काठमाडौंस्थित तारागाँउ नेक्सट परिसरमा ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ। बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ।
कला र वातावरणीय चेतनको संगमका रूपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो। सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीको लाेकप्रिय भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्। उनले विश्वव्यापी परिस्थितिको आवश्यकताकाे ख्याल गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन्। उनकाे अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ।
तीन महिनासम्म चल्ने प्रदर्शनीमा स्रष्टाले विभिन्न माध्यमबाट आफ्नो कला यस प्रदर्शनीमा व्यक्त गर्नेछन्।
प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिएका थिए। शरीरमा रातो माटो पोतेर भूमिसँग साक्षात्कार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्ध उजागर गर्छ। उनको प्रदर्शनी उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ।
विश्व औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोण समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने उद्देश्य राखेको छ।
विश्व वातावरण दिवसको अवसरमा भएकाे कार्यक्रममा अन्तर्राष्ट्रिय तथा नेपाली १२ कलाकारले यस प्रदर्शनीमा आआफ्ना सिर्जना मार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन्।
प्रदर्शनीमा स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउनेछ भने उर्सुला विमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा व्यक्त गरेको छ।
यसैगरी उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूल मार्फत नयाँ दिने प्रयास गरेको छ।
त्यस्तै मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्छ भने नेपाली कलाकार समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाज प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गराउने जमर्को गरेको छ।
यस्तै अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भूपरिवर्तनलाई तीन फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरिरहेका छन्।
प्रदर्शनीकी अर्की सहभागी मोनिका उर्सिना जेगरले ‘लिक्विड टाइम’मार्फत पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्छ भने जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियाले कीराको जनसंख्यामा आइरहेको गिरावट डिजिटल रूपमा देखाइएको छ।
क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्र प्रस्तुत गरिरहेका छन्।
सौर्गङ्गा दर्शनधारीको नेवार समुदायको योमरी चाडसम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोड्ने काम गर्छ भने रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन्।
त्यसैगरी मोनिका उर्सिना जेगर, जोआना मोल, सौर्गङ्गा दर्शनधारीका सिर्जनाहरू विशेष प्रस्तुतिका रूपमा समावेश भएका छन्।
प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेर पेस गर्ने काम गरेको छ।
प्रकाशित: २४ जेष्ठ २०८२ १३:०५ शनिबार





