हिमालको हिउँ टिपेर
मधेसको गर्मी लखेट्न सक्ने
सलल बगिरहने खोला हुँँ म।
मधेसको गर्मी बोकेर
हिमालको चिसो सेक्ने
वेगवान् भरिया पनि हुँँ म।
चोमोलोङमाभन्दा अग्लो शिर बनाएर
सिमे भुमे ढोगेर
माटोलाई बिछट्टै माया गर्ने
आदिम रुख हुँँ म।
म आदिम हावा
आदिम पानी
र भुमिको आदिम पुत्र हुँं
मेरो मन पवित्र छ
चोखो छ
निश्छल छ
र आकाशभन्दा विशाल छु म
र म सफा दिलको कविता लेख्छु
म आदिम रगतको जिउँदो कैरन कहन्छु।
मसँग सबैभन्दा निस्कपट र निर्दोष कलम छ
कसैलाई नघोच्ने औंलाहरू छन्
कसैलाई नलत्याउने बलिश्ठ खुट्टाहरू छन्
र मसँग धर्तीभन्दा फराकिलो हृदय छ
त्यतिकै गहिरो भावना छ
र छ पृथ्वीभन्दा ठुलो मस्तिस्क
छैन मसँग ढोंगीपन
छलछाम र षड्यन्त्रका पुलिन्दा खोल्ने
बेइमानी चाला छैन मसँग
न मसँग कुनै जालझेलका गोप्य योजनाहरू छन्
किनभने मैले फसाउनु छैन कसैलाई
र हत्या गर्नु छैन कसैको
लुट्नु छैन कसैको भूमि
लखेट्नु छैन कसैलाई मैले
न त खोस्नु छ कसैको अधिकार
झुक्याउनु छैन मैले कसैलाई
बेच्नु छैन आफ्नो स्वाभिमान
त्यसैले त म
एक आदिम हावा हुँँ
आदिम पानी हुँँ
र भूमिको आदिम पुत्र हुँँ
र पवित्र चित्र कोर्दै आफ्नै भूगोलको कविता लेख्छु म
म कसैलाई घृणा गर्दिनँ
अपमान गर्दिनँ
कसैको आत्मसम्मनमा ठेस लाग्ने
कसैको श्वासप्रश्वासमा बालुवा भर्ने
या त कसैको टाउकोमा घन हान्ने दाउ छोप्दिनँ म
म मेरै खेतमा लहलह बाली फलाउँछु
म मेरै कुलोमा पानी बगाउँछु
म मेरै घरको धुरी स्याहार्छु
तर, याद रहोस्,
म अन्याय सहन्नँ
म अपमान सहन्नँ
म अत्याचार सहन्नँ
र दिन्न म कसैलाई मेरो बारी चोर्न
खबरदार!
म एक आदिम कवि हुँँ
म मेरो आदिम हावा, पानी, माटो र भूमिको कविता लेख्छु।
म सफा छु
निर्दाेष छु
सोझो छु
र छु सरल
र हुँँ मेरो भूमिको इमान्दार सिपाही
तर, निम्छरो नसम्झनु मलाई
म सलल बगिरहने खोला हुँँ।
- अनुशिल राई
प्रकाशित: १४ असार २०८२ १२:४५ शनिबार





