१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

स्वप्ना थिए नासिए

शार्दूलवीक्रिडित छन्दमा लेखिएको कविता

नारायणी अधिकारी

नारायणी अधिकारी     

पानी दर्दर दर्किएर बसुधा सारा जलाम्मे भयो।

गैह्रामा जलमग्न भो उटकमा पैह्रों चलाई दियो ।।

बाढीले घर बास गोठ टहरा भत्काउने हो कति ।

बाटा बाँध विकासमा प्रगतिमा पार्ने भयो दुर्गति ।१।

छाना छादन तप्पतप्प चुहिंदा छेकिन्छ पानी कहाँ ।

वाढीले पनि ताक्छ हा १ गरिपका छाप्रा कटेरा यहाँ ।।

पानी दूषित हुन्छ बग्छ धमिलो प्यूनै नमिल्ने गरी ।

फैली रोग विषाक्त बन्दछ धरा ज्यूने यहाँ के गरी ।२।

हाम्रा खेत गरा जहाँ छ मलिलो माटो बगाएपछि ।

के फल्ला फलफूल अन्न धरती नाङ्गै बनाएपछि ।।

सिञ्चेका पसिना बगे भलसँगै टारी र मैदानका ।

फल्छन् खै कसरी बिना जमिनमा बाला झुली धानका ।३।

गिट्टी गेगर खेतमा कृषकको देखेर को रुन्न र ।

ल्यायो शङ्कट दुर्दशा नियतिले रोकौं भने हुन्न र ।।

बर्षौबर्ष बिते तथापि यसको नोक्सान उस्तै सहे ।

बर्खे भेलसँगै बगे रहरिला स्वप्ना थिए नासिए ।४।

खोलाका तटबन्ध के नहर के बारी बगैंचाहरू ।

भत्के संरचना किसान जनमा बढ्दै छ बाधा अरू ।।

भत्कायो मृदु मृत्तिका शिखरको शोभा उदाङ्गो गरी ।

उर्लिन्छन् खहरे नदी बगरमा लैजान्छ यो जिन्दगी ।५।

बाढी काल बनेर आउँछ कतैका लाग्नि जस्तै गरी ।

लीला जीवन सिद्धियो भलसँगै कस्तो दशा हे हरि ।।

पर्दा कष्ट विपत्ति माथि पहिरो थप्ने भइस् दुर्गति ।

यस्तो सिर्जन नासिंदा प्रकृतिको हे दैव हेर्छस् कति ।६।

(अधिकारी आदिकवि भानुभक्त क्याम्पस तनहुँकी सहायक प्राध्यापक हुन्।)  

प्रकाशित: ९ श्रावण २०७७ १७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App