भारतमा यस वर्ष निकै कडा गर्मी हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ । तर अमेरिका–इजरायल र इरानबिचको युद्धले भारतको करिब ६ अर्ब डलरबराबरको बोतलबन्द पानी उद्योगमा दबाब सिर्जना भएको छ । उत्पादकहरूलाई अत्यावश्यक कच्चा पदार्थ पाउन निकै कठिनाइ भइरहेको छ । गत महिना मात्र अग्रणी कम्पनी बिस्लेरीले आफ्नो मूल्य ११ प्रतिशतले बढाएको छ, जसका कारण एक लिटरका १२ बोतलको एक बाकस पानीको मूल्य २४ रुपैयाँले महँगो भएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार वैले र क्लियर प्रिमियम वाटरजस्ता अन्य ब्रान्डहरूले पनि मूल्य बढाएका छन् ।
‘डाटा फर इन्डिया’को अध्ययनअनुसार भारतका सहरी घरपरिवारमध्ये करिब १५ प्रतिशत र ग्रामीण घरपरिवारमध्ये ६ प्रतिशत घरपरिवार पिउने पानीका लागि बोतलबन्द पानीमा निर्भर छन् । विशेष गरी ग्रामीण क्षेत्रका सर्वसाधारणका लागि यस्तो पानी निकै महँगो पर्छ । स्वच्छ पानीको पहुँच अझै पनि भारतका कैयन् भागमा छैन र झन् गर्मीयाममा पानीको अभाव झन् खटकिन्छ । खानेपानी उद्योगसँग सम्बन्धित व्यक्तिका अनुसार यदि युद्ध लामो समय चल्यो भने कैयन् अत्यावश्यक वस्तु धेरै भारतीय सर्वसाधारणका लागि अत्यन्तै महँगो बन्न सक्छन् । विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास साधारणतया हर्मुज जलडमरु हुँदै प्रवाह हुन्छ । यो जलमार्ग अहिले इरान युद्धका कारण लगभग अवरुद्ध भएको छ । यसले अन्तर्राष्ट्रिय ढुवानीमा अवरोध सिर्जना गर्दै इन्धनको मूल्य तीव्र रूपमा बढाएको छ । घरेलु माग पूर्ति गर्न आयातमा निर्भर भारतले यसको प्रत्यक्ष असर महसुस गर्न थालिसकेको छ ।
महाराष्ट्र बोतलबन्द पानी उत्पादक संघका अध्यक्ष विजयसिंह दुब्बलका अनुसार बोतलबन्द पानी महँगो हुनुको मुख्य कारण कच्चा तेलको मूल्यवृद्धि हो । कच्चा तेलको मूल्य हालै प्रतिब्यारेल ११९ डलरसम्म पुगेको थियो, जुन अमेरिका–इजरायल र इरानबिचको युद्ध सुरु भएयताकै उच्चतम मूल्य हो । कच्चा तेलबाट पोलिइथिलिन टेरेफ्थालेट (पेट) नामक पदार्थ बनाइन्छ, जसलाई तताएर साँचोमा हालेर प्लास्टिकका बोतल बनाउन प्रयोग गरिन्छ ।
दुब्बलका अनुसार पेट प्रिफर्म (बोतल बनाउने आधारभूत अवयव) को मूल्य यसअघिको प्रतिकिलो एक सय १५ रुपैयाँ रहेकोमा अहिले बढेर करिब एक सय ८० रुपैयाँ पुगेको छ । साथै यसको आपूर्तिमा पनि कमी आएको छ । उनले बताएअनुसार महाराष्ट्रका करिब २० प्रतिशत बोतल उत्पादन उद्योग अस्थायी रूपमा बन्द भएका छन् । यद्यपि केही कम्पनीले मूल्य बढाएका छन्, धेरैले हालसम्म अतिरिक्त लागत आफैं बेहोरेर उपभोक्तालाई असर नपर्ने प्रयास गरेका छन् । त्यसैले एक लिटर पानीको बोतल (करिब २० रुपैयाँ) वा पाँच लिटरको ६० देखि ७० रुपैयाँको मूल्यमा खासै ठुलो परिवर्तन भएको छैन । तर दुब्बल भन्छन्, ‘लामो समयसम्म यस्तो खर्च धान्नु सम्भव छैन । अवस्था झन् बिग्रिए उपभोक्ताले सिधा असर भोग्नुपर्नेछ ।’ अप्रिल र मे भारतमा गर्मीको चरम समय भएकाले यस बेला पानी र पेय पदार्थको माग उच्च हुन्छ, जसले समस्या झन् बढाएको छ । चेम्को प्लास्टिक इन्डस्ट्रिजका निर्देशक वैभव सराओगीका अनुसार पेट प्रिफर्मको मूल्यवृद्धिले केवल पानी उद्योग मात्र होइन, सम्पूर्ण प्याकेजिङ उद्योगलाई असर पार्नेछ । भारतको पेट प्याकेजिङ बजार सन् २०२४ मा १.५ अर्ब डलरको थियो र २०३३ सम्म २.२ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । यो प्याकेजिङ सौन्दर्य, औषधि र खाद्य उद्योगमा पनि व्यापक रूपमा प्रयोग हुन्छ ।
यसैबिच काँचका बोतल उत्पादन गर्ने उद्योग पनि प्रभावित भएका छन् । ब्रियर्स एसोसियन अफ इन्डियाका अनुसार काँचका बोतलको मूल्य करिब २० प्रतिशतले बढेको छ र बियरको मूल्य १२–१५ प्रतिशतले बढाउन राज्यहरूसँग अनुरोध गरिएको छ । भिट्रम ग्लासका प्रमुख कार्यकारी अधिकृत विठोब सेटका अनुसार प्राकृतिक ग्यासको आपूर्तिमा उतारचढावका कारण काँच उत्पादन महँगो हुन पुगेको छ । काँच बनाउन ग्यासको प्रयोग गरिन्छ र उच्च तापक्रममा बालुवा, सोडा र अन्य पदार्थ पगालिन्छ ।
युद्ध सुरु भएपछि भारतले प्राकृतिक ग्यासको आपूर्तिमा कडाइ गर्दै घरेलु प्रयोगलाई प्राथमिकता दिएको छ । सेटका अनुसार ग्यास आपूर्ति २० प्रतिशतले घटेको छ, यसले उद्योग सञ्चालनमा कठिनाइ ल्याएको छ । भारत सरकारले ऊर्जा आपूर्ति स्थिर रहेको दाबी गरे पनि देशभरका केही होटल तथा रेस्टुरेन्ट ग्यास अभावका कारण बन्द भएका छन् । यस संकटले सेरामिक, मल र हवाई उद्योगमा समेत असर पारेको छ । सेट भन्छन्, ‘अवस्था गम्भीर छ । पानी, औषधिजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा सानो कमी आए पनि ठुलो असर पर्न सक्छ ।’
प्रकाशित: २० चैत्र २०८२ २१:१७ शुक्रबार





