धादिङ - झ्याइझ्याई पञ्चेबाजाको तालमा खुडा, खुकुरी र तरबार नाँच। त्यसपछि दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै एकहुल भक्तजन जयजयकार गाउँदै थिए। उनीहरूको हाते साङ्लोभित्र पुजारीले देवीको प्रतिमूर्ति बोकेका थिए। सयौं मानिस बाटोको दाया“बाया“ बसेर अविर जात्रा गर्दै थिए। एकवर्ष भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको त्रिपुरा सुन्दरी भगवतीको मुर्ति धादिङको उत्तरी क्षेत्र सल्यानकोटबाट आगिन्चोकमा सार्दा भक्तजनमा छुट्टै उल्लास थियो।
पहाडी क्षेत्रको ठूलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नामले पनि चिनिन्छ। धादिङको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा हरेक वर्षको मंसिर महिनामा उत्तम तिथि हेरेर भव्य रुपमा मनाइने गरिन्छ। यस वर्ष पनि मंसिर २२ र २३ गते भव्य मेला लागेको हो। खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्राेलो अप्ठेरो बाटो हुँदै सोमबार बेसीको मन्दिर ल्याइएको हो। जसलाई स्थानीय भाषामा ‘माइत’ ल्याइएको भनिन्छ।
त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरूले पिठ्युमा बोकेका थिए। मन्दिरका मूल पुजारी हरिचन्द्र तिमल्सिना वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने चलन रहेको बताउँछन्। ‘त्रिपुरा सुन्दरीको मूर्तिलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ,’ उनले भने, ‘यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोकाबाटै भगवतीलाई पुजाआजा गर्नुपर्ने नियम छ।’
माइत आएकी देवीको रुप अहिलेसम्म कसैले देखेका छैनन्। न त उनको कुनै फोटो नै छ। एक वर्षभित्र विभिन्न ३ वटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो परम्परा छ। यही परम्पराअनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाअर्चना गरिन्छ । यो स्थान ‘मामाघर’को रुपमा प्रसिद्ध छ। मंसिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेसीको मन्दिरमा राखिन्छ। सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने जानकार बताउँछन्।
भगवतीको उत्पत्तिका विषयमा विभिन्न किंवदन्ती पनि पाइन्छन्। श्रीस्वस्थानीमा यज्ञकुण्डमा हामफालेकी सतीदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा सतीदेवीको कण्ड्यौलो पतन भएको उल्लेख छ। नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जा“दा यही मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसंग उनको दिव्योपदेशमा उल्लेख छ।
ऐतिहासिक महत्व बोकेको स्थानको बारेमा राज्यले अझै पनि उचित ध्यान नदिएको स्थानीयको गुनासो छ। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले यसै त्रिपुरा भगवतीको आशिर्वाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको विजय प्राप्त गरेको स्थानीयको दाबी छ।
भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टिकाको दिन हेर्ने र तिहारको भाइटिकाको दिन सार्वजनिक गर्ने चलन छ। भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको मन्दिरमा मेला लाग्दछ। भगवतीलाई बेसीको मन्दिरमा पु-याइसकेपछि भोलिपल्ट दिनभर बेसीको मन्दिरमा भव्य मेला लाग्ने गर्दछ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्न नुवाकोट, चितवन, काठमाडौंलगायतका मानिसहरू पनि आउँछन्। त्रिपुरा सुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरी दुई मन्दिर छन्। देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ।
देवीको दर्शन गर्न करिब आठ हजार भक्तजन मध्यरातदेखि नै कुरेर बसेका थिए। मंसिर महिनाको विशेष तिथि पारेर सोमबार गाउ“को मन्दिरबाट बेसीको मन्दिरमा भगवतीलाई ल्याइदै गर्दा भक्तजनहरूले बाटोमा नै भगवतीको दर्शन र पुजापाठ गरेका थिए। उनीहरूले मुर्ति हेर्न र छुन नपाएपनि टाढैबाट दर्शन गरि चित्त बुझाएका थिए। बेसीको मन्दिरमा भगवतीलाई सार्दे गर्दा खेतमा भर्खर टुसाउँदै गरेका गहुँवाली भक्तजनहरूले कुल्चेर टुसा भाँचियो बाली अझ राम्रो हुने विश्वास छ।
त्रिपुरा सुन्दरीको मूर्तिलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ। यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोकाबाटै भगवतीलाई पुजाआजा गर्नुपर्ने नियम छ।
प्रकाशित: २५ मंसिर २०७५ ०३:५४ मंगलबार