२४ असार २०८१ सोमबार
image/svg+xml
कला

मैयाँ सुवेदीका १४ मुक्तक

मैयाँ सुवेदी

ऐना अगाडि क्यामेरा, झुट हो भन्ने लाग्छ,  

देख्छु जताततै झुन्ड, गुट हो भन्ने लाग्छ ।

कति मिल्छ स्वतन्त्रता अरुको अधिनमा,  

विश्वास माथि खेलवाड, लुट हो भन्ने लाग्छ ।  

०००

लाग्दो हो  तिमीलाई खुसी छु यो मुहार देखेर,

लाग्दैन कहिल्यै लोभ टल्कने जुहार देखेर ।  

यो पल हारेको छ विज्ञान, लडेको छ युद्ध,

बिर्सन्छु हरेक पीडा दुनियाँको गुहार देखेर ।

०००

सम्हाल्न मन मुस्किल प¥यो हाल यस्तै छ,

आँखाभरि टिलपिल आँसुको ताल यस्तै छ ।  

जीवन भोगियो, देखियो, जानियो हजुर,

दुखेको त यही दिल थियो चाल यस्तै छ ।

०००

न देखाउ डर यहाँ डराउन्न रातबाट,

चिरिँदैन छाती अब घात अन्तरघातबाट ।  

जीवन जाओस् तर अब वचन जाने छैन,

पटकपटक मरेको छु आफन्तकै हातबाट ।  

०००

ंकतिन्जेल म तिम्रो दास भएर बाँचु,

भन यसरी ज्यूँदो लास भएर बाँचु ।  

जिउनुको मज्जा त्यतिबेला मात्रै हुन्छ,

जब म तिम्रो आफ्नै खास भएर बाँचुँ ।  

०००

अभाव छ र पो भोकसँग लडाइँ छ मेरो,  

अस्तित्व छ र पो चोकसँग लडाइँ छ मेरो ।  

नांगा पैतालाको के कुरा गरूँ सडकसँग,  

बाध्य छु र पो सबथोकसँग लडाइँ छ मेरो ।

०००

आधाआधा हुँदै होइन भरी भरी छ,  

चस्स दुख्ने शब्द प्रहार मन परी छ ।  

सहनलाई अलिकति क्षमता छैन अब,  

आँसुभन्दा अलि शितल यही झरी छ ।

०००

तिमी थियौ, म थिएँ पूर्णिमाको रात थियो,

त्यसै माथी तिम्रो मिठो तरङित बात थियो ।  

टोलाएछु ती अधरमा लोलाएछु कुरासँगै,  

चिसो थियो सिरेठोमा न्यानो तिम्रो हात थियो ।  

०००

मुठी भरी माटो बोकी आएको छु आज,

दैलो बाहिर सास रोकी आएको छु आज ।  

तिम्रो कसम मेरी आमा पछि हट्ने छैन,

सिमानामा ल्याप्चे ठोकी आएको छु आज ।  

०००

घामसँगै छायाँ चल्छ लुकामारी खेल्दै  

सम्झिएरै दिन ढल्छ लुकामारी खेल्दै ।

जति टाढा उति बढ्छ मनभरी माया,

कल्पनाले जीवन चल्छ लुकामारी खेल्दै ।  

०००

मेरो सपनिमा मेरै लागि सपना बनेर आयौ,

मनभरिका उकुसमुकुस रचना बनेर आयौ ।  

संजोगथ्यो सायद जुरायो दैबले हामीलाई,

आउन त आयौ तर तिमी हर्जना बनेर आयौ ।  

०००

वचन रोप्ने झिरसँग, के गुनासो गरुँ अब,

दुःख, पीडा पिरसँग, के गुनासो गरुँ अब !  

कहिले मरेर बाँचे, अहिले बाँचेर मर्दैछु,

भैगो यो तक्दिरसँग, के गुनासो गरुँ अब !  

०००

सम्झना आज फेरि, टुटेर रुन बाध्य भएँ,  

समयले भाग्य मेरो, लुटेर रुन बाध्य भएँ ।  

राम्रो सोच्थे सबैलाई, नियतिले केके ग¥यो,  

सपना सबै सिसासरी, फुटेर रुन बाध्य भएँ ।  

०००

दुःख पीडा सुनाउँदा, कठैबरा भन्ने हुन् कि,  

हात थापी दया माग्दा, कर्महारा भन्ने हुन् कि !  

मनै रै छ सबै कुरा, राम्रो सोच सधैं भरी,

जिउनै गाह्रो, मर्छु भन्दा हुतिहारा भन्ने हुन् कि !  

प्रकाशित: ३१ जेष्ठ २०७७ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App