५ कार्तिक २०७७ बुधबार
कला

महादेवको राहत

कथा

बैंकको काउन्टरमा उभिएका थिए कुलेश्वर निवासी महादेव । महादेव शर्मा भन्दा पनि हुन्छ, किनभने शर्मा धेरैले लेख्छन्— पौडेल, सुवेदी वा घिमिरे जे भए पनि । ब्राह्मण वर्गका हुनु पर्‍यो शर्मा लेख्न । तर महादेवको परिचयमा यसो किन भन्नु पर्‍यो भने उनलाई देवाधिदेव महादेव नठानियोस् जसले मनुष्यको रूप धारण गरेर बैंकको व्यवस्था गोप्यरूपमा बुझ्न काउन्टरमा उभिएका होऊन् । त्यो पहिलाको चलन हुन्थ्यो, शासकहरू छद्मभेष गरेर जनजीवनका कष्टहरू बुझ्न निस्कन्थे । भगवान्हरू पनि । भगवान्हरूले त छद्मरूप धरेर अरूका श्रीमतीसित सहबास पनि गर्थे र पछि श्रापित भएर दण्ड पनि भोग्थे । अनि अचेलका पिएमले भ्रष्टाचारीलाई कारबाही नगरी सफाइ दिएझैं अर्को देवताबाट श्रापमुक्ति पनि दिलाउँथे । वर्तमानमा शासकहरू नै भ्रष्टाचारलाई राज्यको पाँचौँ अङ्गका रूपमा स्वीकार गरेजस्तो लाग्छ । यसोभन्दा अन्यथा नहोस् । अन्यथा त हुनु छैन तर सही अर्थ लागोस् । 

महादेव बैंकको परिसरमा प्रवेश गरे । यताउति हेरे । त्यताकतै ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ भन्ने सूचना टाँसेको उनले देखेनन् । महादेवले चारैतिर आँखा दौडाए । बैंक सुरुचिपूर्ण थियो । सिसिटिभीका क्यामेराहरू लुकाएर फिट गरिएका थिए होला । मात्र एकआँखे कानोझैं क्यास काउन्टरको पछाडि सिसिटिभीको क्यामेराले उनलाई ताकेर हेरिरहेझैं लाग्यो । क्यामेरा उनको अनुहारभन्दा उनको विचार पढिरहेझैं गम्भीर थियो । 

महादेव माने कुलेश्वर निवासी मत्र्यलोकका एक व्यक्ति । उनी उमापति वा कैलासपति होइनन्, यो भनियो । यसरी भन्दा रम्य रचनाका लागि उनको प्रयोग भइरहेको लाग्न सक्छ । मानिस उनी रमाइला नै छन् तर उनका बारेमा कुरा गर्दा उनको व्यक्तित्वलाई हास्यास्पद बनाउने प्रयत्न गरिएको हैन । बैङ्क जस्तो मौद्रिक कारोबार हुने स्थलमा त झन् अव्यवस्था पैदा गर्ने हास्योत्पादक गाद्यिक क्रियाकलाप बर्जित हुन्छ । अर्कोमा बैंकमा लुटपाटको आशयले प्रवेश गरिनु पनि हुँदैन । फरक यत्ति छ, हास्योत्पादक गाद्यिक क्रियाकलाप लुटपाटजस्तो हिंस्रक हुँदैन । त के हँसाइहँसाई लुट्नेहरू स्वागतयोग्य हुन्छन् ?  

महादेव जो कुलेश्वर निवासी हुन् उनलाई निमित्त बनाएर केही भन्ने खोज्नुको आशय कति भने सफर रमाइलै कटोस् भनेभैmँ यो वृत्तान्त पनि हास्यमिश्रित वा रमाइलै भइजाओस् भनेरै हो । अन्यथा नलागोस् सही अर्थ लागोस् ।  

महादेव बैंकको काउन्टरमा उभिएका थिए । कुन बैंक भनेर भनिरहनु नपर्ला । कमर्सियल बैंकहरूको रूपसज्जा एकै किसिमको हुन्छ । त्यसमाथि मुलुकका अर्थमन्त्रीले दक्षिण एसियामै हाम्रो बैंकिङ प्रणाली सर्वश्रेष्ठ छ भनिसकेपछि कुन बैंक भनेर नाम तोकेरै भनिरहनु परोइन । मुलुकमा जति बैंक छन् ती सबै दक्ष र श्रेष्ठ छन् । महादेव उभिएको काउन्टरवाला बैंक मात्र घटिया श्रेणीको हुन सक्दैन । महादेव स्वयंले पनि देवाधिदेवको एक उत्कृष्ट नाम धारण गरेका छन् ।  

महादेव घर आए र बैंक भौचर र मुद्दतीको रसिदलाई सुरक्षित राखे । उनले सोचे एकमुष्ट पाँच लाख हुनुले उनलाई एउटा विशेष सन्तोष दिएको छ । त्यो रकम पूर्णतः उनले आर्जन गरेको थिएन । आफ्नै सन्तानले प्रदान गरेको यो राहतको रकम जस्तो थियो । राहत ! आफ्नै सन्तानबाट पनि राहत ! त्यसमा उनले जोरजाम गरेर केही वर्षपछि पाँच लाख पुर्‍याएका थिए ।

काउन्टरमा उभिएका थिए महादेव । उनलाई डर थियो, अहिले भर्खर मुद्दती खातामा पैसा जम्मा गरेर बाहिर निस्कन पाएको छैन बैंकको ब्याजदर बढिहाल्ने हो कि ? कारण यो थियो, उनी मुद्दतीमा पाँच लाख जम्मा गर्न बैंकमा उपस्थित थिए । उपस्थित माने बैंकमा गएका थिए, मुख्य ढोकाबाट सेक्युरिटीलाई बडी चेक गराएर । एकजना शुभचिन्तक जानकार साथीले सल्लाह दिएको थियो, पहिले एफडी खोल्दा तीन महिनाको खोल्नु । अहिले बैंकहरू भनिरहेछन् निक्षेपमा तरलता छ (वा छैन ? थाहा भएन महादेवलाई) । उनको साथीलाई पनि तरलताबारे राम्ररी थाहा रहेनछ । ऊ पनि अलमलियो तर दृढताका साथ भन्यो अहिले तीन महिनाका लागि मात्र एफडी खोल्नु । गल्ती नगरेस्, अध्यादेश ल्याएझैं अहिले जारी गर्ने अलि बेरमा फिर्ता लिने, खेलाँची होइन । एफडी खोलेपछि पैसा फिर्ता लिन बैंकको सर्त पालन गर्नुपर्छ नत्र हुन्न ।  

एफडी माने ? फिक्स्ड डिपोजिट । अर्थात् मुद्दती खाता । तीन महिनाका लागि मात्र ।  

अब यो तरलताबारे महादेवलाई थाहा हुने कुरो पनि भएन । उनी अर्थमन्त्रीको बजेट भाषण त राम्ररी बुझ्न सक्दैनथे । उनलाई लाग्थ्यो, बजेटमा यो खर्च त्यो खर्च वा यो आम्दानी त्यो आम्दानी र यो आर्थिक सहयोग, त्यो अनुदान जे भनिदिए पनि हुन्छ । स्रोत देखाउनु त हो । गोजीमा पैसा होस् नहोस् । एउटा खाता खडा गरेर जनताका सामु देखाउनु छ । पछि जे त होला । वर्षभरिका लागि त्यही गफ भजाउने विषय बन्थ्यो । पछि भनिन्थ्यो सरकारले बजेट खर्च गर्न सकेन । तर असार लागेपछि एकाएक लहलहाउँदो खेतभित्र मत्तको साँढे पसेर बाली चर्न लागेभैmँ हाहा र हुहुको हल्लीखल्ली चल्थ्यो । हल्ला हुन्थ्यो, अब असारे विकास सुरु भयो । लुट छ लुट ! लुट कान्छा लुट !

महादेव बजेट भाषण सुन्थे एउटा कर्तव्य ठानेर तर अफसोस, सुन्दासुन्दै निदाउँथे । यो त भन्न मिल्दैनथ्यो, बजेट भाषणले उनलाई पैसाको रासमाथि उभिएको देखाइदिन्थ्यो माने समृद्ध नेपाल सुखी नेपाली । तर उनीसँगै मुलुक पनि निदाउँथ्यो । केही अवशिष्ट भाग हुन्थ्यो मुलुकमा जो चनाखो भएर जागा बस्थ्यो बजेट भाषण सुन्दै । त्यसलाई माफिया गिरोह पनि भन्न सकिन्थ्यो जसले बजेटमा यो वा त्यो लेख् भनेर अराएको हुन्थ्यो । तर यो हुनेहुनामी कुरो अर्थात् हुँदै आएको कुरो । माने यो बजेट भाषण आउँथ्यो, महँगी बढेर जान्थ्यो । महादेव त्यो सहन्थे । सहँदै आएका थिए, टार्न नसकिने हुनेहुनामी भनेर । बानी परिसक्यो । बजेटको ।    

महादेव बैंकको परिसरमा प्रवेश गरे । यताउति हेरे । त्यताकतै ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ भन्ने सूचना टाँसेको उनले देखेनन् । महादेवले चारैतिर आँखा दौडाए । बैंक सुरुचिपूर्ण थियो । सिसिटिभीका क्यामेराहरू लुकाएर फिट गरिएका थिए होला । मात्र एकआँखे कानोझैं क्यास काउन्टरको पछाडि सिसिटिभीको क्यामेराले उनलाई ताकेर हेरिरहेझैं लाग्यो । क्यामेरा उनको अनुहारभन्दा उनको विचार पढिरहेझैं गम्भीर थियो । ढोकामा अघि भनियो सेक्युरिटी गार्ड तैनाथ थिए ।

सेक्युरिटीको पुनरावृत्ति यस कारण, ऊ अलि उमेरले छिप्पिएको देखियो । रिटायर्ड प्रहरी÷सैनिक हुँदो हो । तर अलिक आजित जस्तो, पहिले पनि लामो समयसम्म यही अटेन्सनको मुद्रामा पालोपहरा दिँदै आइयो अहिले फेरि यही काममा फसियो । यसबाट मुक्ति छैन । निर्वाह गर्नै पर्‍यो । तर उसमा एउटा सतर्कता यो थियो, कोही दुराशयसाथ बैंकभित्र प्रवेश नगरोस् । त्यतिका लागि तलब लिइएको छ । कुनै किसिमको हतियार लिएर कोही बैंकभित्र नछिरोस् । कोही त्यसरी छिर्ने दुस्साहस गर्ने छाँट पनि देखिएन । तर गार्डले हाई रोकिराखेको थियो । बोरडम व्यक्त नहोस् भनेर । कति पैसैपैसा हेरिरहनु । नोटै नोट । आफ्नो भागको महिना मरेपछि आउने हो, गन्तीका नोट । तर यो काममा एउटा एडभेन्चर र थ्रिल थियो, नोटका गड्डीका गड्डी देख्न पाइन्थ्यो, झोलामा राखेर ल्याएको पनि झोलामा राखेर लगेको पनि ।  

महादेवप्रति गार्ड सहानुभूतिशील देखियो । उमेरले अब बैंकप्रति दुर्भावना राख्ने स्टेज पार गरिसकेका जस्ता व्यक्ति महादेव । यद्यपि गार्डलाई उनको नाम थाहा थिएन । महादेव कानुनदेखि डराउने देखिए । भद्र सिटिजन । भाग्यवादी । जति पाइएको छ त्यो भाग्यशान्ति अर्थात् भाग्यमा लेखिएजति नै पाइएको छ, अब यताउता व्रक्रान्तिस्रान्ति सोचेर लुटपाटको भागबण्डा गर्ने कुविचार लिनु छैन । संसारको गति सञ्चालन मेरो हातमा छैन, यस्तो सोच भएका व्यक्ति देखिए महादेव गार्डका चनाखा आँखामा ।  

महादेवले दोहोर्‍याएर चारैतिर नजर दौडाए । क्यास काउन्टरबाहेक कतै पनि एउटै सिसिटिभी प्रत्यक्ष देखिएन । ठाउँ–कुठाउँ उनले ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ भन्ने पढ्दै आएका थिए । उनलाई यस्तो लाग्थ्यो चोरलाई पहिले नै ‘चौर्य कर्म त्याज्य छ’ भनेर सावधान गराउन चेतावनी दिइँदैछ । महादेव डराउँथे । वास्तवमा उनी पैसा जम्मा गर्न आएका थिए, लुट्न होइन । उनलाई डर तगडा लाग्थ्यो, पिसाब पनि । उनी सिसिटिभीको निगरानीबारे पढेपछि तगडासाथ लागेको पिसाब पनि दबाएर बस्थे । उनलाई हाँसो उठ्थ्यो । हाँसो शक्तिशाली र अबाधित भएमा लघुशंका पनि छताछुल्ल हुने डर रहन्थ्यो । हाँसो र लघुशंका रोक्नु दुवै असम्भव बन्थ्यो । नोट बोकेर उनी रेस्टरुमतिर जान पनि सक्दैनथे । उनलाई यो विश्वास थियो रेस्टरुममा सिसिटिभी लगाइएको हुँदैन । रेस्टरुममा सिसिटिभी ? यो एउटा अकल्पनीय कुरा हुन्थ्यो ? बैंकमा पुरुषहरूले नभए पनि महिलाहरू तोडफोड गर्न सक्थे ।  

अन्यत्र पनि ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ भन्ने वाक्य महादेव पढ्थे र हाँसो दबाउँथे । उनी हाँसेर अस्वाभाविक देखिन चाहँदैनथे । तर सोच्थे, के नै भइहाल्ने हो र सिसिटिभीको निगरानीले ? दिन उज्यालै मुलुकमा सिसिटिभीकै निगरानीमा यत्रायत्रा नडकारी निल्ने ठूलाबडाले अर्बौंअर्बौंका घोटाला गरिरहेछन् । राज्य नै अपराधीकरणतिर गइसकेको छ भन्ने भनाइ पनि नेताहरूकै मुखबाट सुन्न पाइन्छ । खै त सिसिटिभीको निगरानीले समात्न सकेको ? खै त अपराधीकरण र दण्डहीनता रोकिएको ? ती ठूलाठूला काण्ड गर्नेहरू पढालिखा त थिए होला नै । ‘तपाईं सिसिटिभीको निगरानी’ मा हुनुहुन्छ भन्ने भयकारक सचेतक सूचना अवश्य पढे होलान् । त्यो पढ्दै हाँस्दै उनीहरू कुम्लयाउनतिरै लाग्छन् होला । ‘साला सिसिटिभी !...’ तर खै त कसले टेरपुच्छर लगाएको ? अचेल एउटा हावा चलेको छ, राजनीति गर्नेहरू स्नातक हुनु पर्छ भन्ने । नपढेलेखेकाको क्रीडास्थल र कार्यक्षेत्र भइरहेको राजनीतिमा पढेलेखेकाको के काम ? यो प्रश्न पनि उठ्थ्यो ।  

अरू कुरा पछि । अहिले दृश्यमा व्यस्त काउन्टरअगाडि थिए महादेव । नगद पाँच लाख रकम बोकेका । घरबाट निस्कँदा हजारहजारका पाँचवटा लाख लाखका गड्डी उनले थोत्रो डबल खबरकागजमा बेरेर बोकेका थिए, दुष्टहरूको आँखा नपरोस् भनेर । पुराना पेपरप्रति त्यति आकर्षण रहँदैन मानिसहरूमा । थोत्रो डबल खबरकागजमा बेरेपछि ती पाँच लाखमाथि वक्र आँखा पर्न सक्दैनथे । यस्तो देखियोस्, उनी घरभान्साको कुनै घुर्‍यान वा जुठोपुरो बाहिर फाल्न लगिरहेछन्, सफाइ अभियानअन्तर्गत ।  

महादेव जो कुलेश्वरनिवासी थिए, लाई यो थाहा थिएन, यो पाँच लाख कसरी जम्मा भयो ? उनी यति मात्र सोच्थे, यो शनैःशनै जम्मा भयो । सय पचासको केही रकम जम्मा भएपछि उनी त्यसलाई हजारको नोटमा बदलेर राख्थे । त्यसरी जम्मा भएको रहेछ पाँच लाख ? स्पष्टीकरणमा यो पनि भन्न सकिन्थ्यो, उनका छोरा वैदेशिक रोजगारअन्तर्गत खाडी मुलुकमा थिए । तर उनीहरूका आफ्नै परिवार थिए र खर्च पनि थियो । कहिलेकाहीँ केही रकम उनीहरू महादेवलाई दिन्थे । दुखबिरामी हुँदा र घरखर्चका लागि । पाँच लाख जम्मा हुनुमा यी दानदातव्य जस्ता रकमको सहयोग पनि थियो । होला, पक्का छैन । महादेवका आफ्ना खर्च पनि थिए । उनलाई जोस चलेको बेला हजारपन्ध्र सय पर्ने बोतल पनि किनेर पिउँथे । महँगो मदिराप्रति महादेवको आकर्षण थियो तर उनी यो जान्दैनथे हजारपन्ध्र सयभन्दा महँगा अर्थात् लाखसम्म पर्ने बोतल पनि हुन्छन् । सायद सत्तामा पुगेका दिन नेताहरू ती खोल्दा हुन् । पक्का छैन । राजनीतिमा अपराधीकरण त्यसै बढिरहेको होइन । नेताहरूमा सत्ता र द्रव्यमोहका साथै विलासिता पनि बढिरहेको छ । तर महादेव आफ्नै हजारपन्ध्र सयको बोतलमा सन्तुष्ट थिए ।  

महादेव सुरक्षित बैंक पुगे । आधुनिक ढर्राको बैंक । ए क्लासको । सज्जा पूर्णतः आकर्षक थियो । उनले रकम जम्मा गर्न

कुपन लिनु पर्छ भन्ने जानेका थिएनन् । गार्डले सघायो र मेसिनबाट कुपन पनि निकालिदियो । उनलाई यो थाहा थियो, बैंकमा मुद्दती वा एफडी खोल्न नागरिकता चाहिन्छ । त्यो साथै ल्याएका थिए । नागरिकता वंशजकै थियो । अङ्गीकृत हुनुको झमेलामा उनी थिएनन् । बैंक यो चाहन्थ्यो होला प्रत्येक नेपाली नागरिकले समृद्धितिर गएको अनुभूत गरोेस्, पैसा जम्मा गरेपछि । बैंकभित्र यत्रतत्र अनेक प्रलोभनका विज्ञापन रङ्गिन फ्लेक्स प्रिन्टमा थिए । बैंकमा खाता हुनुपर्ने अभियानै चलाइएको छ । तर नागरिकता ?

नागरिकता हुनु एउटा कानुनी प्रावधान हुन सक्थ्यो कालो धन रोक्ने । कालो धनवालाहरू महादेवझैं पुरानो पेपरमा बेरिएको पाँच लाखको पोको बोकेर क्युमा उभिन आउँदैनन् । महादेवलाई यो थाहा थियो । उनलाई कालो धनको लोभ थिएन तर सरकार कालो धनभन्दा सोझा नागरिकका सेतो धनमाथि बढी आँखा लगाउँथ्यो ।      

महादेव आफैं चकित थिए, उनीसित पाँच लाख छ- सयसयका संख्यामा गन्ती गरेर छुट्ट्याइएका र रबर ब्यान्ड जुन महादेवकी पत्नी मनमतीले नजिकैको डेरीबाट दहीदूध किनेर ल्याउँदा प्लास्टिकका थैलीका मुख बाँधिएका हुन्थे, तिनले फनफनी कसेर बाँधिएका हजारहजारका पाँचवटा गड्डीमा विभाजित छ ।  

महादेवले पाँच लाखप्रति कुनै भावना देखाएनन् । बैंकमा करोडोँ छ, पाँच लाखको के दाँजो ? बैंक जाँदा अनुहार अतिरिक्त उज्यालो बनाएनन् । बैंक जाँदा अतिरिक्त उत्साहले अनुहार धपक्क बालेर गइयो भने ? हुन सक्छ, रकम लुट्नेहरू सतर्क होऊन् । रकमको ओजले यसको अनुकार उज्यालो भएको छ । यसलाई लुट्दा मोटै रकम सजिलै हात लाग्नेछ ।  

तर त्यसतिर तत्काल महादेवको ध्यान गएन । कुरा अर्को यो थियो, उनी पाँच लाखले धनी भएको अनुभव गर्ने कि पाँच लाख भन्नु पनि कुनै रकम हो र भन्ने हीनतामा पर्ने भन्ने दोधारमा थिए । पहिलेपहिले लखपति भनिन्थ्यो तर अचेल लाखलिखको गणना छैन । करोडलाई पनि त्यति महत्व दिइएको देखिँदैनथ्यो । यति हो, पाँच दस हजारदेखि लाख दुई लाख घुस लिँदालिँदै रङ्गेहात समातिएको समाचारले अझैं पनि ठाउँ पाइरहेको थियो । ती समाचार रसिला हुँदैनथे । कारण यो थियो, माथिका जसले अर्बौंको हिसाबले खान्थे ती समातिएको समाचार आउनै सकेको थिएन । त्यस्ता सामाचारमा केही रससिक्तता र चास्नी पाउन सकिन्थ्यो । नागरिकहरू त्यस्तो समाचार सुन्न–पढ्न र हेर्न तिर्खाएका पनि थिए । मुलुकमा अर्बौंको घोटालालाई सरकारद्वारा जाँचबुझ नगरी ठण्डा बस्तामा घुसारेर राख्ने गरेको उनले समाचारमा पढ्थे । उनको दिमागमा अन्य ठूलठूला घोटाला प्रकरण घुमिरहन्थे । त्यत्रोत्यत्रो अर्बौंको घोटाला गर्न सक्नेहरू कसरी उम्केर बस्न सकेका होलान् ?  

तर महादेवका साथमा थियो पाँच लाख । यसले उनलाई न धनाढ्य हुनुको अनुभूति दिइरहेथ्यो न धनहीन गरिबीको । उनले सोचे, यति त छ । केही नभए पनि पाँच लाख । जसरी जम्मा भए पनि इमानदारीको कमाइ । धेरैले यो पत्याउने थिएनन्, इमानदारिताको कमाइ भन्नु जस्तो पनि केही हुन्छ, बेइमानी नगरी ?      

बैंकभित्र पसेर काउन्टरअगाडिको तोकिएको ठाउँमा लामबद्ध भएपछि महादेवमा रकमबारे डर रहेन । सुरक्षा महसुस गरे । बैंकहरूले ग्राहकलाई सुरक्षित महसुस गराउनु अति जरुरी थियो । बैंकभित्रै सुरक्षाको अनुभूति गराउन नसके मुलुकको बैंकिङ व्यवस्था दक्षिण एसियामै श्रेष्ठ हुनै सक्दैनथ्यो । यो चाहिँ हो, महादेवले सोचे अनि आश्वस्त भए । उनलाई अलिकति अड लाग्यो, पाँच लाखका नोट उनले थोत्रा डबल खबरकागजमा बेरेर ल्याए । तर आश्वस्त हुने कुरो यो थियो, बैंकभित्र पसेपछि उनले नोट बेरिएका थोत्रा डबल खबरकागज खोले र कतै फाल्न सकिन्छ कि भनेर यताउति हेरे । ‘युज मी’ भन्ने निवेदनसाथ प्रयोगै गर्न नमिल्ने गरी अटेसमटेस डस्टबिन बैंकमा थिएन । अत्युक्ति यो थिएन, बैंकभित्र डस्टबिन नै देखेनन् उनले । नोट डस्टबिनमा फाल्ने कुरो पनि भएन । त्यसैले थोत्रा डबल खबरकागज उनले बेसरी कच्याककुचुक पारेर खल्तीभित्रै कोचे । उनमा बाक्लै नागरिक सेन्स थियो । जथाभावी फोहोर नफालेर सभ्य नागरिक हुनुको परिचय उनले दिए ।  

लाममा सभ्य र सतर्कतासाथ उभिएपछि महादेवले सोचे, साथीको सूचनाअनुसार पाँच लाखको ब्याज हालको इन्ट्रेस्ट रेटले जति होला तर भोलिको दिनमै ब्याजदर फ्याट्ट बढिदियो भने घाटामा परिन्छ । साथीकोे सोचाइ सही थियो । तर अब गर्न के सकिन्थ्यो ? भोलि नै ब्याजदर बढ्छ भने पनि आज त बैंकले सूचना दिँदैन । गोपनीयता जरुरी हुन्छ आर्थिक कारोबारमा । निक्षेपमा कम ब्याज र ऋणमा बढी ब्याज–नाफा कमाउने उपाय नै यही हो । विवाद छैन ।  

तर महादेव जाबो पाँच लाखको ब्याज दर घटे पनि बढे पनि कति नै फरक परिहाल्ने हो र भन्ने उन्मत्त नवधनाढ्य वर्गका थिएनन् । अर्को उपाय पनि थिएन । पाँच लाख घरमै राख्ने हो भने प्रचलनमा रहेको बैंक ब्याज पनि पाइने थिएन । प्राइभेटमा ऋण दिएर ब्याज खाने उनले सोचेनन् । त्यसमा रिस्क थियो, उनी जस्तो सोझा नागरिकका लागि । घरमा सुरक्षा थिएन, आफ्नै सन्तानबाट पनि । कुन सड्को पाँच लाख गायब पारिदिने हुन् ? द्वन्द्वकालमा मान्छे र बैंक लुटेका रकम बेपत्ता पारिएका कति घटना छन् । अहिलेसम्म तिनको पत्तो लाग्न सकेको छैन, उनको पाँच लाखको पनि त्यही दशा हुने हो ।  

पहिलो कुरो त यो थियो, उनी पाँच लाख जम्मा गर्न काउन्टर अगाडिको क्युमा थिए । पालो पर्खेर । लाम धेरै लामो थिएन । काउन्टरभित्र नगद गन्ती गर्ने मेसिनको खरर्रको कर्णप्रिय ध्वनि यहाँसम्म आइहेको थियो । काउन्टरमाथि नोट गणना भएको संख्या देखाउने सानो स्क्रिन पनि फिट थियो ।

बैंकहरू तर्क गरिरहेका थिए निक्षेपमा तरलता आयो । यो तरलता वा ठोसता भन्ने के हो महादेव बुझ्दैनथे । उनलाई यत्ति थाहा थियो डेरीबाट ल्याएको ढिका दहीलाई पत्नीले फिटिवरी तरल पारेर खुुवाउँथी जसलाई उनीहरू ‘लस्सी’ भन्थे । लस्सी जस्तो तरलता निक्षेपको होवैन होला । उनले अर्थशास्त्र पढेका थिएनन् । कमर्सियल बैंकहरू जताततै थिए र तिनले अनेक विज्ञापन दिएर निक्षेपकर्तालाई पैसा जम्मा गर्न हुटहुट्याइरहेका हुन्थे । ठूलठूला भव्य रङ्गिन फ्ल्याक्स बोर्डका साथ । बिहानदेखि टिभी र एफएममा विज्ञापन पनि आइरहन्थे । नाचगान गर्ने हिरोहिरोइनहरूका साथ । कसैले तेह्र त कसैले अठार घातक रोग लागेमा बिमाबापत यतियति लाख दिइनेछ भन्थे । उनी रोगी हुने सम्भावना थिएन तर उनलाई रोगी भई हेर्ने मन नभएको होइन (कोरोना भाइरस आइपुग्नुअघि) । तर रोगको बैंकीय सुखद् अनुभव गर्थे । रोग त लागोस् ! बिमा दिइहाल्ला ।  

रोग भनेको बेला भनेकोलाई लाग्न सक्दैनथ्यो । (कोरोना आएपछि यो अनिश्चितता रहने थिएन ।) रोगको पनि इथिक्स थियो । उनले सोचे, रोगी हुनु किन ? पैसाको लोभले ? (उनलाई यो आभास थिएन, निकट भविष्यमै कोरोना भाइरस भन्ने आइलाग्ने छ । त्यसबाट बच्न सरकारले लकडाउन गर्नेछ र घरमै ७/२४ थुनिएर बस्नु पर्ने छ । अनि रोगबाट बच्न मानिस कति आतुर हुन्छ भन्ने ज्ञान हुनेछ । असमर्थ सरकार लकडाउन बढाएको बढायै गर्नेछ । लकडाउन राम्रो हो तर अकर्मण्यहरू अगाडिको ढोकामा लकडाउनको ताल्चा झुन्ड्याएर झ्यालबाट भित्र छिरी मस्त सुतिरहने थिए ।)  

महादेवलाई धेरै सोच्नु थिएन । पालो आइपुगेको थियो । काउन्टरमा एउटी युवती थिई । अचेल बैंकमा काम गर्ने युवतीहरू नै धेरै थिए । राम्री पनि । सुगठित देहका । पाइन्ट र कमेजमा । तर उनीहरू जति गरे पनि केटाझैं देखिन सक्देनथे । पुरुषको खस्रोपनभन्दा नारीमा कोमलता हुन्छ, बेग्लै र आकर्षक । लामो रेसमी कपाल र उन्नत वक्षले पनि भिन्नता देखाइहाल्थ्यो ।  

महादेवमा पनि एउटा रमणीयता जाग्यो । बैंकहरूले वास्तवमै सुन्दर युवतीहरूकै दक्ष सेवाका कारण निक्षेप बढाउन सकेको हुनुपर्छ । काउन्टरमा बसेकी यस्ती थिइन जसलाई हेरेर एकछिन पैसा हातमै लिएर उभिराख्न मन गरियोस् । मान्छे राम्री भए पनि ऊ परिपक्व लुक दिने खालकी थिई । बिजनेसलाई अग्रस्थानमा राख्ने । उसले पैसाका बिटा बुझेपछि महादेवले भरेको भौचर हेरी ।

‘यसमा आम्दानीको स्रोत देखिएन ।’ उसले भनी । फेरि सोधी, ‘पारिश्रमिक हो कि ?’ स्वर झर्केको थिएन यद्यपि फस्ट आवर भए पनि चार पाँचजनालाई उसले क्यास दिने र लिने गरिसकेकी थिई । महादेवको पालामा मात्रै यो प्रश्न उब्जेजस्तो थिएन । उनीभन्दा पहिलेकाहरू बैंकको कारोबारमा भिजिसकेका जस्ता थिए । खग्गु । उनी मात्र अलि आला देखिए ।  

‘स्रोत ? यो के हुन्छ ?’ महादेवले ठेट ग्रामीण पारामा सोधे । आफ्नो पैसा जम्मा गर्न पनि स्रोत खुलाउनु पर्ने ? ती ठूलाबडाले पनि स्रोत खुलाएका होलान् जजसले घोटाला गरेर ब्रिफकेस नै हुलेका छन् ? त्यतातिर झट्टै उनको दिमाग दौडेन । उनलाई लाग्यो, एकाएक युवती कुनै गुप्त स्रोतको खोजीमा छे, धन आएको । अब जाने भए त पाँच लाख ? उनलाई डर पनि लाग्यो । सम्पत्ति शुद्धीकरणको हल्ला पनि चलिरहेको हुन्छ । हरेक बिहान तगडा विज्ञापन पनि आइरहेको हुन्छ- गैरकानुनी धन्दा गरेर कमाएकाहरूको सूचना दिनोस् । कसैले उनको बारेमा त्यस्तो सूचना दिने खण्ड नै थिएन । उनले त लाइफ टाइम अचिभमेन्ट जस्तो गरी सयपचास गर्दै यी पाँच लाख जम्मा गरेका थिए । उनलाई रकम बैंकमा सुरक्षित पनि रहन्छ र ब्याज पनि पाइन्छ भनेर सल्लाह दिने साथीमाथि झनक्क रिस उठेर आयो ।  

रकम त उनले थोत्रो पेपरमा बेरेर ल्याएका थिए । तर...।  युवतीले भनी, ‘पारिश्रमिक हो कि सम्पत्ति बेचेको ?’ महादेव हेर्दा सोझोसोझो देखिए पनि उनले संकट निवारणका लागि झट्टै बुद्धि दौडाए र भनिहाले, ‘सम्पत्ति बेचेर । यसो सानो टुक्रा जग्गा थियो ।’ आफ्नो सम्पत्ति बेचेको भनेपछि उम्कन सकिन्छ भन्नेतिर उनले बुद्धि भिडाए । यसो सानो टुक्रा जग्गा थियो वा ठूलै फाँट भन्ने सोधिरहने फुर्सद त्यहाँ थिएन । अर्को कस्टमर लाइनमा थियो । ह्यान्डसम जस्तो । युवतीले महादेवलाई उछिनेर उसलाई एकदुई पटक चोरआँखाले हेरेकी पनि थिई । आकर्षण स्वाभाविक पनि थियो ।  

युवतीले कसो भनिन्— ‘सम्बन्धित कागजात ल्याउनोस् ।’ यसो भनेर सरकारलाई झकझक्याउनु थिएन । बैंकमा ग्राहक आउन कम हुने थियो । सरकारभित्र इमानदार कम थिए बेइमान धेरै थिए । पैसा कमाउने यो एउटा प्रश्न पनि हुने थियो— ‘यो रकम सरकारको खजानामा जम्मा गर्नुस् र यो तपाईंकै हो भन्ने प्रमाणित गर्नोस् ।’ तर युवतीले यस्ता केस बेहोर्दै आएझैं धेरै प्रश्नोत्तरतिर लागिन, पैसा बैंकमै जम्मा हुन आएको र यो पनि मुद्दतीमा भनेपछि बैंकले ऋणदाता बढाउन सक्छ । फाइदै छ । नोट नक्कली नहोऊन् । रकम जम्मा गर्न आउने बुढोबुढो सोझो देखिने मानिसले आफ्नो नाम पनि महादेव भनेर लेखेको छ, दस्तखत पनि बुझिने गरी गरेको छ । महादेव नाम भएकाहरू विश्वासयोग्य हुन्छन् ? एकछिन युवतीको मनमा प्रश्न उब्जियो । पशुपतिनाथले रक्षा गरेको मुलुकमा महादेव नामधारीहरू विश्वासयोग्य हुनैपर्छ- यस्तो सोची युवतीले । उसले भौचरको एक ठाउँ रेजा लगाई र उनले ल्याएका हजारका नोटहरू मेसिनमा हालेर खरर्र पारी ।

आफ्नै रकमको खरर्रको आवाज महादेवका लागि कर्णप्रिय लाग्यो । आत्मा तृप्त भयो भनेजस्तो । सुरक्षित हातमा रकम गए भन्ने उसनले माने । बैंकमा सेक्युरिटी पनि थियो, बन्दुकधारी । सेक्युरिटी एजेन्सीको बिल्ला लगाएको । अलि सुस्त थियो, त्यत्ति हो चित्त नबुझ्ने । रकम लुटेर भाग्नेलाई पिछा गर्न अलि ढिलो गर्ला कि जस्तो । महादेवलाई आफ्नो रकमको चिन्ता लाग्यो । काँधबाट बन्दुक झिकेर ठाडै सुट गर्न सक्ने फुर्ती थियो होला उसमा । तर कानुनी दाउपेचदेखि अलि डराएको । बन्दुकको गोली लागेर लुटेरामध्येको एक ठहरै भयो भने ? हत्याको आरोप पनि लाग्न सक्थ्यो । यो देशको कानुन !

युवतीले रकम सही निस्केपछि अरू औपचारिकता पूरा गरी र स्ट्याम्प ठोकेर एक प्रति भौचर महादेवलाई दिई । ओठमा आउनै खोजेको मुस्कान दबाएर पालो कुरिरहेको युवकलाई पर्खिरही । बै‌कले मुस्कानसहितको सेवा भने पनि अति मुस्कान दिएर युवकलाई हेर्नु ठीक हुँदैनथ्यो । उसले भिरेको ब्यागमा फेरि कैयौँ रुपैयाँ पनि थियो जसले गर्दा पैसा देखेर मुस्काउने युवती भनेर भ्रमपूर्ण धारणा बन्न पनि सक्थ्यो । यो त प्रस्ट नै छ, बैंकमा आएजत्तिको रकम घर लग्न सकिन्न । बैंक लुट्ने प्रबन्धक र बदमास पनि छन्, त्यो अर्कै कुरो । कोही समातिएर घरको सट्टा जेल (झ्यालखान) मा छन् । ‘क’ वर्गको बैङ्क हुनाले महादेव आश्वस्त भए ।  

महादेव घर आए र बैंक भौचर र मुद्दतीको रसिदलाई सुरक्षित राखे । उनले सोचे एकमुष्ट पाँच लाख हुनुले उनलाई एउटा विशेष सन्तोष दिएको छ । त्यो रकम पूर्णतः उनले आर्जन गरेको थिएन । आफ्नै सन्तानले प्रदान गरेको यो राहतको रकम जस्तो थियो । राहत ! आफ्नै सन्तानबाट पनि राहत ! त्यसमा उनले जोरजाम गरेर केही वर्षपछि पाँच लाख पुर्‍याएका थिए । तर उनले बारम्बार सोच, राहत ! सन्तानको माया नपाए पनि उनले रकमको रूपमा राहत पाएका थिए उनीहरूबाट । राहतको अर्थ कोरोनाको महामारीका बेला झन् बुझे महादेवले ।

प्रकाशित: १७ श्रावण २०७७ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App