coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भ्यागुता संरक्षण

खेतबारी, खोलानदी, बाटोघाटोमा देखिने भ्यागुतालाई हामी धेरैले त्यति वास्ता गर्दैनौँ, तर तिनीहरूले जानिनजानी हाम्रो दैनिक जीवनमा अमूल्य योगदान दिइरहेका छन्। तिनै भ्यागुता मानवीय कारण लोप हुने उच्च जोखिममा छन्। वैज्ञानिक अनुसन्धानले ढाड भएका जनावरमध्ये उभयचरका सबैभन्दा बढी प्रजाति संकटमा रहेको प्रकाश पारेका छन्। संरक्षणका ठोस कदम नचाल्ने हो भने भ्यागुतासँगै मानवीय अस्तित्व पनि संकटमा पर्ने देखिन्छ।

भ्यागुताको महत्व
भ्यागुताको सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणीय महत्व छ। वातावरणीय महत्वलाई दृष्टिगत गर्दा खाद्य चक्रको मध्यभागमा रहने भ्यागुताले पारिस्थितिक प्रणाली सन्तुलन राख्न अहं भूमिका निर्वाह गर्छ। यसले कीरा, फट्यांग्राको संख्या नियन्त्रण गर्छ।  

सांस्कृतिक रूपमा हेर्ने हो भने नेपालमा समयमा पानी परेन भने भ्यागुताको बिहे गरिदिने प्रचलन छ। यसका साथै नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाका दिन गुँपुन्हीका अवसरमा वर्षा गराउन सहयोग गर्ने जीवको रूपमा भ्यागुताको पूजा गर्ने प्रचलन छ। यसका साथै भ्यागुताको आर्थिक महत्व पनि छ। भ्यागुताले हाम्रो वरिपरि पाइने विभिन्न किसिमका हानिकारक कीट तथा लामखुट्टेलाई नियन्त्रण गर्न मद्दत गर्छ, जसकारण हामीलाई विभिन्न घातक रोग सर्न पाउँदैन र औषधोपचारमा लाग्ने खर्च जोगिन्छ। बालीनालीमा लाग्ने किसानका शत्रु जीवहरूलाई नियन्त्रण गरेर भ्यागुताले खाद्यान्न उत्पादन बढाउन मद्दत गर्छ। जनकराज खतिवडाले सन् २०१५ मा चितवनमा गरेको एक अध्ययनअनुसार चितवनका धान खेतमा १३ विभिन्न प्रजातिका भ्यागुता भेटिएका थिए। ती भ्यागुताले १७ अर्डर र २६ फेमिलीका विभिन्न प्रजातिका कीरा खाएको भेटिएको थियो। यसको प्रत्यक्ष सम्बन्ध धान तथा खाद्य उत्पादन र नाफासँग जोडिएको छ। पहाडी क्षेत्रमा केही प्रजातिका भ्यागुता स्वादिष्ट खाना तथा प्रोटिनका रूपमा लिने गरिएको छ। यसका साथै उच्चशिक्षामा बर्सेनि लाखौँ भ्यागुताको उपयोग गर्ने गरेको पाइन्छ।  

के छ अवस्था
‘एम्फिबिया वेब’ले जुलाई १ सम्म कुल सात हजार दुई सय १२ प्रजातिका भ्यागुताको तथ्यांक राखेको छ। जसले सन् २००३ देखि प्रत्येक वर्ष कम्तीमा सय नयाँ प्रजाति थपिँदै गएको देखाएको छ। सन् २०२० को पहिलो ६ महिनामा ८७ नयाँ प्रजातिका भ्यागुता थपिनुले यो वर्ष पनि त्यो क्रमले निरन्तरता पाउने देखिन्छ। नयाँ प्रजाति थपिने क्रमसँगै लोप हुने शृंखला पनि सुरु भइसकेको छ। सन् १९८० को दशकमा जलवायु परिवर्तन र एक प्रकारको सिट्रिड नामक ढुसीका कारण सुनौलो भ्यागुतो लोप भएको थियो। धेरै प्रजातिका भ्यागुता यस्तै मानवीय व्यवहारबाट सिर्जित समस्याका कारण लोप हुने अवस्थामा पुगेका छन्। एक अध्ययनले विश्वभरि रहेकामध्ये करिब आधा भ्यागुताका प्रजाति संकटको अवस्थामा रहेको देखाएको छ। वातावरणमा बढ्दो मानवीय हस्तक्षेपका कारण भ्यागुताको अस्तित्वलाई संकटमा पार्न मुख्य भूमिका खेलेको छ। भ्यागुतालाई लोप हुने अवस्थामा पु¥याउने कारणमा जलवायु परिवर्तन, जलप्रदूषण, वासस्थानको विनाश, भू–उपभोगमा परिवर्तन, कीटनासक औषधिको प्रयोग तथा विज्ञान संकायको प्रयोगशालामा प्रयोग आदिलाई मानिएको छ। भ्यागुतामा संवेदनशील छाला हुन्छ, जुन तापक्रम र वातावरणको परिवर्तनबाट बढी प्रभाावित हुन्छ। वातावरणीय प्रदूषणका कारण धेरै भ्यागुताको जीवन–चक्रमा नकारात्मक असर परेको छ। मूलतः भ्यागुता जल र जमिन दुवैमा बस्ने भए पनि प्रायः प्रजातिको जीवनको सुरुवाती अवस्था (अन्डा र चेपागाँडा) पानीमै बित्ने भएकाले जल प्रदूषणले यसको अस्तित्व संकटमा परेको छ। यसका साथै ध्वनि प्रदूषणले पनि भ्यागुताको प्रजननलाई असर गरेको पाइन्छ। त्यस्तै, विकास, निर्माणले पनि भ्यागुतालाई असर गरेको देखिन्छ। तराई र पहाडमा खेतहरूको प्लटिङ गर्ने क्रम बढेको छ, सिँचाइ वा विद्युत्का लागि ड्याम बनाएर पानी अन्यत्र लैजाने क्रम बढेको छ, जसकारण भ्यागुताको वासस्थानमा संकुचन आएको छ। यसका साथै बढ्दो रासायनिक मल तथा अन्य कीटनाशक औषधि प्रयोगमा भएको वृद्धिले पनि भ्यागुताको अस्तित्व संकटमा पारेको छ।  

‘एम्फिबिया वेब’का अनुसार नेपालमा ५९ प्रजातिका उभयचर रेकर्ड भएका छन्, जसमध्ये ५६ प्रजातिका भ्यागुता छन्।  

नेपालमा अध्ययन तथा संरक्षण
‘एम्फिबिया वेब’का अनुसार नेपालमा ५९ प्रजातिका उभयचर रेकर्ड भएका छन्, जसमध्ये ५६ प्रजातिका भ्यागुता छन्। जनकराज खतिवडाले २०२० मा गरेको एक अध्ययन अनुसार, नेपालमा हालसालै एक नयाँ प्रजातिको भ्यागुता पहिलोपटक भेटिएको छ।

नेपालमा भएका भ्यागुतासम्बन्धी अध्ययन अनुसन्धानको इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा केही अध्ययन अनुसन्धान भए पनि देशभरको भ्यागुताको समष्टिगत अध्ययन हुन सकेको छैन। प्राध्यापक केआर खुम्बु, करणबहादुर शाहसँगै अन्य केही संघ–संस्था तथा व्यक्तिगत रुपमा अनुसन्धान भएका छन् तर  हामीसँग देशभरिका भ्यागुताको पर्याप्त जानकारीको अभाव छ। भ्यागुतासम्बन्धी अध्ययन गर्ने एक संस्था ‘क्यारोन’ले करिब एक दशकदेखि भ्यागुताको अध्ययन गर्दै आइरहेको छ। वातावरण अध्ययन तथा संरक्षण केन्द्रले पछिल्ला दिनमा नागरिक वैज्ञानिकलाई परिचालित गरी भ्यागुताको अध्ययन गर्न थालेको छ। यसका साथै विभिन्न तहका विद्यार्थीले आफ्नो शोध कार्यका लागि भ्यागुता र सरिसृपको अध्ययन तथा अनुसन्धान गर्ने क्रम बढेको छ, जसलाई सकारात्मक रूपले लिनुपर्छ। तर, भ्यागुताको संरक्षणका लागि आवश्यक वासस्थानसँगको सम्बन्ध, तिनीहरूको जीवनचक्रमा वातावरणीय परिवर्तनका कारण परेको असर लगायत थुपै्र आयाममा घनीभूत अनुसन्धान सुरु हुन सकेको छैन। अर्को महत्वपूर्ण पक्ष, भ्यागुताको जीवनचक्र वा उनीहरूको परिस्थितिमा कस्तो परिवर्तन हुँदैछ भनेर जानकारी राख्न हामीसँग आधार तथ्यांक अभाव छ। भ्यागुताको संरक्षण गर्नुपर्छ भनेर आम मानिस र नीति–निर्माण तहमा सन्देश पु¥याउन पनि नितान्त आवश्यक छ।  

हाम्रो दैनिक जीवनमा अमूल्य योगदान दिइरहेका भ्यागुतालाई संरक्षणको मूलधारमा अटाउन नसक्नुलाई पक्कै पनि राम्रो मान्न सकिँदैन। भ्यागुता संरक्षणका लागि सर्वप्रथम व्यापक अनुसन्धान अनिवार्य छ। त्यसपछि सम्बन्धित निकायले आमनागरिकलाई भ्यागुताको महत्वबारे जनचेतना दिनुपर्छ। साथै, नीति–निर्माण तहबाटै भ्यागुता संरक्षणमा पहल गरिनुपर्छ।
(लेखक शर्मा वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अनुसन्धानकर्मी तथा अमृत साइन्स कलेज, वातावरण विभागका लेक्चरर हुन्।)

प्रकाशित: १० श्रावण २०७७ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App