२० श्रावण २०७७ मंगलबार
कला

लुतो लैजा लुतो लैजा उइइइइइई...

साउने संक्रान्ति

साउन नेपाली पात्रोअनुसार १२ महिनामध्ये चौथो महिना हो। हिन्दूहरूले साउनको पहिलो दिन (साउनेसंक्रान्ति) लाई पर्वको रूपमा मनाउँछन्। यसलाई जनजिब्रोको भाषामा ‘राँके संक्रान्ति’ पनि भनेको पाइन्छ। साउनको पहिलो दिनलाई विशेषगरी पहाडी भेगमा ‘लुतो फाल्ने’ पर्वका रूपमा पनि मनाउने चलन छ। तर, यस पर्वबारे चर्चा गर्न हामीले समग्र साउने महिमा बुझ्न आवश्यक हुन्छ।  

ज्योतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। वर्षभरिका संक्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ चारवटा संक्रान्तिलाई विशेष महत्वसाथ हेरिन्छ। हिन्दूधर्मावलम्बी सूर्यलाई सूर्यनारायण भगवान्का रूपमा पूजा गर्छन्। सूर्यका दुई अयन (उत्तरायण र दक्षिणायण) हुन्छन्। माघदेखि उत्तरायण सुरु हुन्छ भनेसाउनदेखि दक्षिणायण। सूर्यको गति दक्षिणायण भएपछि अर्थात् साउन लागेपछि नेपालमा धेरै धार्मिक र सांस्कृतिक पर्व सुरु हुन्छन्। गाईजात्रा, नागपञ्चमी, जनैपूर्णिमा, श्रावणी मेला, पञ्चदान, कुसेऔँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमरी पुन्ही, स्वस्थानी व्रत लगायतधार्मिक एवं सांस्कृतिक पर्व दक्षिणायणमै पर्छन्।  

महिमामय साउन
साउनलाई हिन्दू धर्मावलम्बीले विशेष रूपमा लिन्छन्। यो महिना माछामासु, लसुन, प्याजजस्ता तामसी भोज नखाने चलन छ। सनातन धर्मअनुसार, साउनदेखि देवताको रात र पितृको दिन सुरु हुने भएकाले यही महिना पितृकार्य पनि सुरु गरिन्छ।साउन सुरु हुनुअघि गुरुपूर्णिमा मनाउने प्रचलन छ। देवताका गुरु बृहस्पति र दानवका गुरु शुक्राचार्य हुन् भने शिवलाई यी गुरुका पनि गुरु मानिन्छ।

गुरुपूर्णिमापछि तिथिअनुसार पितृलाई दान, तर्पण गर्ने कार्य गरिन्छ। यस्तो कार्यले पूर्वजको योगदानलाई स्मरण गर्दै सुकर्ममा लाग्न प्रेरित गरेको पाइन्छ।

भागवत महापुराणका अनुसार, देव–दानव मिलेर समुद्र मन्थन गर्दा हलाहल विष निस्क्यो। सृष्टिको संहार हुने खतरा देखेपछि भगवान् विष्णुले देवताहरूलाई शिवको प्रार्थना गर्न लगाए। देवताका अनुनय–विनय सुनेपछि भगवान् शिवले उक्त हलाहल विषलाई आफ्नो घाँटीमा राखे। घाँटीमा कालकूट विष भएकाले शिवजीको घाँटी नीलो भएको पौराणिक कथन छ।त्यसैले शिवलाई नीलकण्ठ पनि भनिन्छ। उक्त विषको भयानक असर शिवको शरीरमा देखिएपछि जल चढाउन थालियो। उनले शीतल महसुस गरी प्रशन्न भएकाले त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा बसेको पाइन्छ।  

शास्त्र अनुसार, समुद्र मन्थनमा विष मात्रै होइन अमृत पनि निस्केको थियो। विष्णुले छलकपट गरी देवतालाई मात्र अमृत पिलाए। दानवलाई अन्याय भयो। तसर्थ, दानवले पनि शिवजीको प्रार्थना गरे। शिवले दानवका गुरु शुक्राचार्यलाई मृतसञ्जीवनी विद्या दिए। यो यस्तो चिकित्सकीयविद्या हो, जसले मरेकालाई तुरुन्तै ब्युँझाउन सक्ने मानिन्छ। त्यसैले शिवलाई हामीले समानताका प्रतीक मान्छाँै।  

समुद्र मन्थन गर्दा निस्किएको हलाहल विषलाई आफ्नो घाँटीमा राखी भगवान् शिव नेपालमा अवस्थित गोसाइँकुण्डमा गएर सुतेको लोकविश्वास पनि छ। त्यसैले साउनका प्रत्येक सोमबार शुद्ध भई व्रत बस्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ। त्यस्तै, शिवको भक्ति गर्नाले मृत्युपछि शिवलोक प्राप्त हुने विश्वास छ। हलाहल विष पिएका शिवजी जल तथा बेलीपुष्प चढाउँदा प्रशन्न हुने लोकविश्वास पाइन्छ। साउने सोमबार शिवजीको व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ।  

लुतो फाल्दा प्रयोग हुने वनस्पति

हिन्दू नारीले साउनलाई विशेष व्रत महिनाका रूपमा मनाउँछन्। हातमा मेहन्दी लगाउँछन्। पहिले–पहिले गाउँघरमा तिउरी लगाउने चलन थियो। तिउरीका पात पिनेर त्यसका मकरकाँचीको रस राखी हातमा लगाइन्थ्यो। तर,आजभोलि बजारमै बनिबनाऊ मेहन्दी पाइन्छ। त्यस्तै, हातमा हरिया चुरा पनि लगाउने गर्छन्।यसरी हातमा हरिया चुरा लगाउँदा आफ्ना पतिको सुरक्षा हुने लोकविश्वास छ। भने अविवाहित महिलाले योग्य वर पाउनका लागि शिवजीसँग प्रार्थना गर्छन्।  

साउने सोमबार सुन्तला रङको वस्त्र लगाएर नांगा खुट्टा जल र छडी बोकेर कष्टकर यात्रा गरी विभिन्न शिवधाममा जाने प्रचलन पनि छ। नेपालमा काठमाडौंको पशुपति र वाग्द्वार, धरानको पिण्डेश्वर, सिराहाको कमलामाई दोभान, महोत्तरीको सिद्धनाथ, सुनमाई थानमा भक्तजनले विशेष पूजाअर्चना गर्छन्।  

हिजोआज बोलबमका नामले गाडी रिजर्भ गरेर सहर बजारमा चर्काे स्वरमा स्पिकर बजाउँदै, होहल्ला गर्दै, सडकयात्रीलाई पानी छ्याप्दै हिँडेको पनि देखिन्छ। यो संस्कृतिभित्र देखिएको विकृति हो।

साउने संक्रान्तिकै दिन असारभर खेत जोतेका गोरुलाई नुहाउने रीतिपरम्परा पनि छ। गोरुलाई लागेको हिलो सबै पखाली, धानको बिउले शिर छोएर तेल र रातो टीका लगाइदिने प्रचलन छ। यसरी गोरुलाई नुहाइसकेपछि साउनमा जोत्नु हुँदैन भन्ने लोकविश्वास पाइन्छ। यसबाट हाम्रो संस्कृतिमा हितकारी चिन्तन रहेको बुझिन्छ।

लुतो फाल्ने पर्व
लाहुरे दाइको क्या राम्रो पहिरन,
सुकेलुतो कन्याउँदै हैरान।
लाहुरे डिउटीमा ठिक्क छ,
सुकेलुतो कन्याउँदै दिक्क छ।

माथिको लोकगीतबाट लुतो नेपाली समाजमा सामान्य र सबैलाई आउने रोग भएको बुझिन्छ। नेपाली समाजमा लुतोलाई अलि व्यंग्य पनि गरिन्छ। लुतो आएका मान्छेलाई लुते भनेर होँच्याउने गरिन्छ। पहिले–पहिले गाउँघरतिर अस्पताल नै गएर लुतोको उपचार गर्ने मानिसहरू ज्यादै कम थिए। पहिलेपहिले लुतो आएपछिमानिसलाई तीन–चारमहिना दुःख दिने गरेको स्याङ्जा पुतलीबजारकी ६५ वर्षीया भीमकुमारी उपाध्याय बताउँछिन्।  

लुतो के हो त ?लुतो (स्काबिज)एक प्रकारको छालाको रोग हो। यो बाक्ला बिमिरा उठेर पाक्ने र ज्यादै चिलाउने रोग हो। यो रोग प्रायः गर्मी महिनामा लाग्ने गर्छ।ती बिमिरा रातको समयर न्यानोमा बढी चिलाउने गर्छ। लुतोका कीटाणुले शरीरको नरम छालालाई बढी संक्रमित गर्छन्। यसलाई सामान्य र धेरैलाई लाग्ने रोगका रूपमा लिइन्छ। सन् २०१५ मा २० करोड ४० लाख मानिसमा लुतो आएको प्रतिवेदन सार्वजनिक भएको थियो।  

लुतो विशेषगरी शरीरका अप्ठेरा र गुप्त भागमा तथा पसिना बढी आउने भागमा देखिन्छ। जुनसुकै उमेरकालाई हुने भएपनि यसले साना नानीलाई बढी असर गरेको पाइन्छ भने उमेर बढ्दै जाँदा लुतोको असर कम हुँदै जान्छ। सन्तुलितभोजन,शरीरको सरसफाइसँगैमलम प्रयोग, औषधि सेवन गरेमा लुतो निको हुने चिकित्सक बताउँछन्।  

गाउँमै पाउने जडिबुटीहरू दलेर पनि लुतोको उपचार गरिन्छ। तिनै चिकित्सकीय वनस्पतिको पहिचान, उपयोग र संरक्षण लागि पनि लुतो फाल्ने परम्परा बसेको हुनसक्छ।  

असारलाई मानो खाएर मुरी उब्जाउने महिना मानिन्छ। असारमा खेत रोप्ने भएकाले हिलो, धुलो र थकान हुन्छ। असार सकिएपछि हिलोमैलो पखालेर घर–परिवार र आफन्तका साथ साउने संक्रान्ति मनाइन्छ।यो संक्रान्ति हिउँद लाग्यो, अब त बाँचियो भनेर पनि बूढापाका बताउँछन्।  

हिलो, धुलो, पसिनाले गर्दा शरीरमा विभिन्न घाउ, खटिरा, दाद, लुतो आउने भएकाले लुतो फालेपछि त्यो सबै नष्ट हुन्छ भन्ने मान्यता छ।  

लुतो फाल्दा असारकै अन्तिम दिन मानिसहरू आफ्नो घरबारी, खरबारी र वनमा गएर काँडे सिउँडी, जोल्टेफल(दुई फल जोडिएको) भएको निबुवा, आरु र सुन्तलाको हाँगो, कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, रोपेको धान (रोपो), सिरु घाँस, पानीसरो, देवीसरो, उन्यू जातको नागबेली कुरिलो, रुदिलो, सिस्नु र गलेनी जस्ता औषधिको रूपमा प्रयोग हुने वनस्पति जम्मा गर्छन्। यसरी जम्मा गर्दा कुनै वनस्पतिको फल, कुनैको पात र कुनैको जरासमेत जम्मा गरिन्छ। त्यस्तै कोदो, गहत र भट्टमासबाहेकका गेडागुडीलाई दुनामा राखिन्छ। तितेपातीकासिठ्ठा बनाइन्छ भने दाउराको अगुल्टा तयार पारिन्छ।तितेपाती र अगुल्टा ठाउँ अनुसार फरक–फरक वनस्पतिको बनाएको पनि पाइन्छ।  

तिनलाई आँगनको एक छेउमा रहेको तुलसीको मठमा केराको पातमाथि राख्ने चलन छ। साउनको पहिलो दिन झम्के साँझमा मठमा धूपबत्ती गरिन्छ। धोएर राखेको चोखो धोती फेरेर शुद्ध भई घिउ र जौ–तिलले आगोमा हवन गरिन्छ। यसरी हवन गर्दा वातावरण स्वच्छ हुने शास्त्रीय मान्यता छ। हवन गर्ने काम घरमा रहेका चोखोनिष्ठ हुने पुरुष सदस्यले मात्र गर्छन्।

यस दिन लुतो आदि रोगका कारण मारिएको कण्डारक राक्षसलाई पन्छाउन विशेष प्रकारले पूजा गरिन्छ। पूजा गर्दा तोरी र मासलाई दुनामा राख्ने प्रचलन छ। ती सबै सामग्रीको विशेष पूजा गरिसकेपछि पातीका सिठ्ठा बालिन्छ। तिनै सिठ्ठाले अगुल्टा बालिन्छ। ठीक यही बेला सुपो ठटाउँदै घरको मूलद्वारबाट मान्छेहरू निस्कन्छन्। यतिखेर शंख, घन्ट बजाउने, ढिँकी कुट्ने गरिन्छ।कहीँकतै ढोका बन्दसमेत गरिन्छ। त्यसपछि पूर्व, पश्चिम उत्तर र दक्षिण चारै दिशामा फलाक्दै अगुल्टा फाल्ने चलन छ: 

लुतो लैजा लुतो लैजा भीरकोटे उइइइइइइ......।  
लुतो लैजा लुतो लैजा नुवाकोटे उइइइइइ......।
(स्रोत : सन्तोष तिमिल्सिना, स्याङ्जा)

लुतो लैजा लुतो लैजा लेकाली गाँडा लुतो लैजा लुतो लैजा।  
लुतो लैजा लुतो लैजा पश्चिमेली गाँडा लुतो लैजा।  
अहँ अहँ होइ लुतोपुतो, खटिरापटिरा लैजा है ! राँके लैजा।  
(स्रोत: प्रदीप विश्वकर्मा, तामाकोसी )

वल्लो डाँडा पल्लो डाँडा घाउ–खटिरा आको लुतो लैजा।  
लो है गाउँघरमा कसैको लुतो खटिरा नआऊन् लुतो लैजा है लुतो लैजा।  
(स्रोतः टीकाराम पौडेल पर्वत)

यसरी एउटाले वरपरका अन्य गाउँठाउँलाई ‘लुतो लैजा’ भन्दै चारै दिशामा अगुल्टा फालिन्छ। यसरी लुतो फालिसकेपछि त्यस वर्ष घाउ, खटिरा, लुतो, पिलोले नसताउने लोकविश्वास छ। लुतो नफाल्ने वर्ष लुतो, पिलो आउँछ भन्ने विश्वास पनि पाइन्छ। पूजाका समयमा राखिएको तोरी र मास त्यही दुनामै उम्रिए घरका सम्पूर्ण सदस्यलाई राम्रो हुने लोकविश्वास छ।

लुतो फालेपछि घरका अन्य सदस्यले विभिन्न जडिबुटी जलाएको आगो ताप्छन्। जडिबुटीको आगो ताप्दा स्वस्थ भइने लोकविश्वास छ।  

परापूर्वकालदेखि नै बलियो परम्परा भएर पनि लुतो फाल्ने संस्कृति नयाँ पुस्ताले बेवास्ता गरिरहेका छन्। कतिपयलाई त लुतो फाल्दा चाहिने सर्जाम र वनस्पतिकै बारेमा पनि थाहा छैन। यसले हाम्रा कतिपय संस्कृति मात्रैहोइन, तिनको महत्वपनि हराउँदै जान्छ। कति पहाडी क्षेत्रका बासिन्दाले लुतो फाल्ने प्रचलनलाई हराउन नदिन अघिल्ला वर्षदेखि नुवाकोटको पञ्चकन्या र कास्कीको भरतपोखरीमा सामूहिक रूपमै लुतो फाल्ने परम्पराको थालनी भएको छ।  

लुतोसँग जोडिएको लोकउपचार पद्धति  
साँझमा अगुल्टा फालेर मनोरञ्जन लिने मात्र नभई यो लुतो फाल्ने पर्व लोकउपचार पद्धतिसँग गाँसिएको पनि छ। लुतो फाल्दा प्रयोग हुने वनस्पतिहरू विभिन्न रोगको निदानका लागि उपयोगी भएको आयुर्वेद विज्ञान पनि बताउँछ। पहिले लुतो आउँदा गाईको गहँुतले नुहाउने, तितेपातीको रस लगाउने, मकैको जँुगा डढाएर लगाउने गरिएको स्याङ्जा, गुडिखोलाकी ९६ वर्षीया नर्वदा शर्मा बताउँछिन्।

लुतो फाल्दा वनस्पति नै बटुल्नुलाई ती औषधि सम्झिरहने र जोगाइरहने एउटा विधि मान्न सकिन्छ। नेपाली समाजमा परापूर्व कालदेखि नै लोकउपचार पद्धतिको विकास भएको पाइन्छ। स्थानीय बासिन्दाले वनमा पाइने जडिबुटी र केही अन्नको समेत प्रयोग गरी गर्ने उपचारपद्धति नै लोकउपचार पद्धति हो। अहिले पनि यो हाम्रो घरगाउँमा ज्यादै प्रचलित छ।

तसर्थ, साउने संक्रान्ति रमझम, भेटघाटको पर्व त हो नै, यो वनस्पतिको पूजा गर्ने महान् पर्व पनि हो। हाम्रो संस्कृतिले पहिले प्रकृतिको पूजा गर्छ। तिनको संरक्षणमा ध्यान दिन्छ। प्रकृतिबिना जीवन असम्भव रहेको निष्कर्ष हाम्रो संस्कृतिमा पाइन्छ।  

साउनमा शिवले विश्राम गर्ने विश्वासका साथ देशभरका विभिन्न शिवालयमा प्रत्येक सोमबार व्रत बसी पूजा गरिन्छ। हाम्रो संस्कारले राक्षसी प्रवृत्ति छाडेर गुणी र ज्ञानी बन्नुपर्ने संस्कार दिएको छ। लुतो फाल्ने परम्परा पर्व मात्र नभई प्रकृति र वनस्पतिको पूजा हो। मृतसञ्जीवनीजस्ता जडिबुटी तिम्रै पाखा पखेरामा छन्, चिनिराख भनेर यो पर्वले हामीलाई खबरदारी गरिरहेको छ। जीव, प्रकृति र संस्कृतिको अन्तर्घुलन नै महान् नेपाली परम्परा हो। प्रकृति र संस्कृतिबाट अलग रहेर कोही कसैको जीवन नचल्नेतर्फ बेलैमा सचेत हुनुपर्छ। 

प्रकाशित: २७ असार २०७७ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App