६ आश्विन २०७७ मंगलबार
कला

उपाधि कति औपचारिक कति अनौपचारिक ?

यी पाँच प्रसंगले फरक अर्थ नराख्ने हो भने,
१) यदि नारायणगोपालको नामको अगाडि स्वरसम्राट नलेखिने हो भने उनका एक सय ३५ नेपाली र चारवटानेवारी गीतको इतिहास मेटिन्छ? वा, नेपाली जनताले नारायणगोपालको गीत नै कम सुन्ने हुन्?

२) लोकप्रिय कवि भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कति बिक्री भयो यकिन नहोला। त्यस संग्रहभित्रको‘हामी’,‘यो हल्लैहल्लाको देश’लगायत एकेक कविता कहाँ कसले उद्धृत ग-यो, वाचन ग-यो यकिन नहोला। के उनलाई कुनै पदवी वा उपाधिनदिँदा उनका कविताको मूल्यांकन कम हुने हो ?

३) भारत र नेपालमा दुवैतिर लोकप्रिय मानिने वा दुवैतिर राष्ट्रिय विधि, विधान र अलंकारले सम्मानित गायक मित्रसेन थापा मगरलाई नेपाली हुन् कि भारतीय नेपाली भनेर छुट्ट्याउनुपरेको छैन। तर,उनलाई लोकगायक, लोकसम्राट वा अन्य कुनै बिकाउ उपाधि दिँदा वा नदिँदा पनि उनका गीतका ख्यातिमा कुनै कमी आएको वा आउने होला ? दुवै देशमा निस्किने उनको हुलाक टिकटको बिक्री बन्द होला ?

४) नेपालको इतिहास लेख्न पहिलोपटक भारतबाट बोलाइएका ईश्वरप्रसाद सिंहलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले इतिहास शिरोमणि उपाधि दिएका थिए, तर नेपाली जनतामा इतिहास शिरोमणिको उच्चासनमा बाबुराम आचार्य नै स्थापित भएको सत्य हो।  

५) भारतबाट आएका प्रसिद्ध शास्त्रीय गायक ओमकारनाथ ठाकुरले नेपालका गायक उस्ताद बद्री जोशीको आवाज सुनेपछि ‘यिनलाई राष्ट्रले उचित सम्मान दिनुपर्छ’ भने। तर,यहाँ ‘उस्ताद बद्रीलाई ज्यान अनुसारको खाना खान दिनू’भन्ने मात्र बुझियो।उनलाई कुनै शास्त्रीय पदवी वा उपाधि नदिइए पनि उनको गायकी, उनको गायनको इतिहासमा कुनै तल–माथि भएको इतिहास पाइँदैन।

०००

मानपदवी, सम्मान, उपाधि वा अलंकार दिइँदा देशको स्वभाव, संस्कृति वा संविधानको पनि अस्तित्व गाँसिएको हुन्छ, तर त्यसले नैतिक रूपमा त्यसको बोझ स्विकार्छ कि स्विकार्दैन ?

साहित्य, संगीत र कलामा कुनै मान–सम्मान वापदवी दिइँदा त्यसअघि आएका र त्यसपछि आउन सक्ने सम्भावनावान् नामको अपेक्षाकृत अतीत र आगत हेर्ने कि नहेर्ने? यो प्रश्न सदैव विवादको प्रकोष्ठभित्र रह्यो, अझैविवादमै छन्।  

विवादले इतिहासलाई कहीँ–कतै लगेर सच्याउने काम होला, तर सच्याउनुभन्दा बंग्याइने खतरा पनि व्यापक रहन्छ।विवादकै कुरा गर्ने हो भने इतिहास एउटा पक्ष हो, इतिहासलाई बोकेर आउने तर्कका भरियाको जालझेल अर्को पक्ष हो।  

भानुभक्तआचार्यलाई आदिकवि भनिएको कति वर्षपछि समालोचक गुमानसिंह चाम्लिङले ‘के उनी साँच्चै आदिकवि नै हुन् ?’ भनी प्रश्न उठाउँदा उनलाई सार्वजनिक रूपमा हमला समेत गरियो।  

सन्दर्भतः चाम्लिङको भनाइ यति मात्र हो, भानुभक्त र उनका पूर्ववर्ती कविहरूको पनि मूल्यांकन हुनुपर्छ।  

कवि लक्ष्मीप्रसाद देवकोटालाई कवि शिरोमणिपदवी दिइँदा असामान्य विवाद हुने देखिएपछि देवकोटाले यो उपाधि मलाई भन्दा लेखनाथ पौड्यालज्यूलाई उचित हुन्छ भने। पछि लेखनाथ पौड्याललाई कवि शिरोमणि उपाधि दिइयो।  

देवकोटा महाकवि, लेखनाथ कविशिरोमणि भएपनि उनीहरू जत्तिकै माननीय र सम्माननीय अर्का स्रष्टा बालकृष्ण समलाई कुनै उपाधि कहिले कसैले दिएनन् तर लेख्ने, इतिहासको अध्ययन गर्नेहरूले बेलाबेला उनलाई ‘एसियन शेक्सपियर’ भन्ने गरेको पाइन्छ।  

इतिहासको गहिरो मूल्यांकन गर्ने हो भने नेपालमा पहिलेदेखि दिइने उपाधि,पदवीमा उल्टापुल्टा भएको देखिन्छ। अहिले झन् त्यसको बढ्दो विकृति देखिएको छ। तर यस्ता पद, उपाधि वा सम्मान दिइँदा त्यसलाई हेर्ने वा अध्ययन गर्ने कुनै निकाय वा नियोजन नभएको देखिन्छ।

गायक नारायणगोपाललाई २०४५ सालमा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादक शिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने, ‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पदवी दिइराखेको भाइ ?’  

जुद्धशमशेर श्री ३ महाराज भएको समय इतिहास लेख्न भारतको इलाहाबाद युनिभर्सिटीका प्रिन्सिपल ईश्वरप्रसाद सिंहलाई बोलाइएको थियो र उनलाई त्यही वेला इतिहास शिरोमणि पदवी दिइयो तर बाबुराम आचार्यको खोजखनिज र अनुसन्धानको व्यापकता बढेपछि बिना हिच्किचाहट उनलाई इतिहास शिरोमणि दिइएको त्रिभुवन विश्वविद्यालयकाप्रा. डा. त्रिरत्न मानन्धरले स्पष्ट गरेका छन्।  

नेपाली, हिन्दी र नेवारी भाषाकी प्रसिद्ध गायिका मेलवादेवी मानन्धर (गुरुङ) लाई भारतमा शास्त्रीय संगीतसम्बन्धी एउटा नाम चलेकोसंस्थाले ‘ठुमरीकी रानी’ पदवी दिएको इतिहास छ, तर नेपालमा उनलाई केही चाँदीको सिक्का र नेरु पाँच सयबाहेक केही दिएको इतिहास देखिँदैन।  

उनलाई र उनका पति भगतकृष्ण मानन्धरलाई सानो छाउनीमा बस्ने ठाउँसम्म दिइएको हो। नेपालमा उनलाई दरबारमा गाउने राजगायिकाको सम्मान समेत प्राप्त भएको इतिहास छैन, तर भारतमा उनले ठुमरीकी रानी पदवी जित्न सफल भइन्।

ठुमरी गायन नै हिन्दुस्तानी संगीतको उपज हो, यो शब्द नै हिन्दी शब्द ‘ठुमकना’बाट आएको हो, ठुमकनाको अर्थ ‘आकर्षक अदा’ भन्ने बुझिन्छ। शब्दशः हेर्ने हो भने गीतको भावमा शृंगारिकताभन्दा गीतको लय र मधुरतामा आकर्षक बन्धन हुन जरुरी छ भन्ने बुझिन्छ।  

उपशास्त्रीय विधामा लिइने ठुमरी गायनमा यति ठूलो इतिहास रच्ने उनी नै पहिलो र अन्तिम नेपाली गायिका हुनुपर्छ भन्ने संगीतका अध्यापक संगीता राना प्रधानको भनाइ छ।  

संगीत अन्वेषक पिटर म्यानुअलले आफ्नो पुस्तक ‘ठुमरी इन् हिस्टोरिकल एन्ड स्टाइलिस्टिकल प्रस्पेक्टिभ’मा लेखेका छन्,‘एउटा राम्रो ठुमरी आफैँमा अपुरो हुन्छ, यसलाई भाव सम्प्रेषणको माध्यमबाट अझै बृहत्तर र समृद्ध बनाइन्छ। फेरि त्यही समय हरेक लाइन पूरा छ, यदि भावात्मक संवेगलाई नियन्त्रणमा राखेर साधारण तरिकाले व्याख्या गर्न सके त्यो एक लाइन नै पर्याप्त छ।’

नेपाली संगीतको इतिहासमा मेलवादेवीपछि ठुमरी उस्ताद बद्रीले गाएका छन्। निरन्तरता हेर्ने हो भने केही कालपछि गुरुदेव कामत र संगीता राना प्रधानले मात्र गाएका छन्।  

भारतमै पनि ठुमरी गायनमा उस्ताद बडे गुलाम अली खाँलाई खुब मानिन्छ। भारतका सर्वोत्कृष्ट गायक मोहम्मद रफी, लता मंगेशकर, संगीतकार नौशादका गुरु मानिने गुलाम अली खाँलाई ‘बडे’ भन्ने बाहेक अरु कुनै ताज, टोपी लगाइएको छैन।  

नेपालमा यस्तो कुरामा धेरै हतार र धेरै छोटो समयमानिर्णय गरिन्छ।अफिसियल (सर्वाधिकार सम्पन्न संघ वा संस्था)नै नभईकन यो सर्वत्र जारी पनि हुन्छ र त्यतिकै सहज रूपमा यो अपमानित पनि भइदिन्छ।  

लोकसम्राट, पपसम्राट, देउडासम्राट, सूरसम्राट, धुनसम्राटयस्ता पद वा पदावली राजा वा सम्राट गएपछि धेरै हतार गरेर दिइन थालिएको छ।फेरि त्यही पद वा उपाधि वर्षदिनमा अर्कोलाई पनि दिइने गरेको घटना दोहोरिएको छ। यसले त्यो उपाधिको गुण र गरिमामा ह्रास ल्याएको सत्य हो।

गायक नारायणगोपाललाई २०४५मा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादकशिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने,‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पदवी दिइराखेको भाइ ?’

अस्पतालमा स्वास्थ्योपचार गराइरहेका गायक नारायणगोपालको यो आपत्ति आउँदाआउँदै पनि सम्बोधनमा यो उपाधिले अग्रता लिइसकेको थियो, यसलाई रोक्न सक्ने क्षमता तत्कालीन शाही सरकारमा पनि थिएन। उनी नेपालीजनसमाजमा स्वरसम्राट नै भए र रहे। उनको निधनपछि एक्कासि स्वरसम्राट भन्ने उपाधि जनलहरमा आँधीसरह फैलियो।

नेपाली आधुनिक संगीतमा र चलचित्रको पाश्र्वगायनमा अग्रस्थानमा रहेका गायक नारायणगोपाल गुरुवाचार्यलाई स्वरसम्राट भनिएपछि उनका समकालीन गायकका एकजना सालाले ‘छाया सम्राट’ भनेर व्यंग्य समेत गरे। नारायणगोपालको निधनपूर्व उनलाई ‘जाँड सम्राट’ भनेर लेख्ने एक पत्रिकाले मृत्युलगत्तै २०४७ मंसिरमा स्वरसम्राट श्रद्धाञ्जलि विशेषांक नै प्रकाशित ग¥यो। तर, नारायणगोपाललाई स्वरसम्राट भन्ने पहिलो व्यक्ति पत्रकार शिव अधिकारी र पहिलो पत्रिका देशान्तर अवश्य होइन, यसअघि पनि २०२९ माघमा गीतकार नगेन्द्र थापाले खुलेरै उनलाई ‘स्वरसम्राट’ भनेर घोषणा गरेका थिए।  

थापाले मुकुट (वर्ष ५, अंक १ ) मा ‘नेपाली संगीतको गहिरो दोभान’ शीर्षक लेखमा स्पष्ट रूपमै उनलाई स्वरसम्राट भनेर सम्बोधन गरेका थिए। यसअघि गीतकार नगेन्द्र थापाले २०२६ सालको ‘धूपी’ पत्रिकामा पनि उनलाई स्वरसम्राट भनेर नै सम्बोधन गरेका थिए।  

गीत गाउन थालेको ११ वर्षपछि स्वरसम्राटको उपाधिको हकदार मानिएका नारायणगोपाललाई उनको अन्तिम एकल गायन कार्यक्रम स्वर्णिम सन्ध्या (२०४४) मा उद्घोषक हरिहर शर्माले स्वरसम्राट भनेर मञ्चमा भनेका थिए।

नारायणगोपाललाई सार्वजनिक रूपमा यसरी भनिँदा पनि उनले यसप्रति अस्वीकार र असहजता जनाउँदै आएका थिए।उनको निधनपछि उनको नाममा ‘स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार’ समेतस्थापना गरिएको छ।

नारायणगोपाललाई स्वरसम्राट भनिएपछि यहाँ अन्यलाई पनि यस किसिमका उपाधिको लस्कर लागेको छ। गायनकाहिसाबले गायिका अरुणा लामाभन्दा तारादेवी अग्रज र शीर्षस्थ हुन्, संख्यात्मक हिसाबले पनि तारादेवीले अरुणा लामाभन्दा धेरै विधा र क्षेत्रमा गाएकी छिन्। तर, तारादेवीभन्दा छिटै अरुणा लामाको निधन भयो र उनलाई भावविह्वल जनसमाजले ‘स्वरसाम्राज्ञी’ भनेर बिदा गरे तर त्यही उपाधि पछि गायिका तारादेवीका निम्ति पुनप्र्रयोग गर्न मिलेन र उनलाई ‘स्वरकिन्नरी’ भन्न थालियो। दुवै गायिका त्यति नै आदरणीय छन्।इतिहासको मूल्यांकन गर्ने हो भने तारादेवी अरुणा लामाभन्दा सिनियर मात्र होइन,अरुणा लामाका गुरु अम्बर गुरुङभन्दा पनि अग्रज हुन्।  

नेपाली भाषामा कवि धर्मराज थापालाई ‘जनकविकेशरी’दिइएको केही सालमै नेपाल भाषाका अग्रज कवि चित्तधर हृदयलाई ‘कविकेशरी’दिइएको थियो। नेपाली र नेपालभाषामा कविता लेखेर ख्याति कमाएका कवि दुर्गालाल श्रेष्ठलाई जनसमाजबाटै ‘जनकवि’ भन्न थालियो।

संगीत जगत्का एक सिद्धपुरुष नरराज ढकाललाई उनको गायन र प्रस्तुति देखेर तत्कालीन शासकले पञ्चायतकालमै‘संगीतप्रवीण’भन्ने उपाधि दिए। स्मरणीयछ, गायक ढकालले संगीतप्रवीणको अध्ययनपछि मात्र पूरा गरे। नेपालमा शास्त्रीय संगीतको जग बसाल्ने र गुरु–शिष्य परम्पराको विरासत बचाउने संगीतसेवी नरराज ढकाल आधुनिक संगीतको मात्र होइन, नेपाली संगीतको स्तम्भ मानिन्छन्।  

आफ्नो नामको अगाडि हरेकपटक राष्ट्रकवि लेखिरहनुपर्ने कारणले भारतका एक आदरणीय कविले स–सम्मान आफ्नो नामको अगाडिको राष्ट्रकविको उपाधि फर्काएर यसो भने,‘मलाई हस्ताक्षर गर्दा आफ्नो नाम मात्र लेख्नमा गर्व छ, हरेकपटक राष्ट्रकवि लेखिरहन पर्दा मलाई गाह्रो भो।’

उनले राष्ट्रकवि फर्काए पनि उनका समकालीन मैथिली शरण गुप्त, रामधारी सिंह दिनकर,गोपालसिंह नेपाली त्यही उपाधिबाट अहिले पनि सम्मानित छन्।  

बेलायती परम्परामा दिइने यो राष्ट्रकवि उपाधिलाई ‘पोयट लरेट’ भनिन्छ, यो हरेक दशवर्षमा अर्को कविमा हस्तान्तरण हुने परम्परा छ,अंग्रेजी कवि डायनल थोमसपछि कैयन् कविले यो उपाधि पाएका छन्।‘डार्क पोयट’ भनेर चिनिने रोबर्ट फ्रस्ट पनि यसबाट सम्मानित भएका छन्।

बेलायतमै राजकीय रूपमा दिइने अर्को उपाधि ‘नाइट अफ् कमान्डर’ भारतका कवि रवीन्द्रनाथ ठाकुरलाई पनि दिइएको थियो। उनले पछि यो पदवीबेलायती सरकारको ‘जालियाँवाला वाग काण्ड’पछि फर्काएको भनिएको छ।  

सन् १९०१ देखि दिन सुरु गरिएको नोबेल पुरस्कार हेनरिक इब्सेन, एमिल जोला, मार्क ट्वेनले पाएनन् भने सन् १९२५ मा जर्ज बर्नाड शा, सन् १९५४ मा बोरिस पास्तरनाकले लिएनन्। सन् १९६४ मा यो पुरस्कार बहिष्कार गर्दै फ्रान्सेली भाषाका लेखक ज्याँ पाल सात्र्रले भने,‘मैले हमेसा  

अफिसियल पुरस्कार (सम्मान) लिन इन्कार गरेकोछु। सारा सम्मान जो लेखकलाई मिल्न सक्छ, त्यसले उनका पाठकमाथि दबाब पर्न जान्छ, जुन मलाई लाग्छ सही होइन। मैले ज्याँ पाल सात्र्र भनेर हस्ताक्षर गरुँ या ज्याँ पाल सात्र्र नोबेल पुरस्कार विजेता भनेर। यी दुवै एउटै होइनन्।  

नोबेल पुरस्कार नलिएपनि सात्र्रका कृति अझै सम्मानित छन्,चाहे ‘बिइङ एन्ड नथिङनेस’ होस् वा ‘नासिया’। सात्र्रका विचार अझै अमर छन्।  

पश्चिममा सुरु भएको यो परम्परा कति अन्यायपूर्ण छ भने पश्चिमका गेटेभन्दा अगाडि जन्मेकाउर्दूका कवि गालिबलाई पश्चिमाहरूले चर्चा गर्दा ‘पूर्वीय साहित्यका गेटे’ भन्ने गरेको पनि पाइन्छ।  

उपाधिले कहिलेकाहीँ गलत अर्थ पनि लाग्छ। उपाधि वा विभूषणले कहिलेकाहीँ स्पष्ट रूपमा अन्याय पनि भएको छ। नेपाली राजनीतिका एक अविस्मरणीय पात्र गणेशमान सिंहलाई पहिले ‘सर्वमान्य नेता’ भनियो। उनकै जीवनकालमा बिस्तारै उनलाई ‘लौहपुरुष’पनि भन्न थालियो। पछि उनलाई नेपाली कांग्रेसका कमान्डर भनेर बिदा गरियो।  

कविवर माधव घिमिरेलाई पहिले‘गाउँले कवि’, ‘हिमाली कवि’ भनेर खिज्याउन थाले,पछि उनलाई ‘राष्ट्रकवि’ भनिनुपर्छ भन्ने केही कवि लेखकलेमान्यता राखे।  

केही वर्षपछि यो प्रस्ताव तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापामार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहसमक्ष प्रस्तावित गरियो र उनलाई राष्ट्रकवि भनियो।  

प्रधानमन्त्री थापाले यो प्रस्ताव राजासमक्ष पु¥याउनुअघि कवि एवं गीतकार नगेन्द्र थापाले तत्कालीन मन्त्री कमल थापालाई प्रस्ताव गरेका थिए। यो प्रस्ताव दरबारमा पुग्नुअघि होटल ब्ल्यु स्टारमा विक्रमाब्द २०५९ मायस विषयमा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो।  

छलफलको शीर्षक नै राखिएको थियो, ‘माधव घिमिरे ः छन्द शिरोमणि कि राष्ट्रकवि ?’

केही राजनीतिक पार्टीका लेखक–कविले अझै पनि यो राष्ट्रकवि भन्ने उपाधिलाई विवादको चर्खामा ल्याउने गर्छन्। भर्खरै साहित्यकार खगेन्द्र संग्रौला र कवि केदार शर्माका बीच ठूलै बहस सम्पन्न भएको छ–माधव घिमिरेलाई राष्ट्रकवि मान्ने वा नमान्ने, भन्ने वा नभन्ने विषयमा।

यस्तै,अर्कोविवादले यसपालि काँचको पर्दा हुँदै छापा र सामाजिक सञ्जालमा भयावह रूप लिएको छ। विवादको विषय छ– चलचित्र नायकको ‘महानायक’उपाधि। टेलिभिजन प्रस्तोताले यसलाई विवादमा ल्याएको हो वा अझै यो महानायक उपाधिलाई पुष्टि गर्न वासमर्थनका निम्ति मार्ग प्रशस्ति खोजेको हो– पंक्तिकारले बुझ्न सकेको छैन।  

यो महानायक पद वा उपाधि महापण्डित,महाकवि,महामहिमजस्ता सम्बोधनबाट प्रभावित भएर आएको अवश्य हो, तर चलचित्र व्यवसायमा यसको प्रयोग अलि नयाँजस्तैदेखिन्छ। यही असहजताकाबीच लहर पैदा ग¥यो। यद्यपि फिल्मी संसारमा सुपरस्टार, मेगास्टार, मेलिनियम स्टार, जुबिली स्टारजस्ता अनेकन् स्टार अझै व्यापक छन्।  

राजनीतिज्ञ बिपी कोइरालालाई पत्रकार शिव अधिकारीले ‘महामानव’को अलंकारले विभूषित गरेर लेख लेख्दा नेपाली कांग्रेसका केही भद्रजनले समेतआपत्ति जनाएका थिए। बिपीलाई महामानव भन्ने हो भने बुद्ध वा गान्धीजस्ता व्यक्तिलाई के भन्ने प्रश्न २०३९ पछि नउठेको होइन।  

‘महा’ शब्दको उटपट्याङ प्रयोग धेरैतिर भएको पाइन्छ, महामूर्खदेखिलिएर महापण्डित भन्ने पदावलीसम्म।  

महानायक सन् १९६५ अघि इतिहासमा उल्लेख भएको उपाधि होइन।महाकविको इतिहास भने धेरै पुरानो हो, संस्कृतका महाकवि भनेर चिनिएका कालिदासको समयदेखि नै यसको चर्चा छ।  

विश्व चलचित्र इतिहास सुरु भएको करिब ७० वर्षपछि भारतको पुरानो फिल्म उद्योग टलीगन्जमा कार्यरत नायिका सुचित्रा सेनलाई पहिलोपटक सार्वजनिक रूपमा महानायिका उपाधि दिइएको हो।बंगाली फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री सुचित्रा सेनपछि हिन्दी फिल्म ‘देवदास’,‘बम्बईका बाबु’, ‘सरहद’, ‘आँधी’जस्ता सिनेमामापनि देखापरिन्। उनलाई बंगाली फिल्म उद्योगको मात्र महानायिका भनिएको हो कि हिन्दी फिल्म उद्योगको पनि ! योकतै पुष्टि छैन। पछि अफिसियल विकिपेडियामा बाहेक कतै उनको नामको अगाडि यो उपाधि जोडिएको देखिँदैन।  

भारतमा सुचित्रा सेनपछि यो महानायिका उपाधि कुनै अन्य कलाकारले पाएको देखिँदैन। महानायकको त्यान्द्रो भने कतैकतै जोडिएको देखिन्छ। सुचित्रा सेनका समकालीन दिलीपकुमार वा अग्रज अशोक कुमारलाई महानायक नभनिए पनि उनीसँगै आएका अर्का कलाकार उत्तम कुमारलाई भनिएको छ, जब उनले सत्यजित रे निर्देशित चलचित्र ‘नायक’मा अभिनय गरे।  

नेपालमा ‘महानायक’ उपाधिले सम्बोधन चलचित्र अभिनेता राजेश हमाललाई गर्न थालिएको र दिइएको सत्य हो। यसलाई उनले स्वीकारेको पनि सत्य होला, अविच्छिन्न रूपमा  चलचित्रमा पु¥याएको योगदानको कदर  गर्दै अहिले  यो उपाधि उनैको निम्ति कपिराइट हुनुपर्ने तर्क पनि अगाडि सारिएका छन्।

हमालको सज्जनता, भद्रता र अनुशासित जीवनशैलीका कारण धेरै चलचित्रकर्मी उनीबाट प्रभावित छन्, उनका सफल चलचित्रको सूची पनि लामो देखिन्छ। एक चलचित्रकर्मीका हैसियतले मैले स्वयं उनीसित तीन अपार सफल चलचित्र निर्देशन गरेको इतिहास छ।

राजेश हमालको नेपाली चलचित्रमा  आगमन  र चलचित्रमा  व्यावसायिकताको विकास पनि सँगसँगै भएको सत्य हो। अभिनयमा उनको ज्ञान, उचाइ  वा सार्थकता त्यसभित्र कति प्रतिशत  पर्ने हो वा नपर्ने, यो तपसिलको कुरा हो।

मान–पदवी, उपाधि स्रष्टा साधकलाई टिकाउने हो बिकाउने होइन। तर, विश्वका नामै बिर्सन नसकिने संगीतकर्मीहरु  बाख, बिथोबन वा मोजार्टको नामको अगाडि अहिलेसम्म कुनै उपाधि, उपनाम कतै जोडिएको देखिँँदैन। सायद उनीहरुको काम काफी भएर होला वा कामका कारण नाम मात्रै काफी भएर होला।    

केही दशकअघि नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला म्यानमार गएका थिए, त्यहाँका नेपालीभाषीको निमन्त्रणामा। आयोजनकर्मीले त्यहाँकी एक गायिकाको परिचय गराउँदै भने, ‘प्रधानमन्त्रीज्यू, यी नानी बर्माकी तारादेवी हुन्।’यस्तो परिचय सुनेर आफू स्तब्ध भएको कोइरालाले एक अन्तर्वार्तामा उल्लेख गरेका छन्।

यस प्रसंगमा विश्वविख्यात चित्रकार पाब्लो पिकासोकोएक अन्तर्वार्ता स्मरणीय छ। उनले भनेका छन्, ‘आमा भन्नुहुन्थ्यो– तँ फौजमा गइस् भने जर्नेल हुन्छस्। चर्चमा गएको भए पादरी हुन्थिस्। तर म चित्रकलामा आएँ। किनकि मलाई पाब्लो पिकासो बन्नु थियो।’

आज सारा संसारले पिकासोलाई यही नामले चिन्छ र शिर झुकाउँछ।

सायद राजेश हमाल स्वयंलाई पनि क्रुद्ध नायक, सदावहार नायक वा महानायक भनेर होइन, राजेश हमाल नै भनेर चिनिन मन होला। मलाई लाग्छ, यो परिचयले नै नेपाली चलचित्र उद्योगमा उनको नाम कहिल्यै मेटिन सक्दैन।

प्रकाशित: २७ असार २०७७ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App