१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

स्थानीयले तोके कसमसको चुनढुंगा बोक्ने टिप्पर चलाउने समय

नेपालटार भएर बाहिरिँदै चुनढुंगा बोकेका टिप्परहरू। तस्बिर: महेश्वर

कसमस सिमेन्ट उद्योगका लागि उदयपुरगढी गाउँपालिकास्थित खानीबाट ढुवानी गरिने चुनढुंगा बोक्ने टिप्परहरू चल्ने समय स्थानीयवासीले निर्धारण गरेका छन्। आइतबार नेपालटारमा गाउँलेहरूको सहभागितामा बसेको टोल विकास संस्थाको बृहत् भेलाले बालबालिकालाई विद्यालय, बिरामीलाई स्वास्थ्यचौकी तथा स्थानीयवासी सर्वसाधारणलाई वडा कार्यालय जाने/आउने समय र राति टिप्पर चलाउन रोक लगाउने निर्णय गरेको हो।

बालबालिका स्कुल जान/आउन, सर्वसाधारण वडा कार्यालय र स्वास्थ्य चौकी जाने आउने समयमा टिप्पर चल्दा दुर्घटनाको उच्च जोखिम हुने गरेको भन्दै स्थानीयले टिप्पर सञ्चालनको समय निर्धारण गरेका हुन्। भेलाको निर्णयानुसार स्कुल, वडा कार्यालय र स्वास्थ्य चौकी जाने/आउने समय बिहान ९ देखि १० बजेसम्म टिप्पर नचलाउन तथा दिउँसो ३:३० देखि ४:३० बजेसम्म पनि टिप्पर चल्न नदिने निर्णय भएको दुर्घटना न्यूनीकरण अभियन्ता रमा मगरले बताइन्।

टिप्परलाई राति ७ देखि बिहान ५ बजेसम्म पनि चल्न नदिने निर्णय भेलाले गरेको अभियन्ता मगरले बताइन्। वडा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिसहित सर्वदलीय, सर्वपक्षीय भेलाले गरेको निर्णयले भोटदोभानदेखि वडा कार्यालय, स्वास्थ्य चौकी हुँदै कमानसम्मको सडक दूरीमा सो नियम लागू हुने छ।

उदयपुरगढी गाउँपालिका-८ बैजनाथ टोल विकास संस्थाको अगुवाइमा बसेको सो भेलाले भोटदोभानदेखि वडा कार्यालय हुँदै कमानसम्मको सडकको अवस्था टिप्परकै कारण बिग्रेको हुनाले त्यसको मर्मत सम्भार गर्न कसमस सिमेन्ट उद्योगलाई सहयोग माग्ने निर्णय पनि भएको छ।

टोल विकास संस्थाकी अध्यक्ष शर्मिलाकुमारी तामाङका अनुसार कच्ची सडकमा बढी भार बोकेका टिप्परहरू रातदिन निरन्तर चल्दा जनजीवन प्रभावित भएकाले यस्तो निर्णय गर्न बाध्य हुनु परेको हो। गाउँको बाटो, घाँसदाउरादेखि मेलापात, स्कुल, वडा कार्यालय र स्वास्थ्यचौकी आउजाउ गर्नुपर्ने भएकाले २४ सै घण्टा चल्दा दुर्घटनाको जोखिमसँगै राति चर्को आवाजले सुत्नसमेत नपाउने भएकाले टोल विकासले समय तालिका तोकेको उनले बताइन्।

उदयपुरगढी-८ का वडाध्यक्ष थीरबहादुर राउतले टोल विकास संस्थाको निर्णयलाई अक्षरस पालना गर्न कसमस सिमेन्ट उद्योगका प्रतिनिधिलाई पत्राचार गर्ने बताए। उनका अनुसार गाउँमा टिप्परकै कारण बिग्रे भत्केको सडक मर्मत गर्न पनि टिप्पर परिचालन गर्ने कसमस सिमेन्ट उद्योगलाई गाउँलेले आग्रह गरेका छन्। स्थानीय खानीको ढुंगा लाने उद्योगले स्थानीयवासीको सामान्य माग पूरा गर्नुपर्ने जिम्मेवारी हुने वडाध्यक्ष राउतले बताएका छन्।

प्रकाशित: ३ जेष्ठ २०८३ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App