३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘काजी’मा प्रेमसँगै असमानताको झल्को

सन्तानको चाहना, समाजको दबाब र प्रेमको त्याग बोकेको चलचित्र ‘काजी’

नेपाली समाजमा विवाहपछि सन्तानको अपेक्षा सामान्य मानिन्छ । पुस्ता हस्तान्तरणको आधार मानिने यो सोच अधिकांश परिवारमा पूरा पनि हुन्छ । तर जब वर्षौँसम्म दम्पतीले सन्तान प्राप्त गर्न सक्दैनन्, त्यही समाजले उनीहरूलाई असामान्य नजरले हेर्न थाल्छ । अझ गाउँघरमा कुरा काट्ने, दोष थोपर्ने र महिलामाथि प्रश्न उठाउने प्रवृत्ति अझै गहिरो छ । कतिपय अवस्थामा त श्रीमानले दोस्रो विवाह गर्ने घटनासमेत देखिन्छन् । यही संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो, काजी ।

निर्देशक लक्ष्मण रिजालले तयार पारेको यो चलचित्रले दाम्पत्य जीवन, प्रेम, विश्वास र सामाजिक दबाबको कथा निकै सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ । कथाको केन्द्रमा छन् काजीको भूमिकामा विपिन कार्की र कजिनीको भूमिकामा केकी अधिकारी ।

ग्रामीण परिवेशमा हुर्किएको काजी अनाथ पात्र हो, जसलाई काका–काकीले हुर्काएका हुन्छन् । गाउँ र परिवारप्रति अत्यन्त भावनात्मक काजी विवाहपछि आफ्नी पत्नी कजिनीसँग सुखी जीवन बिताइरहेको हुन्छ । उनीहरूबीच अथाह माया, विश्वास र आर्थिक अभाव पनि छैन । तर कथा त्यतिबेला मोडिन्छ, जब कजिनीकी बहिनीको भूमिकामा गरिमा शर्माको प्रवेश हुन्छ ।

गाउँलेका अनेक टिप्पणी र सन्तान नहुँदाको सामाजिक दबाबले कजिनीको मनमा शंकाको बिउ रोप्न थाल्छ । त्यसपछि जन्मिन्छ एउटा यस्तो झूट, जसले सामान्य दाम्पत्य जीवनलाई सहजै टुक्र्याउन सक्थ्यो । तर ‘काजी’को कथा त्यहीँ फरक बनेको छ । श्रीमतीले बोलेको झूट थाहा हुँदाहुँदै पनि काजीले सम्बन्ध जोगाउन आफ्नो गाउँसम्म छाड्ने निर्णय गर्छ ।

No description available.

चलचित्रले दम्पती जीवनका उतारचढाव मात्र होइन, छोराको चाहनामा तेस्रो छोरी जन्मिँदा परिवारभित्रै हुने विभेद र अवहेलनालाई समेत मार्मिक रूपमा देखाएको छ । समाजमा अझै जिउँदै रहेको लैंगिक विभेदलाई कथाले संवेदनशील ढंगले समेटेको छ ।

अभिनयको हिसाबले चलचित्र निकै बलियो देखिन्छ । विपिन कार्कीले गाउँले पात्रको स्वाभाविकपनलाई जीवन्त बनाएका छन् भने केकी अधिकारीले भावनात्मक द्वन्द्वमा रहेकी पत्नीको भूमिका उत्कृष्ट रूपमा निर्वाह गरेकी छन् । गरिमा शर्मासहित प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिँउवाला गौतम लगायतका कलाकारले पनि आफ्नो भूमिकामा न्याय गरेका छन् ।

यद्यपि चलचित्रका केही दृश्य अनावश्यक रूपमा लम्ब्याइएको महसुस हुन्छ । कतिपय दृश्यलाई अझ छोट्याउन सकिने ठाउँ देखिन्छ । साउन्ड डिजाइनमा पनि सुधारको आवश्यकता अनुभव हुन्छ । तर चलचित्रका गीत–संगीत भने निकै सशक्त छन् । कालीप्रसाद बास्कोटा को संगीतले कथालाई थप भावुक बनाएको छ ।

जेठ ८ गतेदेखि प्रदर्शनमा आएको काजी रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता नेहान रिजाल र विकाशराज जोशी हुन् । चिन्तन राजभण्डारी को छायांकन र विपीन मल्ल को सम्पादन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गरिरहेको छ ।

समग्रमा, ‘काजी’ले अतिरञ्जना बिना यथार्थपरक प्रेमकथा प्रस्तुत गरेको छ । सामाजिक दबाबबीच सम्बन्ध जोगाउन गरिने त्याग र विश्वासको कथा मन पराउने दर्शकका लागि यो चलचित्र उत्कृष्ट रोजाइ बन्न सक्छ ।

प्रकाशित: ९ जेष्ठ २०८३ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App