८ वैशाख २०८१ शनिबार
कला

‘क्याप्टेनले विश्वकपभन्दा बढी मजा दिनेछ’

काठमाडौ –  नायक अनमोल केसी फुटबलर होइनन्। स्कुल पढ्दा पनि फुटबल खासै नखेलेका उनी फुटबलका हरेक गतिविधिमा भने चासो राख्छन्। यिनै अनमोल आगामी शुक्रबार अर्थात् फागुन १७ गतेबाट रिलिज हुने फिल्म ‘क्याप्टेन’ मा फुटबलर भूमिकामा छन्। फिल्ममा उनी नेपाल राष्ट्रिय फुटबल टिमको कप्तान ‘इसान खड्का’को चरित्र छन्। फुटबलको विषयमा फिल्म बनाउने योजना अनमोलकै हो। अनमोलसँग केही समय अघि नागरिकले फुटबल र फिल्म ‘क्याप्टेन’को विषयमा गरिएको संवाद गरेको थियो।

तपाईं स्कुल पढ्दा लामो समय होस्टेलमै बस्नुभयो। त्यो बसाईमा फुटबलसँगको सम्बन्ध कस्तो थियो ?
म होस्टेलमा फुटबल गतिविधिमा त्यति संलग्न भइनँ। होस्टेलमा हामीलाई हेर्ने एकजना संयोजक हुनुहुन्थ्यो। मेरो हाइटका कारण पनि उहाँले बास्केटबल खेल्न सुझाव दिनुभएको थियो। तर म सानैदेखि स्वीमिङमा रुची राख्थें। मैले स्वीमिङबाटै राष्ट्रियस्तरको प्रतियोगिता पनि सहभागिता जनाएको छु।

फुटबलकै कथामा फिल्म बनाउनुपर्छ भन्ने सोच चाहिँ कसरी आयो ?
म एउटा कलाकार हुँ। मलाई अभिनय मात्र आउँछ। ममा स्क्रिप्ट लेख्ने कला नभए पनि केही फरक कथामा फिल्म बनाउनुपर्छ भन्ने सोच थियो। स्पोर्टस् जनराअन्तर्गत फुटबलको विषयमा फिल्म बनाउदा के होला भन्ने सोच आयो। विश्वमा जस्तै नेपालमा पनि क्रिकेट र फुटबल धेरै रुचाइने खेलमा पर्दछ। फुटबलबाट बनेको एउटा ‘नेसनल हिरो’को विषयलाई फिल्ममा देखाउँ भन्ने घरमा सल्लाह भयो। यो प्रस्ताव मैले ड्याडी(भुवन केसी)लाई सुनाएँ। उहाँ सहमत हुनुभयो। म फुटबल खेलाडी नभए पनि त्यसको फ्यान भएकाले फुटबलको कथामा फिल्म बनाउने योजना बन्यो।

फिल्मको छायांकन भइरहँदा मैले आफुलाई नायक अनमोल केसी ठानिन्। किनकी म इशान खड्का बनिसकेको थिएँ। मैदानमा प्रवेश गर्नु अघि प्रवेशविन्दुमा ढोग्थें। जर्सी लगाएर दौड्दा राष्ट्रियताको महशुस हुँदोरहेछ।

फुटबलरको कथामा फिल्म बन्ने भएपछि फुटबल गतिविधिमा चासो बढ्यो होला नि ?
अवश्य पनि बढ्यो। म फुटबल नखेले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबारे अपडेट हुन्छु। म इङ्लिस प्रिमियर लिग(इपीएल), स्पेनिस लिग, लालिगालगायतका अन्तर्राष्ट्रिय प्रिमियर लिगको नियमित दर्शक नै हुँ। कुन खेलाडी कुन टिममा अनुबन्धित भयो भन्ने पनि अपडेट हुन्छु। रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डो जुभेन्ट्स गएपछि जुभेन्ट्सको खेल पनि हेर्छु। फिल्म नै बन्नेभएपछि फुटबल हेर्न छुटाइनँ।

फुटबल खेलाडीको बायोपिक फिल्म पनि हेर्नुभयो ?
हेरें। ब्राजिलियन फुटबल हिरो पेलेको ‘पेलेः बर्थ अफ ए लिजेन्ड’, इंग्ल्याण्डका डेबिड बेकह्यामको ‘डेभिड बेकह्यामः ए फुटबलर्स स्टोरी’ हेर्नेसँगै उहाँहरुको बायोग्राफी पनि पढें। 

फुटबल हेर्दा के कुरामा ध्यान दिनुहुन्थ्यो ?
म खेलाडीको फुटबल खेल्ने शैली हेर्थे। उनीहरूको बल मुभमेन्टदेखि गोल छिराएपछिको सेलिब्रेसन शैली बढी नियाल्थें। त्यसकारण पनि मलाई रोनाल्डो, मेसीको सेलेब्रेसन शैली निकै राम्रो लाग्छ।

सुटिङमा जानुअघि फुटबल तयारी कस्तो थियो ?
मैले नेपाली फुटबलका पूर्व कप्तान हरि खड्का सरसँग फुटबल सम्बन्धी प्रशिक्षण लिएँ। उहाँले फुटबल खेल्नु अघि र फुटबल खेल्न मैदानमा छिरेपछि के गर्ने, कसो गर्ने भन्ने विषयमा सिकाउनुहुन्थ्यो। म फुटबल खेल्दा कति दौडिएँ भन्ने मलाई पनि हेक्का छैन। 

हरि खड्कासँग तालिम लिँदाको अनुभव कस्तो रह्यो ?
मैले उहाँको नाम चाहिँ सुनेको थिएँ। नेपालमा फुटबल भन्दा उहाँको नाम पनि जोडिन्थ्यो। उहाँसँग प्रत्यक्ष भेट चाहिँ भएको थिएन। यो फिल्मले नै उहाँसँग भेट गराइदियो। उहाँले मलाई फुटबलका आधारभुत कुरादेखि धेरै राम्रा कुराको ज्ञान दिनुभयो। फुटबलको एउटा हस्तीसँग सिक्न पाउँदा म आफुलाई भाग्यमानी ठान्छु। किनकी उहाँलाई भेटेपछि फुटबलरको कथामा फिल्म बनाउने सपना पुरा भयो।

यो फिल्मको सुटिङताका तपाई बेहोस् हुनुभयो भन्ने कुरा आएको थियो नि ?
यो कुरा सही हो। फिल्ममा म झापाको खेलाडी इसान खड्काको भूमिकामा छु। त्यसकारण फिल्मको छायांकन झापाबाट सुरु भएको थियो। त्यहाँको तातो वातावरणमा म आफुलाई घुलमिल गराउन सकस भयो। यो फिल्ममा म धेरै दौडिएको छु। गर्मी मौसममा धेरै दौडाइले स्वास फेर्न पनि समस्या हुन्थ्यो। फिजिकल फिटनेसमा पनि उस्तै ध्यान दिनुपथ्र्यो। अक्सिजनको कमी भएर पनि म एकदुईपटक बेहोस् भएको छु। 

नेपालको जर्सी लगाएर मैदानमा प्रवेश गर्दा कस्तो अनुभव हुँदोरहेछ ?
फिल्मको छायांकन भइरहँदा मैले आफुलाई नायक अनमोल केसी ठानिन्। किनकी म इशान खड्का बनिसकेको थिएँ। मैदानमा प्रवेश गर्नु अघि प्रवेशविन्दुमा ढोग्थें। जर्सी लगाएर दौड्दा राष्ट्रियताको महशुस हुँदोरहेछ।

दिनभरी फुटबलकै पछि दौडिइरहँदा सपनामा पनि फुटबल देख्नुहुन्थ्यो होला नि ?
मैले सपनामा फुटबल देखिनँ। तर हरि खड्का सरको स्वर चाहिँ सुनिरहन्थें। उहाँलाई सपनामा देख्दिन थिएँ। तर कानमा हरि सरको आवाज चर्को रूपमा आइरहन्थ्यो।

नेपालमा स्पोर्टस् जनरामा बनेका फिल्महरू व्यवसायिक रूपमा सफल छैनन्। ‘क्याप्टेन’ पनि स्पोर्टस् जनरामा नै बनेको छ। यसलाई कसरी लिनुहुन्छ ?
फिल्मलाई चाहिने प्रमुख कुरा कन्टेन्ट हो। त्यो कन्टेन्ट भित्र इमोसनल पार्टको मात्रा कति छ, त्यसमा भर पर्छ। मलाई लाग्छ स्पोर्टस् जनराका फिल्म इमोसनल पार्ट नभएर नचलेको हुनसक्छ। हामीले ‘क्याप्टेन’मा धेरै इमोसनल पार्ट राखेका छौं। ‘क्याप्टेन’ले विश्वकपभन्दा बढी मजा दिनेछ।

‘क्याप्टेन’ किन हेर्ने ?
‘क्याप्टेन’ फुटबलमार्फत देशलाई विश्वमाझ चिनाउन चाहने एउटा ग्रामीण युवा फुटबलरको कथा हो। झापाको इसान खड्काले कसरी विभिन्न चरण पार गर्दै नेपाललाई विश्वमाझ चिनाउँछ भन्ने देखाइएको छ। यो फिल्मसँग राष्ट्रियता पनि जोडिएको छ। भारतले हामीलाई सधैं डोमिनेट गरिरहेको अवस्थामा फुटबलमार्फत नेपालले भारतलाई कसरी पराजित गर्छ भन्ने देखाएका छौं। तसर्थ यो फिल्मले राष्ट्रियता पनि बोकेको छ।

फिल्मको काम हुँदा तपाई जति सक्रिय हुनुहुन्छ। फिल्म नहुँदा बाहिर कहिँ कतै देखिनुहुन्न। फिल्म नहुँदा अनमोल के गर्छन् ? भन्ने दर्शकमा चासो हुन्छ। खाली समयमा के गर्नुहुन्छ ?
म घरमा नै हुन्छु। कहीँ कतैबाट फिल्मको स्क्रिप्ट आयो भने त्यो पढ्छु। नयाँ विषयको बारेमा सोचिरहन्छु। आफुलाई फरक रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा घोत्लिरहन्छु।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App