२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पिता र उनकी निजी चिकित्सक पुत्री

२०७७ भदौ २ गते, मंगलबार साँझ ५ः५५ बजे, सूर्यास्त हुँदै गर्दा पिताजीको शयन कक्षको पश्चिम झ्यालबाट अचानक छिरेको तेज ज्योतिमा सम्पूर्ण वातावरण पलभरका लागि प्रदीप्त भई पुनः अन्धकारमा डुब्यो। हडबडाउँदै पिताजीको छातीमा स्टेथस्कोप राख्छु, पिताजीको शयन कक्षको घडीको ‘टिकटिक’ स्पष्ट सुन्छु तर सुन्दिनँ पिताजीको मुुटुको ढुकढुकी। हावाको ‘सरसराहट’ स्पष्ट सुन्छु तर, सुन्दिनँ पिताजीको श्वास प्रश्वासको उतार चढाव। छैन नाडीको ‘ब्लक ब्लक’, छैन आँखाको नानीमा ‘हलचल’ पनि। म झस्किन्छु ! के यो त्यही सत्य हो, जुन सत्य म जान्न, मान्न र भन्न आँट गर्दिनँ ? के यो पिताजीको जीवनको एक मात्र अन्तिम सत्यको घडी हो ? जीवनको यो घडीमा, पिताजीको अनुहारमा छैन छटपटाहटका रेखा, छैन कष्टका छाया। छ त केवल शान्तिपूर्णता, शिरदेखि पाउसम्म शान्ति, पूर्ण शान्ति। के यो घडी जे जसरी भयोे, यसलाई यसरी नै हुन दिनका लागि पिताजीले ४० वर्षपहिले मलाई चिकित्साशास्त्र पढ्न भारत पठाउनुभएथ्यो ?  

त्यो दिन भारत सरकारको छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्ने अवसर जुटेको सन्देश पाएर पिता–पुत्री कति साह्रै खुसी भएथ्यौँ। एक त्यो घडी, एक यो घडी। त्यो पूर्णिमाको बिहानी, उदाउँदो सूर्यजस्तै उज्ज्वल भविष्य निश्चितताको घडी। यो औँसीको साँझ, डुब्दो सूर्यसँगै निम्तिँदो अँध्यारो पलको संकेतकोे घडी। त्यो पिताजीको निजी चिकित्सक बन्ने सुअवसर प्रारम्भको घडी। यो जसले त्यो अवसर जुटाएथ्यो, उसैको उपचार गर्ने अवसरको अन्तिम घडी। त्यो उत्साहको घडी, यो हतोत्साहको घडी। जुन घडी जे जस्तो हुन्छ, त्यही नै सत्य हो। त्यो त्यस्तै रूपमा स्विकार्ने हाम्रो बाध्यता पनि सत्य नै हो। जीवन यस्तै सत्यको चक्रगणित रहेछ।   

आहा, तिमी आयौ ल बस, बडो राम्रो ग-यौ। धन्नै ओझेल परेको, ऊ हेर त त्यसपारि हिमालको काखमा हाम्रो देश छ, मैले चाँडै त्यहीँ फर्कनु छ।’ पिताजीको त्यो भनाइमा कताकता अनुरोध लुकेथ्यो। 

मैले सरकारी सेवा २०४४ सालमा मेडिकल अफिसर पदबाट, त्यस बेलाको दुर्गम पहाडी जिल्ला बाग्लुङबाट सुरुवात गरी केही वर्ष त्यतै बिताएँ। त्यसपछि दुर्गमवासीको सेवा निरन्तरता हेतु सुदूर पश्चिम जिल्ला पुगी कैलालीवासीसँगै ६ वर्ष बिताएँ। काखको बच्चा च्यापी, कैलालीको धनगढीबाट भारतको गौरीफन्टा, पलिया हुँदै नानपारा नाकाबाट नेपालगन्ज पसी काठमाडौं आइपुग्न लामो समय लाग्नुको साथै कठिन समेत हुन्थ्यो। पिताजीको बढ्दो उमेरलाई ध्यानमा राखी, यातायातका दृष्टिले केही सुगम मानिने, चितवन जिल्ला सरुवा भई १४ वर्ष त्यतै बित्यो। त्यसताका र आजका दिनमा समेत काठमाडौं उपत्यका बाहिरका जुनसुकै जिल्ला भौगोलिकताले सुगम–दुर्गम जेजस्ता भए पनि अवसर प्राप्तिको दृष्टिकोणले दुर्गम नै छन्। तर, मेरा लागि सुगम दुर्गमको केही अर्थ थिएन। मैले दुर्गम जिल्लावासीको सेवा गर्नु नै थियो। यही नै पिताजीको इच्छा, पिताजीको इच्छा नै मेरा लागि आदेश। अन्त्यमा २२ वर्ष लामो दुर्गम बसाइको क्रम भंग गर्दै सरकारी सेवाको अन्तिम सात वर्ष गृह जिल्ला काठमाडौं फर्कने अवसर पाएँ। त्यो अवसर मेरा लागि अन्ततः पिताजीको स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको उच्च ओहोदाको जिम्मेवारी सम्हाल्ने एउटा सुअवसर साबित भयो।    

परिस्थिति जस्तोसुकै विषम, चाहे त्यो घरायसी, भौगोलिक, प्रशासनिक वा आर्थिक नै किन नहोस्, मेरा पाइला कहिल्यै रोकिएनन्। पिताजीको स्वास्थ्यमा साना–ठूला जेजस्ता समस्या आइपरे पनि काठमाडौं कुदिहाल्थे। यो मेरो पिताजीप्रतिको समर्पण थियो। त्यसो त आफ्ना रचनाद्वारा सानाठूला सबैका मन जितेका राष्ट्रकवि पिताजीलाई वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उपचार गराउन कुनै कठिनाइ थिएन, तैपनि पिताजी म कनिष्ठ चिकित्सकको उपचार र सल्लाहलाई सधैँ प्राथमिकता दिनुहुन्थ्यो। त्यति मात्र होइन, वरिष्ठ विशेषज्ञ चिकित्सकको उपचार र सल्लाह समेत मबाट पारित हुनुपथ्र्यो। आज मेरो गणना एक वरिष्ठ विशेषज्ञ चिकित्सकमा भइसक्दा पनि त्यस बेलाको मैले गरेको अनुमोदन सम्झिएर अप्ठेरो लाग्छ। सायद त्यो पिताजीको उनीहरूप्रतिको अविश्वास नभई चिकित्सक छोरीप्रतिको समर्पण होला। समर्पणमा आग्रह–पूर्वाग्रह, उचनीच, विश्वास–अविश्वास, आनाकानी केही हुन्नन्। यो त एउटा प्रेमिल डोरी मात्र हो। यही प्रेमिल डोरीमा बाँधिएर यो पुत्री पिताजीको एक रुचाइएकी चिकित्सक बनी, पिताले वर्षौं स्वस्थ र आनन्दित जीवन बिताउनुभयो।  

के यो पिताजीको जीवनको एक मात्र अन्तिम सत्यको घडी हो ? जीवनको यो घडीमा, पिताजीको अनुहारमा छैन छटपटाहटका रेखा, छैन कष्टका छाया। छ त केवल शान्तिपूर्णता, शिरदेखि पाउसम्म शान्ति। के यो घडी जे जसरी भयोे, यसलाई यसरी नै हुन दिनका लागि पिताजीले ४० वर्षपहिले मलाई चिकित्साशास्त्र पढ्न भारत पठाउनुभएथ्यो ?

करिब ८० वर्षको उमेरसम्म पिताजी स्वस्थ रहनुभयो। पिताजीको स्वस्थ जीवनको रहस्य मन र शरीरको आराधना हो। उहाँले सकारात्मक सोचसम्मत व्यवहार र ध्यान तथा शरीरलाई नियमित योगासन, पुस–माघको कठ्यांग्रिँदो चिसोमा समेत चिसै पानीको स्नान र सन्तुलित आहार अर्पण गर्नुहुन्थ्यो। चिकित्साशास्त्रको शरीर विज्ञानलाई एक चिकित्सकलाई आवश्यक सम्पूर्ण ज्ञान बुझ्ने अज्ञानी चिकित्सक म, बिरामी शरीरलाई औषधिको क्याप्सुल, सुई र चिरफार गरी उपचार गर्न त जानेछु। तर, मनलाई भर दिन केको जान्नु ? दियोमै ध्यान अल्झी, प्रकाशसम्म त पुग्नै सकिन छु ! वास्तवमा म त एउटा कारिगड पो बनेछु !  

समय घर्किंदै गर्दा ढल्कँदो उमेर, लगातारको निद्रा कटौती र धूमपानको बोझ शरीरले धान्न गाह्रो मान्यो। पिताजीलाई मधुमेह र उच्च रक्तचापको समस्याले समायो। साँच्चै भन्नुपर्दा, पिताजीलाई लागेको मधुमेह र उच्च रक्तचापको भन्दा नलागेको क्यान्सरको डरले सताइरह्यो। शरीरमा सानै घाउ देखिए पनि, त्यो पिताजीका लागि क्यान्सर नै हुन्थे। अनि सुटुक्क सोध्नुहुन्थ्यो, ‘कहीँ खराब खटिरा त होइन ?’ यस्ता आशंका बेलाबखत भइरहन्थे। हुनसक्छ, पिताजीको लामो समयको धूमपान वा कोही आफ्नो प्रियजन क्यान्सरको पीडामा छटपटाउँदै मृत्युवरण गर्दाको त्रास। चोट जेसुकै, जत्रोसुकै वा जुनसुकै अंगमा भए पनि, कष्ट त सम्पूर्ण शरीरले भोग्नैपर्छ। मधुमेह र उच्च रक्तचापको कष्टबाट शरीरका अरु अंग बचाउने उत्तम उपाय समय–समयको जाँचबुझ र खानपिनमा होसियारी नै हो। पिताजीको हकमा, यस्तो व्यवस्थापन मबाहेक परिवारका अरु सदस्यबाट कठिन थियो। पिताजीको आदेश हुन्थ्यो, ‘डाक्टर आउन द्याओ, ऊ जे भन्छे त्यही गर्ने।’ म उपस्थित हुनासाथ घमण्डमिश्रित खुसी व्यक्त गर्नुहुन्थ्यो, ‘म त राजा–महाराजा भन्दा भाग्यवानी मान्छे पो। मेरो निजी चित्किसक, मेरै शरीरको एक अंश।’ पिताजीको यही खुसी र विश्वासलाई बटुलेर यी समस्याका कारण पिताजीको आयु छोटिन नदिने संकल्प गरेथँे। पिताजीको बाँच्ने र परिवार लगायत मेरो बचाउने संकल्पको फलस्वरूप सहर्ष चन्द्रदर्शन, उच्च सम्मान र विभूषण, अभिनन्दन, सय र १०१ वर्षको राष्ट्रिय स्तरको जन्मोत्सवजस्ता महान् पलहरू सपरिवार हर्षोल्लासाथ मनाइयो। यसरी हाम्रो परिवारबाटै प्रमाणित सूत्र ‘बिरामीको बाँच्ने र चिकित्सकको बचाउने संकल्प’ मेरोे मार्गदर्शक बन्यो। संकल्प भनेकै अन्तर्मनबाटै बोध गरिएको उत्तरदायित्व रहेछ। मैले पढेको चिकित्सा विश्व विद्यालयमा बिरामीप्रतिको उत्तरदायित्व बोध त गराए तर गराएनन् संकल्प।  

साल २०७५, पिताजीलाई आन्द्राको रक्तश्राव उपचारार्थ भारतको गुरुग्रामस्थित मेदान्त अस्पताल पु¥यायौँ। चारैतिर गगनचुम्बी भवनले घेरिएको अस्पतालको सातौँ तलाको एउटा साँघुरो कोठा। कोठाको पश्चिम द्वार पिताजीका आफ्नाले भेट पाउने विश्वासलाई साकार बनाउने एक मात्र बाटो। उत्तरको झ्याल पिताजीको बाहिरी संसार निहार्ने एउटा विचित्र दूरबिन। बीच कोठामा सजिएको खाट, जता जसरी राखे पनि आरामै दिने बिरामीले मात्र प्रयोग गर्ने विशेष खाट। यही थियो, पिताजीले आउँदा दिन बिताउने ‘हाई केयर’को लालित्य। केही जटिल समस्याका बिरामीलाई यस्ता ‘हाई केयर’मा राखिन्छ। त्यस्ता बिरामीका आफन्तले बिहान बेलुका गरी दिनमा जम्मा एक घन्टाको साथ दिने सुविधा पाउँछन्। बाँकी २३ घन्टा आफन्तकै प्रतीक्षामा बिताउनुपर्ने हुन्छ। चौबीसै घन्टा नर्सकोे निगरानी तथा चिकित्सकको बाक्लै उपस्थितिले समेत बिरामीको एक्लोपन मेटाउन सक्दैन। तिनै गगनचुम्बी भवनबीचको चिराबाट चियाउने सानो क्षितिजपारि हिमालको हिँउ र नागार्जुन डाँडाको हरियो वनसँग कल्पनैमा पिरती गाँसी दिनको एक्लोपन मेटाउनुहुन्थ्यो, कवि पिता।  

साँझ पर्दै गर्दा छितिजपारिकी प्रियसी पिताजीलाई एक्लै छाडी शून्यतामा विलीन हुन्थिन्। यही नै पिताजीको अस्पताल बसाइको सबभन्दा नरमाइला समय। चिकित्सक हुनाको सहुलियतस्वरूप पाएको एक घन्टा, पिताजीलाई यही समयमा साथ दिन सुरक्षित राख्थेँ। त्यतिबेला मलाई आफ्नो सामुन्ने पाउँदा पिताजी अत्यन्तै हर्षित भई सधैँ नियाल्ने उत्तर क्षितिजको सानो टुक्रा देखाउँदै भन्नुहुन्थ्यो, ‘आहा, तिमी आयौ ल बस, बडो राम्रो ग¥यौ। धन्नै ओझेल परेको, ऊ हेर त त्यसपारि हिमालको काखमा हाम्रो देश छ, मैले चाँडै त्यहीँ फर्कनु छ।’ पिताजीको त्यो भनाइमा कताकता अनुरोध लुकेथ्यो। ‘तँ’ र ‘तिमी’को अन्तर व्याकरणमा जे जस्ता भए पनि, पिताजीको ‘तँ’ सम्बोधनमा भरिपूर्णता र ‘तिमी’मा केही आग्रह छ भन्ने बुझ्थेँ। एक घन्टा बित्न कतिबेर र ? सूर्यास्तपछि कोठाभित्रको अन्धकार त बिजुली बाली मेटिदिन्थेँ, पिताजीको मनको अन्धकार केले मेट्ने र ? पिताजीको डबडबाउँदा आँखामा तैरिएका उदासी बिजुलीको मधुरो प्रकाशमै समेत लुक्न सक्दैनथ्यो। आफ्नो लाचारी खल्लो मुस्कुराहट पछाडि लुकाउने असफल प्रयत्न गर्दै पिताजीलाई आफ्नै हालमा छाडी र्फकिन्थेँ, मनमा एउटा यक्ष प्रश्न बोकी— यही हो हाम्रो चिकित्सकीय धर्म ?  

चिकित्सकीय धर्म भनेको चिकित्सकको नियामक सिद्धान्तको नैतिक जिम्मेवारी हो। एउटा बिरामी चिकित्सकलाई आफ्नो शरीर परीक्षणका लागि सुम्पिरहँदा ऊ र उसका परिवारको चेतना, चिकित्सकको नैतिक जिम्मेवारी परीक्षण गरिरहन्छ। चाहे चिकित्सक बिरामीको परिवारको एक अभिन्न सदस्य नै किन नहोस्। बिरामी शरीरको उपचार मलाई सजिलै लाग्छ। किनकि शरीर जड हो। त्यो क्षण जुन रूपमा प्रस्तुत हुन्छ, त्यही नै सत्य हुन्छ। चेतनाको उपचार के कस्तो हुन्छ, मैले सिकेकी थिइनँ। चेतना तरल छ, चलायमान छ। चेतना पलपलमै रस–रंग फेर्छ। चेतना प्रेम गर्छ, विश्वास गर्छ, आकांक्षा गर्छ। जहाँ प्रेम हुन्छ, त्यहाँ घृणा हुन्छ। जहाँ विश्वास हुन्छ, त्यहाँ निराशा हुन्छ। जहाँ अपेक्षा हुन्छ, त्यहाँ नाराजगी हुन्छ। चेतनाका यी सारा रस–रंग समेटेर कहिले कठोर बनी कठोर निर्णय सुनाउनुपर्छ त, तत्क्षण हृदयको वेदना लुकाउन आँसु पनि पिउन जान्नुपर्छ, एक चिकित्सकले। कहिले भगवान्को रूपमा अर्पिएका पूजा त, कहिले दानव बनाई गरेका तिरस्कार पनि ग्रहण गर्नैपर्छ एक चिकित्सकले। चिकित्सा विश्व विद्यालयमा गुरुले शरीरविज्ञान त पढाउँछन् तर पढाउँदैनन् नैतिक सिद्धान्तका विज्ञान। मलाई पिताजीको निजी चिकित्सक हुने शौभाग्य नमिल्दोे हो त म कसरी सिक्थेँ होला चिकित्साशास्त्रको नैतिक सिद्धान्तका विज्ञान ?

प्रकाशित: २४ आश्विन २०७७ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App