१ श्रावण २०७७ बिहीबार
कला

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

काठमाडौं - गत पुसको मध्यतिर चितवनमा भएको ‘हात्ती महोत्सव’मा हात्ती दौड भयो। हात्तीका छावालाई फूटबल खेलाइए। हात्तीको सौन्दर्य प्रतियोगिता नै भयो। नुवाकोटको तारुका, धादिङलगायतका स्थानमा माघे संक्रान्तीका दिन मंगलबार गोरु जुधाइयो। दुबैतिर खेल हेर्न र रमाइलो लिन दर्शकको भिड नै लाग्यो। तर मानव होस् वा पशु जोकोहीको स्वतन्त्र जीवनयापन गर्न पाउने प्रकृतिप्रद्धत अधिकार हो। मानिसले आफुले रमाइलो गर्नकै लागि यसरी गोरु जुधाउनु वा अन्य जनावरलाई खेल खेलाउनु कत्तिको उचित होला ? यसै सन्दर्भमा पशुअधिकारकर्मी प्रमदा शाहसँग नागरिकले कुराकानी गरेको थियो।

पशुको अधिकार हुन्छ कि हुन्न ? 
मानवको जस्तै पशुहरूको पनि अधिकार हुन्छ। उनीहरूको स्वतन्त्रतालाई ध्यान दिनुपर्छ। साइट फ्रिडम अफ एनिमलको आधारशिला अनुसार पशुको अधिकार मानवको भन्दा कुनैमा कम छैन। आधारशिलामा पशुका लागि भोक र तिर्खाको स्वतन्त्रताको अधिकारअन्तर्गत शारीरिक स्वास्थ्यका लागि खाना र पानीको पहुँच, असहजताविरुद्धको स्वतन्त्रताको अधिकारअन्तर्गत सहज र अनुकुल वातावरणमा बस्न पाउनुपर्ने, पीडा, चोट र रोगबाट स्वतन्त्रता, आफ्नो सामान्य व्यवहार प्रदर्शन गर्ने स्वतन्त्रता तथा स्वच्छ र तनावबाट मुक्त हुने स्वतन्त्रता उल्लेख छन्।

यी अधिकारअनुसार पशुमाथि कुनै पनि अप्राकृतिक व्यवहार गर्न तथा पीडा दिन हुन्न भन्ने छ। यो संसार मानवको मात्र नभई पशु, चराचुरुंगी र वातावरणको पनि हो। इको सिस्टमका लागि सबैको उपस्थिति जरुरी छ। पशुप्रति मानवले माया प्रेम गर्नुपर्छ। महात्मा गान्धीले उतीबेलै भन्नुभएको छ, ‘पशुलाई गर्ने व्यवहारबाट मानवको व्यवहारको परिचय हुन्छ।’ 

गोरु जुधाउने खेल पशु अधिकारका हिसाबले कस्तो अभ्यास हो ?
यो हुनै नहुने अभ्यास हो। संसारमा विस्थापित भइरहेको कुरालाई प्रोत्साहन गरिएको छ। पशुलाई कुन हदसम्म प्रयोग गर्ने भन्ने कुरा नेपाली समाजले बुझेकै छैन्। सर्कसमा जनावरको प्रयोग गर्ने, हात्ती दौडाउने, गोरु जुधाउने कामले जनावरलाई असर गर्छ। तालिमको तरिका अमानवीय र क्रुर छ। हात्तीलाई आगो देखाएर, सियोले घोचेर र तर्साएर तालिम दिइन्छ। गोरुलाई लठ्ठीले घोचेर, थुनेर वा उसलाई यातना दिएर तालिम दिने गरिन्छ। उसको प्राकृतिक बानीमै परिवर्तन आउने काम गर्नु प्रकृतिविरुद्ध हो। हामीले नुवाकोटमा विरोध गरेका थियौं। काठमाडौंमा गोरु जुधाउने भन्ने निर्णय हामीले नै रोकेका हौं। सरकारले छिट्टै नै पशुकल्याण ऐन ल्याउन जरुरी छ।  

जबर्जस्ती तालिम दिएर, लखेटेर जुधाइएको हुन्छ। चरिरहेको ठाउँमा जुध्नु प्राकृतिक हो। तर जबर्जस्ती जुधाउँदा मानसिक र शारीरिक असर पर्छ।

मनोरञ्जनकै लागि पशुको प्रयोग किन गर्नु हुन्न ? 
मानिसले जनावरबाट मनोञ्जन लिनु हुँदैन। जनावरले यो कुरा नबुझे पनि मानिसले त बुझ्नुपर्छ। मनोरञ्जन लिने माध्यम फिल्म, गीत, नाटक पनि छन्। पशुलाई दुःख दिएर मनोरञ्जन लिनु अमानवीय काम हो। हात्ती फुटबल खेल्न र गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन। उनीहरू जंगलमा विचरण गर्न र वातावरण जोगाउन जन्मेका हुन। एकातिर आधुनिक हुने भन्ने अर्कोतिर विस्थापित भइरहेको कुरा अपनाउने त राम्रो होइन। फ्रान्समा गोरु जुधाई विस्थापित भइसक्यो। स्पेनका धेरै स्थानमा हुने गोरु जुधाईसमेत रोकिएको छ। भारतमा पशुलाई सर्कसमा प्रयोग गर्न नपाउने व्यवस्था आइसकेको छ। त्यहाँको पशु कल्याण ऐनले त्यो कामलाई रोकेको छ। 

गोरु जुधाउदा गोरुमा कस्तो असर पर्छ ?
जबर्जस्ती तालिम दिएर, लखेटेर जुधाइएको हुन्छ। चरिरहेको ठाउँमा जुध्नु प्राकृतिक हो। तर जबर्जस्ती जुधाउँदा मानसिक र शारीरिक असर पर्छ। धेरै मानिसको चिच्याहटको त्रासमा उसले जता पनि आक्रमण गर्न सक्छ। घचेटेर पठाउँदा के गर्ने, कसो गर्ने थाहा हुन्न। मान्छेप्रति उसमा हिंसाको मानसिकता पैदा भएको हुन्छ। बालबच्चाले हेर्दा उसमा करुणाको भाव हराउँदै जान्छ। 

गोरु लगायत अन्य पशुलाई जोगाउनु पर्छ कि पर्दैन ? 
पृथ्वीमा मानवको जस्तै परापूर्वकालदेखि पशुको पनि अधिकार छ। अहिले अप्राकृतिक किसिमबाट उत्पादन बढाउने कार्यले पनि असन्तुलन ल्याएको छ। अझ जथाभावी खेल खेलाएर यसको दुरूपयोग भइरहेको छ। विश्व तथ्यांकले जलवायु परिवर्तनको ठुलो असर पशु उत्पादनले पारिरहेको देखाएको छ। एनिमल फार्मिङ गर्दा पुरानो प्राकृतिक तरिकाले गर्नुपर्छ। घरमा थुनेर राखेर पालन गर्दा अप्राकृतिक भइरहेको छ। मासु सकेसम्म नखाएकै राम्रो हो। खान मन लागे प्राकृतिक रूपमा पशु हुर्काएर खाए राम्रो हुन्छ।

मानव समाजमा पशु किन आवश्यक छ ?
मानिसले पशुको बारेमा हेर्न बुझ्न जरुरी छ। पशुलाई उपभोग्य वस्तुका रूपमा हेर्ने हैन। वातावरणका लागि यो अति आवश्यक छ। यसलाई दुःख दिएर उपयोग गर्नुहुन्न। गोरुको सही प्रयोग गर्न सडकमा छाड्ने र खेल खेलाउने भन्दा गौशाला राम्रो खोलेर अग्र्यानिक मल उत्पादन गर्न सकिन्छ। यसले मानव स्वास्थ्यमा असर पार्ने रसायनिक मललाई विस्थापित गराउँछ। बायो–ग्यास उत्पादन गरी उर्जा लिन सकिन्छ। डेरीलाई नेपालमा राम्ररी प्रोत्साहन गर्ने हो भने गाई र गोरु दुबैको लागि व्यवस्थित गर्नुपर्छ। गोरुको काम छैन् भनेर सबैतिर गोरु जुधाएर रमाइलो लिने हैन। 

प्रकाशित: २ माघ २०७५ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App