१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

बत्ती लिएकी केटीसँग एक बिहान

नियात्रा

लन्डनको वेस्टमिन्स्टर ट्रेन स्टेसनबाट बाहिर निस्कँदा उदास बिहानले स्वागत गर्छ। घुरमैलो छ आकाश। दौडिरहेका छन् आकाशमा काला बादल। मध्यान्हतिर घाम लाग्ने मौसमी भविष्यवाणी भएकाले घामको प्रतीक्षामा बसेको छ लन्डन। घाम लागेपछि एकदम बैंसालु देखिन्छ लन्डन। त्यसपछि देखिन्छन् बैंसालु नारीहरू सडकमा। घाम र बैंसालु नारीको दर्शन गर्नु अघि दया र सेवाकी प्रतिमूर्ति एक आदर्श नारीको दर्शन गर्नु छ मैले। गर्नु छ उनीसँग साक्षात्कार। पल्टाउनु छ उनको जीवनका श्यामश्वेत पानाहरू। अध्ययन गर्नु छ मैले उनले भोगेको कठोर समयलाई।

थेम्स नदीमाथिको पुलमा मेरा पाइला चलिरहेका छन्। पुलमाथि दौडिरहेका छन् गाडीहरू। पुलमुनि थेम्स नदी शान्तसँग बगिरहेको छ। बगिरहेका छन् मेरा मनमा उत्साह र जिज्ञाशाका अनेकन लहर। यस्तै लहरले दौडाउँछन् मलाई यात्रामा।

आज २९ मे, २०२५ को बिहान। लन्डन सहरमा मानिसको अत्यधिक भिड हुने समय आउन बाँकी नै छ। लन्डन सहरमा राम्ररी हल्ला सुरु भएकै छैन। अचानक साइरनको हल्लाले सतर्क गराउँछ मलाई। साइरन बजाउँदै एउटा एम्बुलेन्स बेतोडले दौडन्छ मेरो अगाडिबाट। एम्बुलेन्सभित्र कुनै सिकिस्त बिरामी होलान् वा कुनै दुर्घटनामा परेको घाइते। सेन्ट थोमस हस्पिटलको कम्पाउन्डभित्र प्रवेश गर्छ त्यो एम्बुलेन्स। संयोग कस्तो परेको छ भने म पनि सोही अस्पतालमा जाँदै छु। म बिरामी त होइन तर बिरामीको अनुपम सेवा गर्ने नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलसँग साक्षात्कार गर्न।

थेम्स नदीछेउमै रहेको सेन्ट थोमस अस्पताल परिसरको एक छेउमा बनाइएको फ्लोरेन्स  नाइटिङ्गेल म्युजियम अगाडि पुग्छु। म उभिएको छु नर्सिङ इतिहासको एउटा उज्यालो बत्तीअगाडि। फ्लोरेन्स नाइटिङ्गेलको नाम बोेकेर उज्यालिएको देख्छु म्युजियम रहेको भवन। म्युजियमभित्र उज्यालो अनुहार भएकी कर्मचारीले मुस्कानसहित स्वागत गर्छिन्। मेरो मनमा खुसीको एउटा उज्यालो दीप बल्छ धपक्क।

म्युजियमको भित्तामा फ्लोरेन्स नाइटिङ्गेलको ठुलो चित्र छ। त्यही चित्रको छेउमा उनको अर्धकदको प्रतिमा देख्छु। त्यसले मलाई तुरुन्तै आकर्षित गर्‍यो। त्यस चित्र र प्रतिमालाई नियाल्छु। नाइटिङ्गेलको अनुहारमा दया र सेवाको भावना दौडिरहेको देख्छु। मेरो मनभित्र पलाउँछ उनीप्रति असीम श्रद्धा। त्यहीं उभिएर नाइटिङ्गेललाई चोखो हृदयबाट नमन गर्छु।

म्युजियमभित्र मेरा आँखा र गोडाले यात्रा गर्न थाले। भित्ताभरि देख्छु नाइटिङ्गेललाई चिनाउने, उनको कार्यबारे बताउने विभिन्न फोटा र अक्षरहरू। अथाह सूचना र जानकारी टाँसिएका छन् म्युजियमका भित्तामा। मेरा जिज्ञासु आँखा तिनमा अडिन्छन्। एक एक गर्दै नियाँल्छु। खोज्छु नाइटिङ्गेलको नालीबेली।

फ्लोरेन्स नाइटिङ्गेल १२ मे, १८२० मा समृद्ध एवम् उच्चवर्गीय बेलायती दम्पत्तिको सन्तानका रूपमा इटालीको सुन्दर सहर फ्लोरेन्समा जन्मेकी थिइन्। सोही सहरको नाम सापटी लिएर उनको नाम राखियो फ्लोरेन्स। नाइटिङ्गेलको ख्याती र परोपकारी कार्यका कारण सायद फ्लोरेन्स सहरले अहिले गर्व पनि गर्दो हो।

नाइटिङ्गेलको परिवारलाई नपुग्दो केही थिएन। तर उनले नर्सिङ पेसा छानिन्। त्यस बेलाको समाजमा उच्च वर्गीय महिलाले नर्सिङ पेसामा जानु भनेको अनौठो कार्य थियो। बेलायतमा उति बेला नर्सिङ पेसा सम्मानजनक थिएन। नर्सका रूपमा काम गर्ने महिला खराब र अनुशासनहीन हुन्छन् भन्ने मान्यता थियो।

उच्च घरानियाँ महिलाले नर्सको काम गर्न वर्जित जतिकै थियो। नर्सिङ पेसालाई जात जाने किसिमको काम ठानिन्थ्यो। नाइटिङ्गेलले त्यसबेलाको पुरातनवादी सोचलाई चुनौती दिँदै नयाँ विचारको सुरुवात गरेकी थिइन्। गरिन् परिवार र ढोँगी समाजसँग विद्रोह। त्यस साहसिक निर्णयले मेरो मनमा उनीप्रति अगाध सम्मान जागेको छ।

सन् १८४५ मा परिवारको विरोध र क्रोधका बाबजुद अभावग्रस्त मानिसका लागि सेवा गर्नका लागि नाइटिङ्गेल निस्केकी थिइन्। पुरातनवादी समाजको मानिसका मनमा बसेको अन्धकारलाई चिर्न उज्यालो ज्योति बनेर आइन्। आफ्नो सेवालाई अस्पतालको कक्षमा मात्र उनले सीमित राखिनन्। निस्किइन् युद्धमा घाइते सैनिकको सेवाका लागि। र त अहिलेसम्म मानिसको हृदयमा उज्यालो ज्योति बनेर बसेकी छिन् फ्लोरेन्स नाइटिङ्गेल।

एउटा प्रचलित भनाइ सम्झन्छु, ‘एक जीवन बचाउँदा तपाईं नायक हुनुहुन्छ, सयौंको जीवन बचाउँदा तपाईं नर्स।’ सयौं होइन, हजारौंको जीवन बचाउनका लागि निस्केकी थिइन् नाइटिङ्गेल युद्धग्रस्त क्षेत्रमा।

सन् १८५४ मा बेलायत, फ्रान्स र टर्कीले रुसविरुद्ध युद्धको घोषणा गरे। त्यस युद्धमा बेलायती घाइते सेनाको सेवाका लागि ३८ जना महिलाको साथमा नाइटिङ्गेललाई टर्की पठाइएको थियो। युद्धमा सैनिकहरू व्यापक रूपमा घाइते भएका थिए। सैनिक अस्पतालमा त्यस बेला घाइते सिपाहीहरूको उपचारका लागि राम्रो सुविधा थिएन। घाइते सिपाहीको घाउमा बाँध्ने पट्टीको समेत अभाव थियो। त्यसबेला अस्पतालमा अहिलेका जस्तो सेवा र सुविधा थिएन। पर्याप्त औषधी र उपकरणको अभाव थियो।

घाइतेको उपचारमा अहिले प्रयोग गरिने कतिपय औषधी आविष्कार भएकै थिएनन्। अस्पतालमा पर्याप्त बेड थिएनन्। घाइते सैनिकहरू भुइँमै लडिरहेका हुन्थे। त्यस समयका अस्पतालहरू प्रायः अप्ठ्यारा र अस्वच्छ हुन्थे। सैनिक अस्पतालमा हजारौं घाइते सैनिक र बिरामीको संक्रमणका कारण मृत्यु भइरहेको थियो। त्यसको मुख्य कारण फोहोर थियो भन्ने कुरा  नाइटिङ्गेलले पत्ता लगाइन्। नाइटिङ्गेलले अस्पतालका बिरामीलाई हात धुन अनिवार्य गराइन्। यसबाट मृत्युदर निकै कम भयो। नाइटिङ्गेलले सफाइ र स्वच्छताको महत्त्व बुझेर स्वास्थ्य सेवा प्रणालीलाई नयाँ दिशामा लैजाने प्रयास गरेकी थिइन्। फ्लोरेन्स नाइटिङ्गेलले अस्पतालमा गरेको सुधार र उनको सेवाबारे पढ्दा पढ्दै भावुक हुन्छु।

त्यस बेला घाइते, रोगी र दुःखीहरूलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुशा गर्ने कार्य उतिसारो हुँदैनथ्यो। अझ घाइते सैनिकहरू उपचारमा खासै ध्यान दिइँदैनथ्यो। त्यसबेला अस्पतालमा डाक्टरहरू आउँदै जाँदै गर्थे तर नाइटिङ्गेलले अँध्यारो रातमा लालटिन बालेर घाइतेहरूको सेवा गरिरहिन्। त्यसबेला गरेको सेवाका लागि ‘लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को उपाधि प्रदान गरिएको थियो। नाइटिङ्गेलले गरेको अतुलनीय सेवाबारे थाहा पाउँदा मनभित्र आए अनेकन् भाव र तरङ।

विश्वप्रसिद्ध साहित्यकार लियो टोल्सटोयले भनेको सम्झन्छु– ‘फ्लोरेन्स नाइटिङ्गेलको जीवनले हामीलाई यो सिकाउँछ कि साँचो वीरता युद्धको मैदानमा होइन, अरूका लागि निस्वार्थ रूपमा गरिने काममा हुन्छ।’

उतिबेलाको अस्पतालको अवस्था, सरसफाइ, उपकरण र जनशक्ति आदिका जानकारीमा आँखा लगाइरहेको छु। त्यसबेला मोटरगाडीको आविष्कार भएकै थिएन। न त हेलिकोप्टर थियो। युद्धमा घाइते सैनिकहरूलाई घोडा र खच्चडले तान्ने गाडीमा राखेर उबडखाबड कच्ची बाटोमा हुँदै अस्पतालसम्म लगिन्थ्यो।

उपचार नपाएको घाउको पीडा र त्यसमाथि कच्ची बाटोको यात्राले घाइतेहरू कुन अवस्था हुन्थे होलान् भनेर कल्पना गर्दा मन सिरिङ्ङ हुन्छ। त्यस्तो यात्रामा थुप्रै घाइते सैनिकको बाटैमा मृत्यु हुन्थ्यो। उक्त कुरा पढ्दा पढ्दै चसक्क दुख्छ मलाई तिनका पीडाहरू।

एउटा लालटिन राखिएको सोकेसअगाडि पुग्छु। बल्दै नबलेको लालटिनको उपस्थितिले सोकेस उज्यालिएको छ। त्यस लालटिनलाई देखेर मेरो मन उज्यालिन्छ। यही लालटिन हो नाइटिङ्गेललाई चिनाउने। त्यस लालटिनमा नाइटिङ्गेलको उपस्थिति देख्छु। यस्तै लालटिन लिएर नाइटिङ्गेल बिरामीको सेवामा रातभर जुटेकी हुन्थिन्। बिरामीलाई नाइटिङ्गेलले दिएको स्पर्श र ढाडसमा जादुमय शक्ति हुन्थ्यो।

कुनै परीकथाकी परीझैं लालटिन लिएर उपस्थित भएकी नाइटिङ्गेललाई देख्नासाथ घाइते बिरामीहरूमा बाँच्ने आशा पलाउँथ्यो। अधिकांश बिरामी निको पनि हुन्थे। उति बेला उनले प्रयोग गरेको लालटिन नाइटिङ्गेललाई चिनाउने महŒवपूर्ण सामग्री बन्यो। बिजुली बत्ती र टर्चलाइट आदिको आविष्कार नभएको समयमा रातको अन्धकारलाई चिर्ने त्यस बेलाको लालटिनलाई सम्झन्छु। म्युजियमभित्र फैलिएको बिजुली बत्तीको उज्यालो पनि फ्लोरेन्स नाइटिङ्गेलले हातमा बोकेको लालटिनको उज्यालो हो जस्तो लाग्छ मलाई।

नाइटिङ्गेल म्युजियमभित्र कतै छिन् जस्तो उनको उपस्थितिको आभास हुन्छ। के थाहा, लालटिन हातमा बोकेर नाइटिङ्गेल मेरो सामुन्ने उपस्थित हुने पो हुन् कि ? अवलोकन गर्दागर्दै यस्तै कल्पनाका उडानले भरिन्छ मेरो मन।

अल्बर्ट आइन्सटाइनले भनेका छन्– ‘फ्लोरेन्स नाइटिङ्गेलको योगदान मानवताका लागि अप्रतिम छ। यिनले नर्सिङको क्षेत्रमा क्रान्ति मात्र ल्याइनन्, उनले यो देखाइन् कि अरूका लागि समर्पित जीवन कति मूल्यवान् हुन सक्छ।’ यस्ता महान् व्यक्तिले नाइटिङ्गेलबारे भनेको उपर्युक्त प्रेरणादायी कुरा लामो समयदेखि मेरो मनमा बसिरहेको छ।

सोकेसमा सुरक्षित साथ राखिएका छन् नाइटिङ्गेलसँग सम्बन्धित थुप्रै सामग्री। उनले पाएका पदक, उनका हस्तलिखित चिठी र डायरी हेर्दै गर्दा नाइटिङ्गेलकै कोठामा चक्कर लगाएजस्तो अनुभूति हुन्छ मलाई। सुन्दर अक्षरले भरिएको नाइटिङ्गेलको डायरीका पानामा नजर लगाउँछु। उनको सुन्दर मनका भावना हेरिरहूँ लाग्ने सुन्दर अक्षरहरू बनेर पोखिएका छन्।

 अर्को सोकेसमा नाइटिङ्गेलले प्रयोग गरेका उपचारका क्रममा प्रयोग गरिने औजारहरू राखिएका देख्छु। विभिन्न सोकेसमा उतिबेलाका उपकरण र ऐतिहासिक सामग्रीहरू, पुरानो नर्सको पोसाक आदि सुरक्षितसाथ राखिएका छन्। ती सामग्रीले मलाई उतिबेलाको नाइटिङ्गेलको कडा संघर्ष र सेवाप्रतिको समर्पणबारे गहिरो रूपमा महसुस गराए।  

एउटा त्यागी र निःस्वार्थ सेवा गर्ने महिलाका रूपमा नाम कमाएकी फ्लोरेन्स नाइटिङ्गेल बिरामीको उपचारमा मात्र सीमित रहिनन्। उनले नाइटिङ्गेल कोष खडा गरिन्। त्यस कोषमा शुभचिन्तकहरूले पैसा जम्मा गरिदिए। सोही पैसाबाट सन् १८६० मा सेन्ट थोमस अस्पताल लन्डनमा उनले नाइटिङ्गेल ट्रेनिङ स्कुलको स्थापना गरिन्।

यो संसारको पहिलो नर्सिङ स्कुल थियो। त्यस स्कुलमा पहिलो ब्याचमा १५ जना प्रशिक्षार्थी लिएर सञ्चालन गरिएको थियो। त्यहाँबाट प्रशिक्षित नर्सलाई बेलायतका विभिन्न अस्पतालमा पठाइन्थ्यो। त्यस स्कुलमार्फत नाइटिङ्गेलको विचार र नर्सिङ स्कुल संसारभर फैलियो। उनकै कारण हामीले प्रशिक्षित दक्ष नर्सको सेवा पाइरहेका छौं।

नाइटिङ्गेलकै कारण महिलाहरूलाई नर्सिङमा आउन प्रेरणा मिलेको हो। नर्सिङ ट्रेनिङ स्कुल स्थापनाको समयमा उनले ‘नोट्स अन नर्सिङ’ नामक पुस्तक लेखिन्। उक्त पुस्तक नर्सिङसम्बन्धी संसारको पहिलो पुस्तक हो। उनले ‘नोट्स अन हस्पिटल’ नामक पुस्तक पनि लेखेकी छन्। नाइटिङ्गेलको सोच र योजना अहिले साकार भएर संसारभर फैलिँदा मलाई खुसी लागेको छ।

आफ्नो जीवनकालमा धेरै वर्ष युद्धका घाइते, संक्रमित बिरामी र दुःखीहरूको सेवा गर्ने नाइटिङ्गेल सन् १८६१ मा गम्भीर बिरामी भइन्। ६ वर्षसम्म हिँडडुल गर्न नसक्ने भइन्। तर बेड रेस्टमा रहेको अवस्थामा पनि अस्पतालको डिजाइन, चिकित्सा उपकरण, औजार आदिको विकासमा सक्रिय रहिन्। त्यसपछिको समय उनले नर्सिङको कार्य बढाउने र यसलाई आधुनिक रूप दिनमा व्यतित गरेको कुरा पढ्दा भावुक हुन्छु म। यही हो निःस्वार्थ सेवा र आफ्नो सपना साकार पार्ने अथक प्रयास।

नाइटिङ्गेलको जीवन र संघर्षबारे नाइटिङ्गेल म्युजियमभित्रका जानकारी पढिरहँदा प्रसिद्ध अमेरिकी कवि हेनरी वाड्सवर्थ लङफेलोलाई स्मरण गर्न पुग्छु। हेनरीले आफ्नो कविता सान्ता फिलोमेनामा नाइटिङ्गेलबारे लेखेका छन्– ‘एक बत्ती बोकेकी महिला उभिनेछिन्। देशको महान् इतिहासमा, एक महान् प्रकारको असल, वीर नारीत्व...।’

कविका यस्तै पंक्तिले भरिएका कविताका शब्दरूपी गुच्छाहरूले फ्लोरेन्स नाइटिङ्गेललाई अमर बनाएका छन्। कवि हेनरी र फ्लोरेन्स नाइटिङ्गेल मेरो हृदयमा लामो समयदेखि बसिरहेका छन्।

नाइटिङ्गेलले स्वास्थ्य सेवामा मात्र होइन, शिक्षा र अनुसन्धानमा पनि ठुलो योगदान गरेकी थिइन्। म्युजियममा उनका हस्तलिखित कागजातहरू र अनुसन्धानका नोटहरू देख्दा मलाई उनको मेहनत र त्यागको सम्मान गर्न मन लाग्यो। त्यस समयको पुरातनवादी समयमा एक महिलाले त्यस्ता चुनौतीपूर्ण कामहरू सम्पन्न गर्नु ठुलो साहसिक कार्य हो। उनलाई म साहसिक नारीका रूपमा पनि सम्झन्छु।

फ्लोरेन्स नाइटिङ्गेल अङ्ग्रेजी, जर्मन, इटाली भाषामा पारङ्गत थिइन्। ग्रिक र ल्याटिन भाषाको राम्रो ज्ञान थियो। फ्लोरेन्स नाइटिङ्गेलले दुई सय वटा पुस्तक र पर्चाहरू लेखेकी थिइन्। म्युजियमको भित्तामा टाँसिएको उपर्युक्त जानकारी पढेर चकित हुन्छु। उनले ‘केस्सान्ड्रा’ नामक उपन्यास पनि लेखेकी रहिछिन्। उनका पुस्तक नर्सिङ, धर्म र रहस्यवादबारे लेखिएका छन्। उनको धेरैजसो लेखन नारीवादी पहिचानको पक्षपोषण गर्ने खालका छन्। उनी महिला अधिकारको हिमायती रहेको कुरा म्युजियममा उपलब्ध जानकारीले बताइरहेका छन्।  

नाइटिङ्गेललाई यात्रा गर्ने खुब शोक थियो। यात्रामा उनी चिकित्सासम्बन्धी ज्ञान प्राप्त गर्न मन पराउँथिन्। मेडिकल टुरिज्मको आविष्कार नाइटिङ्गेलका कारण भएको बताइन्छ। नाइटिङ्गेल आफूले हेरचाह गर्ने बिरामीहरूलाई गुणस्तरीय उपचार भएको, औषधी, उपचार खर्च, खानेकुरा र बसाइ एकदम सस्तो हुने देशमा यात्रा गर्न प्रोत्साहित गर्थिन्।

आजकल मेडिकल टुरिज्म युरोपका देशमा एकदम प्रचालित छ। नेपालका धनाढ्य, नेता र मन्त्रीहरू पनि उपचारका लागि विदेश जाने गरेको कुरा समाचारमा पढेको छु। नेपाली ‘मेडिकल टुरिस्ट’हरू कति होलान् नेपालमा ? धेरै समयदेखि मेरो मनमा एउटा प्रश्न उठिरहेको छ।

म्युजियमभित्र ओछ्यान लगाइएको पलङसामुन्ने उभिएको छु। सिरानीपट्टी बुक ¥याकमा केही किताब राखिएका छन्। नाइटिङ्गेलको आफ्नो पलङ रहेछ त्यो। त्यस पलङलाई स्पर्श गर्छु। नाइटिङ्गेलको बेडरुममा चक्कर लगाएजस्तो अनुभूति हुन्छ मलाई।

नाइटिङ्गेल म्युजियमभित्र म मात्र छैन। अवलोकनकर्ताको आउ–जाउ चलिरहेको छ। विभिन्न देशका अनुहार देख्छु म्युजियमभित्र। त्यहीं देखेँ नेपालीजस्तो लाग्ने एक अनुहार। नेपाली हुन् कि भारतीय भन्ने दोधारमा रहनुभन्दा थाहा पाउन उचित लाग्यो। ‘माफ गर्नुहोला, के तपार्इं नेपाली हो?’ मैले अङ्ग्रेजीमा सोधेँ। ‘हो,’ उनले भनिन्। त्यहीं कार्यरत नेपाली नर्स अञ्जु शर्मालाई भेट्दा खुसी लाग्यो।

आधिकारिक तथ्याङ्क नभए पनि करिब दस हजार नेपाली मूलका नर्सहरू बेलायतको विभिन्न सहरका अस्पतालमा कार्यरत रहेको अनुमान गरिन्छ। बेलायतका प्रायः अस्पतालमा नेपाली नर्स भेटिन्छन्। नर्स मात्र होइन, नेपाली चिकित्सकहरू पनि त्यहाँ कार्यरत छन्। नेपालबाट नर्सहरू बेलायत आउने क्रम जारी नै छ। बेलायतको सरकारी अस्पतालमा उच्च तहको जिम्मेवारी लिएका नर्सले उच्चस्तरीय सेवा प्रदान गरिरहेका छन्। नेपाली नर्सको गुणस्तरीय सेवाको तारिफ गर्छन् बेलायतीहरू। यस्ता कुरा थाहा पाउँदा गर्वले ढक्क फुल्छ छाती।

देशमा उत्पादन भएका नर्सहरू बिदेसिनु भनेको राज्यलाई घाटा हुनु हो। राज्यले नर्स उत्पादनका लागि गरेको लगानी त्यसै खेर गइरहेको छ। के गर्नू, आफ्नो देशमा राम्रो तलब र जागिर नपाएपछि अरूको देशमा गएर सेवा नगरेर के गरून् त नर्सहरूले? बेलायतमा कार्यरत नेपाली नर्सहरूको हकहितका लागि नेपाल नर्सिङ एसोसियसन्स नामक संस्था सक्रिय छ। त्यस संस्थाले नेपालमा बेलाबेलामा विभिन्न परोपकारी कार्यहरू गर्ने गरेको छ।

विदेशमा बसेका नेपालीहरूले देशका लागि समाजसेवा र परोपकारी कार्य गर्नु भनेको मातृ ऋण तिर्नु हो। विदेशमा रहेका केही मनकारी नेपालीहरूले आआफ्नो क्षेत्रमा सानै होस् केही न केही सेवा र सहयोग गरिरहेका छन्। त्यस्ता कार्यको म प्रशंसा गर्छु।

अञ्जुसँगको छोटो कुराकानीपश्चात् मेरा आँखा ठोकिन्छन् सोकेसभित्र राखिएको लाटोकोसेरोमा। सोकेसभित्र रहेको लाटोकोसेरो जिउँदो चाहीं होइन। नाइटिङ्गेलको प्रिय चरो लाटोकोसेरो रहेछ। लाटोकोसेरोसँग उनको पहिलो भेट ग्रिसको राजधानी एथेन्समा रहेको एथेना मन्दिरमा भएको थियो। एथेना देवीको प्रिय पन्छी लाटोकोसेरो हो।

प्राचीन ग्रिकवासीले लाटोकोसेरोलाई ज्ञानको प्रतीकका रूपमा मान्थे। एथेना मन्दिरमा एउटा लाटोकोसेरोलाई केटाकेटीहरूले चलाएर दुःख दिइरहेको देखेपछि नाइटिङ्गेलले त्यसलाई उद्धार गरेर बेलायत ल्याइन्। त्यही लाटोकोसेरो उनको साथी भयो। त्यसको नाम राखिन ग्रिककी देवीको नाम ‘एथेना’। एथेना हरदम उनको साथमा हुन्थ्यो। त्यस लाटकोसेरोलाई उनी गोजीमा राखेर हिँड्थिन्। यतिसम्मकी यात्रामा जाँदा पनि एथेनालाई साथै लान्थिन्। उनी क्रिमिया युद्धमा गएका बेला बेलायतमा छाडेको उक्त लाटोकोसेरो हेरविचार नपुगेर मरेछ। त्यस लाटोकोसेरोको निधनको खबरले नाइटिङ्गेल अत्यन्त दुःखी भइन् भन्ने कुरा पढ्दा म आफै दुःखी हुन्छु। कुनै जीव होस् या निर्जीव, त्यससँगको अगाध प्रेमपछि हुने वियोगले मानिसलाई कति असर पार्छ भन्ने कुराको म आफैं पनि भुक्तभोगी हुँ।

फ्लोरेन्स नाइटिङ्गेलको पारिवारिक वंशावलीमा पर्छन् मेरा आँखा। पल्टाउँछु उनको जीवनका पाना। उनले त जीवनभर विवाह गरिनछिन्। उनलाई धेरै विवाहको प्रस्ताव आउँदा सबैलाई अस्वीकार गरिन्। यतिसम्मकी उनको नजिकका साथी कवि तथा राजनीतिज्ञ रिचर्ड मंकटन मिल्न्सको विवाह प्रस्ताव पनि अस्वीकार गरिन्। उनको पहिलो उद्देश्य नर्सिङ र सामाजिक सुधार गर्नु, आफ्नो करियर र कामलाई प्राथमिकता दिनु थियो होला भनेर अनुमान गर्छु। तर, केही अनुसन्धानकर्ता र विद्वान्हरूले नाइटिङ्गेल समलैंगिक महिला थिइन् भनेर लेखेका छन्। एक व्यक्तिको प्रेमिका वा श्रीमती किन हुनुपर्‍यो? दुईचार सन्तानकी आमा किन बन्नुपर्‍यो? उनको निःस्वार्थ कर्म र सेवाका कारण अहिले पनि संसारभर उनका करोडौं प्रेमीहरू छन्। उनका सन्तानरूपी लाखौं नर्सहरू संसारभर सेवारत छन्।

म्युजियम घुम्दै गर्दा नाइटिङ्गेलको नर्सिङ जीवन, संघर्ष र कामसँगको अनौठो सम्बन्धको अनुभूति हुन्छ मलाई। नाइटिङ्गेल नर्सिङ पेसालाई प्रतिष्ठित र व्यावसायिक मात्र बनाइन्, मानिसको जीवन र स्वास्थ्यप्रति अतुलनीय माया र समर्पण देखाएर हामीलाई शिक्षा दिइन्। उत्प्रेरित गरिन निःस्वार्थ सेवाका लागि। उनको यस्तो सेवाका कार्यका कारण चिकित्सा क्षेत्र नयाँ दिशामा परिवर्तन भएको हो। उनको सेवा समाजका लागि महत्त्वपूर्ण मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित भएको पाउँछु। म्युजियमले नाइटिङ्गेलको विरासत सारा संसारलाई बताइरहेको छ। यसले भविष्यका नर्सहरू उत्पादन गर्न प्रेरित गरिरहेको छ। नर्सिङ पेसा मात्र होइन, सेवा र समपर्णको प्रतीक पनि हो भन्ने भावनाको विकास गराएको छ। म्युजियमको ठुलो उपलब्धीका रूपमा यसलाई लिएको छु।

आफ्नो पूरा जीवन गरिब, बिरामी र दुःखीको सेवामा समर्पण गरेकी नाइटिङ्गेलको १३ अगस्ट, १९१० मा ९० वर्षको उमेरमा निधन भयो। उनको सम्मान र कामको मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय रेडक्रसले एक सय वर्षभन्दा अगिदेखि ‘फ्लोरेन्स नाइटिङ्गेल पदक’ नर्सिङ सेवामा अतुलनीय योगदान पुर्‍याएकाहरूले दिने गरेको छ। नाइटिङ्गेलको जन्मदिन मे १२ तारिखलाई संसारभर उनको सम्झनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ। यस्तै सम्मानले भविष्यमा नाइटिङ्गेलजस्ता नर्स र समाजसेवीहरू जन्मिन्छन्। निःस्वार्थ सेवा गर्ने नर्सहरू जन्मिन्छन्। जन्मिन्छन् समाजमा मनकारी र परोपकारी मानिसहरू।

नर्सिङको क्षेत्रमा फ्लोरेन्स नाइटिङ्गेलले पु¥याएको योगदान, उनको अथक प्रयास र सङ्घर्षप्रति समर्पित फ्लोरेन्स नाइटिङ्गेल म्युजियमको अवलोकनले मलाई नर्सिङ इतिहासको सयौं पाना पढेजस्तो ज्ञान दिलायो। नर्सिङ इतिहासको साक्षी बन्न पाएजस्तो महसुस गरायो। एक महान्, त्यागी महिलाको जीवन र संघर्षबाट केही शिक्षा प्राप्त भयो। रोग, भोक र दुःखसँग लडिरहेका मानिसहरूका लागि केही सेवा र सहयोग गर्न प्रेरणा दियो।

नाइटिङ्गेलको नर्सिङ जीवनको आरोह–अवरोहबारे पढेपछि नर्सहरूप्रति अझ बढी सम्मान जागेको छ। सम्झन्छु, कोभिड महामारीमा आफू सिकिस्त बिरामी भएको समय। त्यस बेला संसारभर लकडाउन भएको थियो। मानिसहरू घरभित्रै बसेका थिए। कोभिडलगायत अन्य रोग लागेका बिरामीहरूको सेवामा तिनै नर्सहरू चौबिसै घण्टा उपस्थित थिए। आफ्नो ज्यान जोखिममा राखेर करोडौं मानिसका ज्यान बचाएका थिए संसारभरका नर्स र डाक्टरहरूले। नाइटिङ्गेलले भनेकी छिन्– ‘नर्सिङ एक कला हो, जसका लागि समर्पण र तयारी चाहिन्छ।’

 वास्तवमा बिरामीको जीवन बचाउने प्रण गरेका समर्पित नर्सहरू देवदूत हुन्। जसको उपस्थितिमा सिकिस्त बिरामीहरूमा बाँच्ने आशा पलाउँछ।

मैले थुप्रै देशका विभिन्न खालका म्युजियमहरू अवलोकन गरेको छु। तिनका बारेमा धेरैवटा नियात्रा लेखेको छु। मेरा लागि म्युजियम अवलोकन एक ऐतिहासिक अनुभव मात्र नभई मानव हितका लागि गरिने कार्यका लागि शिक्षाको महत्त्वपूर्ण केन्द्र हो। म्युजियम असल कर्म गर्नका लागि मानिसलाई उत्प्रेरित गर्ने स्थल हो। इतिहास हेरेर भविष्यका लागि सही मार्गनिर्देशन प्राप्त गर्ने थलो हो। ज्ञानको अजस्र भण्डार हो। हरेक म्युजियमबाट मैले अथाह उर्जा लिएर फर्कने गरेको छु। फ्लोरेन्स नाइटिङ्गेल म्युजियमको अवलोकनले मलाई ऊर्जावान् बनाएको छ।

फ्लोरेन्स नाइटिङ्गेल म्युजियमभित्र थुप्रै समय बिताइसकेको थिएँ। म्युजियमभित्र हेर्न र थाहा पाउन केही बाँकी रहेन। म्युजियम हेर्दाहेर्दै ‘द लेडी विथ द ल्याम्प’ले मेरो हृदयमा मानवताका एउटा उज्यालो बत्ती बालिदिएकी थिइन्। त्यही बत्तीले उज्यालिएको मन लिएर म्युजियमबाट निस्कन्छु। बाहिर घामको साम्राज्य फैलिसकेको रहेछ। लन्डनको बैंसालु घामले चुम्न थाल्यो मेरो देहमा। आनन्दित मन लिएर लम्कन्छु थेम्स नदीको किनारातिर।

प्रकाशित: ३१ जेष्ठ २०८२ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App