१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

बाग्लुङ बेनी घुमेर आउँदा

नियात्रा

खेमराज पोखरेल  

 

२०७४ साल जेठ ३ वसुन्धरा, काठमाडौँ

उच्छवासको रात

रातको ११ बजेको छ । यी रातहरू सधैं आउँछन्, जान्छन् । उस्तै आउँछन् र उस्तै जान्छन् । म भनेँ रातैपिच्छे अलगअलग अनुभुति लिएर सुत्छु । कहिले केले कहिले केले मेरो निद खाइदिन्छ । आजको रात मेरो उच्छवास उर्लेर आएको छ । याने फुर्किएर रमाउँदै छ । बाग्लुङ जाने कार्यक्रम छ । नेपाल इतिहास संघको कार्यक्रम । राष्ट्रिय गोष्ठी । म कार्यकारी सदस्य भएकाले पनि जानुपरथ्यो  वा रहरे भएकाले पनि जानु थियो । आखिर घुम्ने रहर त जब्बर हुन्छ नि ।

उफ, काठमाडौँमा प्रज्ञा प्रतिष्ठानले जेठको ५,६, र ७,  तीन दिने साहित्यिक कार्यक्रमको निम्तो दिएको थियो, यसैबेला । यही मुहुर्तमा जाऊँ कि नजाऊँ भएको छु । त्यसैले मेरो यो रात अरू रातभन्दा फरक भएको छ । दुईटा राम्रामा एउटा छान्नु पर्दाको पीडामा छु म ।  

सम्झिएँ । २०४७ सालमा म बागलुङ पुगेको रहेँछु । तिनताक म पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउथेँ । बाटो बनेको थिएन । हिँडेरै पोखराबाट नाउँडाँडा, फलेबास, कुस्मा हुँदै बागलुङ पुगेको थिएँ । बलेवा परतिर एउटा कलेजमा प्रसिद्ध साहित्यकार पूर्णप्रकाश नेपाल यात्री प्रिन्सिपल हुनुहुन्थ्यो । त्यहीँ बास बसेर भोलिपल्ट उहाँलाई लिँदै बाग्लुङ पुगेको थिएँ । नेपाल प्राध्यापक संघको चुनावको मतपत्र लिएर गएको थिएँ ।

मैले दायित्व सम्झेँ । रहरले जिद्दी गर्यो । फेरि बागलुङ हेर्ने जिजीविषा पलाएर आयो र मैले साहित्यिक कार्यक्रमलाई हापेर बाग्लुङ जाने निर्णय गरेँ ।

२०७४ साल जेठ ४  बाग्लुङ बजार, बाग्लुङ 

 

हुइँकिएको बस 

रातको ११ बजेको छ । होटल पिसप्यालेसको एउटा कोठामा म र चितवनका डा. राजेन्द्र रेग्मी छौं । एउटा खाटमा उहाँ सुत्नुभएको छ । एउटामा म ढल्केको छु । ओछ्यानमा ढल्केपछि मेरा दिमागका पत्रमा आजको दिन आइरहेको छ ।

आज बिहानै म लागेको थिएँ कुम्लोकुटुरो बोकेर बागलुङको यात्राका लागि कलंकीतिर । कलंकीमा ६.३० मै पुगेको थिएँ । ८ बजे गाडी आएथ्यो । रातो गाडी । एसी गाडी । गाडी कुदेथ्यो । गाडीमा न झ्याल न खुल्ने ढोका । हामी झ्यालबाट पानीका बोतल, कुरकुरेका खोल फुत्त बाहिर फालेर सभ्य ठान्ने बानी परेकालाई त अप्ठ्यारो परेकै थियो  तर हाम्रो अप्ठ्यारो त्यो एसी गाडीले बुझे मारिदिनु । गाडी गुडिरहेको थियो ।

गाडी हुइँकिएको थियो । मुग्लिन । मुग्लिनमा भात खानुपरथ्यो । गाडी अडिन मानेन। मरुस्याङ्गीको पहिरोले गाडी थुनिएथ्यो । खोई गाडीले कति तेल खाएको थियो कुन्नि, ऊ भोकाएको थियो थिएन थाहा भएन तर हामी भने भोकाएका थियौं । बल्लबल्ल खैरेनी काटेका थियौं । खैरेनीपारि थकालीको होटलमा कोचीकोची भात खाएका थियौं। लाग्दथ्यो हामीले धेरै दिनदेखि भात खाएका छैनौं ।  

स्थानीय चुनावको रन्को थियो । नतीजा आइरहेको थियो । रुख र सूर्य प्रतिस्पर्धामा थिए । बसभित्रै रहेका एकजना प्राध्यापक बाटाका घरमा देखिने रुखका झन्डाहरू देखाउँदै चिच्याउनुहुन्थ्यो, ‘ऊ ओली, ऊ ओलीओली, ऊ ओलीको !’ यस्तैयस्तै । उहाँको आशय रमाइलो मात्र थिएन । त्यो गाडीमा भएका प्रगतिशीलहरूलाई होच्याउनु थियो । हियाउनु थियो । अहिले अर्कालाई होच्याएरै रमेको छ नेपालको राजनीति । हियाएरै ठालु भएका छन् गन्यमान्यहरू ।

सायद यो एउटा पीडा थियो मेरो लागि । कहर थियो मेरा लागि तर म चूपचाप थिएँ । कहिलेकाहीँ त लाग्छ, हामी पनि के प्राध्यापक होला !

गाडी सुस्तरी पोखरा, हेम्जा, लुम्ले र पाउँदुर हुँदै काँडे पुगेको थियो । काँडे पुग्दा सेतो बादल खोँचहरूमा रुमलिइरहेको थियो । मेरो मन ती हावाको श्वेतपङ्खमा उड्न चाहेको थियो । अहा क्या सुन्दर प्रकृति । हावाका झोँकाहरूले ती बादलहरू हाम्रा गोडामुनि हिँडाइरहेको थियो । टिपेर खल्तीमा हालूँझैं भएको थियो  तर तत्क्षण नै सम्झेको थिएँ, ती सुन्दर श्वेत पङ्खभित्रको जिन्दगी । त्यहाँभित्रको कहर । त्यहाँभित्र काठमाडौंले गरेको विभेद र पनि हाँसेर बाँचिरहेको जीवन । त्यो बादल र जीवन दुइटैलाई सलाम गरें । गाडीअघि बढेकै थियो । बढिरहेको थियो ।

कुस्मा बजार पुग्दा ठूलो साँझ परिसकेको थियो । अहो यो कुस्मा त कस्तो सुम्लिएछ । कति सुन्दर भएछ । मैले केटाकेटी देखेको यो कुस्मा त तरुनी भएछ । तन्नेरी भएछ । अहो कति सुन्दर हौ । हेरिरहूँ जस्तो । 

बागलुङ पुग्दा निस्पट्ट रात परेको थियो । कुस्मापछिका बाटाहरू अँध्यारोका गल्छेँडाहरूमा हराएका थिए कालीगण्डकी पनि यहीँ कतै थियो होला । अन्धकारले निलेको थियो । बागलुङका स्थानीय आयोजक धौलागिरि कयाम्पसका क्याम्पस प्रमुख श रामप्रसाद उपाध्याय तथा अन्य साथीहरूले हामीलाई होटेल पिस प्यालेस पुर्याउनु भएको थियो । एउटा कोठामा बस्नुपर्ने । मेरा साथी हुनुहुन्थ्यो चितवनका डा. राजेन्द्र रेग्मी । उहाँ चितवनको, म काठमाडौंको । उहाँ प्रजातान्त्रिक म प्रगतिशील । प्राय सबैजसो कार्यक्रममा हामी सँगै हुन्छौं । खोई किन मिल्छौ कुन्नि । कोही प्रजातान्त्रिक र प्रगतिशील प्राध्यापक त छोइछिटो गर्छन् । यति व्यंग्य गर्छन् मानौ उनीहरू व्यंग्य गरेरै आत्मतुष्टि गर्छन् । म र डाक्टर रेग्मी किन यति मिलेका हौँला । कोठामा पुगेका थियौँ । स्थानीय चुनावको नतीजा आउँदै थियो तर हाम्रा दृष्टिकोणहरू समान थिए । खोई प्राज्ञिक हुन सक्यो भने यस्तो हुन्छ कि !

 

 

२०७४ साल जेठ ५  होटल पिस प्यालेस बाग्लुङ बजार, बाग्लुङ  

 

रातको १२ बजेको छ । डाक्टर राजेन्द्र रेग्मी र म कोठामा लमतन्न तानिएका छौं। म अलि अल्छी छु । आजीवन यस्तै त हो भन्ने बहाना बनाउँछु । डाक्टर रेग्मी फुर्तिलो हुनुहुन्छ । म आफ्नो ओछ्यानमा पल्टिएर आजको दिन सम्झँदै छु । धन्य महसुस गर्दैछु ।

बिहानै हिँडेर, बागलुङ कालिकाको दर्शन गर्न गएका थियौं  डा. रेग्मी र म । अहा कति सुन्दर हो यो ठाउँ ! सफा स्निग्ध र सुन्दर थियो । हरियो वनको माझमा मन्दिर चम्किरहेको थियो । वनमारा राजनीतिको जगजगीमा पनि यो बागलुङले वन जोगाएको थियो । काठमाडौँमा श्वास फेर्न गाह्रो परेका हामीलाई यो ठाउँ स्वर्ग भएको थियो । मैले लामो लामो श्वास फेरेँथेँ । कहीँ कतै अवरोध थिएन । सर्र श्वासले मेरो फोक्सो छोयो र फोक्सो रमाएथ्यो । धन्य छ यो बागलुङ, धन्य छिन् यी कालिका । त्यहाँको प्राकृतिक अवस्थिति हेर्न पाएर आफूलाई मैले पनि धन्य ठानेको छु ।

खाजा खाएपछि नेपाल इतिहास संघको गोष्ठी होटेल पिस प्यालेसकै सभाहलमा सुरु भएको थियो । फ्लेक्स बोर्डमा  प्रवद्र्धक  नेपाल पर्यटन बोर्ड, आयोजक इतिहास शिक्षण विभाग धैलागिरि बहुमुखी क्याम्पस बागलुङ, सहयोग विश्वविद्यालय अनुदान आयोग, आयोजन त्रिवि केन्द्रीय विभाग र नेपाल इतिहास संघ लेखिएको थियो ।

बागलुङका सबैले काका मान्ने पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचन, सांसद रत्ना शेरचन, क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, इतिहास संघका पूर्व अध्यक्ष प्राडा कृष्णबहादुर थापा, वरिष्ठ साहित्यकार प्रेम छोटा, सांसद चम्पा खड्का आदिको विशेष आतिथ्य तथा सुदूर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सभापतित्व नेपाल इतिहास संघका अध्यक्ष प्राडा सुरेन्द्र केसीले गर्नुभएको थियो । मन्तव्यमा राजादेखि जनतासम्मको बागलुङको इतिहास लेखिनुपर्ने, विदेशिएका नेपालीलाई नेपाल भित्र्याउनुपर्ने प्रसंग उठाइएका थिए ।

डा. राजेन्द्र रेग्मीद्वारा लेखिएको ‘चितवनको कम्युनिस्ट पार्टीको इतिहास’ नामक पुस्तक पनि विमोचित भएको थियो । मन्तव्य राख्ने क्रममा प्राडा कृष्णबहादुर थापाले इतिहासका निर्माता, देश निर्माता पृथ्वीनारायण शाहलाई करौँती लाउने हो भने कसलाई फाइदा हुन्छ भन्ने प्रश्न गर्नुभएको थियो । यतिबेला मेरो मन नेपालको वर्तमान राजनीति देखेर भाउन्न भएको थियो । शालिक ढालिएको परिवेशप्रति मन खिन्न भएको थियो ।

उपकुलपति प्रां. भुषण श्रेष्ठले नेपाललाई मेचीदेखि महाकाली मात्र नभनौँ, महाकालीपारि पनि नेपाल छ, त्यहाँ पनि नेपालीको पीडा छ भन्नु भएथ्यो । मैले केही वर्ष पहिला चाँदनी – दोधारा पुगेर आफ्नो मनमुटुलाई रुवाएको क्षण त्यसबेला पनि सम्झेको थिएँ । मन फेरि विदीर्ण भएथ्यो ।

दर्शकदीर्घामा मसँग एकजना बागलुङे साथी भन्दै हुनुहुन्थ्यो, ‘ काकालाई त्यो भेगको इतिहास र संस्कृति कन्ठै छ । बूढासँग धेरै सामग्री छन् । तर कसैलाई दिँदैनन् ।’

मैले मजाक गरेँथेँ, ‘हाम्रा ऋषिमुनिको ज्ञान पनि त गोप्य मन्त्र थियो नि।’

साँच्चि हाम्रो पूर्वीय सभ्यता, संस्कृत भाषाका सूत्रहरू, ऋषिमुनिका मन्त्रहरू म्लेक्ष र अम्लेक्ष भन्दै गोप्य राखिएको इतिहास सम्झेँ । ती त्योबेलाका विद्वानले अनुसन्धान गरी निकालेका सूत्रहरू थिए तर हाम्रो पूर्वीय परम्पराको ज्ञानलाई आफूमै सीमित राख्ने मनोविज्ञानका कारण लोप भयो । संस्कृत भाषा मृत भयो । सभ्यता र संस्कृति अधोगतिमा लाग्यो र समाज कठमुल्ला बन्न पुग्यो । मलाई त काकाको ज्ञानलाई गोपनीय राख्नुपर्ने चलनमा उही ऋषिमुनिको प्रभाव हो कि झैँ लागेको थियो ।

कार्यपत्रहरूको पालो थियो । सहप्राध्यापक डा. दिनबहादुर थापाले नेपाली भाषाको इतिहासबारे बागलुङलाई केन्द्र मानेर सरस प्रस्तुत गर्नुभएको थियो । यसैगरी  

विष्णुप्रसाद शर्मा आत्रेयले बागलुङको ऐतिहासिक सम्पदाबारे विवेचना गर्नुभएको थियो । धौलागिरी बहुमुखी क्याम्पसका अर्थशास्त्रका सहप्राध्यापक डा। सुदर्शन सिलवाल धवलागिरीको पर्यटन प्रवर्धनमा रमाउनुभएको थियो कार्यपत्रमा । पर्यटनका लागि खानी, जलसम्पदा, जैविक विविधता, तीर्थयात्रा, पदयात्रा, संस्कृति र ऐतिहासिकस्थल, ढोरपाटनलाई चिनाउँदै हुनुहुन्थ्यो ।

यता म भने काली गण्डकीको कलकलको कल्पना गर्दै  सभाहलको झ्यालबाट देखिने शौम्य धौलागिरि हिमालको आनन्दमा रमाएको थिएँ । त्यो हिमाल सेतो स्फटिकजस्तै थियो । सुन्दर थियो र मलाई लागिरहेको थियो यो हिमाल मलाई स्वागत गर्दै छ । बिनाछेडखान र बिनापक्षपात स्वागत गर्दै थियो । मलाई के थाहा छ भने यस्ता गोष्ठीका कार्यपत्रहरूलाई रद्दीको टोकरीमा थन्क्याउने राजनीतिक परिवेश छ र जेसुकै होस्, यति भन्न मन लागेको छ कि यी कार्यपत्रहरू पनि एउटा औपचारिकता मात्र न हो ।

यता प्राडा सुरेन्द्र केसी कार्यक्रम समापन गर्दै हुनुहुन्थ्यो । जादुमयी वक्ता । जादुमयी समापन गर्दै हुनुहुन्थ्यो । एकैछिनमा आकाशलाई पाताल र पाताललाई आकाश बनाइदिँदै हुनुहुन्थ्यो । उहाँका उडानमा भेउ पाउनै मुस्किल थियो ।

नमज्जा कुरा के भएको थियो भने काठमाडौँमै छँदा इतिहास केन्द्रीय विभागका अध्यक्षले ‘तपाईँको लघुकथा कार्यक्रम त्यही बिचमा गर्नु भन्नु भएथ्यो । त्यसैअनुसार तयारी भएको थियो । त्यसकारण कार्यक्रम सकिनेबित्तिकै त्यही सभाहलमा मेरो एकल लघुकथा वाचन कार्यक्रम राखिएको थियो । सुरुमा मलाई एकघन्टा समय दिइएको थियो । कार्यक्रम सुरु हुँदा त्यो समय आधा घन्टा भइसकेको थियो र म मन्चमा पुग्दा उदघोषक मित्र भन्दै हुनुहुन्थ्यो बीस मिनेट । त्यहाँ बागलुङका विशिष्ट साहित्यकार प्रेम छोटाको सभापतित्व थियो । काजी रोसन, लालचन्द्र राजभण्डारी लगायत धेरै बागलुङे साहित्यकार हुनुहुन्थ्यो । मैले फ्लेक्समा हेरेको थिएँ । ब्यानर राम्रो थियो । आयोजक प्रेम छोटाकै संस्था रत्न श्रेष्ठ पुरस्कार गुठी थियो । म लघुकथा वाचन गर्न थालेको थिएँ ।फ्लोरबाट आवाज आयो । कोही अरूअरू भन्दै हुनुहुन्थ्यो भने कोही भयोभयो भन्दै हुनुहुन्थ्यो । मेरो लघुकथा वाचन जमेन । जम्दै जमेन । म छक्क परेँ । लघुकथा वाचन गरूँ कि नगरूँ भएँ । बडो कष्टले सकेको थिएँ ।

अहिले पनि म सोचिरहेको छु । म  खुसी भइनँ यो आफ्नै कार्यक्रमबाट । उफ मैले किन यो लघुकथा वाचनको कार्यक्रम यहाँ गर्न मानेको होला ! यद्यपि मेरो सोच प्रेम छोटाकै पुस्तकालयमा केही बागलुङे साहित्यकार साथीहरूसँग बसेर लघुकथाबारे छलफल गरूँ भन्ने थियो । त्यो मैले गर्न पाइनँ र कहिलेकाहीँ लाग्छ मलाई । किन म नदुखेको टाउको डोरीले बाँधेर दुखाउँछु कुन्नि ।

सायद प्राध्यापक साथीहरूको हुटिङ ठिक थियो होला । बिहानैदेखि कार्यक्रममा बस्ताबस्ता बोर हुनुहुन्थ्यो होला । इतिहासका गर्त गर्तभित्र पसेर ज्ञानको ज्योति फिँजाएर बागलुङलाई सुवासित पार्नुभएको थियो होला र दिमागले आराम मागेको थियो होला वा इतिहास घागडान विज्ञ प्राध्यापकहरूलाई साहित्यमा रुचि थिएन होला । यति जाबो कुरा पनि मैले नबुझेर किन पो लघुकथा वाचन गर्न तम्सिएँ हुँला ! अहिले सम्झिँदा आफैँ उदास भएको छु तर पनि केही प्राध्यापक साथीहरूले र बागलुङका साथीहरूले भने लघुकथा वाचनको कार्यक्रमबाट आनन्दित भएको कुरा भन्दा मैले अलिकति राहतको श्वास फेरेको छु । मलम लगाएको छु । धन्यवाद छ मित्रहरू, मैले चिनेका नचिनेका बागलुङे साहित्यकारहरू । म जुनीजुनी आभारी भएको छु । मेरो मन बतासिएको बेला यहाँहरूको शुभवाणीले शान्त भएको छु । मलाई वरिष्ठ साहित्यकार प्रेम छोटा भन्नु भएथ्यो, ‘तपाईँका लघुकथाहरूले मन छोए !’

यो सुन्दा म पुलकित भएको थिएँ । 

तैपनि एउटा कुरा दिमागमा आइरहन्छ । प्राध्यापकको हुटिङलाई बागलुङे साथीहरूले साँच्चि के ठान्नु भयो होला  मेरा कर्कस स्वरबाट उब्जिएको तलमाथिलाई माफ गरिदिनु होला साथीहरू । यसको कारक म थिएँ । म आत्मादेखि नै क्षमा माग्छु । मलाई क्षमा गरिदिनु होला, बागलुङका साथीहरू । काठमाडौँका साथीहरू । नेपालका साथीहरू । मैले त्यो कार्यक्रम त्यहाँ गर्न हुन्नथ्यो । पक्कापक्की गर्न हुन्नथ्यो । त्यसैले अब त मैले दर्शक मनोविज्ञान बुझेको छु । सकारात्मक दर्शक नभई धरोधर्म म एकल लघुकथा वाचन गर्दिनँ ।

 

२०७४ साल जेठ ६ होटल पिस प्यालेस बाग्लुङ बजार, बाग्लुङ  ।

 

रातको १२ बजेको छ । डाक्टर रेग्मी र मेरा गफहरू आजका गफहरू सकिएका छन् । उहाँ सायद निदाइसक्नु भएको छ । म भने आजलाई दिमागमा खेलाउँदै छु । 

हाम्रो टोलीले बिहानै गलकोट दरवारको यात्रा सुरु गरेको थियो ।बाटोमा भिउ टावर थियो । सायद बिहुडाँडा भन्थे क्यार । ऐसेलुका झ्याङहरूमा बलिया बाङ्गा साथीहरू ऐसेलु टिप्दै हुनुहुन्थ्यो । खाँदै हुनुहुन्थ्यो । यो ठाउँ त स्वर्गको द्वार जस्तो लागेथ्यो मलाई । तल बेँसीमा किरिङमिरिङ बाटाहरू मनमोहक देखिन्थे । फाँटका गह्राहरूले मेरो मनलाई तानिरहेका थिए । घुम्टेको लेक र गाजाको लेक ‘हामीभन्दा कोही अग्ला छौ ?’ भनी शंखनाद गरिरहेका थिए । माओवादी द्वन्द्वकालमा यो घुम्टेको लेक यातना शिविर थियो भन्दै हुनुहुन्थ्योसाथीहरू । तल खोँचमा हटिया नामको बजार चम्किरहेको थियो । चिसो हावाको सररमा मन नरमाउने कुरै थिएन । घुम्टे र गाजालेकको खोँचमा गलकोट दरवार रहेछ ।

दरवारको आँगनमा पुगेपछि गलकोट बहुमुखी क्याम्पसका प्राध्यापक गलकोटको इतिहासका विज्ञ श्रीकृष्ण प्रसाद गौतम दरवारको आँगनको डीलमा उभिएर गल्कोट राज्यको इतिहास बताउन थाल्नु भएको थियो । ठुलो च्याप्टो ढुङ्गा रहेछ । त्यही ढुङ्गोमा बसेर मुद्दाको फैसला गरिन्थ्यो रे । गलकोटका राजाहरूले नेपाल सरकारबाट भत्ता पाइरहेका थिए महिनाको २५० । अन्तिम गलकोटे राजा माधव बम मल्ललाई दरवारको सुत्नेकोठाबाट बाहिर ल्याएर एकजनाले कुरा गर्दैगर्दा अर्काले घनले पछाडिबाट हिर्काएर मारेका थिए रे बैसाख १, २०५९ मा माओवादी द्वन्द्वकालमा । २००७ सालमा प्रजातन्त्रको आन्दोलनमा वीरगन्जमा सहादत प्राप्त गर्ने थीर बम मल्ल यसै कुलबाट थिए रे । इतिहासका पानाहरू पढाउँदा फेला परेका यी वीर थीर बम मल्ल प्रति शिर झुकाएर नमन गरेको थिएँ, गलकोट दरवारमा उभिएर ।

त्यसबेला म साँच्चि भावुक भएको थिएँ । प्रजातन्त्रको लागि लड्ने मात्र होइन आफूलाई प्रजातन्त्रसँग साट्ने वीर थीर बम मल्लका सन्तानलाई घन ठोकेर मार्ने ? के यो नेपाल साँच्चि सतीले सरापेकै देश हो त । गलकोटे राजा त एउटा नाम मात्र थियो । सायद एउटा स्कुलको शिक्षक थिए उनी । मानवीयता दानवीयतामा परिणत भएझैँ लागेथ्यो मलाई । मन एकदमै उदाश भएको थियो । रिसले पिच्च भुईँमा थुकेँछु मैले त । त्यही दरवारको आँगनको मुद्दा फैसला गर्ने ढुङगोमा उभिएर विह्वल भएँछु ।  

गलकोट अहिले नगरपालिका भएर फुर्किएको रहेछ । सायद अन्तजस्तै यो गलकोटलाई पनि लागिरहेको होला । कि ऊ अब ठूलो भएको छ । ऊ सभ्य भएको छ । हटियाकै रोयल गोर्खाज होटलमा खाएको खानाको स्वाद, अहा ।खानापछि कृष्ण प्रसाद गौतमले गलकोट क्याम्पस लैजानु भयो र स्वागत गर्दै पाकेका पहेँला स्थानीय केरा खुवाउनु भएको थियो । त्यो आतिथ्यता सङ्ख्यामा होइन, गुणमा अब्बल थियो । औपचारिकतामा होइन, भावनामा अब्बल थियो । हृदय बोल्दै थियो गल्कोटको । एउटा इतिहास लेखियोस् भन्ने आश गर्दै थियो गलकोट ।

हामी फेरि फर्केर बागलुङ होटलमै आएका थियौँ । फेरि गोष्ठी सुरु भएथ्यो । पहिले एउटा कार्यपत्र थियो गलकोट राज्यको इतिहास कृष्णप्रसाद गौतमको । उहाँ पूर्ण तन्मयका साथ गलकोट राज्यको इतिहास बताउँदै हुनुहुन्थ्यो । पर्वतका राजा प्रतापि नारायणले आफ्ना जेठा छोरा जितारी मल्ललाई अंस दिएका थिए गलकोट राज्य बिक्रम सम्वत १६३१मा । यानेकि स्वतन्त्र राज्यको रूपमा गलकोट राज्य १६३१ मा जन्म्यो र गण्डकी क्षेत्रको चौविसे राज्यमा गणना हुन थाल्यो । उनीपछि क्रमैले पार्थिव मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र अन्तिम राजा जगतबम मल्ल राजा भएको कुरा सुनाउनु भयो । विस.ं १८४४ को जेठ महिनामा गलकोट नेपाल राज्यमा विलय भयो । उनीहरूकै सन्तानहरूले काठमाडौँ गई राजाको चाकरी गरेकाले उनीहरूलाई बिर्ता प्रदान गरेको कुरा पनि भन्दै हुनुहुन्थ्यो ।

हालको दरवार भनिएको घर चाहिँ १९९० मा हरिचौरमा बनाइएको रहेछ भरत बम मल्लबाट । भरत बम मल्ललाई सरकारले रु २५० भत्ता दिँदै आएको थियो ।बिसं. १६६१ देखि २०१८ सम्म यो हरिचौर हटिया गलकोट राज्यको सदरमुकाम थियो भन्ने कुरा सुनेर आनन्द लागेथ्यो ।

यो सत्र सकिएपछि हामी केही प्राध्यापक साथीहरू साहित्यकार तथा प्राज्ञ प्रेम छोटाको घरमा गएका थियौँ । उहाँले लिएर जानु भएको थियो । म २०४७ सालमा प्रेम छोटाको घरमा पुगेको थिएँ । नेपाल प्राध्यापक संघको मतपत्र बोकेर ।प्रेम छोटाको डायरीमा पूर्णप्रकाश यात्रीले लेख्नु भएको थियो । मैले लेखिन छु । त्यो प्रकाशित पो भए छ । मेरो यो ‘निग्लिजेनस’ देखेर अहिले उदेक लागिरहेको छ ।  

प्रेम छोटा उहिले केटाकेटीमा नाटक खेल्नु हुन्थ्यो रे । उहाँको नाम प्रेम प्रसाद श्रेष्ठ रहेछ । नाटकमा खेल्ने अर्को मान्छेको नाम पनि प्रेम प्रसाद श्रेष्ठ नै रहेछ । अनि दुवै प्रेम प्रसाद श्रेष्ठहरू मध्ये उहाँ सानो भएकाले ‘छोटा’ उपनामबाट चिनिन थाल्नु भयो । ‘छोटा’ नामबाट नै ‘बडा’ हुनुभयो । कसलाई थाहा थियो र ! नाटक खेल्ने प्रेम छोटा नेपाली साहित्य आकाशमा ‘बडा’ नक्षत्र भएर उदाउने छन् भनेर । राष्ट्रको सान हुन्छन् भनेर !

 

२०७४ साल जेठ ७ होटल दीप भ्याली पोखरा ।

 

रातको १२ बजेको छ । डाक्टर रेग्मी र म ओछ्यानमा पल्टिएका छौँ । म आजको दिनलाई दिमागका पत्रमा संस्मरण गर्दैछु ।

आजबिहान ५,३० बजे धौलागिरि क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले चियापानमा क्याम्पस लैजानुभएको थियो । क्याम्पसकै चौरबाट देखिने धौलागिरी हिमालको सौन्दर्यको बयान गर्न मेरा शब्दहरू असमर्थ भएका छन् । हामीले क्याम्पसकै चौरमा उभिएर हिमाल हेर्दा बागलुङै साथीहरू भन्दै हुनुहुन्थ्यो , ‘होइन आज यो हिमाल पनि धेरै रमाएको छ ।’ 

चियापान कार्यक्रमपछि बागलुङकै मास्तिर डाँडामा भर्खरै बनाउँदै गरेको धार्मिक पर्यटकीयस्थलतर्फ हिँडेका थियौँ । माथिसम्म गाडी जान सकेन । अलिकति उकालो हिँड्नु पर्यो । एकघन्टा लाग्यो होला उकालोको स्याँस्याँ र फ्याँफ्याँ । अहो कस्तो सुन्दर यो अवस्थिति र बुनोट । कति सुन्दर बनाइएको होला । स्वामी कमलनयनाचार्यको गाँउ पनि रहेछ यो । उनले बनाएको यो भव्य हनुमान, स्थापना गर्न लागिएको ५०५ किलोको घन्ट, ५०५ किलोकै कलस, सिसमहल , कमलनयनाचार्यको तपस्या गर्ने ठाउँ आदिले मन फुरुङ्ङ  भएको थियो । 

यो ठाउँको नाम पञ्चकोट रहेछ । पुराना राजाको ती थुम्काहरूमा कोट रहेछन् । पञ्चकोटका पाँचबटा अग्ला थुम्काहरूमा ताराजाल कोट, कारी कोट, माझ कोट , रारांय कोट र संसार कोट रहेछन् । यो कमलनयनाचार्यको पर्यटकीय धार्मिकस्थलचाहिँ ताराजाल कोटमा रहेछ । यो कोट समुद्र सतहबाट १३६५ मिटरको उाइमा रहेछ । यो स्थलबाट हेर्दा अन्नपूर्ण हिमाल, धौलागिरी हिमाल र माछापुच्छ्रे हिमाल लस्करै देखिएका थिए । ती सबै हाँसेका थिए । हामी पनि मुस्कुराएर हाँसेथ्यौँ । यसरी हाम्रा हाँसोहरू क्यामरामा कैद गरिए । सायद क्यामरा पनि रमायो होला । 

यो पञ्चकोटमा पुगेर बागलुङ बजारलाई हेरेको थिएँ । अहो कति सुन्दर रहेछ यो बजार । एउटा समथर ढिस्कोमा गुजुमुज्ज रमाएको सुन्दर बागलुङ । सुन्दर धौलागिरी हिमालको सुवासमा हुर्किएको मनोहर सहर ।  

दिउँसोको १२, ४५ बजेको थियो । टन्टलापुर घाम थियो ।बागलुङकै पिस प्यालेसको मिठो खाना खाएर हामी म्याग्दीको बेनीतिर लागेका थियौँ । बेनी पनि दुइटा रहेछन् । म्याग्दी बेनी र पर्बत बेनी । हामीलाई गलेश्वर मन्दिर जानु थियो । यसो छ्वास्स म्याग्दी बेनीको छेउ टेकेर हामी गलेश्वर पुग्यौँ । 

गलेश्वरबाट हाम्रो गाडी पर्वत जिल्लाको काली गण्डकीको तीरतीरै बागलुङको पुलमा उभिएको हाम्रो गाडी भेट्दा बेलुकाको ४ बजेको थियो । मलाई त लागिरहेको थियो । म्याग्दी बेनीमा बसेर तातोपानी पनि जान पाए त  तर लागेको कुरो कहाँ पूरा हुन्छ  र !

गाडीले पर्वतको कुस्मा बजार पुर्याएको थियो । लामालामा पुल हेर्ने योजना बन्यो । म पछाडि परेँ । त्यसपछि मैले न लामो पुल हेर्न पाएँ । फर्कनँ खोजेको त हाम्रो बस बसेको उल्टो दिशामा पो हिँडिरहेको रहेछु । मोबाइल झिकेर कम्पास हेरेँ । लौ म त उल्टो दिशामा पो छु त । म सोद्धै बस भए नजिक आएँ । रात परिसकेको थियो । 

गाडी पोखरा हानियो ।आठ  बजेतिर पोखरा पुगियो । होटल दिपभ्यालीमा खानेबस्ने ठाउँको व्यवस्था रहेछ । यो व्यवस्था पृथ्वीनारायण कयाम्पसमा इतिहास पढाउने साथीहरूद्वय नारायण ढकाल र डा. चन्द्रकान्त पौडेलको सौजन्य रहेछ । यी दुई भाइ मेरा साथी कस्ता होलान्, कत्रो मन होला ! म चकित भएको छु । योग्यताका कारणले कहिल्यै प्रोफेसर नहुने मान्छे प्रोफेसर हुँदा पनि एक कप चिया नजुरेको अनुभव छ मेरो काठमाडौँमा  तर यी दुई भाइ सरले मलाई अचम्ममा पारे । म त्यो मनलाई सलाम गर्दछु ।

 

 

 

२०७४ साल जेठ ८,   वसुन्धरा, काठमाडौँ

 

वसुन्धरा आफ्ना घरमा आइपुगेको छु  । खाना खाएपछि आजको दिनलाई अक्षर बनाउँदै छु । आज आरमदायी बसाइपछि आज बिहानै बिन्दवासिनी पुगेका थियौँ । मन्दिर थप्न थालेछन् पोखरेलीले । मलाई मन परेन । किन नेपालीहरू आफनो मौलिकतामा रमाउँदैनन् । त्यसपछि फेवातालको दर्शन, गुप्तेश्वर महादेवको गुफा, र फेरि गाडी । उही बाटो उही सुन्दरता हेर्दै, उही मस्र्याङ्दी र त्रिशूली हेर्दै काठमाडौँ फिरेका थियौँ। काठामाडौँतर्फ बाटो सोझिएपछि म सोच्न थालेँको थिएँ । कस्तो भयो हँ मेरो बागलुङ यात्रा !

ढाँटेको पनि होइन । फुकर्याएको पनि होइन । म सत्तेसत्ते भन्दैछु । अचम्म स्वागत गर्यो बागलुङले हामीलाई । हाम्रो स्वागतमा प्रशासन आयो । प्रहरी आयो । शिक्षा आयो । राजनीतिक कर्मी आए । समाजसेवी आए । साहित्यकार आए । महिला आए । पत्रकार आए । व्यापारी आए । वा यसो भनूँ कि खर्लप्प आयो बागलुङ । हामीलाई मनको रातो तुल ओछ्याएरै आयो धौलागिरी । धौलागिरी हिमाल मस्किएर नै हामीलाई मोहनी लगायो । अन्नपूर्णले लोभ्यायो । माछापुच्छ«ले पुच्छर हल्लाएर स्वागत गर्यो । सम्पूर्ण परिवेशले हामीलाई स्वागत गर्यो  र अचम्म मलाई त लाग्यो अझै पाहुनालाई स्वागत गर्ने परम्परा बाँकी नै रहेछ बागलुङमा ।धौलागिरीमा ।  

तर म भनिरहेको छु , पक्कापक्की भनिरहेको छु कि ए बागलुङ,ए धौलागिरी, यो ऋण तिर्ने छैन काठमाडौँले । यो ऋण तिर्ने छैन नेपालले । यो तिम्रो ऋण बुड्यो । डुब्यो । त्यति कृतज्ञ छैन काठमाडौँ । त्यति इमानी पनि छैन ऊ । ऊ हुँडार हो । ऊ सबै आफै खाऊँ भन्छ । आफैँ लाऊँ भन्छ । 

तर म तिमीलाई सम्झेर विह्वल भएको छु बागलुङ । बागलुङ बजार । धौलागिरि । गलकोट । पञ्चकोट । थुम्काहरू । बेनी । गलेश्वर । काली गण्डकी । र म नबिर्सने बाचा गर्न पनि सक्दिनँ बागलुङ । म पक्का पक्की बिर्सने छु । बिर्सन चाहेर वा नचाहेर पनि बिर्सने छु र पनि रामप्रसाद चिफ सर, तपाईँलाई र तपाईँका सहयोद्धाहरूलाई त कहाँ बिर्सौँला र ! होटलभित्र खाएको मिठो खाना त कहाँ बिर्सौँला र ! घनले हानेर मारेको त्यो गलकोट दरबारको ढुङ्गा कहाँ बिस्र्यौला र !    बिहुडाँडाबाट देखिएको स्वर्ग त कहाँ बिस्र्यौला  र ! कलकल बग्ने काली गण्डकीलाई कसरी    र १ कालिकाको वन कसरी बिर्र्सौँला र  !

धन्य छ यो नेपाल इतिहास संघ । हामीलाई घुमाइरहन्छ । पढाइरहन्छ । सिकाइरहन्छ । रमाउन लगाउँछ । र पनि म खुसुक्क डा। ढाकालाई भन्दै थिएँ । छेउमा डा। गोपाल धौबन्जार पनि हुनुहुन्थ्यो  ‘हाम्रा अग्रजहरूले जन्माउनु भएको छ यो नेपाल इतिहास संघ । यो गौरव हो हाम्रो । यो सकिएला । यो पार्टीको भातृ संगठन बन्ला । म त पहेँलो पात हुँ । झर्नै लागेको । ख्याल गर्नुस् । यो बाँचोस्’

झल्याँस्स भएँ । थानकोट आइसकेको थियो  र काठमाडौँ मलाई पर्खिरहेको थियो । पुग्नेबित्तिकै भन्यो  – खूब, उतै रमाएको थिइस् त, आउनुपर्दो रहेछ त !

कोठामा आएर फुत्त ब्याग फालेको छु । डङ्रङ्ग ओछ्यानमा पल्टिएको छु । बुढ्यौलीले छोएछ क्यार अलि थकाइ लागेजस्तो भएको छ । यात्रा मनमोहक थियो । आरामदायी थियो । सुखद थियो तैपनि किन यो शरीर त्यसैत्यसै थाक्छ होला । कडा कालो कफी हातमा लिएर थकाइ मेटाउन खोज्दै छु । मन सम्झँदै छ बागलुङलाई । अझै रमाउँदै छ काली गण्डकीको कलकलमा । हिमालमा । हरिया पाखापखेरामा ।  

प्रकाशित: १९ आश्विन २०७७ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App