तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन्।
निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए। उनले भने, ‘आ बाट आमा’ मा प्रदीप रावतलाई अनुबन्ध गरेका छाैं। उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा हुनुहुने छ। नितान्त नेपाली लोकमा नेपाली स्टायलको भूमिका निवार्ह गर्दै हुनुहुन्छ।’
नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको बताए। अभिनेता रावतले यसअघि ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए। जसमा अभिनेत्री नीता ढुङगानाको बुबाको भूमिका निर्वाह गरेका थिए। दर्शकले जुन क्यारेक्टरलाई खुब मन पनि पराएका थिए। यस फिल्ममा भने उनी पलको बुबाको भूमिकामा अभिनय गर्न लागेका हुन्। निर्देशक चन्द्रले नै निर्देशन गरेको फिल्म ‘माई’ र ‘ह्रस्वदीर्घ’ मा अभिनय गरेका थिए।
यस फिल्ममा यसअघि विपना थापा, पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। उनै निर्देशक पन्तको दोस्रो फिल्ममा पनि सहकार्य गर्न लागेकी हुन्।
अभिमन्यू निरवीले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्। फिल्मको भदौबाट फ्लोरमा तयारी निर्माण पक्षको छ। फिल्ममा प्रदीप, विपना र पलका साथमा अन्य कलाकारलाई निर्माण पक्षले अनुबन्ध गर्दै छ। अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तले बताए।
थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो। निर्देशक पन्तले यो फिल्म आउँदाे फागुन १५ गतेबाट प्रदर्शनमा आउने बताए।
प्रकाशित: ३१ जेष्ठ २०८२ १३:१२ शनिबार





