१६ चैत्र २०८० शुक्रबार
कला

बालबालिकाका लागि सचित्र किताबको कोशेली

 

बालबालिकाले किताब देखेपछि के गर्लान् ? संभावित उत्तर अनेक हुन सक्छन् । प्रबल सम्भावना त यो पनि हुन्छ कि किताबको नजिकै नजाऊन् । तर किताब बालबालिकाका लागि प्रिय वस्तु हुन्, यदि किताबले उनीहरूलाई आकर्षित गर्न सक्यो भने ।

अब किताबले कसरी आकर्षित गर्छ बालबालिकालाई ? यो भने गहन प्रश्न हो । किताबबाट बालबालिका आकर्षित नहुने भन्ने नै छैन । तर किताब भने उनीहरूको रुचिमाफिककै हुनुपर्छ । अनि त के हुन्छ ? बालबालिकाले किताब हातमा लिन्छन् । सुम्सुम्याउँछन् । शब्दमा डुब्छन्, चित्रमा हराउँछन् । अनि त्यही किताबको सपना देख्छन् । एउटा राम्रो किताबले यति प्रभावत सजिलै पार्न सक्छ बालमस्तिष्कमा ।

बालबालिकाका लागि तयार गरिएको किताब भनेको राम्रो शब्द वा चित्र मात्रै होइन । शब्द र चित्रले मात्रै राम्रो किताब बन्नै सक्दैन । शब्द र चित्रबीचको तालमेल बडो महत्वपूर्ण हुन्छ । एकअर्काका परिपुरक शब्द र चित्रलाई उचित साजसज्जा, रङ्ग संयोजन तथा स्तरीय छपाइका साथ प्रस्तुत गरियो भने बन्छ उत्कृष्ट किताब ।

सचित्र किताब प्रालिले बालबालिकाको मानसिक वा बौद्धिक विकास वा स्तरलाई गम्भीरतापूर्वक अध्ययन गरी दश पुस्तकहरू प्रकाशन गरेको छ । यी दशै किताबका स्तर एउटै छैनन् । प्रस्तुति उस्तै छैन । विधागत विविधता पनि छ । तर पनि एउटा तथ्य भने समान छ । लक्षित उमेरवर्गका लागि ठिक्क सुहाउँदा छन् यी किताब । कुनै किताब भर्खरै पढ्न सुरु गरेका पाठकका लागि सुहाउँदा छन् भने कुनै पढ्नमा आत्मविश्वास भएकाका लागि लक्षित छन् । कुनै आफैं पढ्नका लागि उपयुक्त छन् भने कुनै पढेर सुनाइदिन वा बालपाठकसँग अभिभावकले सँगसँगै पढ्न उपयुक्त हुने पनि छन् ।

नेपाली बालबालिकामा पठनस्तर खस्किँदै गएकोमा सबै चिन्तित हुन थालेका छन् । साँच्चै हो टिभी वा इन्टरनेटको बढ्दो लोकप्रियताका कारण बालबालिकाको किताबप्रतिको मोह दिनानुदिन कम हुँदै गएको छ । वास्तवमा दोष टिभी वा इन्टरनेटको हुँदै होइन । दोष त हाम्रै हो, हामीले नै बालबालिकाका लागि समयाअनुकूल पाठ्यसामग्री तयार गरिदिन नसकेका हौं । बालबालिकालाई उनीहरूका रुचिअनुसारका सामग्री पस्केर दिन सकेका छैनौं । साँच्चै भन्ने हो भने हामीले उनीहरूको मन र मस्तिष्कलाई लोभ्याउन सकेका छैनौँ । उनीहरुको रुचिलाई हाम्रा उत्पादनमार्फत् सम्बोधन गर्न सकेका छैनौँ । सचित्र किताबले यही प्रयास गरेको हो । बालबालिकालाई लोभ्याएर आफूतिर तान्न खोजेको हो । किताबको संसारभित्र बालबालिकालाई डुलाउन खोजेको हो ।

यी किताबहरूले ३ देखि १० वर्षसम्मका बालबालिकाको रुचिलाई समेटेको छ । भाषिक तथा बौद्धिक स्तरलाई ध्यान दिएको छ । यी सबै किताबमा कुनै पनि सम्झौता नगरी आँखै लोभ्याउने चित्रहरूको कल्पना गरिएको छ । मिहिनेतका साथ छरितो र आकर्षक साजसज्जामा किताबलाई प्रस्तुत गरिएको छ । कागज तथा छपाइको गुणस्तरमा कुनै कमी आउन दिइएको छैन । राम्रो किताबले खोज्ने कुरा यिनै त हुन् । यी गुण यी किताबहरूमा पाइन्छ ।

यी दश किताबमा नेपाली बालसाहित्यमा खारिएका शाश्वत पराजुली, कृष्णदीप सिग्देल, सिर्जना शर्मा जस्ता लेखकका साथै नयाँ विचारका निर्मला चापागाईं, रत्न प्रजापति तथा रोशन पोखरेल जस्ता लेखकहरू पनि समेटिएका छन् । त्यस्तै अविन श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, दीपक गौतम, सुमन महर्जन जस्ता अनुभवी तथा दिग्गज कलाकारका साथै प्रभावशाली युवा कलाकार समित श्रेष्ठ, सोनाम तामाङ, शोभितमान बानियाँ वा निलम भुर्तेलका चित्रहरू प्रयोग भएका छन् ।

बालसाहित्यको क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका सर्जक कृष्णदीप सिग्देलको सम्पादन तथा संयोजनमा प्रकाशित यी पुस्तकहरू नेपाली बालसाहित्यको सेरोफेरोमा अरूका लागि उदाहरणीय हुन सक्नेमा कुनै द्विविधा छैन । यी किताब अन्तर्राष्ट्रिय स्तरका छन् भन्नेमा निश्चित रूपमा सबै जना सहमत हुन्छन् भन्ने विश्वास गर्न सकिन्छ ।

विभिन्न अवसरमा बालबालिकालाई उपहार दिँदा किताब दिनु नै उत्तम हुन्छ भन्ने सोच पनि सचित्र किताबले अघि सारेको छ । यसै कारण पहिलो प्रकाशन नै प्याकेटका रूपमा तयार गरी ‘बालबालिकाका लागि कोशेली’ का रूपमा प्रस्तुत गरेको छ । यसले यसको महत्ता झन् बढाएको छ ।

प्रकाशित: २५ श्रावण २०७७ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App