२१ फाल्गुन २०७७ शुक्रबार
कला

बलिउड र कलिउड एक अमिल्दो तुलना

बिचार

बलिउडको बाछिटा कलिउडमाथि पर्दै आएको छ । सिनेमाको प्रस्तुति मात्र नभएर बलिउड प्रवृत्तिको कलिउडले अनुसरण गर्ने गरेको छ । बलिउडको कलिउडमाथिको प्रभाव थोरै स्वाभाविक र धेरै अस्वाभाविक हुने गरेको छ ।

युवा वयको उत्कर्ष र करिअरको आरोहणबीच नै अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्याको बाटो रोजेपछि बलिउडको चमकदमकभित्रको अँध्यारो दुनियाँ सतहमा आएको छ । खासगरी फिल्मी सिने जगतभित्रको परिवारवाद कुन हदसम्म आफ्नै बुतामा उपलब्धिका निम्ति संघर्षरत मुम्बई बाहिरका कलाकारप्रति अनुदार र निर्मम हुन सक्छ भन्ने अनेकौं तथ्य र तर्क सुशान्त आत्महत्या प्रकरणपछि छताछुल्ल भएका छन् । बलिउड कठोर संघर्ष र इच्छाशक्ति सँगसँगै परिवारको संरक्षण र प्रोत्साहनमा स्थापित दुवैथरी कलाकारको साझा कर्मथलो हो । तैपनि, वंशवादमार्फत बलिउडमा प्रवेश गर्नेहरू नातावाद, कृपावाद अनि गुटबन्दी माध्यम गैर मुम्बइया कलाकारप्रति कुन हदसम्म निर्मम बन्छन् र आफ्नो वर्चस्व कायम राखि राख्छन् भन्ने कुरा नै यस बहसको अन्तर्वस्तु हो ।

सुशान्तसिंह राजपूतको आत्महत्याको बाछिटा छिमेकको सानो फिल्मी दुनियाँ कलिउडमा अर्कै प्रकारले प¥यो । आकर्षण, अवसर र आयतन कुनै पनि दृष्टिले यी दुई सिने नगरी तुलनायोग्य होइनन् । बलिउड यस्तो मायानगरी हो, जहाँ मानिस राख (खरानी) बाट लाख र लाखबाट राख बनेका अनेकौं उदाहरण छन् । फोर्वस्म्यागेजिनको सर्वाधिक कमाइ गर्ने विश्व मनोरञ्जन क्षेत्रका हस्तीहरूको ‘टप १००’ को सूचीमा वलिउडले वर्षेनी कुनै न कुनै स्थान ओगट्दै आएको छ । चलचित्रको पारिश्रमिक, ब्रान्डको इन्डोर्समेन्ट र इभेन्टबाट चल्तीका वलिउड कलाकारले वार्षिक अर्ब रुपैयाँभन्दा माथि कमाइ गर्छन् । कलाकारको पारिश्रमिक त परै छाडौं, ती कलाकारले आफ्ना सन्तानका ‘वेबी सिटर’ सुसारे र अंगरक्षकलाई दिने रकमसमेत समाचारका हेडलाइन बनिरहेका हुन्छन् । हाम्रो देशको सानो फिल्मी क्षेत्रको स्थापित कलाकारले वार्षिक रुपमा कमाउने रकमभन्दा त्यो रकम अधिक देखिन्छ ।

प्रसिद्धि, प्रतिष्ठा र पारिश्रमिकका आकर्षणकै कारण बलिउड भारत मात्र नभएर संपूर्ण दक्षिण एसियाली मुलुकका प्रतिभावान् तथा महत्वाकांक्षी कलाकारको गन्तव्य हो । गैर भारतीयलाई मात्र नभएर भारतीय तर वंश परम्परा बाहिरका लागि बलिउडको प्रवेश फलामको ढोकासरह हो । सन् ७० को दशकका अमिताभ वच्चनजस्ता फिल्मी दुनियाँ बाहिरका कलाकार होऊन वा आजका आयुष्मान खुराना, राजकुमार राव, विक्की कौशल आदिको संघर्षका गाथा, वलिउड वाहिरियाका निम्ति हदैसम्म कठोर रहँदै आएको छ । कोरस डान्सर, पासिङ सट, एकाध मिनेटको सानोतिनो भूमिका गर्दै वर्षौंको संघर्ष र तपस्याबाट यी कलाकारहरूले आफ्नो स्थान सुरक्षित गर्दै आएका छन् । 

उता, कलाकारका सन्तान अकाट्य रुपमा उम्दा नै हुन्छन् र तिनले आफ्नो स्थान सुरक्षित गर्छन् भन्ने कुनै निश्चितता छैन । ठूला कलाकारका सन्तान इन्डस्ट्रिमा टिक्न नसकेका अनेकौं उदाहरण छन् । चाहे कलाकारका सन्तान हुन् वा संघर्षको बाटो रजतपटमा छाएका कलाकार, बलिउडमा स्थानको पहिलो शर्त प्रतिभा हो । कलाकारका सन्तान रणवीर कपूर र आफ्नै बुतामा स्थापित रनवीर सिंह दुवै बीचको समान तत्व भनेको प्रतिभा हो । बरू प्रतिभा भएकाहरूका निम्ति पनि कठिन चीज चाहिँ प्रसिद्धिमा टिकिरहनु हो । जसका निम्ति नातावाद, कृपावाद, गुटबन्दी वा सिण्डिकेटका माध्यम एकथरी कलाकारले अर्का थरीमाथि ज्यादती गरिरहेका हुन सक्छन् ।

कलिउडको कुरो बलिउडको दाँजो कलिउड सानो इन्डस्ट्री हो । नेपालभित्रै पनि नेपाली चलचित्रले हिन्दी चलचित्रको तुलनामा थोरै बक्स अफिस कलेक्सन गर्दै आएका छन् । हिन्दी सिनेमाको बजारको त्रासकै कारण नेपाली सिनेमा ठूला बजेट वा स्टारकास्टका बलिउड सिनेमाका आसपास रिलिज गरिँदैनन् ।

सुशान्तको आत्महत्यासँगै, कलिउड पनि केही समय नातावाद र कृपावादको बहसमा तातियो । केही स्थापित कलाकार तथा फिल्म निर्माताका सन्तान सिने क्षेत्रमा प्रवेश गरेका कारण त्यसैलाई नातावादको अर्थमा हेरियो, जसमा थोरै मात्र सत्यता छ । कारण, बलिउड जसरी कलिउड प्रवेशका निम्ति कठिन छैन । सानो लगानी मात्र जुटाउने हो भने यस क्षेत्रमा जो कोही प्रवेश गर्न सक्छ । हाम्रा कलाकारको पृष्ठभूमि हेर्ने हो भने अक्सर चलचित्र निर्माता नै कलाकार बनेका देखिन्छन् । यो नातावादको कुरा होइन । ती व्यक्ति कलाकार बने जसले लगानीको जोखिम उठाए, वा त्यस्ता व्यक्ति कलाकार बने जसलाई एकपटक रजतपटमा देखिने हुटहुटी थियो । यस प्रकारका कलाकारले न सिने क्षेत्रलाई योगदान नै दिन सके, न त स्यवं नै दर्शकको मनमा एउटा दिगो छाप छाड्न सफल रहे ।

कलाकारका सन्तान वा चकलेटी अनुहारले रजतपट चुमेका धेरै उदाहरण छन् । तर, तिनको नियती चकलेटभन्दा बढी भने हुन सकेको छैन । तिनले चकलेटझैँ निमेषभरका लागि गुलियो त दिन सक्लान् तर नयाँ ब्रान्डको चकलेटको आगमनसँगै ती स्वतः बिलाएर जानेछन् । त्यसैले सिनेमामा प्रवेश गर्नु मात्र कलिउडमा ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा स्टारडमको हो, जो विरलै मात्र एकाध कलाकारले निर्माण गर्न सकेका छन् । अहिले जारी राजेश हमालको महानायकत्वको विवाद उनको स्टारडम उपरको बहस हो ।

नेपाली सिनेमामा नातावादकै कारण कुनै अमूक कलाकारले आफू अवसरविमुख भएको तर्क गर्छ भने त्यो आफैँमाथिको स्वमूल्यांकनको कमी हो । नाताकै कारण एक कलाकारले असीमित अवसर पाउँछ र त्यस विपरीतका कलाकार गलहत्याइन्छ भन्ने तर्कमा सत्यता छैन । किनकि, सिनेमा चल्ने वा नचल्ने कुरा दर्शकमाथि निर्भर रहन्छ । आज चकलेटी कलाकारलाई रूचाइए पनि यदि तिनमा कुनै दम छैन भने ती भोलि मिल्क्याइन सक्नेछन् । अनील कुपर, अमीर खान, शाहिद कपुरजस्ता कलाकार सुरुमा चकलेटी अनुहारका साथ इण्डस्ट्री प्रवेश गरेका थिए, जसलाई तत्कालै रुचाइयो पनि । 

तर, समयक्रममा यी कलाकारले आफ्नो प्रतिभामा निखार ल्याए र आफूलाई परिमार्जित गर्दै लगे । दर्शकले अनुहारभन्दा पनि प्रतिभा खोजिरहेका हुन्छन् । नसरुद्दीन शाह, ओम पुरी, इरफान खान, नवाजुद्दीन सिद्दिकी, राजकुमार राव आदि यस कोटीका कलाकार हुन् । उनीहरूको संघर्ष र सफलता सबैका निम्ति प्रेरक छ । यता नेपालमा पनि निर्माता वा कलाकारका सन्तानभन्दा पनि रङ्गमञ्च वा कला पृष्ठभूमिका कलाकारले उम्दा प्रदर्शन गर्दै आएका छन् । चकलेटी अनुहारभन्दा पनि चरित्रमा अब्बल दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की, खगेन्द्र लामिछाने आदि कलाकारले नेपाली चलचित्रको आयाम र आयातन फराकिलो बनाउँदै व्यवसायीकरणमा ठूलो योगदान दिएका छन् ।

चलचित्र प्रदर्शनकारी उत्पादन भएकाले यसको प्रचारप्रसार अनि वितरणले यसको पहुँचमा भने ठूलो प्रभाव राख्दछ । प्रदर्शनको मिति, हल र बजार व्यवस्थापन चलचित्र चलाउनका लागि महत्वपूर्ण हुन्छ । बरू, यस अर्थमा भने पहुँच र गुटबन्दीले ठूलो भूमिका खेलिरहेको हुन्छ । तर, यो समस्या कलिउडको मात्र होइन, चलचित्र स्वयंमा एउटा उत्पादनसमेत रहेकाले यो समस्या सबैतिर व्याप्त छ । अझ, कोभिड-१९ महाव्याधि यता चलचित्र कसरी प्रदर्शन गर्ने भन्ने ठूलो अन्योल खडा भएको छ । अब सिनेमाघर मात्र नभएर नेटफ्लिक्स, एमेजन प्राइम जस्ता ग्लोबल अनि आइप्लिक्स, फोपी र स्याटेलाइट च्यानलजस्ता लोकल डिजिटल प्लाटफार्म चलचित्र प्रदर्शनका वैकल्पिक माध्यम देखिएका छन् । कोभिड-१९ ले मानव जीवनका सबै क्षेत्रजस्तै चलचित्रमा पनि चुनौती सँगसँगै विकल्पका नयाँ ढोका खोलिदिएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App