५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

यादको मखमली स्पर्श

निबन्ध

मेरा निबन्धहरू यादहरूको मखमली स्पर्शले सिञ्चित छ। म तिनै यादहरूको सिँचाइ पाएर अनुभूतिहरूलाई अक्षरमा अवतरण गराउन मग्न छु। यो मग्नतासँगै मेरो साधना सिर्जना कर्ममा रूपान्तरण हुँदा म हर्षित हुन्छु। मेरो यो हर्ष खुसीको एक अनुपम ‘दीप–शिखा’ हो। यसरी यादहरूको स्पर्श–सुखमा रमाउँदै त्यसलाई सुखद उत्सवका रूपमा अनुवाद गर्न सक्नुपर्छ।

यादहरूको मखमली स्पर्शमा बाँच्नु उत्सवमय जीवनको एउटा अर्को पाटो हो। त्यहाँ ऊर्जामय उल्लासहरू स्वागतका पुष्पगुच्छा लिएर उपस्थित हुन्छन्। म नतमस्तक भई तिनलाई आत्मसात गर्दै जीवनमा सिर्जनाको उर्वर उब्जनी उत्पादन गर्न अग्रसर हुन थाल्छु। मेरो यो क्रमागत सिलसिला निरन्तर कायम छ।

यादहरूका साथ मिठा–मिठा यादहरू यो भाव आफैंमा एउटा सुन्दर र गहिरो अर्थ बोकेको वाक्यांश हो।

जिन्दगीको गोरेटोमा हिँड्दै गर्दा, हामी अनेकौं किसिमका मोडहरू पार गर्छौं। कति दृश्य आँखामा सजाउँछौं। कति अनुभव मुटुमा साँच्छौं। भेटिएका भेट र गरिएका संवाद सँगालेर राख्छौं। देखिएका दृश्य र त्यसले पारेका प्रभावहरू बटुलेर राख्छौं। कतिपय नराम्रा क्षणहरू पनि हुन्छन्। कहिले रमाइला पलहरू आउँछन्।

वास्तवमा यी सबैको सारले जीवनयात्रा हिँडिरहन्छ। यही हिँडाइसँगै व्यतीत दिनका अनुभवहरूले जीवनलाई नयाँ दृष्टि प्रदान गर्छन्। बितेका दिन र बिताएका क्षणहरू नै हुन् यादहरू ! तिनै यादहरूका दस्ताबेजमा हामी बाँचेका हुन्छौं। तिनै यादहरूको मखमली स्पर्शले हामी रोमाञ्चित हुन्छौं। तिनै यादहरूसँगै हाम्रो जीवन बाँचेका हुन्छौं। मृत्युपश्चात् सबै यादहरू समाप्त हुन्छन्। बाँचेकाहरूमा पनि यादहरू धमिलिँदै जान्छन्।

कतिपय यादहरू सपनाजस्तै हुन्छन्। सपनाबाट बिउँझिएपछि सबै बिर्सिन पुगिन्छन्। कतिपय हिउँदको पातझैं सुक्खा र उदास ! तर केही याद यस्ता हुन्छन्, जसले मनलाई सधैं खुसीका उच्छवासले मिठा–मिठा यादमा भुल्याइदिन्छन्।

यसरी आफूले बिताएर आएका यादलाई सम्झिएर रमाउन सक्नु ठुलो कुरा हो। अफसोस ती यादलाई सम्झिन सकिन्छ तर ती दिनतिर पुनः फर्किन सकिँदैन। समयले धेरै लामो फड्को मारिसकेको हुन्छ। ती यादहरूलाई सम्झिनु र त्यसबाट उचित शिक्षा ग्रहण गर्नु निश्चय पनि फलदायी हुन्छ।

यद्यपि यादहरूमा रमाउनु वा याद गरेर विगत दिनतिर फर्किनु मात्रै उपलब्धि मान्नु हुँदैन। त्यसलाई अभिलेखन गर्नु वा आफैंले भोगेको विगतलाई अक्षरमा जीवन दिनु अर्को महŒवपूर्ण उपलब्धि मान्नुपर्छ। किनभने यादहरू अतीतका प्रतिध्वनि मात्र होइनन्। तिनीहरू वर्तमानलाई जीवन्त बनाउने र भविष्यलाई अझ सुन्दर र रङ्गीन बनाउन मद्दत गर्ने अदृश्य शक्ति पनि हुन्। तिनै यादबाट सकारात्मक पाठ सिक्नु र जीवनलाई उन्नतिको बाटोमा हिँडाउनु बुद्धिमानी  कार्य हो।

म एकैछिन पछाडि फर्किन्छु। पुराना एलबम पल्टाउँछु। तस्बिर हेरेर ती दिनका यादहरूमा विस्मृत हुन पुग्छु। अनेकौं कल्पना मनमा दौडिन थाल्छन्। यसरी वर्षौंपछि कतै एकान्तमा बसेर ती पुराना तस्बिरहरू पल्टाउँदा तिनले बोकेका मिठा पलहरूले मनमा अनौठो हलचल मच्चाउँछन्। बाल्यकालको निश्चल हाँसो, साथीसँगका अनन्त रमाइला खेलहरू, चाडपर्वको उमङ्ग र परिवारसँगको न्यानोपन। यी सबै यादहरूले मुटुलाई एउटा अदृश्य मखमली स्पर्श दिन्छन्। यसले शीतलता र आनन्दको वर्षा गराउँछ।

मिठा–मिठा यादहरू कुनै बाकसमा बन्द गरिएका ‘उपहार’ जस्ता हुन्छन्। जब हामीलाई जीवनको दौडमा थकाइ लाग्छ, निराशाले घेर्छ, तब ती बाकसहरू खोल्दा त्यसभित्रबाट निस्किने पुरानो सुगन्ध पनि बासी र गनाउने पटक्कै लाग्दैन। त्यसले मनलाई ताजापनको आभास दिन्छ। पहिलो प्रेमको धमिलो मुस्कान, कुनै गुरुले दिएको प्रेरणादायी वचन, अफ्ठ्यारोमा साथ दिने साथीको हात वा आमाको स्नेहपूर्ण स्पर्श ! यी सबै सानातिना पलहरू जोडेर नै जीवनको ठुलो क्यानभास बन्छ। ती क्यानभासलाई रङले भर्ने काम मिठा यादहरूले गर्छन्।

यादहरूले हामीलाई ‘हामी को हौं ?’ भन्ने कुराको महसुस गराउँछ। तिनीहरूले हामीलाई हाम्रो जरोसँग जोडेर राख्छन्। कहिलेकाहीं तिनै यादहरूले आँखामा आँसु भर्छन्। तर, त्यो आँसुमा पनि एक प्रकारको मधुरस हुन्छ। बितेका पलहरू फर्किंदैनन् भन्ने थाहा हुँदाहुँदै पनि ती यादहरूलाई सम्झिँदा मनमा बेग्लै सन्तोष मिल्छ। मानौं ती पलहरू अझै हामीसँगै सुरक्षित छन्।

जीवनमा हामी अनेकौं उतार–चढावबाट गुज्रिन्छौं। सुख–दुःख, आँसु र हाँसोको तानाबाना नै जीवन हो। तर दुःखका क्षणहरूमा पनि यदि हामीले मिठा यादहरूको सहारा लिन सक्यौं भने ती दुःखका क्षणहरू पनि सह्रानीय बन्न पुग्छन्। मिठा यादहरूले हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छन्। किनकि हामीलाई थाहा हुन्छ कि सुन्दर पलहरू फेरि पनि आउन सक्छन्।

जीवनको यो यात्रामा हामीले जति सकिन्छ, त्यति धेरै मिठा–मिठा यादहरू बटुल्नुपर्छ। प्रत्येक पललाई पूर्ण रूपमा बाँच्नुपर्छ, ताकि भविष्यमा फर्किएर हेर्दा ती पलहरूले हामीलाई सुखद अनुभूति दिऊन्। किनकि जब सबै थोक सकिन्छ, त्यसपछि हामीसँग बाँकी रहने भनेकै यादहरू मात्र हुन्। ती जीवनका अमूल्य सम्पत्ति हुन्।

जीवनको यात्रामा केही चिज क्षणिक लाग्छन् तर तिनले छोडेको छाप सधैंभरि मनको कुनामा यादहरू बनेर त्यहीं बसिरहेका हुन्छन्। समयले ओझेलिएका, भावनाले सिँचिएका, सम्झनाको कुनाकाप्चामा जोगिएका यादहरू जीवनका असली साथी हुन्।

कहिलेकाहीं एकपल्ट सम्झेपछि फेरि मनैभित्र फिँजिने ती मिठा–मिठा क्षणहरूलाई म याद गर्छु। कतै बालापनको हाँसो छ, कतै तप्किएका आँसु। कतै चिसो साँझमा आमाको काखमा लुकेको स्नेह। कतै कसैको नजरमा झझल्किएको प्रेम, कतै प्राकृतिक सुन्दरताले मन भावविह्वल भएको क्षण। यी यादहरूका सुमधुर मखमली स्पर्शले म दुःख बिर्सन्छु। घाउको चोटमा औषधीले आराम मिलेझैं हुन्छु। त्यसपछि आनन्दले एक्लै मुसुमुसु मुस्कानमा चुर्लुम्म डुब्छु।

याद भन्नासाथ केवल घटनाहरू मात्र सम्झिँदैनन्, तिनका सुगन्धहरू पनि हुन्छन्। तिनले पूरा समयलाई पछाडि धकेलिदिँदै आज यहाँ ल्याइपु¥याएका हुन्। वास्तवमा यादका मखमली स्पर्श यिनैमा हुन्छ। यिनैले मन छोएर वर्तमानका विद्यमान अवस्थाबाट व्यतीत दिनका यादहरूमा हामीलाई लैजान्छ। हुन त याद मनका गीत हुन्, जुन मौनता वा कुनै एकान्त क्षणमा स्वतः गुन्जिरहन्छन्।

के याद सधैं मिठा हुन्छन् त ? होइन, ती पीडादायक पनि हुन्छन्। तर ती पीडा पनि कहिलेकाहीं मधुर लाग्छन्। किनभने ती पीडाले हामीलाई मान्छे बनाउँछन्, अनुभूतिमा भिजाउँछन्, भोगाइमा रमाउन सिकाउँछन्। यादबिना हामी शुष्क हुन्छौं, प्राण नभएको देहझैं बाँच्छौं।

सम्झनाका पाना पल्टाउँदा कहिलेकाही लाग्छ– कसैसँग बोल्न बाँकी छ, कसैलाई गाली गर्न बाँकी छ, कसैको गाली खान बाँकी छ, कसैलाई मायाले अँगालो हाल्न बाँकी छ। तर, समयले तिनीहरूलाई परतर्फ धकेलिसकेको हुन्छ। अनि बाँकी रहन्छन् सम्झनाका साथ तिता–मिठा यादहरू र यादका मखमली स्पर्शहरू !

यादहरू कहिल्यै पुराना हुँदैनन्। जति पुराना भए, त्यति नै यादहरू झन् गहिरो सम्झनाका तरेलीले भरिएका हुन्छन्। जसरी आकाश सधैं निलो देखिन्छ, साँझ पर्दा झनै मनमोहक लाग्छ। याद पनि समयसँगै गाढा र अर्थपूर्ण बन्दै जान्छन्।

अन्ततः जिन्दगी यात्रा, भोगाइ र यादहरूको शृङ्खला हो। हामी जहाँ गए पनि, जति टाढा पुगे पनि, ती तिता–मिठा यादहरू हाम्रो छायाजस्तै साथमा रहन्छन्। यादहरूबाट जति नै टाढिन खोजे पनि, यादहरूबाट सुटुक्क भाग्न चाहे पनि। तथापि सकिँदैन निष्ठुरी मान्छेझैं अनायासै त्यत्तिकै अलग्गिन। यादको मखमली स्पर्शले मनभित्रै कतै सुमसुम्याइरहन्छन्।

आज म एक्लै बसेर यादको मिठासमा डुबिरहेको छु। जिन्दगीका हरेक पानामा कतै न कतै तिनीहरू झल्किरहेका हुन्छन्। ती हाँसोका झिल्का, आँखामा टिलपिल गरेका सपना, अधुरा कुराकानी, तडकभडक नभएका तर भावनाले पूर्ण क्षणहरू। तिनै यादहरूको मखमली स्पर्शले म स्पन्दित हुन्छु।

प्रकाशित: २१ असार २०८२ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App