सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्ययनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ।
असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र पहरी नायव उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन्।
प्रज्वल पौडेल सङ्गीत विधातर्फ वाद्यवादन र गायनमा उत्कृष्ट ठहरिएका छन्। उनी अहिले द भ्वाईसअफ किड्स सिजन ४ मा समेत ब्याटल राउण्डबाट लाइभ राउण्डमा समेत प्रवेश गरेका छन्।
यसअघिका वर्षहरूमा सो पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्रहरू रायन घिमिरे, आशिष् रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो।
स्व.पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतहरूद्वारा सामूहिक रुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो।
कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत सङ्गीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको छ।
२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका स्व.पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए।
गीत सङ्गीतमा रुचि राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधि समेत हात पारेका थिए।
गीत लेख्ने, सङ्गीत दिने र आफै गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो।
कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङको मलेखुमा भएको सडक दुर्घटनामा परि उनको निधन भएको थियो।
प्रकाशित: १७ असार २०८२ १८:०८ मंगलबार





