१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शान्ति ठटालको स्वरगाथा

‘पढाइमा अरुचि। रातदिन गीत–संगीतको सोख। घरका मान्छेले पनि ‘यसलाई पढाइमा रुचि छैन, पठाइदिऊँ कलकत्ता’ भने।  

कला मन्दिरमा एक अग्रज हुनुहुन्थ्यो– सरोदवादक घोष बाबु (मानु घोष)। उहाँले नै सबै खोजीनिती गरेर फर्म भरिदिनुभयो। परीक्षाका निम्ति मलाई कलकत्ता पु-याउन मसित आमा जानुभयो। आमा पढालेखा हुनुहुन्नथ्यो, तर संगीत बुझ्नुहुन्थ्यो। आमा र म गएर विश्व संगीत भारतीमा संगीतको परीक्षा दियौँ। मैले त्यहाँ मीराको एउटा भजन ‘मेरे तो गिरधर गोपाल’ गाएँ। त्यहाँ घगडान–घगडान जर्ज बसेका थिए, ठुल्ठूला बाजा थिए।  

मैले गाउँदै गर्दा बाहिर आमालाई अरु कसैले भनेछन्, ‘कस्तो राम्रो स्वर रहेछ यो केटीको ? किन यहाँ ल्याएको ? यहाँ त सिक्दासिक्दा स्वर बिग्रन्छ।’  

स्वर परीक्षा दिएर आएपछि आमाले यो कुरा मलाई भन्नुभयो। मैले सुने–नसुने गरी हिँडेँ। किनकि मलाई त्यहाँ सिक्नु थियो। कलकत्तामा मलाई सबै किसिमको सहयोग मिल्यो, नरबहादुर गुरुङबाट। उनी कांग्रेसका डेपुटी मिनिस्टर थिए, राजभवन छेउमा बस्थे।  

आमा मलाई छाडेर आउनुपर्दा अप्ठेरो मान्दै हुनुहुन्थ्यो, तर म मान्नेवाला थिइनँ। सानै थिएँ भन्दा पनि आठौँ श्रेणीमा त पढ्दै थिएँ। उमेर कति थियो होला मेरो ?  

(सबैले एकै स्वरमा १४–१५ भने।)  

होइन होइन, १७ र १६ को बीचमा थिएँ। पढाइमा लद्दु भएकाले पो आठौँ श्रेणीमा पढ्दै थिएँ।’

फ्ल्यासब्याकमा यो कथा सुनाइरहँदा संगीतकार शान्ति ठटाल पोखराको भर्खर नामाकरण गरिएको एउटा नयाँ होटलको बेसमन्टमा थिइन्, चलचित्रकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुंगेल अनि पत्रकार टंक ढकालका साथमा।  

दक्षिण एसियाका गायिकाहरूको पहिलो संस्था ‘हार्मोनी: द मोडर्न संग्सट्रिसेज अफ पोखरा’ले आफ्नो दोस्रो वार्षिकोत्सवमा गर्न लागेको पहिलो सम्मान कार्यक्रमका लागि उनी दोस्रोपटक पोखरा आएकी थिइन्, सहयोगी शर्मिलाका साथमा।  

२०७५ सालमा यो कथा वृत्तान्त सुनाइरहँदा ठटाल २०१२ सालतिरको आफ्नो श्यामश्वेत अतीतमा हराइरहेकी थिइन्, कहीँ रंग भएको कहीँ रंग नभएको पर्दामा।  

टर्निङ प्वाइन्ट १: कोलकत्ता इन्फ्लुएन्स् 
दार्जिलिङमा त्यतिबेला राजनीतिक पार्टी कम सांगीतिक समूह बढी थिए। तर सबैको एउटै उद्देश्य थियो, संगीतका माध्यमबाट गीतलाई अझै माथि उचाल्ने।

गीतमा त्यति बेला नयाँ नयाँ प्रयोग भइरहेका थिए।  

ठटालले सम्झे अनुसार, त्यसबखत उर्मिलाकुमारी श्रेष्ठको ‘सन्ध्या तिम्रो रिमझिमतामा दुःखै दुःखले भरिएको छ’ गीतले आधुनिकताको झलक दिइसकेको थियो। त्यसभन्दा पहिले गीतमा शब्द वा रचनाको शक्ति कमजोर थियो।  

उर्मिलाकुमारीले नवीन बर्देवाको शब्दमा आफ्नै मामा गोपाल श्रेष्ठको संगीतमा गाएको गीतले दार्जिलिङ र त्यस वरपरका नेपालीलाई सम्मोहित बनाइसकेको थियो। दार्जिलिङको संगीतमा त्यतिबेला शिवकुमार सिंह, हिराकुमार रसाइली, कपिलराज सुब्बा, एचमान गुरुङ, नवीन बर्देवा, मानध्वज गुरुङ, दलसिंह गहतराजले बनाइरहेको बाटोमा संगीतले मौलिकता खोजिरहेको थियो।  

विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’

शान्ति ठटाल त्यतिबेला दार्जिलिङको कला मन्दिरमा ब्याकअप सिंगरमा कार्यरत थिइन्। कला मन्दिरमा उनी जानुका पछाडि एउटा सानो कथा थियो, जुन कथा उनी बारम्बार आफ्नो अन्तर्वार्ता वा अन्य प्रसंगमा सुनाइरहन मनपराउँछिन्।

उनलाई दार्जिलिङको चोकबजारमा गएर रेकर्ड दोकानबाहिर उभिएर हिन्दी गीत सुन्ने बानी बसिसकेको थियो, लता मंगेशकरका सबै गीत प्रायः कण्ठस्थ थिए।  

एक दिन उनले सरस्वती पूजाको कार्यक्रममा हिन्दी फिल्मको कुनै गीत गाइछन्। गीतभन्दा उनको गायकीको प्रभावले उनलाई कला मन्दिर पु¥याएछन्, केही स्वजनले। र, यसरी सुरु भयोे कला मन्दिरबाट ब्याकअप सिंगरका रूपमा उनको करिअर।  

कला मन्दिरको नाटक ‘रूपरेखा’मा पाश्र्व गायिकाको रूपमा आफ्नो गायन यात्रा सुरु गर्दा उनले संगीतमा अझै आफूले सिक्नुपर्छ भन्ने महसुस बल्ल गरिछन्। उनलाई त्यसपछि विश्वकवि रवीन्द्रनाथ टैगोरद्वारा स्थापित विश्व संगीत भारतीमा सिक्ने वा पढ्ने इच्छा जाहेर गरेर घोष बाबुले प्रोसेस अघि बढाइदिए।  

विश्व संगीत भारतीमा स्वर परीक्षा दिन जाँदा शान्तिलाई निर्णायक मण्डलीले ‘कुनै शास्त्रीय गीतको मुखडा आउँछ ?’ भनेर सोधेछन्। मुखडा भन्ने शब्द उनले पहिलोपटक दार्जिलिङमा शास्त्रीय गायक करमोतल्लाह खाँबाट सुनेकी थिइन्। दार्जिलिङमा पहिलोपटक आएका खाँले उनको गलाको खण्ड देखेर आफूसँग आएकी गायिका उमा डेलाई भनेछन्, ‘यो केटीको कण्ठ एकदम रामो छ, यसलाई कुनै शास्त्रीय गीतको मुखडा सिकाइदिइराख।’  

शान्तिका लागि त्यो सिकाइ पछि विश्व संगीत भारतीमा काम लाग्यो। उमा डेले सिकाइ छाडेको मीराको भजनको मुखडा ‘मेरे तो गिरीधर गोपाल’ गाएर उनी स्वर परीक्षामा उत्तीर्ण भएकी थिइन्।  

यो कथा कुनै नौलो होइन, शान्तिले आफ्नो सांगीतिक यात्रा नै अरुको गीत गाएर सुुरु गरेकी थिइन्, जसरी प्रायः नेपाली कलाकारले यसरी नै सुरु गरेको हुन्छ।  

लता मंगेशकरको गीत खर्लप्पै खाएकी ठटालले कला मन्दिरपछि विश्व संगीत भारतीमा अध्ययन गर्न पाएपछि उनी फर्केर आउँदा दार्जिलिङमा अम्बर गुरुङको आर्ट एकेडेमीले आकार ग्रहण गरिसकेको थियो।  

उनले सम्झँदा दार्जिलिङमा त्यतिबेला कला मन्दिरको जस्तो अरु सांगीतिक समूहको महŒव थिएन, तर अम्बर गुरुङको आगमनपछि अर्को एउटा नयाँ इतिहास बन्न सुरु भएको उनी स्विकार्छिन्।  

‘नौ लाख तारा’ गीत रेकर्ड गरेर अम्बर आइकन भइसकेका थिए। आर्ट एकेडेमी खोलेर उनी गाउँगाउँ, बस्तीबस्ती कार्यक्रम गर्दै हिँड्थे। यसै सिलसिलामा शान्तिको अम्बरसित भेट भयो, आफ्ना दाजु पर्ने इन्द्र थपलियामार्फत।  

थपलियाले आफ्ना मीत अम्बरलाई भनेर शान्तिका निम्ति एउटा गीत मिलाइदिएछन्। अम्बरको गीतको त्यो धुन सुनेर ठटालले फस्र्ट ह्यान्डमै ‘यो ट्युन त मनपरेन’ भनिन्। यसले अम्बर र शान्तिबीच अलि अशान्तिजस्तो फैलिने देखेर मीत अम्बरको बचाउ गर्दै थपलियाले भनेछन्, ‘राम्रो छ त बहिनी, मीतज्यूको यो गीत। गाऊ न।’  

शान्तिले अम्बरको त्यो धुनको गीत नगाउने भएपछि तत्कालै अर्को धुन तयार पारेछन्, आफ्नै शब्दमा:

‘सम्हालेर राख, सँगालेर राख  
फेरि फुल्ने हो कि होइन, जोवनको फूल।  

अम्बर शान्तिको यो प्रोजेक्ट सफल भयो। यही गीतबाट शान्ति नेपाल र नेपालबाहिर एकैपटक चिनिइन्। यो इतिहास फेरि दोहो-यारहनुपर्दैन, जसलाई अंग्रेजीमा ‘रेस्ट इज हिस्ट्री’ भन्छन्।  

विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’  

टर्निङ प्वाइन्ट २: एउटा नीलो सूर्यास्त
बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकरका एकेक गीत सुनेर गायन सिकेकी ठटालले विश्व संगीत भारतीको आँगनबाट फर्केपछि दार्जिलिङमा संगीतकारको जिम्मेवारी बोक्नुप-यो। यसको कारण थियो– आर्ट एकेडेमीको अवतरण।

अम्बर गुरुङले बंगाल सरकारको जागिर पाएपछि उनी लोक मनोरञ्जन शाखा गए, टर्नबुल स्कुलको जागिरबाट अलग भएपछि अम्बरले आर्ट एकेडेमी त्याग्नुप-यो।  

आर्ट एकेडेमीमा उनका साथ म्युजिसियनका रूपमा रहेका शरण प्रधान, रञ्जित गजेमर, गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा सबै आ–आफ्नो समूहमा बाँडिए।  

शरण, रञ्जित, जितेन्द्र बर्देवा र अरुणा मिलेर संगम समूह खोले, संगमबाट शरण रञ्जितले आफ्नै संगीत सिर्जना सुरु गरे। कर्म र गोपाल कला मन्दिरमा प्रवेश गरे, यिनको जोडीमा दिलमाया खाती, नगेन्द्र थापा त छँदै थिए।  

यही बेला शान्तिले पनि आफ्नै संगीत परिकल्पनामा ईश्वरवल्लभको गीतिकथा ‘एउटा नीलो सूर्यास्त’मा संगीत निर्देशन गरिन्।  

कवि ईश्वरवल्लभका लागि गीतकारका रूपमा यो तेस्रो प्रहर थियो, उनी पहिलोपटक नातिकाजीको संगीत र तारादेवीको स्वरमा ‘फुलाई फूल न धर्ती आकाश ओर्ली आउला’मा गुञ्जायनमान भइसकेका थिए।  

अम्बरको संगीतमा ‘मलाई भाँचिदे’मा उनी लगभग फरक परिचयीकरण हुँदै थिए। तर, एक बिहान शान्ति ठटालको संगीतमा ‘एउटा नीलो सूर्यास्त’मा उनी सिंगो र सग्लो गीतकारको सूर्याकार लिँदै झुल्किए।  

‘परालको आगो’को ‘उडीजाउँ भने’ गीतले अरुणालाई दीपमान परिचय दिलायो भने शान्तिलाई नेपाली चलचित्र जगत्को पहिलो महिला संगीतकारको गद्दी दिलायो।

आमाको आत्महत्यापछि आफ्नो जन्मथलो छाडेर प्रवासभूमि पुगेका वल्लभलाई ‘दार्जिलिङमा आकाशको त्यो एक्लो तारा’ लेख्न शान्ति ठटालले नै प्रेरित गरिन्।  

ईश्वरवल्लभसँगै शान्तिले वल्लभका सहकर्मी कवि एवं गीतकार वैरागी काइँलाको ‘मेरो दुःखी मन सपना नखोज’लाई गाइन्। यो गीत हिट भयो, लगभग सुपर हिट।  

अम्बर गुरुङले धुनबद्ध गरेको यो गीत नै काइँला र काइँलीको पहिलो एडज्वाइनिङ थियो र यही गीतले शान्तिको जीवनमा एउटा महत्वपूर्ण टर्निङ ल्यायो भन्न सकिन्छ। 

 

चिनाको नाउँ ओजाङहाङ भएका तिलविक्रम नेम्वाङको साहित्यिक नाउँ वैरागी काइँला र उनी घरका पनि काइँला सन्तान नै परे, त्यसैगरी गायिका शान्ति ठटाललाई पनि घरमा काइँली नै भनेर बोलाइन्थ्यो।  

यी काइँला र काइँलीको यो गीतमा अम्बर गुरुङको कम्पोज कलरको मूल्यांकन गज्जबै गरेका छन्, गीतकार काइँलाले। उनी भन्छन्, ‘हुनचाहिँ यो मेरो नितान्त व्यक्तिगत जजमेन्ट हो। कुनै संगीतको दृष्टिकोणले होइन। अम्बर गुरुङमा एउटा प्रयोगधर्मिता, प्रयोगशीलता थियो। यिनले चाहिँ उतिबेलाको नेपाली संगीतमा आइरहेको एउटा आधुनिक धारा थियो, त्यसलाई नयाँ मोड दिने प्रयत्न गरिराखेका थिए। उनीभन्दा अगाडि काठमान्डुमा नातिकाजीहरूको जस्तो मिठो स्वर आइरहेको थियो, अलिक पछाडिबाट बच्चु कैलाशको जस्तो विचित्र र कस्तो मान्छेलाई आक्रमण गर्ने किसिमको स्वर लिएर आएका स्वरहरू थिए। तिनीहरूको स्वर राम्रो सुनिनुभन्दा अगाडि उनले दार्जिलिङमा संगीतलाई नितान्त आधुनिक हिसाबले लैजाने प्रयत्न गरे, सायद नेपाली संगीत क्षेत्रमा पश्चिमा संगीतको पनि समागम गराएर लैजान खोज्ने पहिलो संगीतकार अम्बर गुरुङ होलान्।’  

अम्बर गुरुङको ‘आँधी बतासैमा तिम्रो शुभकामना काम लागेन’ र वैरागी काइँलाको ‘मेरो दुःखी मन’ले संगीतकार गुरुङ र गायिका ठटाललाई नेपाल र नेपालीसित अलि नजिक बनायो।  

मुनामदनकै प्रस्तोता टोलीका साथ अम्बर गुरुङ नेपाल आइसकेको कुरा नारायणप्रसाद राजभण्डारी अर्थात् चित्तरञ्जन नेपाली सम्झिन्छन्। दरबारमा हुने कार्यक्रमका आयोजनकर्मीका रूपमा परिचित मधुसुदन राजभण्डारीले अम्बर गुरुङको राजा महेन्द्रसित एक यादगार भेट गराइसकेका थिए। यसपछि अम्बर नेपाल बस्ने भए।  

टर्निङ प्वाइन्ट ३: नेपाल आगमन
२०२१ सालमा तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा शान्ति ठटाललाई नेपाल आउने निम्ता जान्छ, उनी आफ्ना संगीतकर्मी साथीहरू शरण प्रधान, अरुणा लामा, कुमार गजमेर साथ नेपाल आउँछिन्।  

शान्तिको ‘सम्हालेर राख’ र ‘मेरो दुःखी मन’ सुनेका कवि राजा महेन्द्रले पनि यही समय ‘दुखेको मन टुटेको दिल’ लेखेर रेकर्ड गरिसकेका थिए, संगीत प्रवीण नरराज ढकालको स्वरमा।  

महेन्द्रको शालीन आमन्त्रणपछि नेपाल र नेपालीका माझ शान्ति ठटालको नेपालसित एउटा गहिरो आत्मीयता बस्यो, रेडियो नेपालका गायक–गायिका, संगीतकर्मी, वाद्यवादकका माझ उनको उपस्थितिलाई यहाँ सगर्व स्विकारियो।  

गायिका ठटालले दार्जिलिङमा बसेर गाइरहँदा नातिकाजी, शिवशंकर, तारादेवी, पुष्प नेपाली, बच्चु कैलाशको परिवर्तनीय आवाज सुनेको र महसुस गरेको कुरा पनि त्यही बेला आशाको रूपमा लिइन्।  

दार्जिलिङ त्यो बेला अझै त्योभन्दा पहिला कालिम्पोङले महाकवि देवकोटाको मुनामदन मञ्चन गरिसकेको थियो। राजा महेन्द्रले मुनामदनका प्रस्तुतकर्तालाई बोलाउने क्रममा चित्तरञ्जन नेपाली र हरिहरराज जोशीलाई यो जिम्मा दिइसकेका थिए।  

मुनामदनकै प्रस्तोता टोलीका साथ अम्बर गुरुङ नेपाल आइसकेको कुरा नारायणप्रसाद राजभण्डारी अर्थात् चित्तरञ्जन नेपाली सम्झिन्छन्। दरबारमा हुने कार्यक्रमका आयोजनकर्मीका रूपमा परिचित मधुसुदन राजभण्डारीले अम्बर गुरुङको राजा महेन्द्रसित एक यादगार भेट गराइसकेका थिए। यसपछि अम्बर नेपाल बस्ने भए।  

अम्बरसित उनका सहायक रञ्जित गजमेर र त्यही समय नेपाल आएका धेरै दार्जिलिङे कलाकार नेपालतिरै भासिए।  

शान्ति ठटाल फर्केर दार्जिलिङ गइन्, त्यहाँ तिनलाई फेरि देवकोटाको ‘मुनामदन’मा संगीत गर्नु थियो। यही समय नेपालीमा एमए गर्ने बहानामा दार्जिलिङबाट गोपाल योञ्जन पनि नेपाल आए, गोपालका दाजु कर्म एक्लै भए। कर्मले यही समय देवकोटाको ‘म्हेन्दु’मा संगीत गरे, शान्तिले देवकोटाको ‘मुनामदन’मा।  

देवकोटाको मुनामदनलाई पछि नेपालमा आएर अम्बर गुरुङले पनि संगीतबद्ध गरे, कोकिल गुरुङको निर्देशनमा।  

देवकोटाको ‘मुनामदन’, ईश्वरवल्लभको ‘एउटा नीलो सूर्यास्त’पछि शान्तिले वैरागी काइँला, अम्बर गुरुङ, जिएस लामा, इन्द्र थपलिया, छिन्नलता, मनबहादुर मुखिया, शशि ठटाल, नोर्देन रुम्बा, बलि सुब्बा, कालुसिंह रनपहेँली आदिका धेरै गीत गरिन्। तर, उनलाई कथाकार गुरुप्रसाद मैनालीले पश्चिम नेपालको बाग्लुङबाट टिपेर ल्याएको एउटा गीतको गेडाले करामत गर्ने मौका दियो। जसलाई फिल्मी भाषामा ‘ब्रेक’ भनिन्छ।  

टर्निङ प्वाइन्ट ४: परालको आगो 
शान्तिलाई फिल्ममा पहिलो ‘ब्रेक’ दिए, प्रताप सुब्बाले। सुब्बाले यसअघि ‘पौनी ब्वाय’ नामक एक वृत्तचित्र बनाएका थिए, यसबाहेक सिनेमामा उनको अर्को अनुभव सायद थिएन। नाट्यकर्मसित उनी पहिल्यैदेखि आबद्ध थिए। प्रताप सुब्बाले गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा सिनेमा बनाउने भएपछि चलचित्रमा रहेका तीन गीतमा संगीत गर्न शान्ति ठटाललाई छाने।  

‘नासो’ कथा संग्रहमा रहेको मैनालीको एक सशक्त कथा हो, परालको आगो। परालको आगोमा कथाकार मैनालीले बाग्लुङको लोकलयको गीत टिपेर हालेका थिए– उडी जाउँ भने म पन्छी होइन...।

यही गीतको बोललाई मुखडा बनाएर मनबहादुर मुखियाले पूर्णाकार गीत लेखे– उडी जाउँ भने म पन्छी होइन, बस्न त यहाँ मन छैन, लैलै...।

शान्तिले यो गीतका निम्ति गायिका अरुणा लामालाई छानिन् र प्रताप सुब्बाले अभिनेत्री वसुन्धरा भुसाललाई छाने।  

दुवै पर्दामा सफल भए।  

अरुणा लामाको यो गीत उनकै अघिल्लो गीत ‘यहाँ फूल नखिलेछ बहार आउन भुलेछ’ पछिको रेकर्ड ‘ब्रेक’ बन्यो।  

शान्तिले यसअघि अरुणा र ईश्वरवल्लभसित ‘आकाशको त्यो एक्लो तारा’मा सहकार्य गरिसकेकी थिइन्।  

‘परालको आगो’को ‘उडीजाउँ भने’ गीतले अरुणालाई दीपमान परिचय दिलायो भने शान्तिलाई नेपाली चलचित्र जगत्को पहिलो महिला संगीतकारको गद्दी दिलायो।  

भारतको विशाल बलिउड चलचित्र उद्योगमै गनेर जम्मा दुई मात्र महिला संगीतकार भएको आरेखमा शान्ति ठटाल नेपाली चलचित्र उद्योगको पहिलो महिला संगीतकार भइन्। भारतका निम्ति पनि त्यो एउटा अनधिक इतिहास बन्न पुग्यो।  

‘परालको आगो’मा शान्तिले ‘उडी जाऊँ भने’ बाहेक अर्को एउटा महŒवपूर्ण गीत गरिन्– धेरै चुलबुल नगर बहिनी, बतासैले उडाइदेला तिम्रा पछ्यौरीलाई...।

समवेत स्वरमा रहेको यो गीतमा शान्तिले नयाँ पुस्ता तयार पारिन्, गायक शंकर गुरुङ, पेमा लामा, दावा ग्याल्मो आदि।  

नेपाली चलचित्रका प्रथम महिला संगीतकार शान्तिलाई दोस्रो फिल्म कुनै निर्देशकले दिन सकेनन्। त्यसका निम्ति उनले प्रताप सुब्बालाई अर्को फिल्मसम्म पर्खनुप-यो।  

‘परालको आगो’ सांगीतिक हिसाबले गीतप्रधान फिल्म थिएन र पनि यसमा संगीतकारिताका हिसाबले देखाउने काम कम भयो। कारण ‘लो’ बजेटमा बनेको यस फिल्ममा शान्तिले जानेर पनि पृष्ठ संगीत गर्न पाइनन्। पृष्ठ संगीत अर्थात् ब्याक् ग्राउन्ड म्युजिक गर्न नपाउनु उनको निम्ति जितेको राज्य गुमाउनु जत्तिकै भयो, जसलाई ऐतिहासिक मिथकमा ‘एल डोराडो’ भनिन्छ।  

परालको आगो शान्ति ठटालका निम्ति ‘एल डोराडो’ साबित भयो भने नेपाली चलचित्र इतिहासका निम्ति एउटा गौरवमय घडी बन्न पुग्यो। ‘परालको आगो’पछि शान्ति ठटालले पुनः प्रताप सुब्बाकै दिग्दर्शनमा ‘बाँच्न चाहनेहरू’मा संगीत गरिन्। निर्देशक सुब्बा र गायिका अरुणा लामाका बीच खटपट भएका कारण यसापालि शान्ति ठटालले गायिका अरुणाको ठाउँमा नयाँ सम्भावना बोकेकी गायिका विमला सेन्चुरीलाई पाश्र्व गायिकाका रूपमा र पेमा लामालाई पाश्र्व गायकका रूपमा ब्रेक दिइन्। यस फिल्ममा ठटालले आफ्ना अनुज पुस्ताका गीतकार कवि नर्देन रुम्बालाई पनि स्विकारिन्– ‘नयाँ–नयाँ घामको किरण’,  ‘मिठो–मिठो तिम्रो बात मिठो’, ‘बाँच्न चाहनेहरू’, ‘हरर बरर दार्जिलिङ सहर’ लगायत गीतमा संगीत भरेर।

दार्जिलिङमा जन्मे–हुर्केका गीतकार रुम्बालाई दार्जिलिङको आकाशबाहिर एक विशिष्ट परिचय दिए, शान्ति अनि प्रताप सुब्बाले। यद्यपि रुम्बालाई संगीतकार बद्रीदुर्गा खरेल, टाशी बाँँगचूकले चिनाइसकेका थिए, आफ्ना सांगीतिक तर्जमा। पछि रुम्बालाई नारायणगोपालको भव्य स्वरमा ‘मेरा सबै रातहरू’मार्फत पुनः प्रविष्टि मिल्यो।  

गोरखाल्यान्ड आन्दोलनका कारण ‘बाँच्न चाहनेहरू’ भनेजस्तो सफल नभएकाले प्रताप सुब्बा दुःखी भए भने शान्तिको यसपछि सिनेमा संगीतको इन्ड हुन पुग्यो।  

सिक्किममा नेपाली संगीतको अवस्था दार्जिलिङको जस्तो थिएन र भएन पनि। किनकि सिक्किममा पैसा र सत्ताको सहयोगले गर्दा संगीत मनोरञ्जनको घेरामै मात्र सीमित भयो।  

टर्न ओभर: सिक्किम
दार्जिलिङबाट अम्बर गुरुङ नेपाल गएजस्तै पालैपालो अरु पनि बिस्तारै पाखा लागे। गोपाल योञ्जन नगेन्द्र थापाको आग्रहमा नेपाल आए, रञ्जित गजमेर काठमान्डु हुँदै मुम्बई गए।  

संगीतकार शरण प्रधानको अल्पायुमा निधन भइसकेको थियो। दाजिलिङमा कर्म योञ्जन र शान्ति ठटाल मात्र बाँकी थिए, अन्ततः शान्ति  पनि सिक्किमको ग्यान्तोक पुगिन्, जहाँ उनले संस्कृति विभागमा संगीत गुरु भएर काम सम्हालिन्।  

सिक्किममा शान्ति ठटालले ग्यान्तोक देवरालीस्थित वुमन्ज् होस्टलमा बसेर तादोङ देउराली उकाली ओराली धाउन थालिन्।  

सिक्किमको ग्यान्तोकमा हुँदा उनले दुई अति प्रिय शिष्या पाइन्, विमला सेन्चुरी र अञ्जली प्रधान।  

अञ्जली र विमलाले उनलाई संगीत आमा नै नाम दिएका छन्। ठटाल आफ्नो दार्जिलिङको घरपछि दोस्रो घर अञ्जलीको घरलाई नै आफ्नो मान्छिन्।  

विमला र अञ्जलीबाहेक सिक्किममा उनले अन्य असंख्य शिष्य–शिष्या बनाइन् भने गीतकारका रूपमा बलि सुब्बा, कालुसिंह रनपहेँली, जिएस लामालाई उनले सिक्किममै भेटिन्।  

विमला र अञ्जलीभन्दा पहिले शान्तिले दावा ग्याल्मो, डेजी बराइली, कुन्ति सुन्दास, रिमाला मोक्तानसित पनि सहकार्य गरिसकेकी थिइन्।  

शान्ति सिक्किम हुँदाहुँदै सिक्किमबाट धेरै फिल्म बने, तर प्रायः फिल्ममा शान्तिले संगीतको काम पाइनन्, सिक्किम बाहिरकाले काम पाए।  

सिक्किम सरकारले सिक्किम फिल्म कर्पोरेसनको ब्यानरमा बनाएको पहिलो फिल्म ‘मसाल’को निर्देशन गर्न दार्जिलिङबाट प्रताप सुब्बालाई झिकाए, तर संगीतकारका रूपमा रञ्जित गमजेरले नै मौका पाए।  

सिक्किमबाटै बनेको साइनो, लाहुरे, निष्ठुरीजस्ता सबै सिनेमामा रञ्जित गजमेरले बम्बई बसेरै काम पाए।  

शान्ति सिक्किममा बस्दाबस्दै सत्तामा तीनजना मुख्यमन्त्री आए र गए–नरबहादुर भण्डारी, सन्चमान लिम्बू र पवन चाम्लिङ। तर, शान्तिको मुख्य ध्येय नै सिक्किम र दार्जिलिङको संगीतलाई उकास्नुमै रह्यो।  

सिक्किममा नेपाली संगीतको अवस्था दार्जिलिङको जस्तो थिएन र भएन पनि। किनकि सिक्किममा पैसा र सत्ताको सहयोगले गर्दा संगीत मनोरञ्जनको घेरामै मात्र सीमित भयो।  

शान्ति ठटालको पहिलो गीत ‘सम्हालेर राख, सँगालेर राख’पछि शान्तिले अम्बरको संगीतमा ‘मेरो दुःखी मन’, ‘आकाश झुक्यो धरती उठ्यो’, ‘जहिले तिमी आऊ बिरानीले छाउँछ’ आदि गाइन् तर युगल गीतको मौका उनलाई मिलेन। 

सिक्किममै रहँदा शान्ति नेपालकोे निम्ता स्विकारेर बन्द प्रकोष्ठभित्र कार्यक्रम गर्न काठमान्डु आइन्। सीमित संख्याका दर्शक अनि पुनर्ताजगीको अभावमा खुम्चिएको काठमान्डुको सांगीतिक कार्यक्रममा शान्तिलाई सुन्नेभन्दा हेर्ने केही दर्शक थपिए।  

यही प्रसंगमा उनको योगदानको देखिइने गरी प्रशंसा गर्दै ‘हार्मोनी ः द मोडर्न संग्सट्रेसेस अफ पोखरा’ले नेपालका प्रसिद्ध लोकगायिका हरिदेवी कोइराला, कवि÷गीतकार उषा शेरचनका साथ पोखराको दीपेन्द्रसभा गृहको आसनमा भव्य समारोहमा उनको सम्मान ग-यो, उनको सम्मान कार्यक्रममा सरिक हुन काठमान्डुबाट वरिष्ठ चलचित्रकर्मी, गीतकार एवं संस्कृतिकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुंगेल, कवि मुरारि सिग्देल, गजलकार टंक ढकाल समेत पुगेका थिए। सो कार्यक्रमको समाचारको शीर्षकमा केही अखबारले उनकै गीतको बोललाई शीर्षक राखेर समाचार लेखे– आकाश झुक्यो, धरती उठ्यो...।

सो कार्यक्रममा शान्ति ठटालका गीतलाई पोखराका चर्चित गायिका इतु पाल जोजिजू, शीतल थापा, रजनी थापा रिदम, कौशल्या गुरुङ आदिले मञ्चमा सम्मानका साथ एक दर्जन गीत प्रस्तुत गरे।  

जीवनमा दोस्रोपल्ट पोखरा पुगेकी शान्तिलाई नेपालबाट दिइएको यो पहिलो यस्तो सम्मान थियो।  

हार्मोनीपछि शान्तिलाई अर्को वर्ष छिन्नलता गीत पुरस्कार गुठीले पनि सम्झ्यो, विशेष सम्मानका लागि। छिन्नलताको यो विशेष सम्मानपछि मदन पुरस्कार गुठीले यसपालि उनलाई ‘जगदम्बा श्री’ले सम्मान गर्ने निर्णय गरेको छ।  

फ्ल्यासब्याकमा  
जगदम्बा श्री नेपालमा पहिलोपटक विक्रमाब्द २०४५ देखि दिन थालिएको हो। यो पुरस्कार (वा सम्मान) पहिलोपटक गायक नारायणगोपाल गुरुवाचार्यलाई दिइएको थियो।  

नारायणगोपालबाट सुरु भएर ३२ वर्षपछि शान्ति ठटालको पोल्टामा आएको यो सम्मान संगीत जगत्मा तारादेवी, धर्मराज थापा, अम्बर गुरुङ, लोककवि अलि मियाँ हुँदै आइपुगेको छ।  

यो ढिलो हो कि चाँडो, यसको हिसाब फस्र्योट बाँकी नै हुन जाला। तर यही कथालाई जस्टिफिकेसन थ्योरीमा हेर्ने हो भने अन्यत्रतिर अझै अन्याय नै भएको होला। शास्त्रीय संगीतका धरोहरहरू विनानाम र परिचय नै हराइरहेका छन्, चित्रकला र अन्य कला पक्षका साधक विना कुनै जगदम्बाश्री, विना कुनै छिन्नलता बिस्तारै सेलाइरहेका छन्।  

नारायणगोपालपछि यो सम्मान दिइँदा अम्बर गुरुङले अस्वीकृत भाव देखाएका थिए, तर त्यसको ३२ वर्षपछि शान्तिलाई सम्झिएकामा पनि गर्व त गर्नैपर्छ। नारायणगोपाल संगीतकोशले डेढ दशकअघि नै शान्तिलाई स्वरसम्राट स्मृति सम्मान दिइसकेको छ। तर शान्तिलाई हेटौँडास्थित भीम विराग प्रतिष्ठानबाट बिजुली वन श्रेष्ठ पुरस्कारले सम्मानित गर्दा यसका आयोजक कन्हैयाकृष्ण श्रेष्ठले पहिलो चरणमै सम्झेका थिए। समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको यो पुरस्कार अम्बर गुरुङपछि शान्ति ठटालले पाएकी थिइन्।

 अम्बर–शान्ति कनेक्सन
संगीतकार अम्बर गुरुङको सांगीतिक जीवनमा तीनजना महिला गायिकाका रूपमा आए– अरुणा लामा, शान्ति ठटाल र निर्मला श्रेष्ठ।  

अरुणा लामाको पहिलो गीत ‘आज यौवन किन उदास उदास छ यहाँ’ पछि अरुणाले अम्बरसित केही युगल गीत पनि गाइन् र केही सोलो गीत त पछिसम्म गाइन्।  

शान्ति ठटालको पहिलो गीत ‘सम्हालेर राख, सँगालेर राख’पछि शान्तिले अम्बरको संगीतमा ‘मेरो दुःखी मन’, ‘आकाश झुक्यो धरती उठ्यो’, ‘जहिले तिमी आऊ बिरानीले छाउँछ’ आदि गाइन् तर युगल गीतको मौका उनलाई मिलेन।  

अरुणा लामा र निर्मला श्रेष्ठ दुवै विशेषतः गायिका थिए, शान्ति ठटाल गायिकाबाहेक संगीतकारितामा पनि दख्खल राख्थिन्। पछि उनले संगीतकर्ममै बढी समय बिताइन्।  

अम्बर गुरुङले संगीतकारका रूपमा अरुणा लामा, निर्मला श्रेष्ठ, तारादेवीसित धेरै काम गरे भने गायिका दिलमाया खाती र मीरा राणासित बिल्कुल काम गरेनन्। संगीतकारका रूपमा शान्ति ठटालले पनि अरुणा लामासित धेरै सहकार्य गरिन् भने निर्मला श्रेष्ठ, दिलमाया खाती, तारादेवीसित कहिल्यै काम गरिनन्, तर अम्बरले मन नपराएकी गायिका मीरा राणालाई एउटा गज्जबको गीत दिइन्, जिएस लामाको शब्दमा  

‘युगौँ बित्यो तिमीसम्म आइ पुग्ने बाटो हरायो ...।

यो गीत मीरा राणाको जीवनको एक मानक गीत मानिन्छ। चाहेर पनि मीरा राणाले अम्बरको गीत गाउन पाइनन्।  

समवयी भए पनि दिलमाया र शान्तिले पनि सहकार्य गर्न पाएनन्। अम्बर र शान्तिको सांगीतिक यात्रामा गीतकारको पेरिफेरी चाहिँ करिब–करिब एक समान नै रहे– वल्लभ, वैरागी, इन्द्र थपलिया, गगन गुरुङ आदि।  

शान्तिले संगीतकारका रूपमा आफूले मनपराएका गायिकाहरूमा उर्मिला श्रेष्ठ, मीरा राणा, किड्डी भुटिया र दावा ग्याल्मोलाई पर्छन् भने गायिका संगीता प्रधानलाई संगीतको ज्ञाता मानेकी छिन्।  

शरण प्रधानको संगीतमा ‘मैले जीवनलाई सजाएँ’लाई उनले आफूले गर्ने खालको गीत भनेकी छन् भने शरण रञ्जितको ‘यहाँ फूल नखिलेछ’लाई कालजयी गीत मानेकी छिन्।

प्रकाशित: १० आश्विन २०७७ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App