coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नमोबुद्धमा साहित्य बहस

शुकदेव थपलिया

काभ्रे - नमोबुद्ध गुम्बा घुमेको भोलिपल्ट काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा गत आइतबार कवि र लेखकहरूले दर्जन बढी विषयका कविता सुनाए। कवि अभय श्रेष्ठले ‘सत्यलाई साक्षी’ वाचन गरिरहँदा अर्का कवि राजु स्याङ्तान ‘रामबहादुर मार्ग’मा सुनिए। नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको मौका पारेरआयोजना गरेको नमोबुद्ध साहित्य गोष्ठीमा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो।

नगर प्रमुख टंकप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यका विविध विधामा छलफल तथा अन्तरक्रिया गरिएको थियो। नगर प्रमुख तिमल्सिनाले काभ्रेली साहित्यको अवस्थामाथि छलफल गर्न गोष्ठी आयोजना गरिएको बताए। उनले जनताको चेतनाको विकासको लागि साहित्य मात्रै पहिलो बाटो भएको र यसको विकासको लागि आफुले आफ्नो क्षेत्रमा साहित्य, सांस्कृतिक र कला विधालाई विकास गर्न जस्तोसुकै काम गर्न पनि तत्पर रहेको बताए। काभ्रेको नमोबुद्ध गुम्बा परिसर परिभ्रमणसँगै भकुण्डेबेसीमा अतिथि साहित्यकारहरूलाई आयोजक संस्थाले स्वागत गरेको थियो। कार्यक्रममा दुई सत्र गरी विभिन्न साहित्यक विधाका विषयमा छलफल गरिएको थियो।

नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको मौका पारेर आयोजना गरेको नमोबुद्ध साहित्य गोष्ठीमा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो।

‘समकालीन नेपाली आख्यानका प्रवृत्ति’ विषयमा निबन्धकार तथा पत्रकार दीपक सापकोटाले छलफलसत्र चलाएका थिए। आख्यानबारे वक्ताहरू विप्लव प्रतिक, रेशम विरही, नवीन विभासले युवापुस्ताले लेखिरहेका आख्यानको शैली, शिल्प, कथ्य र शक्ति कस्तो छ भन्ने विषयमा छलफल गरे। रेशमले वर्तमान पुस्ताले लेखिरहेको आख्यानमा आशा गर्ने ठाउँ हुँदाहुँदै पनि लेखन कमजोर रहेको टिप्पणी गरे। अर्का वक्ता प्रतीकले आफुलाई ठीक लागेको विषय र सन्दर्भमा आफुले लेख्ने गरेको बताए। उनले कुनै पनि विधामा लेख्नु मात्रै राम्रो नभएर व्यवहारिक रूपमा मोह, लोभ, त्याग र समर्पणजस्ता दृष्टिलाई कसरी उतार्ने गर्छ भन्ने अर्काे मुख्य गुण साहित्यक विधामा होमिने व्यक्तिमा हुनुपर्ने तर्क गरे। विभासले वर्तमान पुस्ता सामाजिक सञ्जालमा अल्झिएकाले यसले अल्छीपन र पठन संस्कृतिमा असर पु¥याएको कुरालाई आफुले स्वीकार्ने बताए।

यस्तै ‘समकालिन नेपाली कविता’ माथि अभय श्रेष्ठ, विप्लव प्रतिक, भुवनहरि सिग्देल, रमन पौडेलसँग पत्रकार फणिन्द्र संगमले बहस गरे। बहसमा विप्लवले छन्द र कविताको युग सकिएको भन्ने अभिव्यक्ति दिएका रमनलाई कतिपय कविता अझै नछापिएका व्यक्तिहरू बाँकी रहेको र उनीहरूलाई अझै चिन्न नसकिएकाले अन्तर्राष्ट्रियस्तरमा नेपाली कविताको बहस हुन नसकेको भन्दै कविता विधाको बचाऊ गरेका थिए। 

कार्यक्रममा साहित्यकार एवं साहित्य पत्रकार मोहन दुवाल, हरि मञ्जुश्रीलगायतले साहित्यमा कविता विधा र छन्दको सवालबारे धारणा राखेका थिए। कार्यक्रमलाई सांगीतिक बनाउन जिल्लाका लोकगायक मच्छेश्वर सापकोटा र उनकी श्रीमतिले लोकगीत गाएका थिए।

छलफलका क्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले साहित्यिक गतिविधि निकै अगाडिबाट गर्नुपर्ने तर्क राखे। कार्यक्रममा साहित्यकार एवं उपन्यासकार भुवनहरि सिग्देल, कवि एवं साहित्यकार विप्लव प्रतिक, गीतकार तथा उपन्यासकार रेशम विरही, कवि तथा साहित्यकार रामबहादुर पहाडी, साहित्यकार तथा पत्रकार नविन विभास, निबन्धकार, साहित्यकार तथा पत्रकार दीपक सापकोटा, कवि तथा पत्रकार राजु स्याङ्तान, कवि तथा पत्रकार फणीन्द्र संगम, कवि, कथाकार तथा पत्रकार अभय श्रेष्ठ, साहित्यकार तथा पत्रकार रमन पौडेल, कवि तथा साहित्य पत्रकार नरेन्द्रकुमार नगरकोटी, कवि पलपल दाहाल, सजना आचार्य, समर्पण श्री, डा. गोपाल पौडेल ‘मण्डने’लगायतले कविता वाचन गरेका थिए।

प्रकाशित: १० वैशाख २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App