१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

मौरीपालक किसानको सङ्ख्या बढ्यो : यस वर्ष उत्पादन घट्यो

गत वर्ष २०८० को तुलनामा २०८१ मा मह उत्पादन एक हजार ७० टनले घटेको छ। अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकोमा गत वर्ष तीन हजार ८७५ टनमा झरेको छ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीले उत्पादन घटेको हो।

उनले भने, ‘लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ।’ अघिल्लो वर्षको तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा कमी आएको छ। अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेका थिए भने गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ पुगेको छ। तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या भने घटेको छ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ थिए भने गत वर्ष घटेर एक हजार ५६८ मा झरेको उनले बताए। उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन्। घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ। अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान छ हजार १३५ थिए भने गत वर्ष यो सङ्ख्या बढेर छ हजार ८३० पुगेको उनले बताए।

उनीहरूले २०८१ मा ९१ हजार ४३५ मेलीफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए। २०८० मा तीन हजार १४३ टन मह मौज्दात थियो भने २०८१ मा १९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ। रासस

प्रकाशित: ७ वैशाख २०८२ ११:३१ आइतबार