१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

बुद्धिचाल महासंघमा चर्कियो विवाद, दुई स्थानमा भयो साधारण सभा

नेपाल बुद्धिचाल महासंघभित्रको आन्तरिक विवाद थप चर्किएको छ।

महासंघको साधारण सभा दुई फरक स्थानमा आयोजना भएपछि नेतृत्व तहको विवाद सतहमा आएको हो। अविश्वास प्रस्ताव दर्ता पक्षधर समूहले बहुमत सदस्यको आधारमा काठमाडौंमा छुट्टै साधारण सभा आयोजना गरेको जनाएको छ।

यसअघि महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। महासंघभित्र लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको बताइन्छ।

नेपालमा बुद्धिचाल खेलको आफ्नै कार्यालयसमेत व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको अवस्था रहेको छ। तीन वर्षअघि निर्वाचनसहितको साधारण सभा सम्पन्न भए पनि त्यसयता नियमित साधारण सभा हुन सकेको थिएन।

विगतमा राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता प्राप्त प्रतिनिधिभन्दा बढी व्यक्तिले ओलम्पियाडमा सहभागी हुन प्रयास गरेको विषयले समेत विवाद निम्त्याएको थियो। सोही कारण भिसा प्रक्रियामा समस्या उत्पन्न हुँदा धेरै चेसकर्मी निराश बनेका थिए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी छनोट र सहभागितासम्बन्धी स्पष्ट मापदण्ड नहुँदा सचिवालयमा रहेका केही व्यक्तिले मनोमानी गरेको आरोपसमेत लाग्दै आएको छ।

यस विषयमा असन्तुष्टि चुलिँदा विगतमा खेलाडी तहबाटै विरोध र विद्रोहसमेत भएको थियो।

प्रकाशित: ९ जेष्ठ २०८३ १६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App