१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सेता कमलका फूलहरु

कविता

  प्रेम राई परीक्षित 

 

रात र दिन भन्दैनौ तिमी     

एकतमास वार्डहरूमा कुदिरहन्छौ

के जाडो के गर्मी 

सर्वदा फुलिरहन्छौ 

अस्पतालका साँगुरा वार्डहरूमा

तिमी मायालु सेता कमलको फूल

कहाँ छ तिमीलाई आराम

कहाँ छ तिमीलाई समय

आकाशको लम्बाइ 

ताराहहरूको गोलाइ 

आँखा तन्काई तन्काई नापिरहन   ?

कहाँ छ तिमीलाई फुर्सद

घामसंग गोलार्धहरुको फन्को मारिरहन?

र जूनसंग बार्दलीमा 

मुस्कुराहटहरू साटिरहन ?

अस्पतालको सिलिङ

तिम्रो आकाश

आशा र रोदनहरूले भरिएको

अस्पतालका आगन 

तिम्रो सिङ्गो पृथ्वी

अनि साँगुरा वार्डहरू

परपर फैलिएको तिम्रो सुन्दर तलाउ 

जहाँ तिमी 

हरबिहान

हरदिन

हररात फुलिरहन्छौ

तिमी स्वार्थहिन सेता कमलको फूल

कोभिडसंग तिमी 

एक्लै लड्नु पर्छ

ईबोला र सार्ससंग तिमी

एक्लैएक्लै जुझ्नुपर्छ

अरुको जीवनका लागि

तिमी आफ्नो जीवन निछावट गरी दिन्छौ

अरुको मुस्कुराहटका लागि

आफ्नो मुस्कुराहटहरू

बिस्कुन लगा  दिन्छौ

तिम्रो प्रशंसाका लागि शब्दकोष

निरीह निरीह भैदिन्छ

तिमी बलिदानको नमुना

अस्पतालका तलाउभरि फुलिरहने

सेता कमलको फूल

टुहुराटुहुरी हुन लागेका 

अवोध नानीहरूको 

मलिन अनुहारमा 

मुस्कुराहटको देशान्तर अनि अक्षांशहरू

सर्वदा फैलाईरहन्छौ

लडिरहेको आमाको मुटुहरू

कोमल पातहरुमा उठाईरहन्छौ

समर्पण

तिम्रो एक मात्र पूजा

त्याग

तिम्रो एक मात्र सपना

जीवन

तिम्रो एक मात्र लक्ष

तिमी मनको तलाउमा फुलिरहने

बेदाग सेता कमलको फूल

म नदेखेको स्वर्गको

कुरा गर्दिन आज

जो मेरै अघि उभिरहेको छ

म नभेटिने जून र घामको

कुरा पनि गर्दिन आज

जो मेरै अघि उदाईरहेको छ

अनि म नदेखेको भगवानको पनि

कुरा गर्दिन आज

जो मेरै अघि साक्षात उभिइरहेको छ

नचिन्नु मेरो कम्जोरी हो

जो मेरै अघि अस्पतालका तलाउहरूमा

सेताम्मे फुलिरहेका छन्

उही सेता कमलका फुलहरू

स्टेथेस्कोप घाँटीमा  झुन्ड्याएर

हरबिहान

हरदिन

हर साँझ अनि रात

जीवन अनि मुस्कुराहटको खोजीमा !

तलाउको तरङ्गलाई आफ्ना 

सेता अनि स्फटिक मनसङ्ग घोलेर

सधैं फुलिरहन सिकाउने 

सधैं अरुकै लागि बाँचिरहने 

हिलोमा टेकेर तलाउको कन्चन पानीमा

बिसर्जन हुने तिमी

सेतो सुन्दर कोमल कमलको फूल!

प्रकाशित: १४ श्रावण २०७७ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App