम्म मैतीदेवीको खटजात्रा गरिन्छ । 

प्रकाशित: २९ कार्तिक २०७७ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App