१२ जेष्ठ २०७७ सोमबार
कला

सपनाको उडान

म साकार। सानैदखि रहर थियो– ठूलो मान्छे बन्ने। मिहिनेत पनि गरेको नै थिए, सपना पूरा गर्न। सपना थियो, मनग्ये पैसा कमाउने र समाजसेवा गर्ने। आफ्नो घरको स्थिति हेर्दा फेरि निराश हुन्थें। आफ्नो जीवन त उकास्न सक्छु कि सक्दिनँ, समाजसेवा कसरी गर्नु। शिक्षकले सिकाउनुभएको थियो, सपना लिनु एक कदम अगाडिको। सपना देखेको छु त पूरा गर्छु भन्ने सोचले अगाडि बढिरहें। एसएलसी परीक्षामा ७८ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएँ। आशा थियो, डिस्टिङ्सनको। तर, पूरा भएन। केवल १५ नम्बरले पुगेन। मेरो उमेर पनि १५ वर्ष नै थियो।

उच्च शिक्षाका लागि कलेज भर्ना हुन गएँ। नेपालगन्ज सहरमा नाम चलेको कलेजले छात्रवृत्ति दिएन। पचास प्रतिशतमात्र दिन्छु भन्यो। मलाई शतप्रतिशत छात्रवृत्ति चाहिएको थियो। अर्को कलेज गएँ। त्यहीँ पढ्ने निधो गरें। पढ्न त जाँगर थियो तर प्रतिस्पर्धाको बेला मेरो क्षमता घट्दै गयो। विस्तारै हरेस खाँदै जान थालें। झन्–झन् डराउन थालें।

विद्यालयको उत्कृष्ट छात्र कलेजमा हराउन थालिसकेको थिएँ। पढ्ने मन पनि हराउन थाल्यो। समय बितेको थाहा नै भएन एक वर्ष बितिसकेछ। कक्षा ११ को परीक्षा पनि दिएँ। सोचेको जस्तो त भएन। सोचेका जस्तो प्रतिशत नआउँदा नै अलिकति आश मरिसकेको थियो। बल्लबल्ल प्लस टु पास भएँ। झन् स्तर घटिसकेको थियो। झन्–झन् डराउँदै जान थालें। ७८ प्रतिशतबाट ६५ प्रतिशतमा झरेको थियो प्राप्तांक।

सपना चाहिँ उही नै थियो। अहिले यस्तै भयो, अब मिहिनेत गर्छु अनि आफ्नो स्तर बढाउँछु भन्ने। स्नातकका लागि काठमाडौं आए। नयाँ सहर सबै नयाँ–नयाँ। झन्–झन् आत्मविश्वास घट्न थाल्यो। ७५ जिल्लाबाट आएका धेरैजसो विद्यार्थी मभन्दा उत्कृष्ट थिए। अनि मेरो स्तरको मूल्यांकन गर्न थालें। ‘मभन्दा राम्रा–राम्रा विद्यार्थी छन् यहाँ, मैले के नै गर्न सक्छु र ! उनीहरूले पो गर्लान्।’ म आफैंमा निराश भएँ।

कलेजको पहिलो दिन थियो। ओरिएन्टेसन कक्षामा चिनजान भयो। दुई चार जना साथी बनाएँ। मिल्ने चार जना साथी थिए मेरा– दुई केटा दुई केटी। हामी पाँच जनाको ग्रुप बन्यो। चाहना, सम्झना, हरि, संगम र म। हामीहरू एकअर्काले परेको बेला सहयोग गर्न तत्पर थियौं। फरक–फरक जिल्लाबाट आगमन भएको भए पनि एकअर्कासँगको सम्बन्ध वर्षौंवर्षको जस्तो थियो। म अलि फरक थिएँ किनकि म अलि गाउँतिरबाट आएको। न त राम्रो कपडा लाउने बानी थियो न त धेरै मेकअप नै गर्थें। एकदम सोझो गाउँको ठिटो। हामीहरू सबैको चाहना पनि समाजसेवातिर थियो। बानी धेरै मिल्थ्यो। ‘युथ फर नेसन एन्ड नेसनालिटी’ नामबाट एउटा ग्रुप बनाएका थियौं, एकजुट भएर समाजिक काममा हात बटाउनलाई।

हामी सबै विद्यार्थीको सहयोग गर्ने चाहना त थियो तर पैसा भने कसैसँग खासै हुन्थेन। ठूलो सहयोग गर्न सकिरहेका थिएनौं। जे होस् स्नातक सकिएपछि सबै कमाउने र तलबको केही भाग ग्रुपको नाममा छुट्टयाउने सोच बनाएका थियौं।

हाम्रो मित्रतामा एक जना केटी साथी थपिएकी थिइन्। उनको नाम रमिला थियो, चाहनाकी स्कुले साथी। स्नातक दोस्रो वर्षमा उनको आगमन भएको थियो। तर वास्तवमा चार जना साथी जोडी भइसकेका थिए। चाहना जिस्क्याउने गर्थिन– ‘तिम्रो लागि मिसाएको ग्रुपमा, अब तीनवटै जोडी बन्ने हो र अघि बढ्ने हो।’ म हाँसिदिन्थे मात्र।
वास्तवमा राम्री नै थिइन् उनी। मिलेको शरीर र गोरो छाला। देख्दा गोरो छाला हुनेबित्तिकै केटीहरू राम्रै देखिन्थे। हिजोआज बानी–व्यवहार त कमै हेर्छन्, आकर्षित हुन्छन् त केवल रूपमा। सायद म पनि केही आकर्षित थिएँ उनीसँग। सबैले जिस्क्याउँदा जिस्क्याउँदै उनका बारेमा सोच्न थालेको थिएँ। उनलाई पनि जिस्क्याउँदा रहेछन् साथीहरूले।
हामीहरू पिकनिक जाने योजना बनाएका थियौँँ। मंसिरको महिना थियो, कालिञ्चोक जाने तय भयो। बाइकमै जाने निश्चित गरियो।
सबै जोडी–जोडी बसे, रमिला मसँगै बसिन्। मलाई केही अफ्ट्यारो महसुस भइरहेका थियो। किनकि खासै बोलचाल हुँदैनथ्यो। एक महिना त भएको थियो उनी हाम्रो ग्रुपमा मिसिएको। आफ्नो फेरि केटीसँग बोल्न भनेपछि लुत्रुक्क पर्ने बानी। हानियो काठमाडौंबाट दोलखा कालिन्चोकको यात्रा।
विस्तारै रमाउँदै १५१ किलोमिटरको यात्रा तय गरेका थियौं। भक्तपुर पुग्दासम्म बोलचाल भएन। निरन्तर गुडिरह्यौं। साथीहरूले नबोलेको थाहा पाएछन्। साँगा घुमेर जाने निर्णय गरे। ‘साँगा पसेर जाने हो है’ भन्दै कराउँदै अर्को बाइकबाट चाहनाले भनिन्। मैले केही बोल्न नपाउँदै रमिलाले ‘हुन्छ’ भनिहालिन्।

अलि कुदाएँ। अनि मसँग नजिकिइन्।
‘किन हतार गरेको विस्तारै चलाऊ न, साँझै बास बस्न त पुग्ने हो,’ रमिला बोलिन्।
‘किन डर लाग्यो र, कि म माथि विश्वास छैन र ?’ खुल्नका लागि म पनि बोले।
‘होइन, तिमीमाथि आँखा चिम्लेर  विश्वास गर्छु,’ उनले भनिन्।
म अच्चम्भित पर्दै भने, ‘किन ?’
‘खोइ थाहा छैन, थाहा पाएपछि भनौंला नि।’
‘हुन्छ।’
साँगाका लागि मोडियौं। अनि साँगा माथि दर्शन गर्न गयौं। सबै साथी हातमा हात समातेर उकालो चढ्दै थिए। हामी भने भर्खर बोल्न सुरु गर्दै थियौं।

‘अनि तिम्रो चाहना के छ नि, आइ मिन उद्देश्य ?’ उनले प्रश्न गरिन्।
‘त्यस्तो खासै केही छैन तर धेरै पैसा कमाउनु चाहिँ छ। पैसा कमाइएन भने केही पनि छैन,’ मैले भनें।
‘तिमी यति मिहिनेती छौ, अवश्य कमाउँछौ।’
‘आशा छ।’

२४ किलोमिटरको यात्रामा नै साढे एघार भइसकेको थियो। त्यहाँ हामी अलि घुल्न थाल्यौं। फोटो पनि खिचियो। उनी पनि नजिकिइन्। त्यहाँबाट पानीपुरी खाएर आमी हिँड्यौं। हामी पनि चाहना र हरि, संगम र सम्झना जस्तै कुरा गर्दै हाँस्दै विस्तारै हिँड्न थाल्यौं। ‘अब बल्ल सफल हुन्छ हाम्रो यात्रा, तिमी दुवैलाई एक बनाउन खोजेर त यो ट्रिप प्लान गरेका थियौं,’ चाहनाले भनिन्। म केही बोलिनँ। रमिला पनि मौन रहिन्। छिटो–छिटो चलाऊ न, धुलिखेल पनि घुमेर जाने हो। घुम्दै, रमाउँदै साँझ सात बजे हामी कालिञ्चोक पुग्यौं। तीन दिनको बसाइपछि हामी धेरै नजिकिसकेका थियौं। हिउँ परेको बेला हिउँमा खेल्ने रमाउने। हिउँको डल्ला बनाएर एकअर्कालाई हिर्काउने जस्ता काम गरेर रमाएका थियौं।

६ दिनको दिन हामी फर्कियौं। यो यात्रामा मैले आफ्नो जीवनसाथी पाएको अनुभव गरेको थिएँ। अनि कलेजमा पनि हाम्रा बारेमा कुरा चल्न थालेका थिए। कलेजको क्यान्टिनमै रमिलाले मेरो हात समातेर ‘आइ लभ यु’ भनिन्। मैले पनि एकदम खुसीका साथ ‘आइ लभ यु टु’ भनें। खास मैले गर्नुपर्ने प्रस्ताव रमिलाले गरेकी थिइन्, पूरै फिल्मी पारामा। हामी खुलेर भन्थ्यांै, एकअर्कालाई असाध्यै माया गर्ने र विवाह गर्ने भनेर।
स्नातकको चौथो वर्षको परीक्षा पनि सकियो। हामी सबै काम गर्न थालेका थियौं। काममा लाग्दा खासै समय हुँदैनथ्यो। त्यही पनि मौका मिलाएर भेट्ने, घुम्ने गरिरहेका थियौं।

मेरो जन्मदिन फागुन ४ गते। उनले मलाई राति १२ बजे फोन गरेर बर्थडे वीस गरिन्। ‘भोलि तिम्रो जन्मदिनका लागि म ट्रिट दिन्छु, बिदा लिनु है अफिसबाट,’ उनले भनिन्। मैले हुन्छ भनें र अफिसमा फोन गरेर बिरामी भएर आउन नसक्ने जानकारी गराएँ।
अफिसको नियमअनुसार अकस्मात बिरामी बिदामात्र पाइन्थ्यो। अन्य बिदाका लागि दुईचार दिन अघि नै भन्नुपथ्र्याे। उनले मेरो बर्थ डे पार्टी त

एकदम ठूलो गरेकी रैछिन्। तर म सिम्पल बनेर गएँ। सबैले मलाई हेरिरहेका थिए। म आफूलाई त ठीकै मानेको थिएँ। किन हेरे थाहा भएन।
म उनी अगाडि गएँ। चार तलाको केक रहेछ। काट्न लगाइन्। मैले केक काटेर उनलाई खुवाएँ। अनि चाहना, सम्झना, हरि र संगमलाई पनि खुवाएँ। अरूलाई त चिन्दैनथें। सबै रमिलाका साथी थिए। रमाइलो नै भयो। तर भोलिपल्ट रमिलाले ‘अहिलेको फेसनअनुसार चल न डार्लिङ’ भनेर मेरा लागि पेन्ट, सर्ट, कोट र स्टाइलिस जुत्ता किनेर ल्याइदिइन्। उनका खुसीका लागि मैले त्यस्तै पहिरन लगाउन थालें।

उनको खर्च एकदम बढी थियो तर मेरो कमाइ एकदम कम। उनको कमाइ पनि मभन्दा दोब्बर नै थियो। उनी ठूला–ठूला होटल र रेस्टुरेन्टमा खाजा खान बोलाउँथिन्। बिल दिँदा मेरो सबै कमाइ सकिन्थ्यो। अनि उनलाई भेट्न नजाने बहाना बनाउन थालें। मेरो सपना त मैले सायद भुलिसकेको नै थिएँ। हामीहरूको भेट पातलिसकेको थियो। अनि दूरी पनि बढ्न थाल्यो। माया नलाग्ने त होइन। तर मेरो आर्थिक हैसियतले बराबरी गर्न सकेन।

उनी रिसाउन थालिन् र मलाई नानाथरी भन्न थालिन्। मैले एकदिन हिम्मत गरेर उनलाई भनें। ‘मेरो तलब जम्मा ३० हजार छ, कोठा भाडा र खाना खर्च कटाउँदा १० हजार बच्छ। तिमीसँग खाजा खान त्यति पैसाले पुग्दैन,’ मैले भनें, ‘तिम्रो पैसा खर्च गरिदिने पनि मन हुँदैन। त्यही भएर भेट्न आउन लाज लाग्छ।’ उनले सम्झाउनुको ठाउँमा झगडा गरेर गइन्। म केही बोल्न सकिनँ। सधैं उनकै खुसीका लागि म बदलिएँ। आज उनैले मलाई बुझिनन्।

हाम्रो नतिजा पनि प्रकाशित भयो। हामी सबै प्रथम श्रेणीमा पास भयौं। तर मेरो जम्मा ६० प्रतिशत थियो। मेरो स्तर र मनोबल दुवै घटिसकेको थियो। सबै भेट्ने कुरा भयो। साँझ रेस्टुरेन्टमा भेट्यौं। रमिला बोल्दै बोलिनन्। चाहनाले ठूलो उद्योगपतिसँग विवाह गर्न थालेको कुरा मलाई भनिन्। मेरो मुटु छियाछिया भयो। हिजोसम्म सँगै मर्ने, बाँच्ने कसम खाएको आज विवाह गर्न अर्कै रोजेको सुन्दा मेरा आँखाबाट आँसु बगिरह्यो। केही भन्न सकिनँ। पढाइमा स्तर घट्यो। चाहेका मान्छे पनि गुमाएँ। आफू असफल भएको थाहा पाएँ। जिन्दगीबाट हारिसकेको थिएँ। एक्लै एक्लै टोलाउन थालें।

अब सबैले मलाई बाहिर जाऊ भन्न थाले। प्रतिशत पनि राम्रो थिएन। पोल्यान्ड जाने निर्णय गरे। पोल्यान्डबाट क्यानडा जान सकिन्छ भनेर मास्टरका लागि पोल्यान्डमा आवेदन दिएँ। भिसा पनि लाग्यो। उनको विवाहको दिननै मेरो फ्लाइट थियो। म गएँ। दुईवर्ष पछि मैले क्यानडाका लागि आवेदन दिए। सफल पनि भएँ। राम्रो काम पाएँ, राम्रै पैसा कमाएँ। यतिबेला पैसा कमाउने मेरो पहिलो सपना पूरा भएको छ। अब समाजसेवाको आफ्नो दोस्रो सपना मैले पूरा गर्नु परेको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०९:०८ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App