५ वैशाख २०८१ बुधबार
कला

मनोवाद : ‘क्वारेन्टाइन’मा मन

स्केच

क्वारेन्टाइन समयसँग वाचाल छ मन । दृश्यदृश्यमा बाँडिएको घर वरिपरिको परिवेशसँग बोलिरहन्छ, मन आजभोलि । सुकिलो न सुकिलो भएर फिँजारिएको नीलो आकाश खुरखुर्ती झर्छ र बोलिदिन्छ, ‘के तिमी मसँग बोल्दिनौ ?’

म आकाशसँग संवाद गर्न चाहन्छु कि आकाश मसँग ? दुवै हुन सक्छ ! आँखाभरि पोतेर कहिल्यै नसकिएको आकाशको नीलिमा एकाएक सरिदिन्छ मेरो अंगअंगमा, अनि आकाशसँगै फैलिँदै जान्छ मन, दूर देशमा रहेको सन्तान र आफन्त भेट्न । एउटै आकाश, उही आकाश, मलाई उसैगरी झारिदिन्छ जून र घामको न्यानो । घामसँग मन आफैँ बाँडिन्छ कताकता ।  

घरको छतमा निस्केर आकाश नियाल्दै गर्दा उडिरहेका चराहरूमा ठोकिन्छन् आँखाहरू । चराहरू स्वतन्त्र छन्, यिनीहरूलाई लकडाउन छैन । मन आफैँसँग संवाद गर्छ ।  

खै के चिर्बिराउँछन् चराहरू आजभोलि ? मान्छेको बन्दी जीवनको विवशता या आफ्नै जीवनको गीत ? घरीघरी तिनका आवाजमा पनि सुनिदिन्छ यो मनले पैदलयात्री हुँदै गन्तव्यमा पुग्दै गरेका हाम्रा भुइँमान्छेको रित्तो पेट र थकानका सुस्केराहरू ! कोरोनासँग जुझ्दै गरेका डाक्टर र नर्सका थकानहरू ! कोइलीको गीतले साँच्चै प्रेमलाई डाकेको छ कि प्रेमीसँगको वियोगको वेदना खोलेको छ ? मन उसैसँग टोलाइरहन्छ र सोध्छ कतिन्जेल थुनिन्छ हँ यो संसार यसरी ? के कोरोनासँग अभ्यस्त हुँदै बाँच्ने विकल्प निर्माण गर्न सक्दैनौँ हामी ?

०००

यतिखेर कसैको प्रश्नलाई आफैँतिर फर्काएर सोधिरहेछु, कसरी बितिरहेछन् दिनहरू ? के हो मेरो लकडाउन दैनिकी ? के फरक छु म पहिलेभन्दा ? सबै उस्तै छ फेरि पनि केही फरक ! के म आफैँलाई उत्तर दिन सक्छु ? आफ्नो मनले के मानिरहेछ यस बेला यो समयसँग ? कहाँ छु म ? मेरो स्वतन्त्रता के हो ? कहाँ जान चाहन्छ मेरो मन ?

बिहानको घामभन्दा छिटो उदाउँछ मन र गर्छ आफैँसँग संवाद । हरेक दिन बिहानै, सुन्दासुन्दै चरीका चिरिबिरी अभ्यस्त बनेको छ यो मन, दिनका लयहरूमा क्रमशः क्रियाशील हुन सिकेको छ । के गरूँ आज दिनभरि ? यो मनलाई यस्तो प्रश्न आवश्यक छैन । किनकि आफ्नै लयमा कर्मशील भइसक्छ । मानौँ, कुनै प्रश्नपूर्वको उत्तर हो, ऊ आफूलाई अनुशासनको दीर्घ पहरेदारीमा उभ्याइरहेको सिपाहीजस्तो ! सायद छोरी (मान्छे ?) हुनुको पहिलो परिचय समयले र समाजले उसलाई यसैगरी गराएथ्यो– नकुरेर कुनै आवाजको आदेश, देखिएका काममा अनुवाद हुनु जतिबेला पनि !

हो ‘छोरी–मन’लाई फुर्सदमा टोलाएर बस्ने कुनै अनुमति थिएन । उसले सधैँ परिणत हुनुपथ्र्यो परिआएका हरेक काममा ! जस्तासुकै अभाव, अप्ठेरा र असुरक्षाबाट आहत भए पनि अभ्यस्त हुनुपथ्र्यो सहज दैनिकीमा ।

०००

पहिले टेलिभिजनमा हतपत नटाँसिने आँखाहरू शून्यतामा टोलाइरहन्छन्, उही उदास खबर लिन । किन आतुर हुन्छ मन ! कहाँ–कहाँ के के हुँदैछ ? किन टाँसिन मान्दैन पहिले जसरी किताब र कापीमा यो मन ? किन बगिरहन्छ सामाजिक सञ्जालका साझा गरिएका न्युजपोर्टल र  तस्बिरहरूमा ? किन वल्र्डोमिटरको जाँच गरिरहेछ घरीघरी मनले ? मन क्वारेन्टाइन बनेकै छैन ! के यी सबै सीमाहरू नाघेर मन मृत्यु कुरिरहेछ ? यो विवश विश्वसँगै घरीघरी जोडिरहेछ मन । फेरि पनि ऊ एक्लो छ । चुपचाप बन्दी छ, आफ्नै मौन संवादमा !  

किन अमेरिकाले आरोप लगाउँछ वुहानलाई ? कसले बनाएर फैलाउन सक्ला यो भाइरस ? के हामी सबै दोषी होइनौँ यो परिस्थिति आउनुमा ?  

०००

गृहस्थ हुनुसँगै थामिएको गृहिणीको अभिभारा कहिल्यै बोझ लागेन यो मनलाई । सहजै स्वीकार ग¥यो भान्साको संगीत र नाचिरह्यो कोठाकोठामा पर्खिरहेका अन्त्यहीन कामहरूमा ! आज सके फेरि भोलि, अहिले सके फेरि एकछिनमा... ! कुनाकाप्चामा अड्किरहेको धुलो, कसिंगर र फोहोर हटाउन शरीरलाई आदेश दिने यही मन हो ? भर्दै अनि रित्याउँदै भान्साका भाँडाका नियमिततालाई यो मनले उडाइरह्यो दशकौँ दशकको समय ! दिनहुँ धाराको पानीसँगै जीवनको जुठो समय माझ्दै बगिरह्यो यो मन ! भोक, भान्सा र सेवामा डुब्न मात्र होइन, उसले समय चेतनाको नयाँ बाटो पनि खोजिरह्यो सधैँ र बनायो आफ्नै खोजसँगको प्रिय संवाद ! सुरु भएपछि आफैँसँगको परिचयको संवाद, ऊ कहिल्यै सीमित भएन सामाजिक हीनताका संकुुचित कोठाहरूमा । उसले खोजिरह्यो चेतना र पहिचानको मुक्त उडान । हो उसले सधैँ एउटा परिचय खोजिरह्यो र बनाइरह्यो आफैँसँग आफ्नो परिचय– स्वतन्त्र अस्तित्वको !

०००

संवाद आफैँसँगको या समयसँगको केही भन्न सक्दिनँ । सबैसँग संवादमा छु, तर लागिरहेछ मौन छु युगौँदेखि । फेरि लागिरहेछ, मौनताको परिभाषा फेरिएको छ, यो क्वारेन्टाइन समयदेखि । एकान्तबास आफैँसँगको संवादमय समय हो र हो आफैँसँगको प्रश्नोत्तरपूर्ण जीवन । आफैँसँग गुनगुनाइरहने यो मन आज पनि उस्तै छ, जस्तो हिजो थियो । समय भौतिक दूरीमा बाँधिनुपूर्व पनि यसैगरी गुनगुनाउँथ्यो मन र योजनाबद्ध हुन्थ्यो कर्महरूमा ! आदेश दिन्थ्यो आफ्नो भौतिक स्वरूपलाई र हिँडाउँथ्यो आवश्यक स्थलहरूमा । बाँधिएपछि समय वैयक्तिक दूरीहरूमा मन त उस्तै छ, समभावमा तर आदेश दिन सकिरहेको छैन पूर्ववत् । अनि ऊ थुनिएको छ, घरको परिवेशमा शरीरसँग तर ऊ हावा जतिकै वाचाल छ, अनि यो वसन्तको फूल जत्तिकै मगमग छ आफ्नै अन्तरंग समयसँग ।

नीलो आकाश उसैगरी लिएर आउँछ घाम र जून । किरणसँगै डुलिबस्छ घाम कार्यशील जिन्दगीमा ! मनलाई घाम र किरण सधैँ प्रिय भए । ‘पोले पनि घामै जाति, पिटे पनि आमै जाति’ सायद यो उखान आमा मनलाई गहिरो गरी थुमथुम्याइदिन्छ । तर अझबढी पुलकित हुन्छ मन एकान्तको जून देखेर ! सायद त्यही जून भएर भेटिरहन्छ उसले उसका हरेक प्रियतालाई र हृदयको संवादलाई ! सधैँ प्रिय लाग्छ, उसलाई जून जसले कहिल्यै फेरेन आफ्नो पहिचानको लय र हार्दिकताको भाका । उही मन जसरी भरेर दागमय पीडा मनभरि झलमलाइदिन्छ ऊ प्रियहरूका लागि । चकोरको संवादमा एकाकार हुन उदाउँछ जून । पे्रमिल भावलाई प्राथमिकतामा राखिदिन्छ र समर्पित हुन्छ समयसँग ।

०००

हो, हिजोआज, मिचीमिची धोएर साबुनपानीले सुकाइदिन्छ यही मनले चन्द्रागिरिको टँगालोमा यो समयको प्रिय क्षितिजलाई । बढ्दै गएपछि भौतिक दूरीहरू मानिससँग सायद सबै मानिसका हार्दिकता त्यही क्षितिजमा एकाकार भएका छन् र कोर्दै गएका छन्, समभावको समानान्तर रेखा । त्यही बलियो रेखा समातेर पटकपटक मित्रहरूको हृदयमा पुग्छ ऊ अनि झर्दैझर्दै वनहरूमा हरियो न हरियो पारिदिन्छ समय ! वनको हरियाली आइपुगेको छ, बगैँचासम्म र हम्किरहेछ शीलत पवन उसकै मृदुमुस्कानमा !  

हराउँदै गएका अप्रिय आवाजलाई यो मनले अब प्रियतामा अनुवाद गर्न सिकेको छ । सिकेको छ, तिनलाई एकान्तको मधुर गीत बनाएर पुनःपुनः सुन्न र अथ्र्याउन । कोसौँ दूरीका सम्बन्धलाई बगैँचाका झारपात उखेले जसरी सही र गलत केलाइबस्न प्रयत्नशील छ ऊ । आफैँसँगको मौन संवाद सायद उसको दैनिकी हो ।  

 

प्रकाशित: ३ जेष्ठ २०७७ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App