१२ चैत्र २०७९ आइतबार
कला

लकडाउनले रोकिएन पुतलीको अध्ययन

लकडाउन डायरी

चितवनको रामपुरमा भेटिएको पुतली । तस्बिर: साजन केसी

पुतली अर्थात् प्रकृतिको सुन्दर सृजना । रंगीन पुतली देख्दा मनमा आनन्द छाउँछ । फुर्रफुर्र गर्दै फूलमा उडेका दृश्यले पीर भगाउँछ । जारी लकडाउनमा समेत पोखराका एक तन्नेरीले पुतलीको अध्ययन गरेर आत्मसन्तुष्टि कमाएका छन् ।  

विगत तीन वर्षदेखि पुतली र अन्य कीराको अध्ययन गर्दैै आएका लेकसाइड पोखराका साजन केसीले लकडाउनमै ४० नयाँ प्रजातिका पुतली अध्ययन गर्नुका साथै तिनका तस्वीर समेत खिच्न भ्याएका हुन् । 

पोखराका साजन केसीले लकडाउनमा पनि पुतलीको अध्ययन रोकेनन् । यही समयमा उनले पुतलीका ४० नयाँ प्रजाति फेला पारेर तस्वीर समेत खिच्न भ्याए ।  

भोर्लेटार, लमजुङको इशानेश्वर माविमा पढाउँदै आएका केसी लकडाउन सुरु हुँदा उतै थिए । त्यहाँ ग्रामीण जीवनशैली छ । गाउँमा मिदुङ र पिस्ति खोला बग्छन् जहाँ थरिथरिका पुतली डुल्छन् ।  

क्यामेरा बोकेर तिनै पुतलीको अध्ययन गरेर डेढ महिना बिताए उनले । पछि पोखरा फर्किए । अचेल पनि उनी घरआँगनका पुतलीको पढाइमै जुटेका छन् ।  

‘पुतलीको अध्ययन गर्दा आत्मसंतुष्टि मिल्छ’, केसी भन्छन्, ‘म भविष्यमा नेपालका पुतलीहरूको विषयमा ठूलो पुस्तक लेख्ने छु ।’  

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड हुन् पुतली । यिनको ठूलो महत्व छ । यिनको सौन्दर्यले मनको उपचार गर्छ । परागसेचनमा समेत पुतलीको ठूलो महत्व हुन्छ । अर्को कुरा, पुतली जैविक विविधताको अभिन्न अंग पनि हुन् ।  

नेपालमा ६६९ प्रजातिका पुतलीको अभिलेख राखिएको छ । तीमध्ये २ सय ८० प्रजातिको त केसीले नै अध्ययन गर्न भ्याइसके ।  

अध्येता साजन केसी

पुतली दुई किसिमका हुन्छन् । दिनमा उड्नेलाई दिनचर भनिन्छ भने रातमा उड्नेलाई निशाचार । उनी दुवै किसिमका पुतलीको अध्ययनमा डुब्न चाहन्छन् । पुतली संरक्षणको चेतना फैलाउन उनले ‘इन्सेक्ट वल्र्ड नेपाल’ नामक फेसबुक ग्रुप पनि बनाएका छन् ।

नेपालमा पुतलीको अध्ययन गर्ने अगुवा पुतली बाजे (कोलिन स्मिथ) हुन् । उनले पुतलीको अध्ययन गरेर किताब लेखेका छन् । पुतलीको खोजीमा जीवन बिताएका उनी बुढेसकालमा पोखरामा बसेर अध्ययनमा समर्पित छन् ।  

उनीपछि सुरेन्द्र परियार र साजन केसीहरू यस क्षेत्रमा सक्रिय छन् । पुतली विशेषज्ञ पिट भेन्डरले पनि नेपाल, भारत र भुटान घुमिरहन्छन् ।  

केसीको लगाव विचित्रको छ । कसैको आग्रहमा उनले यो काम गरेका होइनन्, आफ्नै मनले अह्राएकाले गर्दैछन् । उनले दुई किसिमका नयाँ प्रजाति फेला पारेर अभिलेखीकरण गराए । लकडाउनकै बेला अर्को एक नयाँ प्रजाति पनि भेट्टाएका छन् । उनी त्यसको गहिरो अध्ययन गर्दैछन् ।  

पुतलीबाहेकका कीरा पनि अध्ययन गर्छन् । उनले नेपालमा गाइने कीराका दुई प्रजाति फेला पारेका थिए । त्यस्तै पोखरा उपत्यकाको दिपाङ तालका कीराको समेत अध्ययन गरेका छन् ।  

उनी एक्लै पुतलीको अध्ययनमा निस्कन्छन् । नयाँनयाँ प्रजाति फेला पार्दा मुस्कुराउँछन् । पुतलीको जीवनचक्र संघर्षशील हुन्छ । ‘तिनको आनीबानी हेर्दा रमाइलो लाग्छ’, केसी भन्छन्, ‘पुतलीको अध्ययन गर्न समय, पैसा र धैर्य चाहिन्छ ।’  

जिउँदा पुतली वा कीरा संकलन गर्न काठमाडौंको वन विभागबाट अनुमति लिनुपर्छ । त्यसैले उनी फोटा मात्र खिच्छन् ।  

कुनै पुतली हप्ता दिन बाँच्छन्, कुनै महिना दिन, कुनै तीन महिना र कुनै ६ महिनासम्म । न्यानो खोज्दै युरोपदेखिका पुतली नेपालमा आउँदा रहेछन् ! त्यस्ता पुतलीको आयु भने लामो हुन्छ ।  

नेपालले पनि ‘बटरफ्लाई प्लानेटरियम’ बनाउनु पर्ने उनको सुझाव छ । पुतलीको बासस्थान संरक्षण गरेर रंगविरंगका पुतली राख्न सके पर्यटकीय आकर्षण बढ्न सक्ने उनको तर्क छ ।  

पुतली अध्ययन गर्दै उनी १० जिल्ला घुमिसके । नेपालका सबै ७७ जिल्ला घुम्ने उनको योजना छ ।  

उनी भर्खर २५ वर्षका भए । सानैदेखि कीराफट्याङ्ग्रा देख्दा उनको मनमा जिज्ञासा बढ्थ्यो । तिनका नाउँ जान्न खोज्थे । तिनताका इन्टरनेट सुविधा थिएन । त्यसैले जानकारी पाउन सजिलो थिएन । जब सुन्दरबजारको लमजुङ क्याम्पसमा विएस्सी एजी पढ्न थाले तब उनले धेरै ज्ञान पाए । किटविज्ञान पढ्दा तेस्रो सेमेष्टरमा उनीहरूले ५० वटा किरा बटुल्नुपथ्र्यो ।  

अध्ययनसँगै उनको रुचि बढ्दै गयो । वर्ष दिन मात्र भयो उनले इशानेश्वर माविमा कृषि विषय पढाउन थालेको । उनी विद्यार्थीलाई किरा, फलफूल र जैविक विविधताको महत्व बुझाउँछन् ।  

दुःखको कुरा, वन विनाश र औधोगीकरणले पुतलीको बासस्थान नासिँदैछन् । सर्वसाधारणमा चेतना बढाउनुपर्ने आवश्यकता छ । उनले पुतलीको अध्ययनसँगै जनचेतना फैलाउने काम गर्छन् ।  

उनको पुख्र्यौली थलो तनहुँ, राइपुरस्थित नाम्सीकोट गाउँ हो । दुई दशकदेखि परिवारसहित पोखरामा बस्दै आएका । उनी साहित्य सृजनामा समेत सक्रिय छन् । उनका दुई उपन्यास ‘फिटकिरी’ र ‘आफ्टर लभ’ प्रकाशित भैसके । लकडाउनमा उनले केही कथा पनि लेखेका छन् ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App