१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

साहित्यकार तथा सामाजिक अभियन्ता रेग्मीकाे नाउँमा ‘तुलसी-मनप्रतिष्ठान’ भवन उद्घाटन

साहित्य लेखन, पत्रकारिता, राजनीति र सामाजिक सेवामा समर्पित तुलसीप्रसाद रेग्मी र उनकी धर्मपत्नी मनकुमारी रेग्मीको नाउँमा तुलसी-मन प्रतिष्ठान भवनकाे उद्घाटन भएकाे छ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वार्ड नं.४ स्थित मार्सेको बतासेमा तुलसी- मन प्रतिष्ठान भवनको एक भव्य समारोह बिच उद्घाटन भएकाे छ।

प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस खोटाङका जिल्ला सभापति तथा वरिष्ठ साहित्यकार विष्णुकुमार राई (विष्णु आभूषण) को प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा प्रमुख अतिथि राईले दियोमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

विशिष्ट अतिथिद्वय दिप्रुङ चुइचुम्मा गाउँपालिका वार्ड नं.४ का वडाध्यक्ष बबिन्द्र राई र विशिष्ट अतिथि कौशिक गोत्री रेग्मी समाज उपत्यका शाखाका सभापति भोजराज रेग्मीले व्यानर खोल्दै व्यानर पढेर उद्घाटन गरेका थिए।

त्यसै गरी तुलसी-मन प्रतिष्ठान कार्यालय भवनको व्यानरको डोरी तानेर कार्यक्रमका विशिष्ट अतिथिद्वय पूर्व जिल्ला न्यायाधीश खिलनाथ रेग्मी र समाजसेवी तथा राजनीतिकर्मी दिलिप राईले संयुक्त रूपमा गरेका थिए।

तुलसी- मन प्रतिष्ठानका उपाध्यक्ष मानदेवी बस्नेतले अतिथिहरूलाई खादा र माला पहिर्याई स्वागत गरेकी थिइन्। सो कार्यक्रममा प्रतिष्ठानका सदस्य रमेशप्रसाद रेग्मीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुमा तुलसी-मन प्रतिष्ठानका संरक्षक तुलसीप्रसाद रेग्मीको २०८१ साल फागुन २७ गते अवसान भएको हुँदा उनको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

यसपछि शुभकामना मन्तव्यको क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले पठाएको शुभकामना सन्देश प्रतिष्ठानका सदस्य महेशप्रसाद रेग्मीले वाचन गरेका थिए।

सन्देशमा लेखिएकाे थियाे, तुलसीप्रसाद रेग्मीको निधनले खोटाङ जिल्ला मात्र नभएर सिङ्गो देशलाई नै अपुरणीय क्षति पुगेको छ। उहाँ प्रजातन्त्रका अथक योद्धा, साहित्यकार र सामाजिक अभियन्ता हुनुहुन्थ्यो। उहाँका विचार र योगदानको कदर गर्दै भावी दिनमा उहाँका अधुरा कामहरू पूरा गर्न प्रतिष्ठान सफल होस् भन्दै शुभकामना!

समारोहका विशिष्ट अतिथि तथा वडाध्यक्षहरू बबिन्द्र राई, भुपेन्द्र बस्नेत, डम्बर खड्का, केशव पौडेल, खिलनाथ रेग्मी, दिलिप राई, भोजराज रेग्मी, नइन्द्र राई, नारायणप्रसाद रेग्मी, चर्चबहादुर विश्वकर्मा लगायतले यस प्रतिष्ठानले आउँदाे दिनमा खोटाङको कला, साहित्य, संस्कृति, शिक्षा जस्ता समाजका हरक्षेत्रको विकास र यस समाजको प्रगतिमा सक्रियतापूर्वक लाग्न सकोस् भन्ने शुभकामना प्रदान गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक तुलसीप्रसाद रेग्मीको जीवनगाथा र योगदानमाथि विशद् परिचर्चा गरिएकाे थियाे।

प्रमुख अतिथि विष्णुकुमार राईले शुभकामना मन्तव्य दिँदै यस्ता गाउँठाउँमा भेदभावरहीत सहअस्तित्वमा आधारित मानवतावादी एवं पूर्ण लोकतान्त्रिक संस्कृतियुक्त समाज निर्माणप्रतिको प्रतिबद्धतालाई यो प्रतिष्ठानको स्थापनाले थप बल मिलेको कुरा बताउँदै यसप्रति खुशी व्यक्त गरेका थिए।

हामीले यो प्रतिष्ठानलाई जोगाएर होस्टेमा हैसे गर्दै अगाडि बढाउन आफू लगायत यस क्षेत्रका सम्बद्ध निकायहरूलाई पनि ध्यानाकृष्ट गराए।

कार्यक्रमका सभाका सभापति नगेन्द्रराज रेग्मीले प्रतिष्ठान स्थापनाको औचित्य पुष्टि गर्दै भने, पूर्वी नेपालको खोटाङ जिल्लालाई कार्य क्षेत्र बनाई साहित्य लेखन, पत्रकारिता, राजनीति तथा सामाजिक सेवाका माध्यमबाट नेपाली जनता र नेपाल राष्ट्रको सेवामाआफ्नो जीवन समर्पित गरेका तुलसीप्रसाद रेग्मी र उहाँकी धर्मपत्नी मनकुमारी रेग्मीको मनवतावादी विचार र सेवाकार्यका साथै जीवन मूल्यलाई जीवन्त राख्ने परिकल्पनाका साथ तुलसीमन प्रतिष्ठान नामक संस्था गठन गरिएको हो।

यो प्रतिष्ठानले यस क्षेत्रलाई विभिन्न माध्यमबाट योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेर उनीहरूलाई कदर गर्ने प्रतिबद्धता पनि उनले सो अवसरमा बताए।

छोटो समयमा यो बिरानाे बस्तीमा अनेक कष्ट बेहाेर्दै काठमाडौंदेखि आएका सम्पूर्ण रेग्मी वन्धुवान्धव, स्थानीय व्यक्तित्व, समाजसेवी, राजनीतिक व्यक्तित्व, भद्रभलादमी सबैप्रति आभार व्यक्त गर्दै उनले सभा समापन गरेका थिए।

तुलसीमन प्रतिष्ठानका सदस्य कृष्णबहादुर श्रेष्ठले व्यवस्थापनमा भएकाे कार्यक्रमकाे सञ्चालन सदस्य रमेशप्रसाद रेग्मीले गरेका थिए।

प्रकाशित: ८ वैशाख २०८२ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App