काठमाडौं – फिल्म ‘चंगा चेट’को छायांकन सकिएको सातापछि फिल्मका निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परे । फिल्मको प्रयोजनका लागि छापिएका नोट बजारमा पाइएपछि स्रोत खोज्दै जाँदा प्रहरी वाग्लेको अफिससम्म पुग्यो । यहाँ थप नोट भेटिएपछि वाग्लेमाथि नक्कली मुद्रा अपचलनको मुद्दा लाग्यो। जेठमा पक्राउ परेका वाग्ले झण्डै दुई महिनापछि धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भए पनि अदालतमा उनको मुद्दा चलिरहेको छ।
राजधानीमा सोमबार फिल्मको पहिलो गीत ‘गोजीमा दाम छैन’ सार्वजनिक कार्यक्रममा उपस्थित भएका निर्माता वाग्लेले आफ्नो जीवनलाई फिल्मकै नामसँग तुलना गरे। ‘कमेडी जनरामा बनेको यो फिल्ममा तीन पात्रको जिन्दगी नक्कली नोटकै कारण चैट हुन्छ,’माधवले भने,‘कथामा जस्तै मेरो जीवन पनि नक्कली नोटले चैट भयो । मैले फिल्मसँग सरोकार राख्ने सबै संस्थाबाट इजाजत लिएरै फिल्ममा पैसा प्रयोग गरेको थिएँ। त्यसमा चलचित्र विकास बोर्डबाट पनि अनुमति लिएको थिएँ। तर पनि दुई महिना जेल बस्नु पर्यो।’
ऋाफू पक्राउ पर्दा केही मिडियाले समाचार लेखेकोमा आफ्नो आपत्ति नभएको बताए। ‘मलाई नचिन्ने मिडियाका साथीहरूले समाचार लेख्नुभएकोमा कुनै गुनासो छैन,’वाग्लेले गुनासो गरे ,‘तर लामो समयदेखि मलाई चिन्दै आएका केही पत्रकार साथीहरूले मलाई अपराधीका रुपमा चित्रण गरेर समाचार लेख्दा चाहिँ दुःख लाग्यो। अहिले न्यायालयमा मुद्धा चलिरहेको छ । त्यहाँबाट न्याय पाउनेछु भन्नेमा म आशावादी छु।’
निर्देशक दीपेन्द्र के खनालले पनि फिल्मको कथा निर्माता वाग्लेको जिन्दगी जस्तै रहेको बताए। ‘फिल्मका सबै पात्र गरिब हुन्छन् । यो अवस्थामा को के कसरी चंगा चैट हुन्छन् भन्ने थाहा पाउन दर्शकले फिल्म हेर्नैपर्ने हुन्छ,’निर्देशक खनालले भने,‘ फिल्म डार्क कमेडी फ्लेबरमा छ। बनिरहेका कमेडी फिल्मभन्दा नितान्त भिन्न छ । हँसाउनकै खातिर कुनै पनि संवाद र दृश्य जर्बजस्ती राखेका छैनौं।’
सार्वजनिक गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री र परमिता राणाले देखिएका छन्। हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको स्वर तथा संगीत रहेको गीतमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले पनि स्वरमा साथ दिएका छन्। गीतमा प्रविन सिंहको कोरियोग्राफी छ।
माधव वाग्ले र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, राजनराज र अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ। फिल्म कात्तिक १६ मा रिलिज हुँदैछ।
प्रकाशित: ७ भाद्र २०७५ ०७:२१ बिहीबार





