१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सानोदिलका ५ गजलहरू

गजल

झापाका गजलकार सानोदिल।

भोकाएको बाघले सत्कार गर्दैन

बाजा बजाई मृत्युले, सवार गर्दैन

नगर्नेले कैले पनि, व्यापार गर्दैन।

 

भोकाएको बाघलाई, चलाउँछौ भने  

पक्कै पनि तिमीलाई, सत्कार गर्दैन।  

 

दुँनिया गर्छ श्रृंगार, लाली दलिदलि  

श्रृंगारसँग आरिस, बजार गर्दैन।  

 

याद मार्न रक्सी हैन, पानी पिऊ बरू

रक्सी जस्तो जिन्दगीमा, बिगार गर्दैन।  

 

चाप्लुसीले सुम्सुमाई मार्ने गर्छ साथी

साँच्चै पो त दुख्ने गरी प्रहार गर्दैन।  

 

राम्री हुनुको दुःख बताइदेउ

न हतियारले पाइन्छ, न अधिकारमा पाइन्छ  

कब्जा त यो दिलमा बस, प्यारमा पाइन्छ।

 

मैले एउटा असल साथी, तिमी भित्र पाएको छु  

कम असल त नखोज्दै पनि, संसारमा पाइन्छ।

 

म त्यो पुतली हैन गुडिया हैन, अब तिम्रो लागि

जुन तिमी मन पराउँछौ त्यो, बजारमा पाइन्छ।

 

फूल्न पाउँछन् गमलामा, प्राय सुन्दर फूलहरू  

मुस्कान फूलाउन त खाली मुहारमा पाइन्छ।

 

लु तिमी राम्री हुनुको दुःख बताइदेउ सबैलाई  

यो पीडा कुरुपतामा धेरै कि, श्रृंगारमा पाइन्छ।

 

तिमी थियौ मेरै माली 

केके भयो यसपाली, भनूँ लाजै लाग्छ

सिंउँदो मात्र रह्यो खाली, भनूँ लाजै लाग्छ।  

 

नसोधेकै जाती लाग्छ, सोध्नु सोधिहाल्यौ

तिमी मान्छे कत्ति जाली, भनूँ लाजै लाग्छ। 

 

तिम्रै चोखी सुवासिली, फूलै जस्ती थिएँ

तिमी थियौ मेरै माली, भनूँ लाजै लाग्छ।  

 

मेरालागि शब्द पनि, केके थिए केके

मिठो लाग्थ्यो भन्दा काली, भनूँ लाजै लाग्छ।  

 

आजभोली सँझनामा, त्यही कुरा खेल्छ  

गयौं जहाँ हत्ते हाली, भनूँ लाजै लाग्छ।  

 

उठ्नदेउ आवाजहरू जफत गर्नुहुन्न  

हुँदै हुन्न् ती फटाहालाई, मद्धत गर्नुहुन्न  

आमा भन्छिन् दुष्टहरुको संगत गर्नुहुन्न।

 

सकेसम्म दिल कसैको, नटुटाउनु तिमी

सिसा हो दिल टुट्यो भने मर्मत गर्नुहुन्न।

 

हुनसक्छन् अन्जानमा सानाठूला, गल्ती  

जानाजानी आँखै अगाडि, गलत गर्नुहुन्न।

 

उस्को इज्जत छैन भने, इज्जत देऊ तिमी

कस्ले भन्छ बेईज्जतीको, इज्जत गर्नुहुन्न।

 

अधिकार पाउनलाई, आवाज उठे भने

उठ्नदेउ आवाजहरू जफत गर्नुहुन्न।  

 

सिन्दुर धुलो अबिर न हो  

ठूलो चाहे सानो नै होस्, अड्चन भन्नु पीर न हो  

दुःख पोख्ने हर कोहिको अन्तिम ठाऊँ मन्दिर न हो।

 

कहिले घाम, कहिले पानी खपेपछी यस्तो ठानेँ

ज़िन्दगीका हरेक वाधा झेलिदिने शरीर न हो।

 

प्रित भन्नु यस्तो चिज भो, न खानु न अघाऊनु  

बुझ्नु बुझेँ भोगाईमा यो त बेग्लै जञ्जिर न हो।

 

किन तिमी हतार गर्छौ सिंउँदो मेरो रङ्गाउ भनी

माया चोखो दिलमा हुन्छ सिन्दुर धूलो अविर न हो।

 

नभएरै होकि विश्वास कति रुन्छौं रुन्ची तिमी  

म नै तिम्रो दुल्हाराजा तिमी मेरी आखिर न हो।

प्रकाशित: ६ भाद्र २०७७ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App