जानकी मन्दिर प्रशासनले यही मङ्सिर २१ गते आयोजना हुने राम जानकी विवाह महोत्सव अर्थात् विवाह पञ्चमीको वैवाहिक कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक गरिएको वैवाहिक कार्यक्रम अनुसार मङ्सिर १६ गते नगर दर्शन गराइने छ भने १७ गते फूलबारी लीला हुनेछ। त्यस्तै मङ्सिर १८ गते धनुष यज्ञ हुनेछ।
भारतको अयोध्याबाट आएको जन्तीको रङ्गभूमि मैदानमा भव्य स्वागत पछि धनुष यज्ञको आयोजना गरिने बताइएको छ।
मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार १९ गते राम मन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ भने २० गते मटकोरको आयोजना हुनेछ।
उनले २१ गते स्वयंवर तथा शुभ विवाह कार्यक्रम हुने भन्दै २२ गते राम कलेवा अर्थात् जन्तीलाई प्रसाद र कोसेलीसहित बिदाइ गरिने बताए।
साथै विवाह पञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्य योजनाबद्ध रुपमा सुरु भइसकेको पनि उनले बताए।
वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधि विधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको छ।
महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्य योजनाका आधारमा सयौँको सङ्ख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन्। वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने पाँच सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ।
प्रकाशित: १० मंसिर २०८१ १७:४४ सोमबार