२४ असार २०८१ सोमबार
image/svg+xml
कला

जो क्वारेन्टिमै पुगेर नृत्य सिकाउँछन्

नेपालका चर्चित कोरियोग्राफर मध्येका एक केशव थापा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छन् । सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधिमा चासो राख्ने उनलाई क्वारेन्टिनमा बसिरहेकाहरुको कष्टकर दैनिकीसँग नजिक हुन मन लाग्यो । भारतलगायत स्वदेशकै जोखिमयुक्त जिल्लाहरुबाट आएर क्वारेन्टिनमा राखिएकाहरु भागेर घर पुगेको, क्वारेन्टिनमै आत्महत्या गरेकोलगायतका समाचारले केशवलाई क्वारेन्टिनसम्म डोर्‍यायो । नेपालका चर्चित कलाकारलाई आफ्नो इसारामा नचाउने उनी अहिले तिनै क्वारेन्टिनमा दिन बिताइरहेकाहरुका ‘गुरु’ बनेका छन् ।  

नेपालमा बन्दाबन्दी (लकडाउन) सुरु भएसँगै केशव कर्मथलो काठमाडौंबाट जन्मथलो सुर्खेत आइपुगे । कर्णालीका अधिकांस नागरिकहरु रोजगारीका लागि कालापहाड (भारत)मा हुन्छन् । लकडाउनसँगै उनीहरु आउन सुरु भयो । स्थानीय र प्रदेश सरकारको अव्यस्थित क्वारेन्टिन बाहिरबाट आउने नागरिकहरुका लागि सजाय भोग्ने ‘यातना गृह’ बने । क्वारेन्टिनमा १४ दिनसम्म बस्नेहरुमा मानसिक तथा शारीरिक समस्याहरु देखा पर्न थाले । केशवले तिनै क्वारेन्टिनमा बसेर मानसिक तथा शारीरिक समस्या भोगिरहेकाहरुका लागि जुम्बासँगै सकारात्मक सोच सम्बन्धी कक्षा सञ्चालन गर्न थाले ।

‘क्वारेन्टिनबाट भागेका, आत्महत्या गरेका, दिनदिनै आन्दोलन गरिरहेकालगायतका समाचार सुनेपछि आफूसँग भएको सीप प्रयोग गरौं भन्ने लाग्यो,’ केशवले सुनाए, ‘अहिले नियमित जुम्बा र सकारात्मक सोच सम्बन्धी कक्षा दिँदै आएका छौं ।’ बन्दाबन्दी सुरु भएयता उनी सुर्खेतसहित सल्यान जिल्लाका क्वारेन्टिनमा पुगेका छन् । कालापहाड र जोखिमयुक्त जिल्लाहरुबाट फर्किएकाहरुसँग उनीहरुका अनुभव सुनेका छन् । परदेसीएकाहरुको अनुभव केशवका लागि निकै पीडादायि छन् । ‘परिवार र सन्तानको पेट भर्न र एकसरो कपडा फेर्नका लागि घर छोडेर परदेसीएकाहरुलाई अहिले कोरोना ल्यायो भनेर आरोप लाग्ने गरेको छ,’ उनीहरुका अनुभव र पीडा सुनेका केशवले भने, ‘त्यसैले पनि क्वारेन्टिनमा रहेकाहरुमा मानसिक समस्याहरु बढ्दै गएको प्रष्टै हुन्छ ।’

कालापहाडेहरु आफ्नै ठाउँमा आएर पनि आफ्नो घरमा बस्न पाएका छैनन् । छिमेकी त परको कुरा सात जुनीको कसम आएका जीवनसाथी पनि कोरोनात्रासले नजिक हुँदैनन् । ‘बन्दाबन्दीको समयमा हप्तौं दुःख गरेर, भोकभोकै कालापहाडबाट घर फर्कनुको एउटै उद्देश्य आफ्नो घर, गाउँ र समाजसँगै दैनिकी विताउँला भन्ने हुन्छ, तर यहाँ आएपछि उहाँहरुले त्यो व्यवहार पाउनु हुँदैन,’ केशवले भने, ‘त्यसपछि उहाँहरुमा मानसिक समस्या देखापर्न थाल्दछ ।’

लकडाउन सुरु हुँदा अघिसम्म केशव बीबीसी स्टुडियोजको नेपाली डान्सिङ फ्रेन्चाइज ‘डान्सिङ स्टार’मा ब्यस्त थिए । हिमालयन टेलिभिजनबाट प्रसारण हुने यो फ्रेन्चाइजमा उनले चर्चित सेलिब्रेटीलाई कोरोग्राफ गरिरहेका थिए । नेपालका चर्चित नायक–नायिकालाई फिल्ममा कोरियाग्राफ गरिसकेका केशव सुर्खेत आउनुको एउटै उद्देश्य थियो, केही समय आराम गरेर घरमै बस्ने ।

क्वारेन्टिन र त्यहाँ बसिरहेकाहरुको अवस्था देखेपछि आरामले घरमै बसिरहन उनको मनले मानेन् । विहान पाँच बजेदेखि बेलुकासम्म उनी क्वारेन्टिनमा बसेका नागरिकहरुसँगै हुन्छन् । नृत्यसँगै प्रेरणादायि कक्षाहरु लिन्छन् । क्वारेन्टिनमा रहेकाहरुसँग गफिन्छन् । नायिका स्वस्तिमा खड्का, श्रृष्टी कार्की, पूर्व मिस नेपाल नीति शाह, अनुष्का श्रेष्ठ, महिमा सिंह, मलिना जोशी, नग्मा श्रेष्ठ, सुरक्षा खड्का, श्रृष्टी श्रेष्ठले उपलब्ध गराएका सामाग्रीहरु वितरण गर्छन् ।  

‘बन्दाबन्दीको समयमा सुर्खेतसहित सल्यानका क्वारेन्टिनमा रहेका करिव पाँच हजार जनसम्म नृत्य, जीवनोपयोगी कक्षाहरु पुर्‍याएका छौं, यो अभियान निरन्तर चलिरहेको छ,’ केशवले भने, ‘योसँगै काठमाडौंबाट नायिका र पूर्व र वर्तमान मिस नेपालबाट प्राप्त जुस, पि–फर्म, ब्लाङ्केट, बेडसिट, फलफुल लगायतका सामाग्रीहरु पनि वितरण गछौं ।’ केशवले क्वारेन्टिनमा रहेकाहरुलाई आत्मवल, हौसला र उत्प्रेरणाको आवश्यकता रहेको बताए । ‘क्वारेन्टिनमा रहनु भएकाहरुलाई मानवताको दूरी, आत्मीयताको दूरी र भावनात्मक दूरी चाहिएको छैन्,’ केशवले आफ्नो अनुभव सुनाउँदै भने, ‘उहाँहरुलाई सहयोग, आत्मवल, हौसला र उत्प्रेरणाको आवश्यकता छ ।’

क्वारेन्टिनमा बसेकाहरुका लागि दीर्घकालसम्मका लागि प्रभाव पार्नेखालका सकारात्मक सोचको विकास हुने कक्षाहरुको आवश्यकता पनि औल्याए । ‘क्वारेन्टिनमा रहेकाहरुलाई हामी सबैले हेर्ने दृष्ट्रिकोणनै गलत छ, हाम्रो नकारात्मक दृष्ट्रिकोणका कारण उहाँहरुमा नकारात्मक सोचको विकास भइरहेको पाइन्छ,’ उनले भने, ‘आफूले आफूलाई चिन्ने, सोच परिवर्तन गर्ने, जहिल्यै राम्रो सोच्ने विषयमा कक्षाहरु सञ्चालन गर्न आवश्यक छ ।’

केशवसहितको टीमले ‘सुर्खेत नाङ्गो खुट्टा’ नामक अभियान चलाएको छ । यो अभियानका सदस्यसँगै उनी विभिन्न स्थानीय तहका क्वारेन्टिनमा पुग्छन् । ‘अहिलेको अवस्थामा यसरी जोखिमयुक्त ठाउँमा पुग्नु चुनौति भएपनि हाम्रो सानो प्रयासले उहाँहरुको अनुहारमा देखिएको खुशी ठूलो लाग्छ,’ केशवले सुनाए, ‘जहिलेसम्म कोरोना न्युनिकरण हुँदैन्, त्यो बेलासम्म अहिलेको अभियानलाई निरन्तरता दिन्छौं ।’ सुर्खेत नाङ्गो खुट्टा अभियानले दुःखमा परेका बालबालिकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्छ । अहिले त्यो अभियानलाई उनीहरुले कोरोना संक्रमणसँग जोडेका छन् । केशवसँगै अभियानका अभियन्ता एवम् जुम्बा प्रशिक्षक प्रिया केसी, पारु केसी, व्युटिसियन एसोसिएसनका अध्यक्ष यशोदा केसी, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष कृति शाक्य गुभाजु पनि हरेक दिन क्वारेन्टिन पुग्छन् ।

एक पटक क्वारेन्टिनमा पुगेपछि त्यहाँ रहेकाहरुले पटक–पटक केशवको टीमलाई बोलाउँछन् । ‘आफूसँग भएको सीप र क्षमता अरुलाई बाँड्न पाउँदाको खुसीनै बेग्दै हुँदो रहेछ,’ केशवले भने, ‘यस्तो संकटको बेला क्वारेन्टिनमा कष्टकर जीवन विताइरहेका, निसारा भोगिरहेकाहरुलाई आत्मवल र हौसला दिन पाउँदा आफैलाई भाग्यमानी सम्झने गरेको छु ।’

केशवले २०१७ देखि मिस नेपालका उत्कृष्ट पाँच जनालाई कोरियोग्राफ गर्दै आइरहेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेशनल, मिस सुपर नेशनललगायतका सहभागीलाई चार वर्षदेखि कोरियोग्राफ गरिरहेका छन् । दिलिप रायमाझी, निखिल उप्रेती, रेखा थापा, निशा अधिकारीदेखि नयाँ पुस्ताका अनमोल केसी, स्वस्तिमा खड्का, पल शाह, आयुष्मान देशराज, आना शर्मालगायतलाई पनि केशवले कोरियोग्राफ गरेका छन् ।

प्रकाशित: ७ असार २०७७ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App