२२ असार २०८१ शनिबार
image/svg+xml
कला

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको बिदाइ

पशुपति आर्यघाटमा राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टि गरिँदै । तस्बिर: दिपेश श्रेष्ठ/नागरिक

नेपाली काव्यधारामा प्रकृति र राष्ट्रपे्रमको ‘रस’ खोजिरहने राष्ट्रकवि माधव घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ । उनको अत्येष्टि हुँदैगर्दा त्यहाँ उपस्थित सबै मानिस ‘निरस’ देखिन्थे । उनीहरू नेपाली साहित्यको ‘खम्बा’ नै ढलेको अनुभूति गरिरहेका थिए । देशकै परिचय बोकेको व्यक्तिलाई सधैंका लागि बिदाइ गर्न पुगेका विशिष्ट व्यक्ति, शुभचिन्तक र आफन्त निकै भावुक देखिन्थे । कोरोना महामारीका कारण उनको अन्त्येष्टिमा सीमित व्यक्ति मात्र उपस्थित थिए । मास्क लगाएर आर्यघाट पुगेका उनीहरूले पालैपालो श्रद्धासुमन टक्र्याए ।  

राष्ट्रिय सम्मान गर्दै नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । बुधबारै उनको निवासमै पुगी रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झन्डा ओढाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पनि बुधबार बिहान निवासमै पुगेर श्रद्धाञ्जली दिएका थिए । उनको निधनप्रति नेपाली कांगे्रसले शोक विज्ञप्ति जारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतले उनको निवास पुगेर श्रद्धाञ्जली दिएका थिए ।  

उनको निधनपछि त्यस्तोखाले भाव र विचारधारामा नेपाली साहित्य कमजोर हुनसक्ने अनुमान संस्कृतिविद् तथा साहित्यकारले गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति जगमान गुरुङले नेपाली साहित्यमा भानुभक्त आचार्य, लेखनाथ पौड्याल, बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै गर्विलो नाम माघवप्रसाद घिमिरेको रहेको धारणा राखे । हालसम्मकै कविमध्ये गहिरो राष्ट्रपे्रम भाव घिमिरेमा देखा परेको उनको भनाइ छ । ‘उहाँले देशलाई नै मिलाउनु भएको छ, देश बिग्रनबाट सतर्क गराउनु भएको छ,’ उनले भने, ‘राजा महेन्द्रको पालामा सीमाविवाद चर्किएको थियो, त्यतिबेला ‘गाउँछ गीत नेपाली...’ भनेर गीत रचना गर्नुभयो, गणतन्त्र आएपछि ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भनेर गीत रचना गर्नुभयो, त्यो नै उहाँको महानता हो ।’ राष्ट्रकविको योगदानअनुसारको कदर अझै हुन नसकेको उनको भनाइ छ ।

१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘राष्ट्रकवि’को उपाधि दिएका थिए ।

जीवनमा साहित्यमै रमाएका उनी मरण पनि सहज चाहन्थे । र त एउटा गीत पनि लेखेका थिए, यसरी होस् मरण, त्यसरी होस् मरण । गीतमा लेखेझैं उनको शरीरले दुःख पाएन । साता दिनअघिसम्म उनी घरमै किताब पल्टाउँदै थिए । शरीर कमजोर भए पनि अझै केही लेख्छु भन्दै कलम र डायरी हातमा लिएका थिए । तर, हात थर्थर काप्न थाले । कलम सरेन । श्वासप्रश्वासमा समस्या देखिन थालेपछि परिवारले उनलाई उच्च निगरानीमा राख्यो । घरमै चिकित्सक पनि आए । मंगलबार उनी संसारबाटैै विलीन भए ।  

संस्कृतिविद् सत्यमोहन जोशीले देशले एउटा परिचय बोकेको महान् कवि गुमाएको बताए । ‘देशको परिचय उहाँसँग जोडिएको छ, अब त्यो परिचय खुकुलो हुँदै जाने देखिन्छ, उहाँको सम्मानका लागि उहाँको बाटोलाई नयाँ पुस्ताले पछ्याउन पर्छ, आज उहाँको निधनले साह्रै दुःख लागेको छ,’ उनले भने ।  

साहित्यकार अभि सुवेदीले नेपाली माटोबारे लेख्ने खास कवि घिमिरे नै रहेको बताए । उहाँ नेपाली साहित्यका एउटा खम्बा हुनुहुन्छ, उहाँका सिर्जनामा अगाध राष्ट्रपे्रम र भाव छ, त्यो जुनीजुनीसम्म बाँचिरहने छ,’ उनले भने ।

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली संयोजन गरेर कविता लेख्ने घिमिरे गीतकार, गीतिनाटककारका साथै बालसाहित्यकारका रूपमा पनि चिनिन्छन् । नवमञ्जरी (१९९४), नयाँ नेपाल (२०१३), घामपानी (२०१०), किन्नर–किन्नरी (२०३३), राष्ट्रनिर्माता, राजेश्वरी आदि उनका कृति हुन् । हालै उनले महाकाव्य ‘ऋतम्भरा’ लेखेका थिए ।

१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राष्ट्रकविको उपाधि दिएका थिए । २०५४ सालमा ‘हिमालवारि हिमालपारि’ कृतिका लागि साझा पुरस्कारबाट सम्मानित घिमिरेले २०५८ सालमा पनि ‘चारुचर्चा’ निबन्धका लागि साझा पुरस्कार पाएका थिए । उनी २०६७ सालमा पद्मश्री साधना सम्मान र २०७५ मा महाउज्ज्वल पदकलगायतबाट सम्मानित भएका थिए । 

प्रकाशित: ४ भाद्र २०७७ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App