‘यति मीठो खाना बनाउन कहाँ सिकेकी रिना?’ खाना खाँदै गरेकी उनले औँला चाट्दै काम गर्ने महिलालाई भनिन्।
‘म गरिबले कहाँ सिक्नु र हजुर? बनाउँदा बनाउँदै आफैँ जानेँ नि! मैले पकाएको खाना साबलाई पनि मीठो लाग्छ र?’ उत्ताउली हुँदै उसले सोधी।
‘हो नि! साबले तिम्रो कत्ति प्रशंसा गर्नुहुन्छ। तिमी मान्छे नि कति राम्री छ्यौ। छलकपट, चोरचकारी जान्दिनौ।’ उनले रिनाको गुणगान गरिन्।
सँगै बसेर चिया पिइरहेकी उनकी सखी मीना छक्क परिन्। काम गर्ने केटीको यत्रो प्रशंसा सुनेर आँखा सन्काउँदै उनलाई एकटकले हेरिरहिन्।
रिनाले आँसु झार्दै भनी, ‘मलाई यो घरबाट कहिले ननिकाल्नू है त! जहाँ गए पनि एक पेट पाल्नु त हो।’
उनले आत्मीय देखाउँदै भनिन्, ‘आखिर तिमीलाई लोग्नेले छाडेर अर्कै बिहे गरेको रहेछ। निसन्तान नि रहिछौ। मन लागे जति बस न!’
मालिक्नीको मुखबाट यस्तो सुनेर ऊ मक्ख परी। उसको खुट्टा भूइँमा थिएन। सानो बच्चालाई खानेकुरा खुवाएर सुताई अनि झोला भिर्दै सामान किन्न पसलतिर लागी।
रिनाको अनुपस्थितिमा मीनाले उनलाई हकार्दै सतर्क गराइन्, ´काम गर्नेलाई टाउकोमा चढाउँछेस्। भविष्यमा टाउकोमा हात लगाएर बस्नुपर्ला नि!’
उनले हाँस्दै भनिन्, ‘काम गर्ने दुखी,गरिव भनेर के गर्नु? यसलाई आफ्नो रूप र सीपको कत्रो घमण्ड छ!’
मीना झन् कराई, ‘मान्छे चिनेर पनि किन आफ्नै लागि खाल्डो खन्दैछेस् त?’
उनले शानले भनिन्, ‘गोरु जोत्न चुट्नुपर्छ। मान्छे जोत्न मन जित्नुपर्छ भन्ने कुरो खै बुझेकी?’
प्रकाशित: २१ असार २०८२ १३:२८ शनिबार