८ वैशाख २०८१ शनिबार
कला

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

काठमाडौं - भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् । सन् २००२ मा पहिलोपटक नेपाल आएकी उनी हाल नेपालमै छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर इन्डियन वुमन्स एशोसिएसनले शुक्रबार भारतीय दुतावासमा आयोजना गर्न लागेको कन्सर्टमा सहभागिता जनाउन कविता पति डा. एल सुवमर्नियमसँग आएकी हुन् । उनै कवितासँग नागरिकले बिहीबार दिउँसो गरेको कुराकानीको सारसंक्षेपः–

दोस्रो नेपाल भ्रमण कत्तिको रमाइलो हुँदैछ ?
मेरो लागि यसपटकको भ्रमण रमाइलो भन्दा पनि सुखद छ । किनकी यसअघि सन् २००२ मा नेपाल आउँदा म राती मात्र काठमाडौं आइपुगेको थिएँ । त्यो बेला बेलुका बसेर बिहान पशुपति दर्शन गरी पोखरा गएँ । काठमाडौं कस्तो थियो राम्ररी हेर्न पाइनँ । तर यसपटक काठमाडौंमा बस्न पाएँ । मलाई रमाइलो र सुखद दुबै छ ।

नेपाली गायकगायिकाले पनि भारतीय गीत गाउन पाउनुपर्छ । दुवै देशका गायकगायिकाले एकअर्काको देशको गीत गाउन पाउने वातावरण बनाइनुपर्छ । यसो गर्दा दुवै देशबीचको सांस्कृतिक र सांगीतिक एकता झन मजबुत हुन्छ ।

त्यो बेलाको काठमाडौं र अहिलेको काठमाडौंमा के फरक पाउनुभयो ?
त्यो बेला म काठमाडौंमा नबसी पोखरा गएँ । यसपटक चाहिँ काठमाडौं नै बस्ने गरी आएकी छु । मलाई काठमाडौं निकै राम्रो लाग्यो । यहाँका मानिसहरू सभ्य छन् ।

एक समय तपाईंको स्वर नेपाली फिल्मका गीतमा पनि धेरै सुनिए । तर पछिल्ला दशकमा तपाईंको आवाज सुनिएको छैन । कारण के होला ?
मैले गीत गाउन थालेको करिब ४० वर्ष भयो । यो समयावधिमा गीतको फ्लेभरसँगै त्यसमा प्रयोग हुने प्रविधि पनि परिवर्तन भइसकेको छ । एक किसिमले भन्नुपर्दा ‘ट्रेन्ड’ नै परिवर्तन भइसकेको छ । अहिले पुराना गीतलाई रिमेक गरेर नयाँ बनाउने चलन चलेको छ । एक समयमा मेरा धेरै राम्रा गीतहरू आए । तर अहिले त्यो अवस्था छैन । नढाटी भन्नुपर्दा मैले आजकल फिल्मका गीत गाउन छोडिसकेको छु । म अहिले आफ्नो संगीत इनिस्टिच्यूट खोलेर बसेको छु । त्यसको कारण पनि ट्रेन्ड नै हो ।

तर पनि श्रोता/दर्शकले ओरिजिनल फ्लेभर नै रुचाउँछन् नि ?
हो । म त्यही कुरा गर्दैछु । गीत मनपराउने र मननपराउने भनेको दर्शक र श्रोताको हातमा छ । यसमा हामी गायकगायिकाहरू खुशी हुन सिक्नुपर्छ । किनकी यो समयको माग पनि हो । नयाँ प्रतिभाहरू राम्रा छन् । नयाँले पनि स्थान पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

नेपाल र भारतको संगीतको सम्बन्धलाई अझ सुमधुर बनाउनलाई के गर्नुपर्ला ?
भारतमा एकसे एक गायकगायिका छन् । उनीहरूले नेपाली गीत पनि गाइरहेका छन् । यस्तो अवस्थामा नेपाली गायकगायिकाले पनि भारतीय गीत गाउन पाउनुपर्छ । दुवै देशका गायकगायिकाले एकअर्काको देशको गीत गाउन पाउने वातावरण बनाउनुपर्छ । यसो गर्दा दुवै देशबीचको सांस्कृतिक र सांगीतिक एकता झन मजबुत हुन्छ ।

तपाईंले उदितनारायण झासँग पनि गीतमा सहकार्य गर्नुभएको छ । उदित आफैंमा नेपाली गायक पनि हुनुहुन्छ । उहाँसँगको सहकार्य अनुभव कस्तो रह्यो ?
उदितजी मेरो अभिन्न मित्र हुनुहुन्छ । उहाँसँग मैले धेरै गीतमा सहकार्य गरेको छु । उहाँ आफैमा सुन्दर मान्छे हुनुहुन्छ । उहाँको गायकीको तारिफ गरेर सकिँदैन । गायन र संगीतमा उहाँको जति लगाव छ । त्यति नै उहाँको एक्सप्रेसन पनि राम्रो छ ।

तपाईंलाई नेपालको मनपर्ने कुरा के हो ?
मलाई पशुपतिनाथ नै मनपर्छ । किनकी पशुपतिनाथसँग मेरो सानैदेखि आस्था पनि छ ।

नेपालीप्रति तपाईंको बुझाई कस्तो छ ?
नेपालीहरू विनम्र छन् । उनीहरू हसमुख छन् । मलाई लाग्छ उनीहरू नकारात्मक कुरा कहिल्यै सोच्दैनन् । उनीहरू सकारात्मक चिन्तक नै हुन् ।

नेपाल आउँदा तपाईको भित्री मनले गर्न चाहेको काम के हो ?
म नेपाल आउँदा नछुट्ने ठाउँ भनेको पशुपतिनाथको दर्शन हो । जुन ठाउँमा म सजिलै पुग्न सक्छु । मलाई नेपाल आउँदा मैले सम्झिने भनेको ‘माउन्ट एभरेस्ट’ पनि हो । तपाईं पत्याउनुहुन्न होला मैले अहिलेसम्म ‘माउन्ट एभरेस्ट’ देखेको छैन । मैले सानैदेखि नै ‘माउन्ट एभरेस्ट’बारे सुनिरहेको छु र पढिरहेको पनि छु । सानैदेखि नाम सुनेकै कारण मलाई टाढाबाट भए पनि ‘माउन्ट एभरेस्ट’ हेर्ने इच्छा छ । आशा छ पशुपतिनाथको कृपाले यो इच्छा पनि पुरा हुनेछ ।

गीतसंगीतबाट रिटायर्ड भएपछि नेपालमा बिताउने केही योजना छ ?
नेपालमै त रिटायर्ड जीवन बिताउन पक्कै आउँदिन होला । तर भारतमा हामीले खोलेको संगीत इनिस्टिच्युटको नेपालमा पनि शाखा खोल्न सक्नेछौं । किनकी यहाँ पनि संगीत प्रतिको क्रेज राम्रो छ भन्ने सुनेकी छु ।

संगीतमा चाहने नयाँपुस्ताका लागि तपाईंको केही सन्देश ?
संगीतमा करियर बनाउन चाहनेले संघर्ष गर्नुपर्छ । संगीतले कोही कसैलाई उमेरको दायरा लगाउँदैन । जुनसुकै उमेरकाले पनि संगीत सिक्न र बुझ्न सक्छन् । तर त्यसका लागि साधनाको आवश्यकता पर्छ । 

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App