मुहूर्त सामान्यतया शुभाशुभ समयको सूचक हो। यो अवधारणा ऋग्वैदिक कालदेखि चलिआएको छ। ऋग्वेदको सातौं मण्डलको अठासीऔं सूक्तमा नौका विहारमा वरुण स्वामी मानिएका शतभिषा नक्षत्रको साथ हुनुको मानवीकरण भेटिन्छ, यसमा शुभ दिन हेरेर वशिष्ठलाई ऋषि बनाउने उल्लेख छ। नक्षत्राधारित मुहूर्तहरूको यही मान्यता अथर्ववेद, शतपथब्राह्मण, तैत्तिरीयसंहिता, तैत्तिरीयब्राह्मण आदिमा पनि भेटिन्छ। निश्चय नै यस विषयलाई ऋषिप्रज्ञाले धेरै महत्त्व दिएका छन्। स्मृति, गृहसूत्रहरूमा त यस विषयमा धेरै कुराको वर्णनपरक निर्देश छन्।
पूर्वीय सनातन धर्मानुयायी समाजमा षडअङ्ग वेद, विशेषतया ज्योतिष तथा धर्मशास्त्र हिन्दुधर्म एवं हिन्दु संस्कृतिका आधार मानिन्छन्। वेदका यी दुवै अङ्गमा स्वभावले नै समय–समयमा संशोधन, परिवर्धन र कदाचित जनकल्याणार्थ परिवर्तन पनि हुँदै आइरहेको छ।
सिद्धान्तशिरोमणि ज्योतिषीय ग्रन्थका रचनाकार भास्कराचार्य भन्नुहुन्छ– वेदहरूको प्राकट्य यज्ञ सम्पादनार्थ भएको हो तथा यज्ञ सर्वथा काल, समय, मुहूर्त, बेलामा नै आधारित हुन्छ। यी सबैको ज्ञान काल विज्ञान रूप ज्योतिषशास्त्रबिना हुन सक्दैन। यही प्रयोजनले ज्योतिषलाई वेदहरूको प्रमुख वेदाङ्ग मानिएको हो।
शासक वर्गले देश र जनतालाई कुनै प्रकारको अप्ठ्यारो नपरोस् भनेर प्राचीन वेदको निर्मल चक्षुः मानिएको ज्योतिष विज्ञान तथा त्यसभित्र रहेको वास्तु विज्ञानका सामान्य नियमहरू कदापि पालना गर्ने प्रयत्न गरेको देखिँदैन। हाम्रा शासक तथा सरकारी निकायमा रहेकाले सहजै सम्भव हुनसक्ने खालका वास्तु ज्योतिषका सामान्य नियमहरू मात्रै पालना गरेको भए पनि हाम्रो देश अहिले राजनीतिक, सामाजिक एवं आर्थिक जेजस्तो अवस्थामा छ, त्योभन्दा निकै राम्रो र सकारात्मक अवस्थामा रहन सक्थ्यो होला।
विगतका वर्षहरूमा हाम्रो देशमा राष्ट्रहितका लागि भनेर नेपाल सरकारका आधिकारिक व्यक्तिहरूले धेरैजसो ठूला निर्माण कार्यको शिलान्यास तथा उद्घाटन, महत्त्वपूर्ण राजनीतिक निर्णय तथा चुनावहरू अशुभ मानिने दिनमा भएको देखिन्छन्।
त्यसैगरी देशमा विभिन्न समयमा भएका ठुला ठुला धार्मिक यज्ञ कार्यहरू, नजिकैका वर्षहरूमा प्रधानमन्त्री तथा मन्त्रीले सपथ खाने दिनको विचार गर्दा शास्त्रमा वर्जित मानिएका निन्दित दिनमा भएका देखिन्छन्। जसको प्रभाव विगतका वर्षहरूको तुलनामा देशमा आर्थिक, समाजिक एवं राजनीतिक संघर्ष र विवाद, जन र धनको व्यापक क्षति हुने खालका अप्रिय सवारी एवं हवाई दुर्घटना झन् बढिरहेको देखिन्छ।
अखिल विश्वमा निखिल कार्य कालाधीन छन्। सूर्य र चन्द्रमाको स्थितिले नै कालको (वर्ष, अयन, ऋतु, मास, पक्ष, तिथि आदि) अवयव प्रत्यक्ष हुन्छन्। आकाशस्थ अन्य ग्रह एवं नक्षत्रहरूको शुभाशुभ रश्मिको सम्पर्कले शीत–उष्ण, दिन–रात्रि, सुभिक्ष–दुर्भिक्ष, जन्तुहरूमा स्वस्थ–अस्वस्थ आदि फल पनि भइरहन्छन्।
प्राचीन जैन आचार्य भद्रबाहु स्वामीका वचनमा आधारित भद्रबाहु संहिता १४.१ मा उल्लेख गरिएको छ– अथातः सम्प्रवक्ष्यामि पूर्वकर्मविपाकजम्। शुभाशुभतथोत्पातं राज्ञो जनपदस्य च।। राजा अर्थात् प्रमुख शासक वर्ग (सरकारका आधिकारिक व्यक्ति, मन्त्री, प्रधानमन्त्री एवं कर्मचारी) र जनपदले गरेका पूर्वोपार्जित शुभाशुभ कार्यहरूको फलको कारण हुने खालका उत्पातहरूको निरूपण गर्छु।
सबैको समान हितको कुरा गर्ने ज्योतिषको संहिता स्कन्धअन्तर्गत रहेको एघारौं शताब्दीका राजा भोज परमारले रचना गर्नुभएको उत्तर भारतको प्रामाणिक मानिने वास्तुशास्त्रीय ग्रन्थलगायतमा देवस्थापना, द्वारस्थापना, गृहारम्भ, प्रासाद, राजकीय भवन, सभाभवन लगायतको आरम्भ, गृहप्रवेश, खनन, शिलान्यास आदि अनेक विषयमा काल अर्थात् समयको महत्त्व दर्साइएको छ।
मानवका समग्र जीवनोपयोगी विभिन्न समस्याको अनुकूल र प्रतिकूल समयलाई जानेर प्रतिकूल वातावरणबाट मानवलाई बचाउने गर्नु र अनुकूल वातावरणसँग मानव मात्रको अभ्युदयको समय जान्नु यो मुहूर्त ज्योतिषीको सर्वश्रेष्ठ कर्तव्य हो। यसै प्रकार राज्यसञ्चालनको शुभ समयको तालिकाको ज्ञानको साथ समाजमा विभिन्न उद्योग–व्यवसायको प्रारम्भिक शुभ मुहूर्तहरूको गवेषणा पनि मुहूर्त ज्यौतिषको ज्ञानद्वारा नै हुन सक्छ।
विश्वरचयिता आचार्य आदि विश्वकर्माले समयको महत्त्व बुझाउँदै भन्नुभएको छ– आदौ कालं परीक्षेत् सर्वकामार्थसिद्धये। कालो हि सर्वजीवानां शुभाशुभफलप्रदः।। अर्थात् वास्तुकार्यमा सबैभन्दा पहिले मुहूर्तकालको परीक्षा गर्नु, जसले गर्दा सबै कार्यहरू सिद्ध हुन सकून्। काल नै सबै जीवका लागि शुभ र अशुभ फलको दाता हुन्छ।
ज्योतिषीय दृष्टिकोणले विचार गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएको थियो। त्यो शिलान्यास कार्यक्रममा नेपालका सबैजसो राजनीतिक पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति थियो। त्यस दिन गृहारम्भका लागि वर्जित मानिने सूर्य सङ्क्रान्ति र दारुण तथा तीक्ष्ण संज्ञक नक्षत्र आद्र्रा परेको थियो।
शिलान्यासको दिन अनिवार्य विचार गर्नैपर्ने चन्द्रबलको कुरा गर्नुपर्दा नेपालको राशि वृश्चिकबाट आठौं मृत्यु भावमा पर्ने राशि मिथुनमा त्यो पनि अशुभ मानिने शनिको साथमा रहेको बलियो मंगलजस्तो पाप ग्रहको दृष्टिमा थियो। निर्माण कार्य सुरु भएको दिन पनि चन्द्रमा पाप राशि शनि र मंगलजस्ता पाप ग्रहको दृष्टिमा रहनु पनि शुभ थिएन। त्यसैगरी २०८० साउन १ गते सो विमानस्थल परिसरमा हवाइ इन्धन डिपो निर्माणका लागि शिलान्यास भएको दिन पनि शुभ थिएन।
ज्योतिषका प्राचीन सबै ग्रन्थमा शुभ एवं महत्त्वपूर्ण कर्महरूमा चन्द्रबलको अवश्य विचार गर्नु भनेर विशेष जोड गरिएको छ। ‘चन्द्रशुद्धिस्तु सर्वतः’ अर्थात् चन्द्रमा आफ्नो राशिबाट चार, आठ, १२ र पाप ग्रहहरूद्वारा पीडित हुँदा पनि महत्त्वपूर्ण शुभकर्महरू नगर्नु भनेर शास्त्रहरूमा भनिएको छ। श्रीरामदैवज्ञको ‘मुहूर्तचिन्तामणि’ ग्रन्थको ४/७ मा भनिएको छः पापान्तः पापयुग्द्यूने पापाच्चन्द्रः शुभोऽप्यसत्। अर्थात् यदि चन्द्रमा पाप–ग्रहहरूको मध्यमा छ, पापग्रहले युक्त छ, अथवा पापग्रहको सप्तम स्थानमा अर्थात् दृष्टिमा छ भने त अशुभ फलदायक नै हुन्छ।
त्यसैगरी तोकिएको समयभन्दा दुई वर्ष आठ महिनापछि निर्माण सम्पन्न गरेर सो विमानस्थलको २०७९ पुस १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले विधिवत वेदमन्त्रहरूको उच्चारणसहित वास्तु पूजा अनिवार्य गर्नैपर्ने ठाउँमा विशेष समारोहमा पानसमा दियो बालेर औपचारिक उद्घाटन गर्नुभएको थियो।
प्रवेश वा उद्घाटनको दिन भने मुहूर्तपति ग्रह चन्द्रमा पोखराको राशिबाट आठौं स्थानमा पर्ने पापग्रह मंगलको राशिमा मेषमा त्यो पनि राहु जस्तो पाप ग्रहको साथमा कुनै पनि शुभग्रहको दृष्टि तथा युति नभएको देखिनुलाई पनि कदापि शुभ मानिँदैन थियो। त्यसैगरी उद्घाटनको दिन वर्जित मानिने दक्षिणायनमा पर्ने महिना पुस १७ गते परेको सूर्यको बार आइतबार पनि अशुभ नै मानिन्थ्यो।
संयोगको कुरा के भने वास्तु कार्यका लागि स्वीकार नगरिने सूर्य ग्रहको बार आइतबार उद्घाटन भएको ठिक तेह्रौं महिनाको मध्यमा २०८० माघ १ गते सोमबार सङ्क्रान्तिको दिन सूर्यकै होराको मध्यतिर पर्ने समय १० बजेर ५५ मिनेटमा काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोँचमा झरेर दुर्घटनाग्रस्त हुँदा सो विमानमा ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना रहेका थिए र सबैको घटना स्थलमै दुःखद मृत्यु भएको थियो। यो दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछिको पहिलो थियो।
सोमबारको मालिक चन्द्रमा मानिन्छ र त्यो दिनभरि नै चन्द्रमा सबै प्रकारले अति पीडित भएका कारण सोमबारकै दिन सूर्य सम्बन्धित अयन, सङ्क्रान्ति र बारको अशुभता जुधेको कारण सूर्यकै होरामा दुर्घटना घटेको संकेत बुझिन्छ। ऋग्वेदको शाखा मानिने ऐतरेय ब्राह्मण, ३.१ अनुसार संवत्सरको तेह्रौं महिनामा सूर्यले चन्द्रमाका लागि छोडेको हुन्छ अर्थात् उक्त अधिक महिनामा सूर्य अगाडि बढेको हुँदैन। अतः यो तेह्रौं महिना धेरै राम्रो हुँदैन भनेर भनिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितताको आशंका गरी राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा लेखा समितिले छानबिन उपसमिति बनाएको थियो। उपसमितिले १४ अर्बको आयोजनालाई २२ अर्ब बढी पुर्याएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। त्यसपछि त्यो विषयको निकै चर्चा पनि भएको थियो।
२०८० साल वैशाखमा पशुपतिको वनकालीमा नेपाल देशको वृश्चिक राशिका लागि धन र शिक्षा एवं सन्तानको विशेष कारक मानिने तथा विश्वका लागि सबैभन्दा धेरै शुभत्व बोक्ने ग्रह बृहस्पति अस्त रहेको बेला नेपालको नाम उच्चारण गरेर पशुपतिमा अयुतचण्डी नामक विशाल यज्ञ भएको थियो। यस प्रकारको यज्ञ नगर्नु भनेर मानिएका सम्पूर्ण विद्वान्हरूद्वारा यज्ञ सुरु हुनुभन्दा अघिदेखि नै चौतर्फी विरोध भएको थियो। तर पनि नेपाल सरकारका आधिकारिक व्यक्ति नै अग्रसर भएर नेपालको मारवाडी सेवा समितिका सदस्य तथा भारतका एक जना विवादित मानिएका जोगीलाई लक्षित गरेर अयुतचण्डी यज्ञ आयोजन गरेका थिए। त्यो बेला सो यज्ञमा प्रारम्भदेखि नै तत्कालीन सरकारका गृहमन्त्री, संस्कृतिमन्त्रीलगायत उपराष्ट्रपतिको पनि उद्घाटनलगायत कार्यक्रममा उपस्थिति भएको देखिएको थियो।
त्यसैगरी अध्ययन गर्दा विगतमा निन्दनीय मानिने अधोमुखी नक्षत्रमा नेपाल सरकारद्वारा स्थापना भएको बुझिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८१ असार २८ गते बिहान ९ः३५ बजे पशुपति कोटीहोमको प्रारम्भ गर्नु भनेर आयोजकलाई समितिको लेटर प्याडमा लेखेर दिएको साइत अति त्रूटिपूर्ण र देश जनताका लागि शुभ नरहेको प्रस्ट बुझिन्छ।
२०७९ सालको दशैंको टीका, २०८० साल भाइटीकाका लागि भनेर घोषणा गरिएको साइत पनि शुभ थिएन। विचार गर्दा सार्वजनिक पदमा रहेका आधिकारिक व्यक्तिले गरेका गल्तीका कारण देश र जनताका लागि बढी नोक्सानदायक भएको हो कि भन्ने पनि आभास हुन्छ।
विगतमा सबै राजनीतिक पार्टीभन्दा कांग्रेसको अधिवेशनको उद्घाटन अलि राम्रो कुम्भ राशिमा बृहस्पतिको साथ चन्द्रमा भएको शुक्लपक्षको सप्तमी तिथि परेको थियो, जसको परिणाम चुनावमा पार्टी पहिलो भयो र त्यही पार्टीका नेता राष्ट्रपतिमा पनि चुनिए। सदनबाट एमसिसी पास हुँदा बृहस्पति अस्त यानी पृथ्वीबाट नदेखिने अवस्थामा रहेको थियो। परिणामको कुरा गर्नुपर्दा अहिले ट्रम्प सरकारको नीतिअनुरूप त्यो योजना अहिले अनिश्चित अवस्थामा छ।
विगतमा राप्रपाका अध्यक्ष कमल थापाले पार्टी अधिवेशनको क्रममा औंसीको दिन पार्टी अध्यक्षको चुनाव गराउनुभयो र आफैं पराजित भएर पार्टी नै छोड्नुभएको थियो। ‘दर्शे राजभयं’ भनिएकोमा त्यस दिन चुनिएका सो पार्टीका केही नेताले चैत १५ को तिनकुने आन्दोलनको घटनामा राजदण्ड भोग्नुपरेको थियो।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पहिलो पटक मंसिरमा शुक्र अस्त तथा दोस्रो पटकको उपचुनावमा बृहस्पति अस्त भएको बेला चुनाव जित्नुभएको थियो। उहाँको प्रचलित नाम राशिबाट बृहस्पति आठौंमा प्रतिकूल हुनासाथ उहाँ निरन्तर संघर्षको सामना गर्दै अहिले पनि हिरासतमा हुनुहुन्छ।
२०७९ मंसिरमा शुक्र अस्त भएको बेलामा संसदीय दलको चुनाव भएको थियो। यसअघि २०५१ कार्तिक २९ गतेको मध्यावधि चुनाव हुँदा पनि आकाशमा बृहस्पति अस्त रहेको अवस्था थियो। त्यसकै एक वर्षपछि देशमा सशस्त्र माओवादी आन्दोलन सुरु भई देश गृहयुद्धमा धकेलिएको थियो।
राष्ट्रिय विषयमा कुनै महत्त्वपूर्ण निर्णय गर्दा देश र जनताको हितकल्याणको कामना राख्ने शासक वर्गले जनतालाई कुनै प्रकारको अप्ठ्यारो नपरोस् भनेर ज्योतिष विज्ञानको अनुपालन गर्नाले सबैलाई शुभ रहन्छ। यसै विषयमा छैटौं शताब्दीका गणितज्ञ एवं खगोलविद् वराहमिहिरको विश्वप्रसिद्ध ग्रन्थ बृहत् संहिताको दोस्रो अध्यायमा उल्लेख भएका देशका सर्वोच्च शासकले बुझ्नुपर्ने तलको श्लोक आजको सन्दर्भमा पनि मननयोग्य छ।
‘अप्रदीपा यथा रात्रिरनादित्यं यथा नभः तथाऽसांवत्सरो राजा भ्रमत्यन्ध इवाध्वनिः’ अर्थात् जसरी दीपविहीन रात्रि र सूर्यविहीन आकाश शोभायमान हुँदैन, त्यसैगरी ज्योतिर्विद्हीन देशका सर्वोच्च शासक शोभित हुँदैनन्, दृष्टिविहीन यात्रासमान मानिन्छ।
प्रकाशित: ७ असार २०८२ ०६:०१ शनिबार