७ वैशाख २०८१ शुक्रबार
कला

‘कवितामा ट्विस्ट चाहिन्छ’

मेरो हजुर
मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु
हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन्

माथिका अंश समेटिएको धादिङका कवि हेम प्रभासद्वारा लिखित कविता ‘परदेश गएका पतिको नाममा’ ले ‘राष्ट्रिय कविता महोत्सव– २०७६’मा प्रथम पुरस्कार जितेको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा गत सोमबार आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७६’ मा उनको कविताले उत्कृष्ट हुँदै स्वर्णपदकसहित ३० हजार रुपैयाँ पुरस्कार जितेको हो। महोत्सवमा डोटीका कवि सुभाषचन्द्र भण्डारीको कविता ‘किनारामा अलिखित संवेगहरू’ दोस्रो हुँदै कास्यपदक र २५ हजार रुपैयाँ तथा लमजुङका प्रज्जवल अधिकारीको कविता ‘पाठशाला’, सोलुखुम्बुकी शान्ति शर्माको ‘उज्यालोको गीत’ र काठमाडौंका प्रकाश बस्नेत ‘गफाडी’को ‘इन्द्रधनुष’ले तेस्रो हुँदै रजतपदकसहित जनही २० हजार रुपैयाँ प्राप्त गरेको छ।

हाल राजधानीको विशालनगर बस्दै आएका हेमले २०५६ बाट साहित्य लेखनको सुरुवात गरेका हुन्। उनले २०६१ सालमा गजलसंग्रह ‘ओइलिएका कुसुमहरू’, २०६६ सालमा कवितासंग्रह ‘पहाड बोकेर पहाडतिर’, २०६७ मा कवितासंग्रह ‘सहर कसैको मान्छे’, २०७० मा कवितासंग्रह ‘गीतैगीतको गाउँ’ र २०७४ मा उपन्यास ‘उल्झन’ पाठकमाझ ल्याइसकेका छन्। पुरस्कार विजेता उनै हेमसँग गरिएको कुराकानीको सारसंक्षेपः–

आफ्नो कविता उत्कृष्ट हुँदा कस्तो अनुभव भइरहेको छ ?
खासै त्यस्तो केही लागेको भन्ने छैन्। किनभने यो आफैंमा एउटा प्रतियोगिता थियो। जोकोही प्रतियोगीलाई पनि आफ्नो कविता उत्कृष्ट होस् भन्ने त लाग्छ नै। तर पनि नतिजा आइसकेपछि केही खुशी चाहिँ मनमा छ।

यो कविता लेख्नुमा त्यस्तो केही संयोग छ ?
संयोग भन्दा पनि मेरो कविता एउटा वास्तविकता नै हो। बहुसंख्यक युवाहरू कामको खोजीमा विदेश गइरहेका छन्। राजनीतिक घटनाक्रमले औद्योगिकदेखि हरेक क्षेत्रमा परेको असरका कारण धेरै युवा रोजगारी नपाएर विदेशिएका छन्। खासगरी विवाहित युवाहरू विदेशिएपछि उनीहरूका श्रीमति बिग्रिए, श्रीमतिको व्यवहारले सामाजिक मर्यादामा खलल पुग्यो भन्ने सामाजिक सोच छ। त्यसकारण मैले कवितामा विदेशिएका आफ्ना श्रीमानमार्फत अन्य जनशक्तिलाई पनि स्वदेश फर्काउन एउटा श्रीमतिले गरेको अपिललाई विषय बनाएको हुँ। मलाई लाग्छ, अहिले पनि नेपालका ग्रामीण भेगमा एउटा श्रीमतिले यस्तै समस्या व्यहोर्दै आएकी छन्।

समाजको विषयलाई कवितामा चित्रण गर्नु कत्तिको चुनौतीपूर्ण हुन्छ ?
यो आफैंमा चुनौतीपूर्ण कुरा हो। प्राकृतिक रूपमा म पुरुष हुँ। तर कवितामा एउटी महिलाको लागि आफू महिला भएर कविता सिर्जना गरेको छु। यो झन् चुनौतीपूर्ण काम हो। एउटा महिला सहाराविहिन हुँदा उनको मनका भावना कसरी पोखिन्छ भन्ने कुरालाई मैले आफू महिला सम्झिएर कविता कोरेको हुँ। त्यसकारण एउटी श्रीमतिले आफ्नो साथमा श्रीमान नहुँदा उनले आँखामा श्रीमानलाई कसरी सजाएकी छन् र उनको नजरमा श्रीमान नै देश हो भन्ने भावलाई कवितामा प्रस्तुत गरको छु। यो कविता महिलाको एउटा मर्म पनि हो।

कविताले उत्कृष्ट पुरस्कार पाउँछ भन्नेमा आशावादी हुनुहुन्थ्यो ?
उत्कृष्ट नै हुन्छ भन्ने चाहिँ लागेको थिएन। किनकी मैले यसअघिका ६ वटा कविता महोत्सवमा पनि पुरस्कार पाइसकेको थिएँ। अन्तर्राष्ट्रिय रूपमा पनि दुई पुरस्कार पाएको थिएँ। ६० दशक यताको समयमा कवितामा केही मन्दपन आइरहँदा महोत्सवमा म पनि कविता वाचन गर्छु भनेर सहभागी भएको हुँ। किनकी म कवितामार्फत समाजको वास्तविकलाई बाहिर ल्याउन चाहन्थें। १० वर्ष अघि मेरो कविता पहिलो भएको भए म औधी खुशी हुन्थें। त्यो बेला म कविताकै कारण चिनिनँ चाहन्थें। तर साहित्य लेखनमार्फत पाठकले चिनिइरहँदा यसपटक पुरस्कार जित्नु चाहिँ संयोग प¥यो।

तपाईंको बुझाईमा एउटा कविता उत्कृष्ट हुन के कुरा चाहिँदो रहेछ ?
कविता भनेको साहित्यको सबै कुरा समेटिने विधा हो। यसमा आख्यान, शब्द शैली, नाटकीय प्रस्तुती सबै कुरा पर्दछन्। शब्द चयन र आफूले भन्न खोजेको कुरालाई बुझाउने शैली कविमा हुनुपर्छ। हाम्रो विचार प्रस्तुत गर्दा त्यो विचार पाठक र श्रोतासम्म सर्कुलेट हुन्छ वा हुन्न भन्ने चासो हुन्छ। कवितामा ट्विस्ट चाहिन्छ। किनकी ट्विस्ट आयो भने त्यो पाठक र श्रोतासँगै कविका लागि पनि राम्रो हुन्छ।

पछिल्लो अवस्थामा युवापुस्ताको कविताप्रतिको आकर्षण कस्तो पाउनुभएको छ ?
राम्रो छ। कविता सदाबहार विधा हो। लेख्न नजान्दा लेख्न सिक्ने विधा पनि कविता हो। लेख्दै गर्दा अझ राम्रो गरी लेख्ने माध्यम पनि कविता हो। यसको क्षेत्र व्यापक छ। पहिला यसको प्रभाव जति धेरै थियो, अहिले त्यसको अनुपात अझ बढेको छ। त्यसकारण पनि पछिल्लो समयमा युवापुस्ताको आकर्षण कवितामा बढ्दै गएको छ।

कविताको प्रवद्र्धन र विकासका लागि सरकारी तवरबाट के गरिनुपर्छ जस्तो लाग्छ ?
हामी कवि, लेखक भनेर चिनिएका छौं। अहिलेको साहित्य भनेको गुटउपगुट, जातजाति, वर्ग, लिंग, क्षेत्रभन्दा माथि उठेर जानुपर्छ। अझ ठ्याक्कै भन्नुपर्दा पार्टीभन्दा माथि उठ्नुपर्छ। मैले यसपटक उत्कृष्ट पुरस्कार जित्दा मलाई यो जातिकोले पुरस्कार पायो भनेर टिकाटिप्पणी भइरहेका छन्। यो मैले बुझेको छु। त्यसकारण पहिला हामीले हामीभित्रको संकीर्णतालाई हटाउनुपर्छ।

साहित्यका अन्य विधाभन्दा कविता लेखन अलिक गाह्राे हो ?
अन्य विधामा वर्णन, विश्लेषण हुन्छ। ती विधामा धेरै कुरामा खेल्न सकिन्छ। तर कवितामा थोरै विषय लेखेर धेरैलाई बुझाउन सक्ने कुरा राखिएका हुन्छन्।

आगामी योजना के छन् ?
मेरो काम नै लेख्ने हो। चारवटा छन्द प्रकाशन गरेर बजारमा ल्याउने तयारी गरिरहेको छु। अझ नयाँ राम्रा कविता लेख्ने योजना पनि बनाएको छु।

प्रकाशित: ११ असार २०७६ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App