५ वैशाख २०८१ बुधबार
कला

आन्तरिक पर्यटक बढाउँदै नेपाली फिल्म

काठमाडौं - निर्देशक योगेश घिमिरे यतिबेला फिल्म ‘प्रेमदिवस’को पोस्टप्रोडक्सनमा व्यस्त छन्। आगामी जेठ ३१ गतेबाट रिलिज हुने फिल्मको पहिलो गीत ‘तिम्रो छेउ सरु कि म’ केही महिना अघि सार्वजनिक भएपछि उनको मोबाइलमा सर्वसाधारणले ‘इलामको सन्दकपुर कसरी पुग्ने ?’ भन्दै तारन्तार फोन गरे। सन्दकपुरको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतका कारण उनलाई सर्वसाधारणलाई सन्दकपुर जाने बाटो बुझाउन भ्याइनभ्याइ नै भयो।

‘पर्यटनको लागि सिनेमा’ नारा लिएर फिल्म बनाएका निर्देशक घिमिरेले झर्को नमानीकन सन्दकपुर जाने बाटो बताइदिए। ‘हामीले पर्यटनको लागि सिनेमा नारा लिएर फिल्म बनाएका हौं। त्यही कारण पनि नारा जस्तै नयाँ सुन्दर लोकेसनमा फिल्म खिचेका छौं’, निर्देशक घिमिरेले भने, ‘नेपाल आफैमा प्राकृतिक स्टुडियो हो। यही प्राकृतिक स्टुडियोको भरपुर उपयोग गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा फिल्म सुटिङ गरेका हौं। त्यसकारण सन्दकपुर कताबाट जाने हो ? कुन रुटको प्रयोग गर्ने हो भनेर फोन गरिरहन्छन्।’

योगेशले अधिकांश मानिसमा सन्दकपुर भारतीय क्षेत्रमा पर्छ भन्ने भ्रम रहेकाले त्यो भ्रम आफुले चिरिरहेको बताए। ‘मलाई फोन गर्नेले सन्दकपुर त भारतीय भूमिमा पर्दोरहेछ भनेर भन्छन्। तर म उनीहरूलाई सन्दकपुरको अधिकांश भूभाग नेपालको इलाममा पर्ने भएकाले इलाम सदरमुकामबाट चार घन्टामा त्यहाँ पुग्न सकिन्छ भनेर सम्झाउने गरेको छु’, उनले भने, ‘त्यहाँ सन्दकपुर गाउँपालिकाले पनि सन्दकपुरको राम्रो प्रचारप्रसार गरेको पाएँ। त्यहाँ विकास निर्माणका काम अझ राम्रो गर्न सके पर्यटकको संख्या झन बढ्थ्यो।’

प्राकृतिक स्टुडियोको भरपुर उपयोग गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा फिल्म सुटिङ गरेका हौं । त्यसकारण सन्दकपुर कताबाट जाने हो ? कुन रुटको प्रयोग गर्ने हो भनेर फोन गरिरहन्छन् ।

योगेशका अनुसार उनकै सिफारिसमा केही फिल्महरूले पूर्वका सुन्दर लोकेसनमा छायांकन गरेका छन्। ‘हामी फिल्ममार्फत स्थानीय उत्पादन र स्थानीय पर्यटनको प्रवद्र्धन गर्न चाहन्छौं। हामीले छायांकन गरेका स्थानमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको संख्या केही मात्रामा बढेको खबर पाइरहेका छौं’, उनले भने। योगेशले निर्देशन गरेका यसअघिका फिल्म ‘नोटबुक’ र ‘राधा’ का केही दृश्य र गीत इलामकै कन्याम, श्रीअन्तुमा छायांकन गरिएका छन्।

निर्देशक मिलन चाम्स नयाँ लोकेसनमा फिल्म छायांकन गर्न उत्तिकै रुचाउँछन्। दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेर ‘हँसिया’बाट फिल्म निर्देशनमा ‘डेब्यू’ गरेका मिलन यतिबेला नयाँ फिल्म ‘वीरविक्रम २’को रिलिजको संघारमा छन्। उनको फिल्म आगामी जेठ ३ गते शुक्रबारबाट रिलिज हुँदैछ। यो फिल्मको अघिल्लो संस्करण ‘वीरविक्रम’लाई रसुवामा छायांकन गरेका मिलनले ‘वीरविक्रम २’ खिच्न मुस्ताङ रोजे। ‘हामीले वीरविक्रम रसुवामा खिचेपछि स्थानीयले फोनमा ‘तपाईंहरूले फिल्म खिच्नुभएपछि आन्तरिक पर्यटकको संख्या बढ्यो’ भनेर फोन गरेका थिए’, मिलनले भने, ‘यसपटक हामीले मुस्ताङलाई लोकेसन रोजेका थियौं। फिल्मको गीत र ट्रेलर सार्वजनिक भएपछि त्यहाँ पुग्ने पर्यटकको संख्यामा केही वृद्धि भएको खबर पाएका छौं।’

मिलन नयाँ स्थानमा फिल्म खिच्दा त्यहाँको समाजलाई पर्दामा उतार्नेसँगै फिल्मको कथाबस्तु अनुसार ठाउँ छनोंट गर्न पनि सजिलो हुने बताउँछन्। ‘स्थानीय ठाउँमा फिल्मको युनिट पुगेपछि त्यो ठाउँलाई सुन्दर बनाउन स्थानीय पनि सक्रिय हुन्छन्। जसले गर्दा अर्को कुनै फिल्मलाई त्यहाँ पठाउन सजिलो हुन्छ’, मिलनले भने, ‘मेरो अनुभवमा नेपालमै सुन्दर स्थान रहेछन्। जहाँको लोकेसन हेर्दा फिल्म खिच्न विदेश जानै पर्दैन।’

नेपालमा पछिल्लो दशकमा निर्माण भएका अधिकांश फिल्मको छायांकनस्थलको प्राथमिकतामा मनाङ, मुस्ताङ, रारा ताल, तिलिचो ताललगायत पर्दछन्। फिल्मका निर्माता तथा निर्देशकले सुन्दर लोकेसनलाई मात्र क्यामरामा कैद गर्दैनन्। स्थानीय कला संस्कृतिलाई पनि फिल्ममा प्रस्तुत गर्छन्। निर्देशक विकासराज आचार्य आफ्नो फिल्मका कारण स्थानीय पर्यटनमा पु¥याएको फाइदाबारे राम्रो जानकार छन्। उनले निर्देशन गरेको फिल्म ‘म तिम्रो भइसकें’को एक गीत कालिन्चोकमा छायांकन गरेपछि त्यो स्थानमा पुग्ने पर्यटकको संख्या ह्वात्तै बढेको विकासको दाबी छ। ‘कालिन्चोकमा परेको हिऊँमा गीत छायांकन गरेर आएपछि मलाई धेरैले त्यहाँ कसरी पुग्ने भनेर सोधे। मैले उनीहरूलाई लोकेसन पनि बताइदिएँ’, विकासले भने, ‘हामी त्यहाँबाट फर्किएपछि पर्यटक, होटल संख्या बढेको खबर पायौं। अहिले त केबलकार नै सञ्चालन भइरहेको छ।’

विकासको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ आगामी साउन ३० गतेबाट रिलिज हुँदैछ। नेपालको पोखरा, दमक, शनिश्चरेलगायतका स्थानमा छायांकन गरिएको फिल्ममा केही भाग भारतको सिक्किम पनि देख्न सकिन्छ। उनको यसअघिको फिल्म ‘नाइँ नभन्नू ल ५’ इलामको श्रीअन्तु, कन्याम, पानीटार र झापामा छायांकन गरिएको थियो।

लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको फिल्म ‘के साङ्ला’ले पूर्वकै लिम्बू संस्कृतिसँगै पर्यटनलाई पनि जोडेको छ। फिल्मका निर्देशक लोकेन साँवाका अनुसार फिल्ममा दर्शकले पूर्वको सुन्दर दृश्यसँगै लिम्बू संस्कृतिलाई पनि नजिकबाट हेर्न पाउनेछन्। उनले संस्कृति पर्यटन प्रवद्र्धन गर्नका लागि आफुहरूले फिल्म निर्माण गरेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते सरकारका तर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रमको १ सय ५३ औं नम्बरको बुँदामा ‘छायांकनका लागि नेपाल कार्यक्रम’ सञ्चालन गरी सिनेमा पर्यटनको प्रवद्र्धन गरिनेछ। सिनेमा तथा छायांकनका लागि नेपाल आउने विदेशीको लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरू एकद्वार प्रणालीमार्फत उपलब्ध हुने व्यवस्था मिलाइनेछ। छायांकनका लागि विदेशीहरूको आकर्षण वृद्धि गर्न आवश्यक कदम चालिनेछ।’ भन्ने वाक्यांश उल्लेख गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आगामी आर्थिक वर्षदेखि नेपालमा फिल्म पर्यटनलाई प्रोत्साहन गर्न सरकारले प्राथमिकता दिएको जनाउँदै त्यो काममा बोर्ड सक्रिय भएर लागेको बताए। ‘सरकारले नीति तथा कार्यक्रममार्फत नेपालमा विदेशी फिल्मको छायांकन गरी नेपालको पर्यटन प्रवद्र्धन गराउन चासो देखाएको छ’, भट्टराईले भने, ‘हालको अवस्थामा विकास बोर्डले विशेष फिल्मलाई प्रोत्साहन गर्ने काम गरेको छ। अब चाँडै नै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि लोकेसन गाइड र प्रोडक्सन गाइडको प्याकेज ल्याउने तयारी गरिरहेका छौं।’

नेपालमा पछिल्लो दशकमा स्वदेशका विभिन्न स्थानमा घुम्न चाहने आन्तरिक पर्यटकको संख्या उच्च देखिएको छ। लामो विदाको समय होस् वा सातामा एक दिन हुने विदाको समय होस्। परिवारका साथ घुम्ने चलनको क्रम निकै बढेको छ। फिल्ममा देखाइएका स्वेदशका ‘भर्जिन लोकेसन’ले घुम्न रुचाउने आन्तरिक पर्यटकलाई ती स्थानबारे चासो देखाएको त छ नै। आन्तरिक पर्यटनको प्रवद्र्धन र प्रोत्साहनमा फिल्म गतिलो माध्यम पनि बनेको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App